गोल मेसिन सावित्रा

शुक्रबार, २४ फागुन २०७५, ०४ : २३ उपेन्द्र खड्का
गोल मेसिन सावित्रा

यसपालि भारतमा भएको हिरो कप महिला फुटबल प्रतियोगितामा नेपाली टोलीको सपना साकार भयो भारतलाई हराउने ।

उडिसामा भएको प्रतियोगितामा नेपाल फाइनलमा म्यानमारसँग हार्दा उप विजेता भए पनि नेपाली टोलीका लागि उपाधि जितेबराबरकै खुसी भयो सार्क महिला फुटबलको बलियो टिम भारतलाई हराउनु । यसको नायक बनेकी थिइन् २२ वर्षिया सावित्रा भण्डारी उर्फ साम्बा । उनी प्रतियोगिताको उच्च गोलकर्ता घोषित भइन् । 

तीन मिनेटको अन्तरमा सावित्राले २ गोल गर्दा नेपाली टोली इतिहास रच्न सफल भएको थियो । भारतविरुद्ध नेपाली टोली २–१ ले विजयी बनेको घोषणा हुँदा उनै सावित्रा मैदानमै रोएकी थिइन् । खुसीको आँसु थामियोस् पनि कसरी ? जित दिलाउने दुवै गोल उनैले गरेकी थिइन् ।

त्यो खेल जित्दा सबै भन्दा पहिले राष्ट्रिय टिममा प्रवेश गराउने शुक्र तामाङलाई सम्झिएको उनले बताइन् । ‘भारतविरुद्धको खेल जित्दा सबैभन्दा पहिले त मलाई फुटबलमा भिœयाउने शुक्र लामालाई सम्झिएँ,’ उनले भनिन्, ‘देश सम्झिँदा खुसीका आँसु बगे ।’ 

खेलाडीको जीवनमा सधैँ खुसी मात्र हुन्न, दुःख पनि आउँछ नै । उनको खेल जीवनमा पनि त्यस्ता क्षण नभएका हैनन् । संयोग, दुःखद् क्षण पनि भारतसँगै जोडिएको रहेछ । 

भारतको सिलगुडिमा दुई वर्षअगाडि भएको साफ च्याम्पियनसिपमा नेपाली टोली भारतसँग ३—१ गोल अन्तरले पराजित भयो । त्यो समयमा पनि उनका आँखा रसाए । त्यो बेलाको आँसु दुःखको थियो । 
‘त्यतिखेर भारतसँग हार्दा नमिठो लागेको थियो,’ भण्डारीले सुुनाइन् । त्यही खेलमा मनमा इख पलाएको थियो । त्यो इख यसपालिको हिरो कपमा पूरा गरिन् भारतलाई हराएर । 

ऐथलेटिक्सबाट फुटबलमा
बल कन्ट्रोल गरेर तीब्र गतिका साथ विपक्षीको पोस्टमा उनले गर्ने प्रहार निकै शक्तिशाली हुन्छ । त्यसै त उनको खातामा गोलको संख्या बढेको बढ्यै छ । ब्याइज कट हेयर स्टाइलका साथ मैदानमा उनले देखाउने खेल कौशल उच्च कोटीको छ । करिब २८ वटा अन्तर्राष्ट्रिय खेल खेलिसकेकी उनले शुक्रवारसँग भनिन्, ‘अन्तर्राष्ट्रिय खेलमा हालसम्म २२ गोल गरेँ ।’

सशस्त्र प्रहरी बलसँग आबद्ध रहेर खेल यात्रा जारी राखेकी उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा एकपछि अर्को स्मरणीय खेल कौशल देखाइरहेकी छिन् । त्यसैको निरन्तरता थियो भारतको प्रदर्शन ।

