रेमिटेन्सको कहर ः ध्वस्त हुँदै सम्बन्ध

सोमबार, १८ चैत २०७५, ०७ : २९ शुक्रवार
रेमिटेन्सको कहर ः ध्वस्त हुँदै सम्बन्ध

प्रजु पन्त/पुष्पा थपलिया
झापा कचनकवल गाउँपालिका वडा नम्बर ९ की सुनिता दर्जीका श्रीमान् वैदेशिक रोजगारीमा मलेसिया गएको वर्ष दिन मात्रै भयोे । चार सन्तानको जिम्मेवारी दिएर कमल दर्जी विदेशिए । बेलाबेलामा पैसा पनि आउँथ्यो । हप्तामा एक दिन इमोमार्फत् दुवैबीच गफगाफ पनि हुन्थ्यो ।

श्रीमान्प्रति उनी इमान्दार थिइन् तर अकस्मात उनको जीवनमा एउटा शहरिया केटोको प्रवेश भएपछि जीवनको लय बद्लियो । काठमाडौं घर बताउने त्यो केटोको आवतजावत उनको घरमा बाक्लिन थालेपछि गाउँघरमा गाइँगुइँ चल्न थाल्यो । केही समयमै सुनिता श्रीमान्ले पठाएको सबै पैसा लिएर त्यही केटासँग शहर पसिन् । परिवारको लागि कमाउन मलेसिया भासिएका कमलको जीवनको लय नै बिग्रियो ।
‘खै बुद्धि पनि कता गएको थियो होला त्यो आइमाईको,’ सुनिताकी सासू गोमा दर्जीले भनिन्, ‘साना लालाबाला छाडेर कसरी हिँड्न सकेकी होली !’
..................
इटहरी उपमहानगरपालिका वडा नम्बर ७ बज्राहाका अक्षय खवासले झुलनवती चौधरीसँग प्रेम विवाह गरेका थिए । बिहे हुनेबित्तिकै अक्षयका परिवारले उनीहरुलाई एक कठ्ठा जमिन दिएर छुट्याइदिए । 
खान लाउनै समस्या भएपछि अक्षय ऋण काढेर विदेशिए । पाँच वर्षसम्म विदेशमा दुःख गरेर घरको आर्थिक अवस्था सुधार्ने सल्लाहअनुसार उनी विदेशमा टिक्न सकेनन् र घर फर्किए । नेपाल फर्किएपछि अक्षयको व्यवहार बद्लियो । अहिले यी दुवै सम्बन्ध विच्छेदको तयारीमा छन् । 

‘ऊ विदेश गएर परिवर्तन भएर आएछ,’ भुलनवतीले शुक्रवारकर्मीसँग गुनासो गर्दै भनिन्, ‘तिमी मनै पर्दैन भन्न थाल्यो, त्यसैले छुट्टिन आँटेको ।’ 
..................
आर्थिक वर्ष २०६५÷०६६ देखि ०७४÷०७५ को आकँडाअनुसार वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३८ लाख ९८ हजार छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले उपलब्ध गराएको आँकडाअनुसार उनीहरुबाट १० वर्षको अवधिमा ४ हजार ४ सय ८२ अर्ब रुपैयाँ नेपाल भित्रँदा देशको आर्थिक स्वास्थ्य राम्रै भयो तर रेमिटेन्ससँगै पारिवारिक कलह, ठगी, दलालीसमेत भित्रियो । 

रेमिटेन्ससँगै भित्रिएको पारिवारिक कलहका थप घटना यस्ता छन्ः

कञ्चनपुर घर भएका रमेश शाही श्रीमती रिनासँगै महानगरीय प्रहरी परिसर काठमाडौंको महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा भेट्टिए । श्रीमतीले प्रहरी कार्यालयमा खान–लाउन नदिएको भन्दै उजुरी दिएपछि उनी तारेख धाउन आएका थिए । उनीहरुबीचको पारिवारिक कलहको कारण अनेक देखिए पनि मूल कारण वैदेशिक रोजगारी थियो । 

