ईखले जमेको गल्र्स ब्यान्ड

शुक्रबार, २४ फागुन २०७५, ०४ : १३ प्रजु पन्त
ईखले जमेको गल्र्स ब्यान्ड

नौ कक्षा पढ्दै गरेका स्कुले पाँच ठिटी बेलाबेला काठमाडौँमा हुने कन्सर्टहरुमा जान्थे । जति कन्सर्टहरुमा जान्थे गायिकाबाहेक सबै टिम केटा मात्रै देख्थे । यो देखेर उनीहरु एकआपसमा खासखुस गर्थे, ‘म्युजिक टिममा पनि सबै जना केटी भए कस्तो हुन्छ होला हगि ?’

यो सोचाइसगैँ उनीहरुमा म्युजिक टिम खोल्ने हुटहुटी बढ्यो । घरमा दाइहरुको गितार बजाउन थाले । तीन वर्ष यसरी नै बित्यो उनीहरुको ।
२०६७ 
तामाङ ल्होसारमा कार्यक्रम हुने चाल पाएर उनीहरु आयोजकलाई भेट्न पुगे ।
‘केटीहरुको ब्यान्ड छ हामीलाइ पनि कार्यक्रममा अवसर दिनुस् न !’ 

कतै हुन्न भन्लान् कि भन्ने डर थियो मनमा तर आयोजकले हुन्छ पो भनिदिए ! उनीहरुसँग रहर र टिम थियो तर सांगीतिक रुपमा खारिइसकेका थिएनन् । बौद्धको फूलबारी स्कुलमा तीन हजार दर्शकमाझ दिएको पहिलो प्रस्तुति झुर भयो । 

‘स्कुलमा एक दिन सिकेर गाउन गएका थियौँ, कार्यक्रमले हावा खायो,’ समूहकी ड्रमर साङ डोमा शेर्पाले भनिन्, ‘‘हाम्रो नेपाल’ बोलको गीत गाएका थियौँ । रिदम टाइमिङका बारेमा केही थाहा थिएन । ताल मिलिहाल्छ नि भनेको भरे त पूरै फेल खायौँ । अहिले त्यस्तो भएको भए त ट्रोल बनिसक्थ्यो !’
त्यत्रो ठूलो कार्यक्रमको मर्यादा नै नराखेको भनेर आयोजकबाट उनीहरुले रामै्र गाली खाए । अलि सिनियरहरुले प्राक्टिस गरेर आउनू भनेर सम्झाए । 

रात गयो बात गयो भन्ने भनाइ छ तर उनीहरुको केसमा रात त गयो तर बात गएन । टोलमा हिँड्नै नहुने भयो जिस्काएर । केटाहरुले ‘ओई हाम्रो नेपाल टिम आयो’ भनेर हुर्रे लाउन थाले । कतिले बाटैमा गाली गरे । लुकीलुकी हिँड्नु पर्ने नै बनाए ।

यसको केही समयमै एसएलसी परीक्षा तयारीमा सबैले ध्यान दिन थाले । डेढ वर्ष जति म्युजिकमा ध्यानै दिन पाएनन् । जसै एसएलसी सकियो, पुरानो ईखले पाँचै जना म्युजिक कक्षामा भर्ना भए । एक वर्ष जति म्युजिक सिकेपछि बल्ल कसरी स्टेजमा गीत गाउने, सुरताल के हो बुझे । 
बल्ल साहस आयो उनीहरुको ।

अनि, बन्यो गोर्खाली ब्यान्ड
गीता तामाङ भोकलिस्ट बनिन्, सविता थिङ र सिसान राई र सुष्मा घलानले गितार समाए भने साङ डोमा शेर्पा ड्रमर बनिन् । आफ्नो ब्यान्डको नाम जुराए, गोर्खाली ब्यान्ड ।

एड्स सचेतना कार्यक्रममा नेपाल फाउन्डेसन भन्ने संस्थाले टुँडिखेलमा कार्यक्रम आयोजना गर्दै थियो । उतिबेला केटाहरुले हियाएको बिर्सिएका थिएनन् । 

‘ड्रमरै नहुँदा ओइ ड्रमर भनेर हियाएका थिए, अब त बजाउन सिकेको त्यो बेलाको पैँचो अहिले तिर्नु थियो,’ शेर्पाले भनिन्, ‘त्यो कन्सर्टमा फेरि पुरानै गीत ‘हाम्रो नेपाल’ बजायौँ । तीन वर्षको ग्यापमा त्यही गीत गाउँदा बल्ल रमाइलो लाग्यो । सबैले तारिफ गरे । फेरि लुकेर हिँड्नु परेन ।’

