जेलका महिलाको कथा खोज्ने क्रममा केन्द्रीय कारागारको महिला जेलमा फेला परिन् सरिता श्रेष्ठ (नाम परिर्वतन) जो नौ वर्षदेखि त्यहीँ थिइन् । २४ वर्षको उमेरमा जेल परेकोमा उनमा पश्चाताप कम, खुसी बढी देखियो । जेल पर्दा खुसी ! उनीतिरै ध्यान तानियो ।
२०६७ पुस २९ मा जिल्ला अदालत काठमाडौंको आदेशमा उनी केन्द्रीय कारागार महिला जेलमा आइपुगेकी रहिछन् । अभियोग थियो, दुई सय ग्राम खैरो हिरोइन बोक्नु । खैरो हेरोइन ओसारपसारमा संलग्न रहेको अभियोगमा अदालतबाट उनीविरुद्ध १५ वर्ष कैदको सजाय फैसला भइसकेको छ । सजाय काट्न र जेल जीवनबाट स्वतन्त्र हुन अझै ६ वर्ष बाँकी छ ।
आखिर उनी किन खुसी छिन् जेल परेर ? बाँकी कथा उनीबाटैः
.....................
मेरो घर काठमाडौँको बालाजुमा हो । परिवार सानो थियो बाबा, मामु, म भाइ र बहिनी थिई । बाबाको व्यवसाय थियो, मामु घरमै बस्नुहुन्थ्यो । हामीलाई एकदमै प्यारो गरेर हुर्काउनु भएको थियो ।
म घरकी जेठी छोरी । बाबाले साथी जस्तै व्यवहार गर्नुहुन्थ्यो तर बेलाबेला ‘नानी नराम्रो नगर है, पछि दुःख पाइन्छ’ भन्नुहुन्थ्यो । त्यो बेला बुबासँग खुब रिस उठ्थ्यो । स्वतन्त्रतामा अंकुश लगाउन खोजेझैँ लाग्थ्यो । बुबाले व्यवसायसम्बन्धी कुरा गर्न खोज्दा उहाँको नजिकै पर्दिनथेँ । तर असाध्यै माया गर्नुहुन्थ्यो । घुम्न रोकटोक थिएन, पैसा जति मागे पनि पाइन्थ्यो ।
घर नजिकैको केटासँग मेरो अफेयर्स शुरु भइसकेको थियो । हाम्रो प्रेमसम्बन्धबारे घरमा चाल पाएपछि उसैसँग विवाह गरेँ ....( उनी केही बेर टोलाइन् । आँखा भरिए उनका । केही बेर बोल्नै सकिनन् ) ।
म अहिले त्यो केटाको बारे केही पनि भन्दिनँ । उसको मेरो डिभोर्स भइसकेको छ ।
बीचैमा पढाइ छाडेर विवाह गरे पनि मलाई खर्च चाहिएको बेला बुबाले दिन छोड्नुभएन । छोरीले फेरि पढोस् भनेर धेरै कोसिस पनि गर्नुभयो तर मैले नै उहाँको सपनामा लात हानेर विवाह गरेँ । सानैमा विवाह गरेकीले होला, सम्बन्ध टिक्न सकेन । म माइतैमा आएर बस्न थालेँ ।
घरकाले भनेको नमानी कच्चा उमेरमै विवाह गर्न पुगेँ तर सम्बन्ध राम्रो हुन सकेन । यसले तनाव दियो । त्यसपछि शुरु भयो मेरो ड्रग्स यात्रा । त्यो बेला मेरो उमेर २१ को थियो ।
बागबजारको त्यो दिन
हामी चार जना थियौं । दिनमा ३ पटक खान्थ्यौँ । ५ हजारको ड्रग्सले तीन पटक खान पुग्थ्यो । बिहान ९ बजे, दिउँसो ३ बजे र रातको ९ बजे ड्रग्स लिन्थ्यौँ । बिहान ड्रग्स खान हिँडेको म बेलुकी नखाइकन घर पुग्दिनथेँ । जहाँ पुलिसले देख्दैन जस्तो लाग्थ्यो, त्यहीँ बसेर खान्थ्यौँ ।
त्यो दिन ड्रग्स ल्याउने साथी र मसहित अरु बागबजारको भित्री गल्लीमा थियौँ । ड्रग्स ( खैरो हेरोइन) भर्खर आइपुगेको थियो । मसँग दिनभरिलाई पुग्ने गरी हातभरि ड्रग्स थियो । हामी खान ठिक्क मात्र परेका थियौँ, तीन जना मान्छे आए । साथीजस्तै व्यवहार गरे ।
हामीले उनीहरु पनि ड्रगिस्ट नै होलान् भनेर सोच्यौँ । उनीहरुले एकैछिन गाडीमा बानेश्वर जाऊँ न भने । हामीले हाम्रो बाइक पार्किङ गर्यौँ र उनीहरुको गाडी चढेर गयौँ । अनि पो थाहा भो– ती त पुलिस रहेछन् ! हामी त पक्राउ परेछौँ !
