निकिताको उडान

शुक्रबार, २४ फागुन २०७५, ०४ : १८ प्रजु पन्त
निकिताको उडान

काठमाडौंमै पढेकी निकिता र उनका साथीहरु आइटी कम्पनीमा काम गर्थे । उनीहरु त्यहीँ कम्पनीमा बसेर चिया खाँदै गर्दा योजना बुन्यो आफ्नै नयाँ कम्पनी किन नखोल्ने ?  उनीहरु गुगलमा घोत्लिन थाले । ‘गर्न त नयाँ काम गर्ने तर के गर्ने ?’ 

निकिता गुगलमा कहाँ के भइरहेको छ भनेर खोजिरहेकी हुन्थिन् । नयाँ काम कसरी गर्न सकिन्छ उनको खोजाइ यही हुन्थ्यो । 

‘अमेजनडटकमलाई पनि हामीले वाच गरिरहेका थियौँ,’ निकिता भन्छीन्, ‘हाम्रोमा अनलाइन सपिङमा मुन्चा नेपाल लगायतका केही थियो तर लोकल सामानको डेलिभरी गर्दैनथ्यो ।’ 

खोज्दाखोज्दै आइडिया आयो ‘लोकल सामान डेलिभरी गर्ने कम्पनी किन नखोल्ने ?’ कम्पनीको नाम ‘अर्वेन गर्ल’ राखे । निकिता त्यसैको संस्थापक ‘को फाउण्डर’ बनिन्  । 

सन् २०१२ मा  ख्यालख्यालमै सुरु भएको अनलाइन सपिङ कम्पनी नै अहिले उनको पहिचान बनेको छ । ‘युजी ग्रुप’ बाट चिनिने कम्पनीले गिफ्ट आइटम, केक, ज्वेलरी टि–सर्ट र बेकरी आइटम ग्राहकको रोजाइअनुसार घरमै पुर्याउँछ । यही कम्पनीले आचार्यलाई सार्क चेम्बर बुमेन इन्टरप्रेनर काउन्सिल नेपालको ‘बेस्ट बुमन इन्टरप्रेनर २०१८’ को मनोनयनमा समेत पारेको थियो । 

२० हजारको कम्पनी
बिबीए तेस्रो सेमेस्टर पढ्दै गरेकी १९ वर्षकी निकिता र उनको साथी किरण तिमल्सिनाले पकेट मनीबाट जोगाएर १० ÷१० हजार रुपैयाँ जम्मा पारेर कम्पनी सुरु गरेका थिए । सुरुवाती चरणमा महिलाले लगाउने गहनाको अनलाइन डेलिभरी सुरु गरेँ । पछि फिमेल रिलेटेड प्रोडक्ट जुत्ता, ब्याग र लुगाहरुको सप्लाइ सुरु गरेँ । 
६ महिनासम्म निकिताले के गर्दैछु भनेर घरमा समेत भनिनन् । जसै ६ महिनापछि मिडियाले उनीहरुको कम्पनीबारे फिचराइज गर्यो । त्यसपछि मात्रै घरमा भनिन् ।

‘बिहान कलेज गएका हुन्थ्यौँ दिउँसो फुर्सदमा यो काम गरेका हौँ, ‘उनले भनिन्, ‘जसै घरमा भन्यौँ बाबा मामु सरप्राइजमा पर्नुभयो ।’ 

२०१४ बाट बेकरी आइटम पनि सुरु गरेँ । सुरुमा लोकल बेकरीबाट भएको उत्पादनलाई डेलिभरी मात्र गर्थेँ । थोरै गर्ने तर क्वालिटीको सामान बेच्ने भन्ने सोचाइ आएपछि सन्  २०१६ देखि आफ्नै बेकरी सुरु गरेँ । त्यहाँ बर्गर, केकलगायतका बेकरी आइटम बनाउन थालेँ  र ग्राहकले खोजेकै ठाउँमा पु¥याउँन थालेँ ।
सन् २०१२ मा एक कोठाबाट सुरु भएको थियो उनीहरुको व्यवसाय २०१९ सम्म आइपुग्दा २ भवनमा विस्तार भइसक्यो । २ जनाबाट सुरु भएको कन्सेप्टमा ४५ जना कर्मचारी थपिइसके । २० हजारबाट सुरु भएको व्यवसाय करोड नाघिसक्यो ।
कारोबार कति हुन्छ त ? 

