१३ वर्षीया ईश्वरी थापा स्याङ्जाबाट भागेर काठमाडौं आइन् । गाउँमा सबैले काठमाडौं भनेको सुन्थिन् उनी । उनी साक्षरसम्म थिइन् । आमासँग सामान्य झगडा भयो । उनी सपनाको पोको बोकेर काठमाडौं लागिन् ।
उनी अहिले पनि त्यही सपना पूरा गर्न संघर्षरत छिन्, ट्याक्सीको स्टेयरिङ समातेर । उनी बा१ज ८९२९ नम्बरको ट्याक्सी चलाउँछिन् ।
पुरुषहरुको भीडमा सानका साथ हाँक्छिन् ट्याक्सी र आफ्नो सीपमा गर्व छ उनलाई । ट्याक्सीको स्टेयरिङसम्म हात पुर्याउन उनले संघर्षको पहाडै उक्लिएकी छिन् ।
किशोरी उमेरमै काठमाडौं छिरेकी उनको घर स्याङ्जा हो । सानैमा बाबु गुमाएकी थिइन् उनले ।
बाबु कस्ता थिए, केही झल्को मात्र आउँछ रे । उनीसँग बाबुको सम्झना भनेको भारत जानु अगाडि पसलमा चकलेट किनिदिएको मात्र रहेछ ।
‘मलाई बुबाको पूरा अनुहार याद छैन । इण्डिया हिँडेको दिन घरभन्दा अलिक तल पसलमा आमालाई चुरोट छैन भनेर किन्न जाँदा मलाई चकलेट किनेर दिनुभएको थियो,’ उनले भनिन् । त्यसपछि बुबाको मुख देख्नै पाइनँ । इण्डियामै बित्नुभयो भन्ने खबर आयो ।’
आमाले हुर्काइन् उनलाई । तर लामो समय गाउँमा टिकिनन् । सपनाको पखेटाले उडाएर काठमाडौं ल्यायो ।
सामान्य परिवारमा जन्मेकी थिइन् उनी । खानलाउन धौँ धौँ थियो । काम राम्रो भयो भनेर ठेकेदारले राम्रै पैसा दियो रे । काम गर्दै जाँदा ६० जना कामदारलाई भात पकाउने काम आइलाग्यो । रोड पिच गर्नेभन्दा सजिलो लाग्यो उनलाई । काम सकेर घर जाँदा आमासँग भनाभन भयो । त्यही झोँकमा उनी झोला बोकेर हिँडिन् घरबाट ।
‘कहाँ जाने पत्तो थिएन । बाटोमा निस्कँदा गाडीका खलाँसीले काठमाडौं– काठमाडौं भनेर कराएको सुनँे’ उनले शुक्रवारसँग भनिन्, ‘कस्तो रहेछ काठमाडाैं भनेर बस चढेँ ।’
राति ३ बजेतिर ‘काठमाडौं आयो’ भनेर बसले ओरालिदियो । सुनसान थियो बसपार्क । कहाँ जाने पत्तो थिएन । सडक नजिकैको चिया पसलमा पुगिन् उनी । चिया पिएर पसले नजिकै बसिन् ।
तिनै चिया पसले दाइले ‘नानी चिया पसलमा नै बस’ भने । उनी तयार भइहालिन् ।
‘काठमाडौंमा कुनै आफन्त थिएनन्, कहाँ जाने टुंगो थिएन,’ उनले भनिन्, ‘ यहीँ काम गरभन्दा ज्यादै खुसी लागेको थियो ।’
चिया पसलमा काम गर्दागर्दै उनै पसलेले उनलाई ‘तरकारी पसल गर’ भने । लगनखेलमा कोठा भाडामा लिइन् र कालिमाटीबाट तरकारी किनेर लगनखेलमा बेच्न थालिन् । तरकारी पसल गर्दागर्दै बिहे भयो ।
