विद्रोही सीमा

शुक्रबार, २४ फागुन २०७५, ०४ : २७ प्रजु पन्त
विद्रोही सीमा

लैजानुस्, बाटुलो नाइटो उक्काएर
मैले सधैँ त्रस्त हुनुपर्ने यो सृष्टिको केन्द्रविन्दु 
स्तन, योनि र पाठेघर लैजानुस् 
लैजानुस्, निधार च्यातेर मेरो अस्तु पनि 
यिनै अंगहरु बेरेर कानुनको पुच्छरले बाँध्छ भने 
यही कानुनमाथि सुत्नेहरुबाट म असुरक्षित हुन्छ भने 
यही कानुनले उमारेको लिंगबाट म बलात्कृत हुन्छु भने 
पकापक उक्काएर लैजानुस् 
चाहिएन लोभलाग्दा यी अंगहरु 
लैजानुस्, तपाईंको धर्म–कानुनले 
अपव्याख्या गरेको मेरो मासिकस्राव 
च्यातेर धुजाबाती पार्नुस् मेरो टाङ ।

कवि, सिमा आभासको ‘म स्त्री अर्थात् आइमाई’ कविता सङ्ग्रहको ‘बयान’ शीर्षक कविताको एक अंश हो यो । विद्रोह चेतको कसी यो कविताबाट उनले प्रशंसा भने कमै पाइन् ।

‘हाम्रो गाउँमा एक महिलाको ४÷५ जना पुरुषसँग लसपस थियो, सीमाजीको यो कविता त त्यस्तै लसपस गर्नेको जस्तै चरित्रको रैछ,’ साहित्यकारको जमघटमा गिनेचुनेकैहरुबाट यस्तै प्रतिक्रिया आउन थाल्यो । उनको कन्पारो तात्यो । यस्तो प्रतिक्रिया दिनेसँग उनको झण्डै ठूलै झगडा नै पर्यो ।

‘यस्तो प्रतिक्रिया सुनेपछि त म धेरै रिसाएँ,’ सीमा त्यो क्षण सम्झँदै भन्छिन्, ‘धन्नै हात हालाहालको स्थिति आयो ।’ 

तर उनी हतास भइनन् । अझ धेरै लेख्न बाँकी थियो । साहित्यकार कृष्ण धरावासीले उनलाई यस्ता प्रतिक्रिया सहने आइडिया दिए, ‘तिमीले सबैको चित्त बुझाउँछु भन्नेतिर लाग्ने हैन । आफ्नो श्रीमान्लाई लेखनको पाटो बुझाउन सक्यौँ भने अरुले घरै अगाडि आएर आगो बाले पनि फरक पर्दैन ।’ 
धरावासीको यो आइडियाले निक्कै राम्रो काम ग¥यो । 

मोडिएको त्यो बाटो
भोजपुरमा जन्मेकी सीमाको घरमा लैङ्गिक रुपमा विभेद त थिएन तर समाज उनले सोचेजस्तो थिएन । छोरा र छोरी भनेर हुने विभेद देख्दा उनको मनभित्र राँको बल्थ्यो र त्यही राँकोको रापमा कविता लेख्थिन् ।
उनको घरमा साहित्य र राजनीतिबारे बराबर छलफल भइरहन्थ्यो । उनका बुबाले राजनीतिक कार्यक्रममा सँगै लिएर गइरहन्थे । घरमा हजुरआमा र आमाले श्लोक हालेर कविता सुनाउँथे । उनी राजनीति र साहित्य दुवैतिर उत्तिकै आकर्षित भए पनि पहिलो प्राथमिकतामा राजनीति नै राखिन् ।

क्याम्पस पढ्न भोजपुरबाट विराटनगर आइन् । महेन्द्र मोरङ कलेज प्रवेशसँगै उनको मन राजनीतिले तान्यो । उनी विद्यार्थी संगठनमा आबद्ध भइन् तर विद्यार्थी राजनीतिको एउटा घटनाले उनको योजना नै परिर्वतन गराइदियो । 

नेपाल एकेडेमीले गरेको खुला कविता प्रतियोगितामा उनी प्रथम भइन् । साहित्यमा राम्रै उपलब्धि जोड्न उनी सफल भइन् । उता राजनीतिमा पनि अगाडि बढ्दै थिइन् उनी । नेतृत्वको जिम्मेवारी दिने बेलामा महिला भएकै आधारमा आफूभन्दा जुनियरलाई अगाडि बढाएर उनलाई उपप्रमुखमा राख्न खोजियो । उनलाई यो कुरा बिल्कुलै मन परेन र चटक्कै राजनीति छाडिन् र लेखनमा केन्द्रित भइन् । 

उनलाई लाग्यो, आखिर साहित्य पनि एक किसिमको राजनीति नै हो, विचारको राजनीति !
‘मलाई आरक्षण स्वीकार्य थिएन र छैन,’ उनी भन्छिन्, ‘हरेक ठाउँमा आरक्षणमा खुम्चिनु भन्दा लेखनमै आउन जाति लाग्यो । साहित्यमा मेरो प्रतिस्पर्धी म नै हो । यसमा अर्काको विवेकको वैशाखी टेक्न पर्दैन ।’
सीमालाई राजनीति छोड्न भने निकै सकस भयो । ‘बरु ड्रगिस्टलाई ड्रग्स छाड्न गाह्रो हुँदैन होला, मलाई त्यति गाह्रो भयो, राजनीति छाड्न ।’