लमजुङको सिम्पानी ७ पाम्चोककी उनको खेल यात्रा रोचक छ । उनको खेल यात्राको प्रारम्भ फुटबलबाट हैन एथ्लेटिक्स र भलिबलबाट भएको थियो । भलिबलमा उनको प्रदर्शन उम्दा थियो । एथ्लेटिक्सको एक सय र २ सय  मिटर दौडमा पनि उनी उत्तिकै सक्रिय । तर पहिचान भने फुटबलले बनाइदियो उनको ।
परिवार खेलकुदप्रति त्यत्ति सकारात्मक नहुँदानहुँदै पनि जब उनी फुटबलमा चम्किन थालिन् परिवार पनि सहयोगी बनिहाल्यो । चार दिदीबहिनी र दुई भाइहरुमध्येकी माइली सावित्रा अहिले नेपाली महिला फुटबल टोलीकी खम्बा बनिसकिन् । 

काठमाडौं यात्रा
सावित्राको खेल यात्रा जिल्लातिरै समेटिएको थियो । २०७० ताका गाउँस्तरको प्रतियोगिता खेलिरहँदा एन्फाको सहायक रेफ्री शुक्र तामाङको नजर उनको खेल कौशलमा पर्नु नै उनी काठमाडौं आउने र महिला राष्ट्रिय टोलीमा पर्ने मियो बनिदियो । 

लमजुङको घले गाउँमा भएको फुटबल प्रतियोगितामा शुक्रको नजर उनको खेल कौशलमाथि परेको थियो । नजर नपरोस् पनि कसरी ? प्रतियोगितामा उनले १० गोल गरेकी थिइन् ।

उनको खेलबाट प्रभावित भएका शुक्र काठमाडौं आएर उनलाई सशस्त्र प्रहरी बलको महिला फुटबल टिमबाट खेल्ने वातावरण बनाइदिएका थिए । शुक्रको सहयोगमा २०७१  साउनबाट उनी एपीएफ टोलीमा जोडिन पुगिन् र स्थायी जागिरे नै भइन् । 

एपीएफ महिला टोलीबाट स्ट्राइकरको भूमिका निभाउँदानिभाउँदै उनी ०७१ कै कात्तिकमा पाकिस्तानमा हुने महिला साफ च्याम्पियनसीप खेल्ने टोलीमा पर्न सफल भइन् ।

महिला साफ च्याम्पियनसीपमा माल्दिभ्सविरुद्धको खेल उनको अन्तर्राष्ट्रिय डेब्यु थियो । प्रतियोगितामा उनले गोल गर्दै अन्तर्राष्ट्रिय खेलमा खाता खोलेकी थिइन् । 

प्रतियोगिताको फाइनलमा नेपाल–भारतसँग पराजित भएको थियो । त्यसको बदला ४ वर्षपछि उसैको मैदानमा लियो नेपालले उनी सावित्राको उत्कृष्ट प्रदर्शनका कारण । 

निरन्तर सफल
०७३ मा प्रधानसेनापति कपमा उत्कृष्ट फर्वार्ड भएकी उनी ०७४ मा प्रधानसेनापति कपमै उत्कृष्ट खेलाडी भएकी थिइन् । सन् २०१६ को साफमा उनले १२ गोल गरेकी थिइन् । भारतमा हालै भएको प्रतियोगितामा उनी उच्च गोलकर्ता घोषित भएकी थिइन् ।

उनको व्यक्तिगत सफलताको यात्रा उच्च छ । तर टिम अझै उचाइ लिन संघर्षरत नै छ । महिला फुटबल टोलीले उत्कृष्ट प्रदर्शन गर्दागर्दै अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्न सफल हुन सकेको छैन ।
फागुन २८ बाट विराटनगरमा ‘साफ ओमेन्स च्याम्पियनसिप’ हुँदैछ । प्रतियोगितामा नेपाल सहित भारत, माल्दिभ्स, श्रीलंका, भुटान र बंगलादेशको टिम सहभागी हुँदैछन् । 
‘यसपालि विनर हुने लक्ष छ,’ भण्डारीले भनिन् ।

दुई वर्ष अगाडिको साफ च्याम्पियन बन्ने सपना कतै आफ्नै भूमिमा पो पूरा हुन्छ कि ? 
 

Leave A Comment