त्यो कन्सर्टमा उनीहरुले ७ वटा गीत गाए, पूरै देशभक्तिको । त्यही कार्यक्रमबाट उनीहरु अन्य आयोजकको नजरमा परिहाले । २०७० सालतिर नेपालमा युट्युब यत्तिको व्यापक भइसकेको थिएन । उनीहरुले टुँडिखेलमा गाएको गीतको भिडियो कसैले खिचेर हालिदिएका रहेछन् । उनीहरु खुसी हुँदै साइबर गएर हेरे । ५ सय भ्युज देखेपछि त भुइँमा खुट्टै थिएन ।

गितारिस्ट सुस्मा घलानको प्रस्तावमा गोर्खाली ब्यान्ड नाम राखेका थिए तर जता गयो गोर्खाली गल्र्स ब्यान्ड आयो भन्न थाले । उनीहरुलाई नाम संशोधन गर्न मन लाग्यो र राखे ‘र्गोखाली गर्ल ब्यान्ड’ । 
अहिले उनीहरुको ब्यान्ड जमेको छ तर पुरानो टिमका सबै सदस्य छैनन् । गितारिस्ट इशिका बिके, भोकल प्लस बेसिस्टमा रेनु स्याङ्बो र बाँसुरीमा यजु आचार्य पछि जोडिएका हुन् ।

यो ब्यान्डमा सबैभन्दा कान्छी सदस्य हुन् गितारिस्ट इशिका । भर्खर १८ वर्ष पुगेकी उनी कक्षा सातमा पढ्दादेखि नै दाजुले गितार बजाएको देखेर लुकीलुकी सिक्ने गर्थिन् । 
‘गितार छुँदा पनि दाइले गाली गर्ने,’ उनले भनिन्, ‘दाइ नहुँदा बजाउँथेँ, अलिअलि आएपछि स्कुलमा गएर बजाएँ, सरहरु दगंदास पर्थे ।’

एसएलसीपछि इशिकाले पनि ‘नेपाल म्युजिक सेन्टर’मा गितार सिक्न थालिन् । त्यहीँ उनको भेट गोर्खालीको अन्य टिम मेम्बरसँग भयो र ब्यान्डमा जोडिइन् । 

गीत गाउन टिकट बेचियो 
उनीहरु संगठित भएपछि केही कभर सङहरु गाए तर कन्सर्टमा भने बोलाउँदैनथे । म्युजिक सेन्टरमा भेट हुनेहरुलाई स्टेज कार्यक्रममा गाउन दिन आग्रह गर्दा आयोजकले संख्या नै तोकेर टिकट बेच भन्थे । गाउन यति रुचि थियो कि उनीहरु टिकटको चाङ बोकेर आफन्तलाई बेच्न हिँड्थे र बल्लतल्ल स्टेजमा गीत गाउन पाउँथे । 

सुरुमा उनीहरुले परिवारसँग पैसा माग्दै म्युजिकका सामान किने । तर सधैँ परिवारसँग माग्ने कुरा पनि भएन । डेढ वर्ष जति फ्रिमा नै गाए । आयोजकहरुको नजरमा पर्न थालेपछि भने पारिश्रमिक माग्न थाले । काठमाडौं उपत्यकाबाहिर जाँदा आउजाउ, बास, खानासहित कार्यक्रम हेरेर नगद ५० हजारसम्म लिने गरेका छन् । 

यस बीचमा उनीहरुले काभ्रे, बुटवल काठमाडौँको विभिन्न ठाउँको कन्सर्टमा सहभागी भइसकेका छन् । 
मार्च ८ का लागि बाङ्लादेशबाट निमन्त्रणा आएको रहेछ तर ब्याण्ड मेम्बरको जाँच परेर जान पाएनन् । यो स्थानसम्म आइपुग्न निक्कै मिहेनत गरेका छन् उनीहरुले । तर अहिले पनि कार्यक्रममा जाँदा कसै कसैले केटी भएर मौका पाएको भनेर हेप्न छाडेका भने छैनन् ।

‘हामी केटी हैन, म्युजिसियन हौँ,’ शेर्पाले भनिन्, ‘केटी भएर मौका पाएको भनेको सुन्दा झनक्क रिस उठ्छ ।’ 
अडियन्सले पनि प्रस्तुति भन्दा पनि केटीहरु छन्, हेर्न जाऊँ न भन्ने तरिकाले मात्रै बुझ्दा निकै दुःख लाग्ने उनीहरुले बताए । 

‘म्युजिकमा जस्तो केटाहरुको प्यासन हुन्छ हाम्रो पनि त्यस्तै प्यासन त हो नि !’ इशिकाले भनिन्, ‘हाम्रो समाजमा केटीको त प्यासनै नहुने जस्तो गर्छन् ।’
 

Leave A Comment