बजारमा जस्ता फिल्म चलिरहेका थिए, त्योभन्दा नितान्त फरक विषय बोकेर गत साता हलमा आयो– ‘खाग’ । बजारलाई नपछ्याई बन्ने सिनेमा चासोको केन्द्रमा हुन्छ नै, झन् ‘खाग’ चितवनको राष्ट्रिय निकुञ्जमा हुर्कने गैँडा अनि त्यसकै संरक्षणमा खटिएका इमान्दार सरकारी कर्मचारीको कथामा बनेको थियो ।
फेरि यसका निर्देशक मनोज पण्डितले ‘दासढुंगा’ र ‘वधशाला’ बनाएर तारिफ पाइसकेका थिए । त्यसैले फिल्मप्रति अपेक्षा हुनु सामान्य नै हो तर त्यो अपेक्षा हलबाहिर मात्रै बच्यो । हलमा करिब दुई घण्टा बिताउँदा त्यही अपेक्षाको मृत्यु भयो । लाग्यो– ‘ह्या कस्तो फिल्म बनाएको होला !’
‘खाग’ चितवन राष्ट्रिय निकुञ्जमा चोरी–शिकारी प्रतिरोध इकाईको प्रमुख भई गैँडा संरक्षणमा काम गरेका कमलजङ्ग कुँवरको चर्चित पुस्तक ‘गैँडालाई चार वर्ष’मा आधारित फिल्म हो । त्यसैले यसलाई पुस्तकदेखि पर राखेर हेर्न सकिँदैन ।
पुस्तकमा कुँवरले गैँडा तस्करी नियन्त्रणका क्रममा खेपेका अनुभव र जोखिम समेटेका छन् । त्यही पुस्तकका मह-त्वपूर्ण अनुभवलाई समेट्दै फिल्म निर्देशक पण्डितले पटकथाको रुप दिए र पर्दामा उतारे तर विडम्बना पुस्तकको रोमाञ्चकता पर्दामा उतार्न निर्देशक पूरै चुके ।
कथानक यस्तो छः चितवनमा दिनानुदिन गैँडा मार्दै बहुमूल्य खागको तस्करी बढेपछि त्यसको नियन्त्रणका लागि सहायक चिफ वार्डेन कमलजंग चितवन आइपुग्छन् । तस्करी नियन्त्रण र गैँडा संरक्षणका लागि उनी बस्ती–बस्तीमा छिर्दै तस्कर समाउन थाल्छन् । तस्करी नियन्त्रणका क्रममा उनले के–कस्तो संघर्ष गर्छन् ? गैँडाको एन्टी–पोचिङ अपरेसनमा उनी सफल हुन्छन् ? फिल्मको कथा पुस्तकमा समावेश अनुभवहरुभन्दा भिन्न छैन ।
फिल्मको क्रेडिटमा उल्लेख भएअनुसार फिल्म पुस्तकमा आधारित हो तर धेरै ठाउँमा किताबी कुरा तोडमोड गरिएको छ । खाग तस्कर पक्राउ गर्न जाँदा बाटोमा जम्काभेट भएको माओवादीलाई कमलजंगले ‘गोली हान’ भनेर दिएको चुनौती, तस्कर समूहले खागका लागि गरेको उनको छोराको अपहरण प्रसंग पुस्तकमा छैन ।
पुस्तकमा कमलजंग स्वयंले आफूलाई त्यति ‘हिरोइक’ रुपमा प्रस्तुत गरेका छैनन्, जति निर्देशकले उनलाई फिल्ममा देखाइदिएका छन् । फिल्म हेर्दा पक्कै कुँवर पनि लजाए नै होला ।
फिल्मको प्रमुख मेरुदण्ड मानिने पटकथा बुन्नमै यसका निर्देशक पूरै खुस्केका छन् । कमलजंगले गैँडाको चोरीतस्करी नियन्त्रणका क्रममा आफूले भोगेका प्रसंगहरु पुस्तकमा रोचक र रमाइलो ढंगले पस्केका छन् । उनका प्रसंगहरु विश्वसनीय पनि देखिन्छ पुस्तकमा तर त्यसैलाई फिल्ममा उतार्न निर्देशकले गरेको कमजोरीले उडन्तेझैँ देखिन्छन्, ती दृश्य ।
खाग तस्करी संगठित अपराध हो, जसमा कानुन कार्यान्वयन गर्ने निकायका केही व्यक्तिको कुनै न कुनै रुपमा संलग्नता देखिएको छ । उनको पुस्तकमा ती प्रसंग प्रशस्तै छन् । पुस्तकमा रहेको कमलजंग तस्कर खोज्दै भारतसम्म पुगेको, सेनाको कर्णेलसँगको गलफत्ती, केही पनि फिल्ममा देखिँदैन ।
फिल्म अवधिभर जसरी निर्देशकले दर्जनौँ फाइटका दृश्य राखेका छन्, त्यसले दिक्कै बनाउँछ । फिल्म फाइटहरुको संकलन मात्रै होइन, यति चेत त फिल्म समीक्षक हुँदै निर्देशक बनेका पण्डितसँग पक्कै थियो तर विडम्बना उनको फिल्मका अधिकांश समय पात्रहरुलाई लाप्पा खेलाएरै बिताइदिएका छन् ।
कमलजंगले आफ्नो पुस्तकमा कतैकतै तस्करी नियन्त्रणमा सेनाको असहयोगको प्रसंग त उठाएका छन् तर सेनाको सहयोगबिनै तस्करी नियन्त्रण गरेको दाबी गरेका छैनन् । पुस्तकमा उनले लेखेको धेरैजसो प्रसंगहरुमा तस्करी समाउन सेनासहित नै पुगेका थिए ।
वन्यजन्तु तस्करी नियन्त्रणमा वन कर्मचारी मात्रै खटिएका हुँदैनन् । निकुञ्ज सुरक्षामा सरकारले सेनालाई मह-त्वपूर्ण भूमिकासहित खटाइरहेको छ र सबै निकुञ्जको सुरक्षा घेरा सेनाकै हुन्छ । यत्रो महŒवपूर्ण जिम्मेवारी पाएको सेनाको भूमिका खाग तस्करी नियन्त्रणमा नहुने कुरै भएन ।
फिल्ममा भने सेनालाई पूरै नजरअन्दाज गरिएको छ । फिल्म हेर्दा यस्तो लाग्छ, कमलजंगले आफ्नो कार्यकालमा गैँडा शिकारी नियन्त्रणमा जे जति उपलब्धि हासिल गरे, त्यो उनी र वनका कर्मचारीले तस्करसँग लाप्पा खेलेर हासिल गरेका हुन् । एक दृश्यमा सेनाको प्रसंग त आउँछ तर असहयोग गर्न खोजेको । यो भन्दा अर्को हाँस्यास्पद अरु केही हुन सक्ला र ?
