बराबर सोचौँ, स्मार्ट बनौँ

बिहिबार, २३ फागुन २०७५, ०८ : २१ अच्युत काेइराला
बराबर सोचौँ, स्मार्ट बनौँ

तराईमा दहेज नल्याउने वा इतर जातको पति वरण गरे के हालत हुन्छ ? अवश्य पनि दुलहीमाथि हातपात र ज्यानै लिने सम्भावना हुन्छ । उसो भए त्यो कुटपिट र अफ्रिकाका घना जंगलका चिम्पाञ्जीबीच के भिन्नता छ ? केही पनि छैन । जसरी मानव समाजमा पुरुष हैकम चल्छ, त्यसरी नै जङ्गलका भाले चिम्पाञ्जीले पनि पोथीहरुमाथि त्यस्तै हैकम चलाउँछन् । 

भाले चिम्पाञ्जी परिवारमा लामो समयसम्म बसेका हुन्छन् । उनीहरु परिवारमा नजिकका मानिन्छन् । किशोरी चिम्पाञ्जी उमेर पुगेपछि परिवार छाडेर अन्तै जानुपर्छ, जसरी बिहेपछि महिलाले घर छाड्छन् । भालेहरु परिवारसँग नजिकिएर बसेको हुनाले उसमाथि पर्ने हरेक किसिमको सुखदुःखमा परिवारको साथ र सहयोग हुन्छ । एक जुट भएर भालेलाई सघाउन परिवार तम्तयार हुन्छ ।

बिहेपछि कुनै स्त्रीले आफ्नो माइती छाडेर अर्कै पुरुषको अञ्जान ठाउँमा जान्छे । त्यहाँ नवदुलहीले दुलाहासँग मात्र होइन, उसको परिवारसँग पनि व्यवहार गर्नुपर्ने हुन्छ । नयाँ दुलहीसँग न्यून शक्ति वा शक्तिहीन हुन्छे ऊ । उता दुलाहाको शक्ति घरपरिवारका अन्य सदस्य बन्न पुग्छन् । घरका सदस्यले पनि दुलाहालाई नै सहयोग गर्छन् । नयाँ दुलहीको पक्षमा विरलै हुन्छन् । 

यसरी प्राकृतिक रुपमा नै मानव जातिले विभेद सिकेर आएको छ । यस्तो विभेदविरुद्ध उहिल्यैदेखि संघर्ष गर्न नारी जातिले छाडेका छैनन् । 

वैज्ञानिकहरु भन्छन्, शिकारी युगमा महिलाहरु पुरुषको दबदबाभन्दा माथि थिए । उनीहरुसँग शक्ति थियो । एउटा समतावादको जीवन बाँच्थे, स्त्री÷पुरुष । यहाँ महिलाको छनोटको सम्मान हुन्थ्यो या सम्मान हुन नसक्ने अवस्थामा उनीहरुलाई समूह छाड्ने छुट हुन्थ्यो । समूह छाड्ने छुटका कारण उनीहरुमाथि हुने जुनै किसिमको दबाब वा अत्याचारको गुञ्जायस रहँदैन थियो ।

उसो भए कहाँनेर कुरा बिग्रियो ?
१२ हजार वर्षअघि जब मानिसले कृषि प्रणाली अपनाउन थाल्यो, स्त्री जातिका लागि त्यो सबैभन्दा ठूलो भुल बन्न पुग्यो । त्यो बेलाकी स्त्रीले जङ्गली प्राणीहरुलाई घरेलु बनाउन थाली, जङ्गली विरुवा अन्न उत्पादक बन्न थाले । उसको यो आविष्कारका कारण पुरुष जाति खानाको खोजीमा भौँतारिनु परेन । आफूलाई चाहिने घरैमा उत्पादन गर्ने वातावरण बन्न थाल्यो ।

यसलाई उनीहरुले व्यापक बनाउन थाले र घरनजिकै खेतीपाती र उब्जनी गर्न थाले । कृषि युगमा पुरुषको माग बढ्न थाल्यो किनभने उनीहरु हट्टाकट्टा थिए । श्रमको महŒव बढेसँगै भूमिका पनि बढ्यो र भूमिका बढ्नेबित्तिकै जिम्मेवारी पनि बढ्यो । सम्पत्ति बढेपछि त्यसको सुरक्षाको जिम्मेवारी पनि पुरुषकै काँधमा आयो । 

