करकापमा धर्म परिवर्तन अपराध

आइतबार, ०३ चैत २०७५, ०२ : १८ स्वीकृति बराल
करकापमा धर्म परिवर्तन अपराध

करकापमा धर्म परिवर्तन अपराध

प्रश्न : धर्मको प्रचार–प्रसार गरेर अरुलाई धर्मपरिवर्तन गर्न लगाउनु वा उक्साउनु कानुनको नजरमा कसुर हो कि हैन ? हो भने यस्तो कार्य गर्नेलाई कस्तो सजाय हुन्छ ?

उत्तर : नेपालको संविधानको भाग ३ को मौलिक हकअन्तर्गतको धारा २६ ले प्रत्येक नागरिकलाई धार्मिक स्वतन्त्रताको हक हुने व्यवस्था गरेको छ । नेपालको संविधानअनुसार धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता छ ।

प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिक स्थल तथा धार्मिक गुठी सञ्चालन र संरक्षण गर्ने हक हुन्छ । यस धाराद्वारा प्रदत्त हकको प्रयोग गर्दा कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भंग गर्ने क्रियाकलाप गर्न, गराउन वा कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन । त्यस्तो कार्य कानुनबमोजिम दण्डनीय मानिन्छ । 

आफ्नो धर्मको मान गर्नु भनेको अरुको धर्मको अपमान गर्नु हैन । अरुको धर्मको अपमान गर्नु भनेको आफ्नो धर्मको इज्जत बढाउनु पनि हैन । सबै धर्मका आफ्नै मूल्य र  मान्यता हुन्छन् र हरेक धर्म मान्नेहरुमा आफ्नो धर्मप्रति छुट्टै विश्वास र श्रद्धा हुन्छ । 

अरुको धर्ममा खलल पुग्ने गरी कुनै पनि काम गर्नु फौजदारी अपराध हो । मुलुकी फौजदारी (संहिता) ऐन, २०७४ को परिच्छेद ९ ले के गर्दा धर्मसम्बन्धी कसुर गरेको मानिन्छ र त्यहाँ कस्तो सजाय हुन्छ भन्ने प्रस्ट उल्लेख गरेको छ । 

कसैले कुनै जात, जाति, सम्प्रदाय वा वर्गको धार्मिक आस्था वा धर्मको घृणा गर्ने वा अपमान गर्ने नियतले जानीजानी धार्मिक पूजा, प्रार्थना वा कर्म गर्ने स्थान वा पवित्र मानिएको कुनै पनि कुरामा क्षति पुरयाउने काम कहिले गर्नु हुँदैन । 

यस्तो किसिमको काम गरेमा सो काम गर्नेलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुन्छ । यदि त्यस्तो कसुर गर्ने व्यक्ति अन्य देशको नागरिक हो भने उसलाई नेपालीले पाउने जति सजाय पाउनासाथ सजाय सकिएको ७ दिनभित्रै नेपालबाट बाहिर पठाइने व्यवस्था गरिएको छ । 

कसैको धार्मिक भावनामा आघात पुर्याउने काम पनि दण्डनीय हो । कसैले लेखेर, वचनले वा आकार वा चिन्हहरु प्रयोग गरेर वा कुनै किसिमबाट जात, जाति, सम्प्रदाय वा वर्गको धार्मिक भावनामा आघात पुरयाउने काम गर्छ भने त्यस्तो काम गर्ने व्यक्तिलाई दुई वर्ष कैद र बीस हजार रुपैयाँसम्म जरिवाना हुन्छ । 
कसैले धेरै पहिलेदेखि चलिआएको अरुको धार्मिक रीतिस्थितिमा जानीजानी बाधा पु¥याएमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई एक हजार रुपैयाँसम्मको जरिवाना  वा एक वर्षसम्म कैद वा दुवै सजाय हुन्छ । 
त्यसैगरी कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न दुरुत्साहन दिनु हुँदैन । यस्तो कार्य कानुनको नजरमा अपराध हो । कसैले जाहेरी दिएमा यस्तो कसुर गर्ने मान्छेलाई पाँच वर्षसम्म जेल र पचास हजार रुपैयाँसम्म जरिवाना हुन्छ । 

धर्म परिवर्तन गराउनु वा धर्म परिवर्तन गर्ने नियतले प्रचार–पसार गराउनु पनि कानुनी रुपमा अपराध हो । कसैले धर्मको गलत प्रचार–प्रसार भएको थाहा पाएमा त्यस्तो कसुर भएको मितिले ६ महिनाभित्र उजुर गर्नुपर्छ किनभने करकापमा पारेर वा अरुलाई उक्साएर धर्म परिवर्तन दण्डनीय कसुर हो । यस्तो कार्यले समाजमा बेथिति उत्पन्न गराउँछ । त्यसैले सबै धर्मलाई सम्मान गर्दै आफ्नै धर्ममा रमाउँदै कुनै पनि धर्मलाई विवादमा नल्याउनु नै राम्रो कुरा हो ।
 

-कुनै कानुनी जिज्ञासा भए infoshukrabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

Leave A Comment