‘ठ्याक्कै  यति नै त नभनौँ,’ उनले भनिन्, ‘दैनिक ८० देखि ८५ अर्डरहरु आउँछन् ।’

चुनौतीका ६ वर्ष

यो सफलता पाउन निक्कै पापड बेलेका छन् उनीहरुले । कम्पनी रजिस्ट्रर गर्दाको झण्भटदेखि बैंकमा लोन लिने सकससम्म धेरै रहेछन् हन्डरको कथा । 

‘महिलालाई लोन लिन सहज छ भनेर त्यता पनि दुगुरेँ,’ उनले भनिन्, ‘काम यति ढिला  बरु काम गरेर आर्जन गर्न सकिन्छ भन्ने लागेर लोनको प्रोसेसै छोड्यौँ ।’

अनलाइन सपिङ भन्नासाथ अहिले पनि झ्वाट्ट पत्याइहाल्दैनन् ग्राहकले । एउटा देखाएर अर्को ल्याइदिने पो हो कि, बजारको भन्दा महँगो हुने होला, बिग्रिएको सामान ल्याउने होलान् भन्ने सोच कायमै छ अझै । ६ वर्षको मिहिनेतमा त्यो चुनौती पनि पार भयो ।

‘हामीले सामान डेलिभरी भैसकेपछि पनि कस्टुमरलाई सामान कस्तो छ भनेर सोध्न थाल्यौं,’ उनले भनिन्, ‘मन नपरे तत्काल सामान फिर्ता गर्ने र समयमै पुर्याउने गर्दा विश्वास बढ्यो ।’

उनको अनुभवमा सबैभन्दा बढी गाह्रो बजार सिर्जना गराउन भयो । सुरुमा अन्यले नपत्याउँदा साथी सर्कलबाट सुरु गरेका रहेछन् । पछि बिस्तारै ग्राहक बढ्दै गए । 

सामानको साइज नपुगेको, ढिलो भएको भन्दै ग्राहक संख्या घटे पनि आत्तिएन उनको समूह । अहिले सन्तोषजनक छ उनको कारोबार । 

‘हामी युवामा छिटो नतिजा खोज्ने बानी छ,’ निकिताले भनिन्, ‘आज काम गरेर भोलि परिणाम खोजेर हुन्न, काम गर्दै जाँदा चुनौती आउँछन् । सामाा गरे गन्तव्यमा पुगिन्छ ।’

बुबा पुरञ्जन आचार्य राजनीतिक विश्लेषक, आमा उषा आचार्य हाउसवाइफ । उनीहरु दुई दिदीबहिनी । निकिता खुला परिवारमा हुर्किइन् । उनले जेण्डर डिस्क्रीमिनेसनको अनुभव गर्नु परेन । तर परिवारबाट निस्किएर समाजमा पुगेपछि उनले त्यसको अनुभव पनि गरिन् । मार्केटमा पुग्दा कुन काम केटाले गर्ने, कुन केटीले भनेर छुट्टयाएको देख्दा उनलाई झोँक चल्यो ।

‘यो महिलाले गर्ने व्यवसाय भनेर क्षेत्र तोकेको फिटिक्कै मन पर्दैन,’ उनले भनिन्, ‘महिलाले गर्ने भन्ने बित्तिकै ब्युटीपार्लर, होम मेड प्रोडक्ट मात्र हैन । आजको युग  प्रविधिको युग हो । त्यो घेराबन्दी तोड्न जरुरी छ ।’

तर सोचले घेराबन्दी तोड्न कहाँ दिन्छ र । उनले पनि त्यसको अनुभव गरेकी रहिछिन् । उनी पोखरामा नर्ससँगको छलफल कार्यक्रममा गएकी थिइन् । त्यहाँ किन नर्स पढेको बुझ्दा ‘अस्ट्रेलिया जाने केटा सजिलै पाइन्छ’ भन्ने खुल्दा उनी छक्कै परिछिन् ।

‘नर्स पढेपछि एक त आफैँ इण्डिपेन्डेन्ट भइन्छ । त्यो सोचाइ नै छैन,’ उनले भनिन्, ‘अझै पनि नेपाली महिला भित्रैबाट दरो हुन सकेका छैनन् । नर्स पढेको त यो हालत छ भने नपढेको मान्छेको झन् के होला ?’
 

Leave A Comment