रमेश २१ र रिना १९ वर्षको हुँदा भागी विवाह गरेका थिए । रिना तल्लो जातको भन्दै रमेशको घरले स्वीकारेन । दुवै परिवारसँग छुट्टिएर बसे । पारिवारिक सल्लाहमा रमेश वैदेशिक रोजगारीका लागि कतार लागे । परिवारलाई सुख दिने भन्दै उनले सात वर्ष कतारमा बिताउँदा दुवैको सम्बन्ध भाताभुङ्ग भइसकेको थियो ।

सात वर्षपछि रमेश स्वदेश फर्किए तर न माइतमा रहेकी श्रीमतीको वास्ता गरे न नौ वर्षको छोराको ख्याल नै गरे । श्रीमान्ले वास्तै नगरेपछि उनी प्रहरी कार्यालय आइन् ।

‘उहाँ विदेश गएपछि परिस्थिति बिग्रियो,’ रिनाले भनिन्, ‘सुन्दैछु, उहाँ आफ्नै जातकी अर्की केटीसँग विवाह गर्दैै हुनुहुन्छ रे !’

रमेश श्रीमतीको दाबी स्वीकार्दैनन् । उनी बेकारमा आफूमाथि शंका गरेको दाबी गर्छन् । कतारमा बस्दा कम्पनीको पैसा चोरिएपछि आफूले धेरै दुःख पाउँदासमेत श्रीमतीले साथ दिनुको साटो तनाव मात्रै दिएको दाबी गर्दै उनले भने, ‘आफू उता टेन्सनमा हुँदा उनले खाली डिमान्ड मात्र गरिन्, मेरो अवस्थाको ख्यालै गरिनन् । त्यसपछि मैले पनि वास्ता गर्न छाडिदिएँ ।’

अहिले उनले १० लाख लिएर छोडपत्र गर्न दबाब दिइरहेका रहेछन् । 

‘मलाई १० लाख लिएर छुटौँ भनेर दबाब दिइरहेको छ,’ उनले भक्कानिँदै भनिन्, ‘छोरा त उसैको खुनको हो, दिउँला । ऊ नभएपछि त्यो पैसा लिएर मेरो मन त खुसी हुन्न नि !’

रमेशले सम्बन्ध विच्छेद हुनुमा एक अर्काबीच बढेको असझदारी मुख्य कारण रहेको दाबी गरे । रिनाले भने आफ्नै जातकोसँग प्रेम भएकाले उसैसित विवाह गर्न यस्तो गरेको दाबी गरिरहिन् । 

रमेशलाई अन्यसँगको प्रेमसम्बन्धबारे सोध्दा ‘रिना पनि अरुसँग विवाह गर्न स्वतन्त्र रहेको’ भन्दै उम्किए ।

रामेछापका  शैलेन्द्र रानाविरुद्ध महिला सेवा केन्द्रमा परेको मुद्दाको प्रकृति पनि उस्तै छ । २०७५ माघमा दर्ता भएको मुद्दाको मिसिल केलाउँदा सम्बन्ध विच्छेदको कारण वैदेशिक रोजगारपछि बढेको दुरी नै देखिएको छ । 

शैलेन्द्र दिनहुँ होसै नहुनेगरी रक्सी खान्थे, जुवाको लत उस्तै । श्रीमती सीताले पति शैलेन्द्रलाई सुधार्न माइतीसँग ऋण लिएर साउदी अरब पठाइदिइन् । तीन वर्षका लागि साउदी गएका उनले शुरुको वर्ष पैसा पनि पठाए तर ऋण तिरिनसक्दै पैसा आउन छाड्यो । 

सीताले श्रीमान् नेपाल आएको चाल पाइन् । उनी त अर्कै महिलासँग विवाह गरेर पो बसेका रहेछन् ! जेठीले खोज्न थालेपछि उनले भागे । अहिले उनी कता छन्, अत्तोपत्तो छैन । सीताले पति भेटिने आशामा प्रहरीमा निवेदन दिएकी थिइन् तर फेला परेका छैनन् । 