पुरुषभन्दा महिला सामान्यतः कमजोर ठानिने हुनाले त्यो बेला पनि सम्पत्तिको सुरक्षाका लागि बाबुले छोरीलाई रोजेनन् । सम्पत्तिको हस्तान्तरण पुरुष पंक्तिमा सर्यो । यसपछि नै महिलाहरुले स्वतन्त्रता गुमाउँदै जान थाले भने पुरुषप्रधानता जन्मन पुग्यो ।

आदि विद्रोह र विद्रोहहरु
सत्ता र शक्ति सधैँ अन्धो हुन्छ र कहाँ पुगेर दुर्घटित हुन्छ, कसैलाई थाहा हुँदैन । फेरि सम्हाल्न सक्दा, यसले सम्पूर्ण मुलुकमा उन्नति ल्याउँछ । १४७९ ईशापूर्वमा इजिप्टका राजा थुतमोस द्वितीयको अचानक देहान्त भएपछि उनकी पत्नी ह्याट्हेप्उतले सत्ताको बागडोर सम्हाल्नु पर्यो । त्यसै पनि भविष्यको राजा दिन नसकेकी ह्याट्हेप्उतमाथि सबैका आँखा गडेका थिए । यस्तो अवस्थामा उनका अगाडि दुई वटा बाटा थिए । पहिलो बाटो, उनले अवस्थासँग हार खाएर अरुलाई नै सत्ता जिम्मा लगाउनु र आफ्नो अँध्यारो भविष्यलाई सराप्नु । दोस्रो बाटो, आएको अवस्थालाई चुनौतीका रुपमा स्वीकार्नु र संघर्ष गर्दै अघि बढ्नु । इतिहास त्यसैको लेखिन्छ, जसले हार मान्दैन ।

उनले हार मान्न अस्वीकार गरिन्, चुनौती स्वीकार गरिन् । उनले अघिल्ला सबै मान्यता भत्काउँदै अघिल्ला फारोह (सम्राट) जस्तै कुशलतापूर्वक सत्ता सञ्चालन गरिन् । अहिले इतिहासले उनलाई पहिलो नारी फारोहका रुपमा चिन्छ । चुनौतीको स्वीकारोक्तिले उनलाई संसारकै ‘पहिलो’को पदवि दियो । यथास्थितिलाई ‘नो’ भनेकाले उनले त्यो पदवि पाएकी हुन् ।
यस घटनाको हजारौँ वर्षपछि पनि स्त्री शक्तिले त्यो शक्तिका लागि सङ्घर्ष गरिरहनु परेको छ ।

उन्नाइसौँताका पहिलो आवृत्तिको विश्व नारीवादी आन्दोलन हुँदा उनीहरुको माग शासन गरुँ भन्ने थिएन । फ्याक्ट्रीमा काम गर्दा पाउने ज्यालामा असमानता प्रतिको अस्वीकृति मात्र थियो । यसपछि कयौँ विवाद भए र पनि समस्या समाधान देखिएन । बीसौँ शताब्दीको सुरुमा दोस्रो आवृत्तिको नारीवादी आन्दोलन चर्को रुपमा बल्झियो । यस बेला उनीहरुले ज्यालामा समानता मात्र नखोजी अन्य कुरामा पनि समानताको हक खोज्न थाले । खासगरी, सिमोन द बउवारले ‘द सेकेन्ड सेक्स’ पुस्तक लेखेपछि चर्को गरी नारी समानताका कुरा उठ्न थाले । यसपछि मतदानमा सहभागिता र अन्य माग पनि उठ्न थाले ।

यो आवृत्ति साठी र सत्तरीको दशकसम्म आइपुग्दा महिला अधिकार यौनिक क्रान्तिमा परिणत भयो । अहिले भने विश्व रंगमञ्चमा नारीवादी आन्दोलन मृत्युको संघारमा पुगेको घोषणा गर्नेहरु पनि छन् तर संसार भनेको प्रथम विश्व मात्र होइन । यहाँ एसिया छ, अफ्रिका पनि छ र प्रथम विश्वमै पनि नयाँ किसिमका चुनौती थपिएका छन् ।

चुनौती हिंसा 
संसारभर महिलामाथिको हिंसा अझै कम हुन सकेको छैन । तेस्रो विश्वमा मात्र होइन, पहिलो विश्वमै पनि यौन हिंसा चर्को छ । यस्तो हिंसा कम गर्न विश्व स्वास्थ्य संगठनले अभिभावकत्व र लालनपालनमा पुरुष सहभागिताजस्ता कुरालाई अघि बढाउनुपर्ने भनी पाठ पढाउन थालेको छ । हिंसाविरुद्धको अभियानमा स्त्री÷पुरुष समान रुपमा सक्रिय रहनुपर्ने, श्रमको मूल्यमा असमानता घटाउने, शिक्षा, पारपाचुके र सम्पत्ति माथिका अधिकार लगायतका अन्य अधिकारमा महिलालाई प्राथमिकता दिन जोड दिइएको छ ।