मोफसलको संघर्ष
विराटनगरमा बसेर साहित्यमा तल्लिन सीमाले  मधुपर्क पत्रिकामा छाप्न एउटा कथा पठाइन् । एक पटक, दुई पटक हैन १५ औँ पटकसम्म पठाउँदा पनि कथा छापिएन । हरेक अंक हेर्थिन् तर छापिदैनथ्यो । त्यसपछि पठाउन छाडिन् । मधुपर्कमा कथा छाप्ने उनको इच्छा धेरैपछि मात्र पूरा भयो तर त्यसका लागि उनी काठमाडौंमै आउनु पर्यो ।

‘काम परेको बेलामा काठमाडौँ गएको बेला जसले सम्पादकलाई चिन्यो, उसैको छापिन्थ्यो,’ सीमा भन्छिन्, ‘महिलाको लेखनलाई अहिले जसरी प्रायोरिटी दिने चलनै थिएन । सम्बन्ध नहुँदा छापिने त कुरै आउँदैनथ्यो !’ 

अहिले मोफसलको परिभाषा फेरिएको अनुभव भएको छ उनलाई । पहिला काठमाडौं बाहिरकालाई मोफसल भनिन्थ्यो, अहिले काठमाडौंभित्रै पनि मोफसल निर्माण भएको उनको ठम्याई छ । सञ्चार माध्यममा स्थान नपाउने काठमाडौँका लेखकहरु नै अर्को मोफसलमा बाँचिरहेका रहेछन् !
सामाजिक सञ्जाल, अनलाइन लगायतका वैकल्पिक मिडियाको बढ्दो प्रभावले अहिले मोफसल र राजधानीको दुरी हटेको उनको अनुभव छ ।

‘आज सीमा आभासको लेख छपाउन राजधानी नै धाउनुपर्ने अवस्था छैन,’ उनले भनिन्, ‘पहिले पुछारमा छाप्ने सम्पादकहरु अहिले फोन गरी गरी मगाउँछन् ।’

विद्रोही छवि
सीमाको कवितामा बलात्कार, हत्या, हिंसा, चोरी डकैती, पितृसत्तामाथि बढी औँला सोझिन्छ । धार्मिक कुरीति, कुसंस्कारविरुद्ध पनि तिखो शब्द प्रहार गर्छिन् उनी ।
पितृसत्ताको विपक्षमा अग्रंपक्तिमा उभिन्छिन् । सायद यही सेरोफेरोले होला साहित्यमा अलग्गै पहिचान छ उनको । तर अझै पनि थाङ्ने, गन्थन, पँधेरे गफ लेखिन् भन्नेहरु भने उत्तिकै छन् ।
‘आफ्नो वरिपरिको विषयवस्तु नियालेर महिलाले लेख्दा गन्थन, थाङ्ने हुने भन्ने सोचाई  गलत हो,’ उनले भनिन्, ‘त्यही कुरा पुरुषले लेखे, छोएर लेखिएको हुने अनि महिलाले लेखे गन्थन हुने ? यो त अपमान हो ।’

स्वतन्त्र भन्ने शब्द महिलाको लागि बनेकै हैन 
सीमित शिक्षित परिवारमा बाहेक महिलालाई सार्वजनिक जीवनमा आउन विवाहअघि पनि सजिलो नभएको उनको निष्कर्ष छ । विवाहपछि पनि सजिलो छैन । उनको ठम्याईमा यो ‘स्वतन्त्रता’ भन्ने शब्द महिलाका लागि बनेकै हैन ।

समाज, कानुन, धर्म, सामाजिक परम्परा र रीतिरिवाजले महिलाको प्राकृतिक बनोट र अंगलाई आधार बनाएर अकाट्य जस्ता लाग्ने नियम स्थापित गराएको छ । जसले महिलाको शरीरलाई आफैँभित्र बन्धक बनाएको उनको ठम्याई छ ।

लेखनमा महिलाको पातलो उपस्थितको कारण यस्तै अवरोध हुन् । ‘घरधन्दाबाहेक सबै काममा महिला कमै छन्,’ उनले भनिन्, ‘लेखनमा आउन त झनै अप्ठेरो छ ।’
किन ?
‘साहित्य लेखन अप्ठेरो पाटो हो,’ उनले कारण खुलाउँदै भनिन्, ‘यसमा अध्ययन, चिन्तन सबै चाहिन्छ । घरधन्दा अनि बाहिरको सबै काम सकेर चोरेको समयमा लेख्ने हो अधिकांश महिलाले । यसरी लेख्न गाह्रो हुने नै भयो ।’
तर सबै उस्तै कहाँ हुन्छन् र ? बन्धन तोडेर आफ्ना लागि नबनेको ‘स्वतन्त्रता’ कब्जा गर्न सक्नेहरु पनि हुन्छन्, जस्तो सीमा आभाष छिन् !

   

Leave A Comment