अंकमा लुकेको कथा

शुक्रबार, २४ फागुन २०७५, ०४ : ३१ शिशिर वैद्य
अंकमा लुकेको कथा

दुई दशकमा ओस्कार पुरस्कार जित्न सफल चलचित्रको अध्ययन गरेर बिबिसीका केही पत्रकारले एउटा रिपोर्ट तयार पारेका छन् । त्यो रिपोर्ट, ओस्कार जित्न सफल चलचित्रमा महिलाको भूमिकामाथि छ । चलचित्रका विषय, महिलाको प्रमुख भूमिका, महिला निर्देशकदेखि महिलाले बोल्ने संवादको प्रतिशतसम्म गणना गरिएको उक्त रिपार्टका तथ्य र तथ्यांकले महिला र पुरूष बीचको असमानता विकासशील देशमा मात्र नभएर विकसित देशको मनोरञ्जन क्षेत्रमा अझै कायम रहेको रहेको देखाउँछ । 

ओस्कार जित्न सफल १९९१–२०१६ सम्मका चलचित्रमा महिला र पुरूषले बोल्ने संवादको प्रतिशत हेर्दा अवस्था अचम्मलाग्दो देखिन्छ । अधिकतर चलचित्रमा महिलाले बोल्ने संवादको प्रतिशत नगन्य छ । त्यस्तै अर्को एक अध्ययनले अमेरिकामा तथ्यांक संकलन र विश्लेषण काममा संलग्न ८८ प्रतिशत जनशक्ति पुरूष रहेको देखाएको छ । 

महिला अधिकार र असमानताको चर्को नारा उठिरहँदा विकसित देशमा गरिएको अध्ययनले उनीहरुको बोली र व्यवहारको भिन्नता देखाउँछ । यो पुष्टिका लागि तथ्यांकले सघायो ।

नेपालमा महिलाको अवस्था देखाउने तथ्यांकको आधार जनगणनाका अंक मात्रै छन् । यसबाहेक अन्य औपचारिक तथ्यांक छैनन् । महिला अधिकार र असमानताका आवाज स्थापित गर्न दर्जनौँ संस्था लागिपरेका छन् । केहीले आ–आफ्नो कार्यक्षेत्रमा महिला अवस्था विषयमा केही अध्ययन पनि गरेका छन्  तर पूर्ण छैनन् । 

अंकमै सकारात्मक र नकारात्मक कथा लुकेका हुन्छन् । हेर्दा अंक त हो नि भन्ने लाग्न सक्छ तर त्यही अंकमा समाजको अवस्था देखाउने क्षमता राख्छ । उदाहरणका लागि २०७२÷७३ को सरकारी तथ्यांकले निजामती सेवामा जम्मा ११.८ प्रतिशत महिला रहेको देखाउँछ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीमा क्रमशः ७.३, ५.५ र ८.७ प्रतिशत महिला सहभागिता देखिन्छ । 

त्यस्तै संसद्मा महिलाको उपस्थिति २९.४ प्रतिशत, लोकसेवा आयोगमा १४.३ प्रतिशत, निर्वाचन आयोगमा ३३.३ प्रतिशत रहेको भेटिन्छ । यी तथ्यांकले नेपालमा नीतिनिर्माण तहमा महिलाको  उपस्थितिको अवस्था देखाउँछ । 

नेपालको साक्षरता प्रतिशत २०११ मा ६६ प्रतिशत रहेकोमा सन् २०१४ को अध्ययनले ७०.४ प्रतिशत पुगेको देखाएको छ । महिला साक्षरता ५७.४ प्रतिशतबाट ६२ प्रतिशत पुगेको छ (पपुलेसन मोनोग्राफ २०१४) । घरधुरी सर्वेक्षण २०१६÷१७ का अनुसार न्यून आय भएका परिवारमा महिलाको साक्षरता प्रतिशत ४०.१ प्रतिशत मात्र रहेको देखाएको छ । त्यस्तै जनसंख्याको ५१.६ प्रतिशत महिला रहेको छ भने सम्पूर्ण घरधुरीको २४.८ प्रतिशत घरधुरीमा महिला घरमुली छन् ।

महिलासम्बन्धी केही तथ्यांकले नेपालमा महिलाको अवस्था सुधारोन्मुख देखाउँछ भने केही तथ्यांकले झनै खस्कँदो । महिलाहरुसँग सम्बन्धित सूचकांकहरु सयौं रहे पनि निकै कम मात्र सूचकांकलाई सहयोग पुर्याउने तथ्यांक भेटिन्छन् । यसले नेपाली महिलाको अवस्था थाहा पाउन निकै मिहिनेत गर्नु पर्ने अवस्था छ ।

समस्या तथ्यांक उपलब्ध नहुनु मात्र होइन । हामीसँग संकलित तथ्यांक केलाउने, विश्लेषण गर्ने कार्यमा महिलाहरुको उपस्थितिसमेत न्यून छ । अर्थविद् एवं महिला अधिकारकर्मी डा. मीना आचार्यका अनुसार महिला अधिकारकर्मीका रूपमा चर्चित थुप्रै हस्तीहरुलाई महिला तथ्यांकका विषयमा जानकारीसमेत छैन । हालै तथ्यांकमा महिला विषयक एक कार्यक्रममा बोल्दै आचार्यले तथ्यांक संकलन र विश्लेषणमा महिला सहभागी भए पुरूष विश्लेषक एवं संकलकले गरेको भन्दा भिन्न तस्बिर आउने दाबी नै गरिन् ।

संकलनको तथ्य लिङ्गको आधारमा पक्कै फरक आउँदैन तर संकलकले केमा बढी जोड दिन्छ, त्यसको आधारमा तथ्य भने देखिन्छ । महिलाले तथ्यांक संकलन र विश्लेषण गर्दा महिलालाई बढी प्राथमिकतामा राख्न सक्छन्, जसले महिलाबारे लुकेका तथ्यांक सार्वजनिक हुनसक्छ । 
 

Leave A Comment