यी भए विदेशिएका श्रीमान्ले स्वदेशमा भएका श्रीमतीलाई दिएको धोकाका घटना । अर्को रोचक घटना पनि फेला पर्यो । यो भने विदेशिएकी श्रीमतीलाई स्वदेशमा बस्ने श्रीमान्ले दिएको धोकाको हो ।

घटना यस्तो रहेछः
पुतली सडकमा रहेको सर्वोदय लिगल सर्भिस एन्ड रिसर्च सेन्टरमा सम्बन्ध विच्छेदको प्रक्रियाका लागि आएकी ती महिलाका पाँच वर्ष इजरायलमा बसेर आएकी थिइन् । 

पाँच वर्षका लागि इजरायलको भिसा लागेपछि उनी परिवारको खुसीका लागि त्यता लागिन् । श्रीमान् नेपालमा, उनी विदेशमा । तापनि दुवैको सम्बन्ध राम्रै थियो । उनले महिनैपिच्छे पैसा पठाउँथिन् । 
श्रीमान्ले अब घर बनाउनुपर्छ भनेपछि उनले पैसा पठाइन् । श्रीमान्ले घर बनाएँ भने तर फोटो पठाएनन् । ‘तिमी फर्केपछि सरप्राइज हुन्छ क्या !’ भनिरहे ।

नेपाल आउँदा घर बनेको ठाउँमा जाँदा पतिले भनेझैँ उनी पूरै सरप्राइज भइन् । घर त पूरै बन्यो भनेका थिए श्रीमान्ले तर त्यहाँ त पिल्लर मात्र गाडिएको थियो ।

यसपछि उनका श्रीमान्को पोल खुल्यो । उनी त अर्कै युवतीसँग राशलीला गरेर बसेका रहेछन् । घर बनाउने पैसा त्यतै सक्किएछ । श्रीमान्ले धोका दिएको खुलेपछि उनी सम्बन्ध विच्छेद गर्न ल फर्म धाइरहेकी छन् ।
यी प्रतिनिधि घटना हुन् । वैदेशिक रोजगारीमा लामो समय बस्दा यता स्वदेशमा घरबार भताभुङ्ग भएका घटनाको संख्या बढेको बढ्यै छन् । कुनै घटनाका पीडित महिला छन्, कुनैमा पुरुष तर कारण भने लामो समयको दुरी नै देखिएको छ ।

महानगर प्रहरी परिसर महिला तथा बालबालिका सेवा केन्द्रकी प्रहरी निरीक्षक चेतना पोख्रेलका अनुसार कार्यालयमा दैनिक तीन वटा यस्तै प्रकृतिका घटना आउने गर्छन् ।

उनका अनुसार विदेशिएका श्रीमान्ले उतै अर्की महिलासँग प्रेम सम्बन्ध बनाएको, श्रीमान्ले पठाएको पैसा नेपालमा बसेर दुरुपयोग गरी अरु नै पुरुषसँग प्रेम सम्बन्ध राखेर धोका दिएको, श्रीमती विदेश पठाएर यता अन्य महिलासँग मस्ती गरेर पैसा सकाएको जस्ता घटना आउने गरेका छन् ।

‘दुःख गरेर श्रीमतीले ऋणधन गरेर बाहिर पठाउँछन्,’ पोख्रेलले भनिन्, ‘विदेशबाट आएपछि घरै नजाने, अरु नै महिलासँग विवाह गरेर बस्ने गरेका धेरै घटना छन् ।’

घट्दो विश्वास, बढ्दो विच्छेद

(फाेटाे ः कृष्पा श्रेष्ठ, माेडल ः करूणा श्रेष्ठ र प्रशान्त एच दुवाल )

काठमाडौँ जिल्ला अदालतमा सम्वन्धविच्छेदको लागि दैनिक औसतमा तीन जना आउने अदालतका उपसचिव केपी नेपालले जानकारी दिए ।  नेपालका अनुसार, सम्बन्ध विच्छेदको कारण वैदशिक रोजगारपछि सम्बन्ध बिग्रिएको देखिएको छ । उनका अनुसार अदालतमा आउने सम्बन्ध विच्छेदका निवेदनमध्ये आधा जति श्रीमान् वा श्रीमती विदेशमा हुन्छन् । 