बिहेपछि तरकारी पसल छोडेर नाङ्लो पसल राखिन् । बदाम, सुन्तला बेचिन् । पसलको आम्दानीले पुगेन । उनी ज्यामी काम गर्न थालिन् ।
ज्यामी काम गर्दागर्दै छोरी जन्मिएपछि काम छुट्यो । होटल पो गर्नुपर्छ कि भनेर प्रयास गरिन् तर चलेन । टेलर खोलिन् । आम्दानी ठिकै थियो तर मनले मानेन ।
पहिलो दिनमै बसले हान्यो
टेलरिङमा काम गर्दैगर्दा धेरैबाट ट्याक्सीमा पैसा राम्रो हुन्छ भन्ने सुनिन् । दैनिक खर्च चलाउनै धौँ धौँ परेका बेला उनको मन यतैतिर जान थाल्यो । बाटोमा कति महिलाले आफैँ गाडी हाँकेर कुदाइरहेको देख्थिन् । तर महिलाले ट्याक्सी चलाएको देखेकी थिइनन् । आखिर गाडी चलाउनु र ट्याक्सी चलाउनुमा के फरक छ र भनेर लागिन् ट्याक्सी सिक्न ।
‘जे पर्ला पर्ला ट्याक्सी चलाउँछु भनेर सिक्ने ठाउँ खोज्न थालेँ । एकजना ट्याक्सी चालकले तिनकुनेमा रहेको सिकाउने ठाउँ चिनाइदिए,’ उनले भनिन्, ‘मनमा कुरा खेलाउँदै तीनकुने गएँ । त्यहाँ सिक्नेहरु धेरै थिए तर अधिकांश आफ्नै गाडी चलाउन सिक्न आएका ।’
१५ दिनको कोर्स लिइन् र सिकिन् पनि । ट्रायल दिइन् । पहिलो ट्रयालमै पास । तर लाइसेन्स आयो आँट आएन । त्यो बेलासम्म टेलर बेचेकी थिइनन् । पटक–पटक ट्राइ गरिन् तर रोडमा ट्याक्सी निकाल्न सकिनन् । लाइसेन्स लिएको २ वर्षसम्म त्यत्तिकै बसिन् ।
टेलरको कामले खासै पैसा नहुने । तनावै तनाव । जसरी पनि ट्याक्सी चलाउँछु भनेर भक्तपुरमा रहेका आफन्तको ड्राइभिङ सेन्टर पुगिन् । ‘मलाई एक हप्ताभित्रमा रोडमा गाडी निकाल्न सक्ने बनाइदिनुपर्यो,’ भनिन् । ट्याक्सी चलाउन थालेको ५ दिन पुगेको थियो क्यार ? मामा पर्नेले ‘लु भान्जी एकपटक रोडमा कुदाएर आउ भने । ‘जानु र मामा’ भन्दै अन्कनाउँदै ट्याक्सी रोडमा निकालिन् ।
कुदाएर रत्नपार्क ल्याइन् तर पहिलो दिनमै गाडीले ट्याक्सीलाई ठक्कर दियो । डरले ट्याक्सी नरोकि कोटेश्वर पुर्याइन् । पहिलो दिनमै एक्सिडेन्टमा परे पनि आँट आयो उनमा । अनि सुरु भयो स्टेयरिङ यात्रा ।
साहुको ट्याक्सीबाट सुरु भएको उनको यात्रा अहिले आफ्नै ट्याक्सीबाट निरन्तर जारी छ ।
९ वर्ष अगाडि उनले सुरु गर्दा महिला ट्याक्सी चालक थिएनन् । अहिले भने आएका छन् २० जना जति ।
‘ट्याक्सीमा नै लागेर घरपरिवार चलाउँछु भनेर खटिएका चाहिँ ७ जना जति छन्,’ उनले भनिन् ।
यात्रु झस्किन्छन्