अवचेतन पूर्वाग्रह
यसका बाबजुद पनि अझै कयौँ दशकसम्म पितृसत्तात्मक छाप र व्यवहार रहिरहनेछ किनभने समाजमा गहिरो गरी गढेको छाप । पितृसत्तात्मक व्यवस्थाका फाइदा स्त्रीलाई पनि छ । उनीहरुले पितृसत्तात्मकतामा ठूलो फाइदा देख्छन् र जब स्त्री र पुरुष दुवैको स्वार्थ मिल्छ, यसलाई जरैसित फ्याँक्न गाह्रो हुन्छ ।

अधिकांशले यसै प्रणालीअनुसार आफूलाई ढालेर बालबालिकालाई अघि बढाउने सपना देख्छन् र अघि बढाइरहेका हुन्छन् । ‘पौरुष’ व्यवहारमा स्त्री र पुरुषलाई ढालेर उनीहरुलाई अघि बढाउने खेल पनि समाजमा देखिएका छन् । पौरुष समाजमा स्त्रीले पनि आफूलाई पुरुषजस्तै बनाएर फाइदा लिने पनि कम छैनन् । 
यो उनीहरुले जानाजान त्यस्तो व्यवहार देखाएको भने होइन । उनीहरु त्यसमा ढल्केको मात्र हो । उनीहरुको अवचेतन पूर्वाग्रहका कारण यस्तो भएको हो । उनीहरुको अन्तःस्करणमा यति गढेर बसेको छ कि उनीहरुले नजानीकनै यस्तो व्यवहार देखाइरहेका हुन्छन् । उनीहरुमा यति गढेको हुन्छ कि त्यो कुरा महसुस गर्न उनीहरुलाई वर्षौं लाग्छ । यस किसिमको पूर्वाग्रह कम गर्न सचेत हुनैपर्छ ।

नेपाल कहाँ छ ?
नारीवादी आन्दोलनका विविध आयाम छन् तर नेपाल यी आन्दोलनका बीचमा कहाँ छ ? इतिहास केलाउने हो भने योगमाया न्यौपानेको आन्दोलन पुरुषप्रवृत्तिविरुद्ध थिएन । आफूहरु पनि लेखपढ गर्न पाऊँ भन्ने याचना थियो, जुन अस्वीकृत भयो । यसपछि नारी जागृति कुर्न २००७ सालको तुरही बज्नुपर्यो । जसले मंगलादेवी सिंह, साधना प्रधान लगायत अन्य अगुवा नारी जन्मायो । यो क्रम जारी रहँदा कयौँ कमजोरीका बाबजुद भिन्नभिन्न समयमा भिन्नभिन्न कानुन बने, जसले महिलालाई सय वर्षअघिको अवस्थाभन्दा धेरै सहज महसुस गराएको छ । 

हिजोआज वादी महिलाका लागि उठ्ने आवाज होस् वा आमाको नामबाट नागरिकता पाउनका लागि चलेका अभियान होऊन्, ती प्रत्येक अभियानले भोलिका दिनमा ठूलो स्वर फेला पार्नेछ । चुप लागेर रमिते हुनेहरु भन्दा निमुखाका लागि बोलिदिने मनकारी हुन् । निमुखाका लागि बोलिदिने भन्दा तिनलाई नेतृत्व गरेर मुद्दा स्थापित गर्ने असल हुन् । स्थापित मुद्दा कार्यान्वयन गर्ने अगुवा भने महान् हुन् । हाम्रा राजनीतिक अगुवाले समय क्रममा त्यो महानता देखाएका छन् । ३३ प्रतिशत महिला संसद्मा भेटिनु त्यसैको उदाहरण हो ।

अझै पनि महिलाका मुद्दामा ठूलो छाति र उदार हृदय देखिन बाँकी नै छ । यत्तिका संघर्षका बाबजुद अन्तर्राष्ट्रिय टोलीमा खेलिरहेका खेलाडीहरु नागरिकताविहीन हुनु लज्जास्पद पक्ष हो । यस पटकको विश्व नारी दिवसको नारा ‘थिङ्क इक्वल, बिल्ड स्मार्ट, इन्नोभेट फर चेन्ज’ (बराबर सोचौँ, स्मार्ट बनौँ, परिवर्तनका लागि केही नयाँ गरौँ) पूरा गर्न अगुवामा खुला उदारता र महानता आवश्यक छ ।
 

Leave A Comment