‘बाहिर विदेशमा श्रीमती वा श्रीमान् जान्छन्,’ नेपालले भने, ‘यता स्वदेशमा बस्नेहरु काम गर्दैनन्, अरु जोडी खोज्न थाल्छन् । स्वदेश आएपछि पोल खुल्छ र सम्बन्ध विच्छेदका लागि अदालत आउँछन् ।’
अधिवक्ता अञ्जना अर्यालका अनुसार विदेशिएकाको नेपालमा बस्ने परिवारको सदस्यले पैसा दुरुपयोग गर्दा हुने सम्बन्ध विच्छेदको घटना बढेका छन् । 

‘वैदेशिक रोजगारीमा जाने महिला बढेकाले धोका पाउनेमा श्रीमान्सँगै श्रीमतीको संख्या पनि बढेको देखिन्छ,’ अर्यालले भनिन् ।

डरलाग्दो अपराध
२०७५ साउन २४ मा भक्तपुर जिल्ला अदालतले श्रीमतीको हत्याको अभियोग लागेका उमेश माझीलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनायो । श्रीमती सलिनाको हत्या गर्नुको कारण विदेशमा बसेर कमाएको सम्पत्ति दुरुपयोग गर्नु देखिएको थियो । 

करिब २ वर्ष पहिले उमेश वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब गएका थिए । नेपाल फर्किनु एक साता अगाडिसम्म श्रीमतीसँग राम्रै बोलचाल हुन्थ्यो । जब उनी नेपाल आउने दिन नजिकिँदै गयो, श्रीमतीको झर्कोफर्को पनि बढ्दै गयो । फोन नउठाउने क्रम बढ्यो । उनको मनमा चिसो पस्यो ।

स्वदेश फर्किएपछि फोन गरे तर लागेन । बल्लतल्ल फोन लाग्दा पोखरामा छु भनिन् । धेरै प्रयासमा बल्ल भेट त भयो तर भेटेलगत्तै श्रीमतीले सम्बन्ध विच्छेदको कुरा निकालिन् । उता उमेशले कमाएको सबै पैसा श्रीमतीलाई पठाएका थिए । स्वदेश आउँदा न पैसा न श्रीमती नै भएपछि दुवैबीच झगडा भयो । झगडा बढ्दै जाँदा श्रीमती मारिइन् ।

कञ्चनपुरमा यस्तै अर्को घटना सार्वजनिक भएको थियो । शिशुको शव फेला परेपछि अनुसन्धानको क्रममा सो अपराधको कारण अवैध सम्बन्ध देखिएको थियो । शिशु हत्याको आरोपमा कञ्चनपुरको भीमदत्त नगरपालिका १३ का गङ्गा ओखेडा र सन्तोष ओखेडा पक्राउ परेका थिए । 

गंगाका श्रीमान् वैदेशिक रोजगारको लागि कतार गएपछि गंगाको सन्तोषसँग सम्बन्ध भयो । सम्बन्ध झाँगिदै यौन सम्बन्धमा पुग्यो । गंगाको गर्भ बस्यो । बच्चा जन्मिए दुवैको सम्बन्ध खुल्ने भएपछि जन्मिएलगत्तै हत्या गरेको खुल्यो ।

प्रहरीकोमा आएका उजुरी हेर्दा वैदेशिक रोजगारीपछि एक्लो हुँदा शुरु हुने गैर सम्बन्धले अपहरण, धम्की, चरित्र हत्या लगायतका आपराधिक घटनासमेत बढेका छन् । वैदेशिक रोजगारीमा जाने संख्यामा पुरुषको संख्या बढी भएर हुन सक्छ, उजुरी दिनेमा पुरुषको संख्या नै बढी देखिन्छ ।