त्यो बेलामा ड्रग्स लिन थालेको दुई वर्ष जति भएको थियो । एकचोटि पनि प्रहरीले फेला पारेको थिएन । प्रहरीले पक्राउ गर्ला भन्ने पनि लाग्दैनथ्यो तर पक्राउ परियो ।
रोएरै बित्यो दुई वर्ष
जेल धेरैको लागि भयानक कष्टकर ठाउँ हो । म २४ वर्षमा नै जेल परेकी, मेरा लागि पनि कम्ती कष्ट भएन । अरु किशोर उमेरमा लागुऔषधमा फँस्छन् । मेरो केसमा त त्यो पनि हैन । अरु सुध्रने बेलामा म बिग्रिन पुगेँ ।
फुक्काफाल भएर, जति भन्यो त्यति पैसा बुबाबाट लिएर हिँडेकी म एक्कासि जेल परेँ । कष्ट हुने नै भयो । परिवारको सदस्यको भन्दा पनि ड्रग्सकै याद आउँथ्यो । आफूले आफैँलाई भुत्ल्याएँ, कोपरेँ, चिथोरेँ पनि । मेरो शरीर र अनुहारभरि घाउ नै घाउ भयो, आफैँले चिथोर्दा । सामान्य अवस्थामा फर्कन एक वर्ष लाग्यो ।
एक वर्षसम्म ड्रग्स लिन नपाएर रोएँ । शरीरबाट ड्रग्सको असर झरेपछि बल्ल परिवारको याद आउन थाल्यो । अर्को एक वर्ष परिवारका सदस्य सम्झेर रोएँ । दुई वर्ष जेलमा पूरै रोएरै बित्यो ।
जे पर्नु अगाडि नै आमा भइसकेकी थिएँ, छोरी त्यो बेला तीन वर्षकी मात्र थिई । छोरी पेटमा भएकै बेला पनि मैले ड्रग्स खान छाडिनँ । अहिले मलाई ड्रग्सको कारण भएको एलर्जी उसलाई पनि हुन्छ । अहिले ऊ ११ वर्षकी भई । अहिलेसम्म मलाई मामु भनेर बोलाएकी छैन । जेलमा अरुका छोराछोरी आए भने हात समाउँछन्, छुट्टिनु पर्यो भने रुन्छन् तर मेरी छोरी हात समाउन त के, बोल्दा पनि बोल्दिन । सोधेको कुरा मात्रै भन्छे । मैले समाएर बस्न खोजे पर भाग्छे ।
छोरी जन्मेपछि आफ्नै दुध खुवाइनँ । अहिले अरुले मायाले बच्चालाई दुध खुवाएको देख्दा मुटु बटारिन्छ । त्यो दृश्य हेर्नै गाह्रो हुन्छ ।
जेल परेको २ वर्षसम्म छोरीको मुख पनि हेर्न पाइनँ । म पनि कसैकी आमा हुँ भन्ने होस खुलेपछि भने असैह्य भयो । खाना कसले खुवायो होला ? लडी कि ? केही भयो कि भन्ने याद आइरहने, मन आत्तिरहने गथ्र्यो तर आत्तिएर के गर्नु ? खुरुरु दौडेर भेट्न जान पाउने भए पो !