नौ वर्षीय यात्रामा धेरै तितामिठा अनुभव सँगालेकी छिन् उनले यो पेशाको । प्रायः यात्रु चालक नहेरी चढ्छन् रे । कोही ओर्लनेबेला पैसा दिँदा केटी चालक देखेर झसङ्ग हुन्छन् त कोही बीचमा कुरा गर्दागर्दै महिला चालक हुन् भन्ने चाल पाएर डराउँछन् पनि रे ।
‘प्रायको दिमागमा ट्याक्सी चालक भनेपछि केटा नै हुन्छ भन्ने हुनेरहेछ,’ उनले भनिन, ‘एक्कासि महिला चालक देख्दा बेहोसै हुन खोज्ने यात्रु पनि भोगेको छु ।’
बेलुकाका यात्रु प्रायः ट्याक्सीमा चढेर जे पायो त्यही बोल्ने पनि हुन्छन् । उनले पनि यस्ता यात्रु भेटेकी छिन् ।
एकपटक साँझतिर रत्नपार्कबाट २ जना यात्रु उनको ट्याक्सीमा चढे । दुवै अधबैसे उमेरका थिए । उनीहरु ट्याक्सीमा जे पायो त्यही पो बोल्न थाले । उनले ‘दाइभाइहरु राम्रा कुरा छैनन्’ भनेकी मात्र थिइन् दुवै जना ‘राम, राम भन्दै माफ माग्न थालेछन् ।
उनको अर्को रमाइलो अनुभव रहेछ । केटीले चलाउने ट्याक्सीमा केटी यात्रु नै चढ्न मान्दैनन रे । उनीहरु केटा चालक भएकै ट्याक्सी खोज्ने गरेको उनको अनुभव छ ।
‘धेरै जसो केटीहरु चढ्नै मान्दैनन्,’ उनले भनिन् ‘खै किन हो उनीहरु केटा चालक भएकै ट्याक्सीतिर जान्छन् ।’
केटीले नै लुटे
दुःखद् अनुभव पनि टन्नै रहेछ उनको । उनले शुक्रवारसँग यस्तै एक दुःखद् घटना सुनाइन् । घटना २ वर्षअगाडिको रहेछ । उनलाई स्वयम्भूमा पुर्याएर लुटेछन् त्यो पनि केटीकै योजनामा ।
बेलुका ७, ८ बजेतिर एक युवती कोटेश्वर चोकबाट स्वयम्भू जाऊँ भन्दै चढिन् । स्वयम्भू पुग्दा रातिको ९ बज्यो । तपाईं पनि लेडिज म पनि लेडिज रातिको समय हो १५ सय दिन्छाैं भनेर लगेकी रहिछिन् ।
स्वयम्भूभन्दा नौ किलोमिटर माथि पुगेपछि केटाहरु रहेछन् । केटी उत्रिए लगत्तै सबै मिलेर उनको मोबाइल पैसा सबै गरेर २० हजार जति लुटेछन् ।
अर्को पनि त्यस्तै घटना रहेछ । राति १० बजेतिर रातोपुलमा एक महिलाले हात दिइन् । उनले ट्याक्सी रोकिन् । उनले नयाँबस्ती जाऊँ भनिन् । उनले राति नजाने भने पनि उनले ‘तपाईं लेडिज भएकाले नै हात दिएको जाऊँ’ भनिन् । उनी राजी भइन् ।
ट्याक्सी नयाँ बस्तीभित्र फर्काउन नमिल्ने ठाउँमा पुयाएर सिधैँ घाँटीमा खुकुरी तेर्साइन् । बोलिस कि चट् भन्दै मोबाइल र पैसा लिएर हिँडिन् ।
सुखदुःख दुवै अनुभव छ उनीसँग । तर आफूले जता भन्यो त्यतै स्टेरिङ घुमाउँदै ट्याक्सी चलाउन पाउँदा भने निकै खुसी छिन् उनी ।
‘आफ्नो बारे आफैँ निर्णय गर्न पाउँदा खुसी लाग्छ,’ उनले भनिन् ।
Leave A Comment