गैँडा संरक्षणमा खटिइने वार्डेनले सुरक्षाका लागि पेस्तोल पाउँछन् र बोकेका पनि हुन्छन् । छापा मार्न वा कसैलाई पक्राउ गर्न जाँदा कर्मचारी मात्रै हैन, सुरक्षा दस्ता लिएर नै जान्छन् । तर, फिल्ममा त वन कर्मचारीले पेस्तोल समातेको जम्मा दुई दृश्य मात्र छ । धेरैजसो दृश्यमा वार्डेन सेनाको टोलीबिनै गाउँगाउँमा तस्कर समात्न हिँडेका छन्, अजंग ज्यान भएका तस्करसँग चौर, हिलो र खोलामा लाप्पा खेलेका छन् । झापड हानेरै उनले तस्कर पक्राउ गरेको दृश्य साउथ इन्डियन फिल्मका द्वन्द्व दृश्य भन्दा कम लाग्दैन ।
फिल्ममा निर्देशकले गैँडालाई परिवारभन्दा बढी प्रेम गर्ने इमान्दार सरकारी कर्मचारीका रुपमा कमलजंगलाई देखाएका छन् तर के कारण उनी गैँडाप्रति त्यति धेरै कटिबद्ध भइरहेका छन्, दर्शकले महसुस गर्ने गरी प्रस्तुत गर्न सकेका छैनन् । छ्यास्स आमाले जंगल घुम्दा गाली गरेको दृश्य राखेका छन् तर अर्पयाप्त । पुस्तकमा भने कमलजंगको गैँडा मोहको कारण प्रष्टै देखिन्छ ।
फिल्म हेर्दा गैँडा संरक्षणको जटिलता र चुनौतीबारे दर्शकलाई थोरबहुत जानकारी त हुन्छ तर सतही मात्र । कमलजंगले जसरी पुस्तकमा गैँडाको पूरा तस्करीतन्त्र र सञ्जालको पर्दाफास गरेका छन्, फिल्ममा त्यसको आभाष हुन्न ।
फिल्म हेर्दा यस्तो लाग्छ, कमलजंगले गैँडासँग बिताएका चार वर्षमा गाउँलेलाई आतंकित पार्ने फाइट खेल्नुबाहेक अरु केही गरेनन् । र, दर्शकलाई यस्तो महसुस गराउनु निर्देशकको ठूलो कमजोरी हो ।
फिल्ममा निर्देशकले जेलभित्रै बन्दुकसहित सुरक्षाका लागि प्रहरी उभ्याएको दृश्य अस्वाभाविक र ठट्टा लाग्छ । प्रहरीको सुरक्षा जिम्मेवारी जेलको पर्खाल बाहिर मात्र हो, भित्र कैदीबन्दीकै प्रशासन चल्छ भन्ने सामान्य जानकारी पनि नरहेको देखियो निर्देशकमा ।
फिल्ममा कलाकारको अभिनयमा त्यति समस्या छैन । प्रवीण खतिवडा र आशान्त शर्माको अभिनय स्वाभाविक छ । दीपा पन्त र सिर्जना अधिकारीको अभिनय पनि पात्र सुहाउँदो नै छ । फिल्मका निर्देशकसमेत रहेका पण्डितको नेताको भूमिका उनको अभिनयको रहरमै समेटिएको छ ।
फिल्मको प्रकाश संयोजन गज्जब छ । सिनेमाटोग्राफी कतै दृश्य र पात्रको मुडअनुसार नै चलेजस्तो लाग्छ, कतै आवश्यकताभन्दा बढी चलाएजस्तो देखिन्छ । फिल्मको ध्वनि पनि त्यस्तै छ, कतै स्वाभाविक त कतै लाउड ।
यो फिल्मका निर्देशक पण्डित फिल्मप्रति गहिरो अध्ययन र आलोचनात्मक चेत भएका फिल्मकर्मीका रुपमा परिचित छन् । तर ‘खाग’ हेर्दा उनको त्यो विशेषता झल्किदैन ।
गैँडा तस्करीलाई विषय बनाउनु फिल्मको प्रंशसनीय पक्ष हो । जुन पुस्तकलाई फिल्मको आधार बनाइएको छ, सो पुस्तकमा सम्बन्धित विषयका लागि पर्याप्त सामग्रीसमेत छ । यति राम्रो विषय र भरिपूर्ण सामग्री हुँदाहुँदै पनि निर्देशक पण्डितले जुन स्तरको फिल्म बनाए, यसले उनको निर्देशकीय क्षमतामाथि नै प्रश्न उठाएको छ ।
Leave A Comment