ऊ ७ वर्षकी हुँदासम्म पनि म उसकी आमा हुँ भन्ने पत्तो पाएकी थिइन । उसलाई आमा भनेर चिनाइयो तर आमा भनेर बोलाउन सकेकी छैन अझै । एउटी आमालाई आफ्नो सन्तानले नचिन्दा, आमा भनेर नबोलाउँदा कस्तो हुन्छ ? मन भित्रभित्रै हुँडलिन्छ । उसका लागि मेरा बाबा नै उसका बाबा, मेरी आमा नै उसकी आमा । मनमा लाग्छ, छोरीले आमा भनेर बोलाइदिओस् तर बोलाउँदिन ।
ऊ सानी छँदा मैले एक गाँस भात पनि खुवाइनँ । जहिले ड्रग्समा झुम्मिएर बसेँ । कठै, छोरीले कसरी पो आफ्नी आमा हो भन्ने फिल गरोस् ! सायद म जेल नपरेको भए छोरीको यत्ति माया पनि लाग्दैनथ्यो होला !
म जेलमा, बाबा डिप्रेसनमा
जब म ड्रग्समा लठ्ठ थिएँ, त्यतिबेला मेरो संसार नै यही हो भन्ने लाग्थ्यो । परिवारको बाल मतलब लाग्थेन । संसारमा म एक्लै हुँ भन्ने फिल हुन्थ्यो । जब जेल परेँ, बाबा डिप्रेसनमा जानुभएछ । मैले गर्दा व्यवसाय पनि चौपट भयो, बाबाको स्वास्थ्य पनि धरापमा पर्यो ।
बाबाले डिप्रेसनको औषधी खानु प¥यो । एक वर्षसम्म त मलाई भेट्न आउन पनि सक्नुभएन । उहाँलाई रिकभर हुन नै एक वर्ष लाग्यो । जब बाबा भेट्न आउनुभयो, त्यो पहिलो दिन बाउछोरीको बोलचालै भएन । रुवावासी चल्यो । न त बाबा बोल्न सक्ने, न म ।
‘म कामबाट बेलुकी थाकेर आउँदा घरमा सबैजना बस्नु है मेरो आधि थकाइ मर्छ’ भन्नुहुन्थ्यो बाबाले । उहाँको त्यो भनाइ जेलमा धेरै सम्झिएँ । अहिले पनि सम्झिन्छु । बाबा कामबाट आउनुभयो होला, म त्यहाँ छैन भन्ने लागिरहन्छ । अहिले पनि बाबा १÷२ दिन बिराएर आइरहनुहुन्छ भेट्न । आएको बेलामा नरोएको दिनै हुन्न । ८ वर्ष भयो बाबा भेट्न आउन थालेको । नरोएको एक दिन पनि छैन । यस्तो देख्दा मलाई कस्तो हुन्छ होला ?
(उनी फेरि रोकिइन् )
मामु १५ दिनमा आउनुहुन्छ ।
आखिर पुराना कुरा सम्झेर नै के नै हुन्छ र ? अहिले आफूले आफैँलाई सम्हालेकी छु ।
जेल नपरेकी भए मरिसक्थेँ
( महिला कारागार )
मैले ड्रग्सको मात्रा बढाउँदै लगेकी थिएँ । म आफ्नै सुरमा ड्रग्समा फँसेकी थिएँ । ड्रग्स लिन छोड्न सक्ने थिइनँ । कहिलेकाहीँ धेरै जेल सजाय भयो कि भन्ने लाग्छ तर त्यत्ति धेरै दुःखी पनि छैन, खुसी नै छु ।
अहिले सुन्छु, मसँगै ड्रग्स खाने कति साथी मरिसके, कति ठूलो रोग लागेर बल्लतल्ल बाँचेका छन् । म पनि जेल नपरेको भए अहिले यसरी कुरा गर्न जीवित हुने नै थिइनँ । म मरिसकेकी हुन्थेँ ।
म मरेको भए न बाबालाई नै बुझ्न पाउँथेँ, न आमा हुनुको अर्थ अनुभव हुन्थ्यो ।
धन्न जेल परेँ र त कम्तीमा भित्रै बसेर भए पनि संसार हेर्न पाएकी छु ।
यसका लागि भगवान्लाई पटक–पटक धन्यवाद दिने गरेकी छु, ‘जेल त पार्यौँ तर कम्तीमा संसार हेर्न जीवित त राख्यौ !
Leave A Comment