टिप्पणी
एक्लो अनुभव हुँदा धोेका 
डा. मीना उप्रेती,समाजशास्त्री 
श्रीमान् वा श्रीमती दुईमध्ये एक विदेश गएका छन् भने यता बस्नेले धोका दिएर परिवार छिन्नभिन्न भएका उदाहरण धेरै देखिन थालेको छ । विदेश गएकी श्रीमतीले कमाएको पैसा यता अरु नै महिलासँग बसेर खर्च गर्ने, त्यसरी नै श्रीमान्ले कमाएको पैसा यता अरु नै पुरुषसँग बसेर खर्च गर्ने गरेको देखिन्छ ।
यसरी धोका दिनु गलत त हुँदै हो तर यसको मनोसामाजिक कारण पनि छन् । 

२० देखि ४० उमेर समूहका युवा समूह रोजगारीका लागि विदेश गएका छन् । यो उमेर भनेको एकअर्काको एकदमै धेरै आवश्यकता पर्ने उमेर हो । त्यसमाथि विवाह गरेपछि  जोडीका आ–आफ्ना इच्छा मनोकांक्षा हुन्छन् ।

वैदेशिक रोजगारीमा जानेहरु प्रायः विवाहपछि जाने गरेको देखिन्छ । विवाहपछि सँगै बस्ने चाहना हुँदाहुँदै पनि आर्थिक कारणले श्रीमान्–श्रीमती छुट्टिएर बस्न नव विवाहित जोडी बाध्य हुन्छन् । एकै ठाउँमा बस्नुपर्ने, शारीरिक तथा मानसिक आवश्यकता भएको बेलामा दुवै टाढा हुन पुग्छन् । यो दुवैका लागि पीडादायी क्षण हो । त्यसमाथि हाम्रो समाजमा मागी विवाह गर्ने संस्कार भएकाले एकले अर्कालाई राम्रोसँग बुझ्न पनि नपाई छुट्टिनु पर्दा सम्बन्धमा दरार आउँछ । 

मानसिक र शारीरिक रुपमा उमेरले नै एकअर्काको आवश्यकता हुने बेलामा छुट्टिएर बसेका धेरैजसो जोडीले सम्बन्ध विच्छेद गर्ने र एकअर्काको हत्या गर्नसमेत पछि नपर्ने भइसकेको छ । 
पछिल्लो रिपोर्ट हेर्दा सम्बन्ध विच्छेद हुनुको प्रमुख कारण आर्थिक कारण कम र साथ बढी खोजेको पाइन्छ । कुनै जोडीलाई विवाह गरेपछि छुटाउन हुँदैन । 

मनोवैज्ञानिक कारण 
विदेशमा गएपछि सम्बन्ध विच्छेद उच्च हुनुको मनोवैज्ञानिक कारण एक्लोपनको महसुस बढ्नु पनि हो । जोडी नहुँदा सामाजिक र मनोवैज्ञानिक रुपमै नजिकको मान्छे, सहयोगी मान्छे खोजिरहेको हुन्छ । अर्काे पाटो भनेको विवाह गरेर गइसकेपछि नयाँ ठाउँमा केटी एक्ली हुन्छे । व्यवहार गर्दा विभिन्न किसिममा साथीको आवश्यकता परिरहेको हुन्छ ।

सहयोग गर्नेको खराब नियत र सहयोग लिनेको विवाह नै भइसक्यो, सहयोग नै गरेको छ के फरक पर्छ र भन्ने सोचले सामान्य सम्बन्ध विशेष हुनसक्छ । 

एक्लो हुनुको पीडा  
जब सामाजिक तथा मनोवैज्ञानीक रुपमा एकले अर्काको आवश्यकता परिपूर्ति गर्न पाउँदैन, व्यक्ति डिप्रेसनमा जान सक्छ । टिचिङ अस्पतालको आँकडा हेर्दा पनि पछिल्लो समय यस्तै समस्या लिएर आउने धेरै छन् । त्यस्तामा मानसिक किसिमको रोग भएको, बारम्बार बिरामी पर्ने, भौँतारिनेजस्ता नकारात्मकता बढी देखिएका छन् । यस्ता व्यक्तिले अरु–अरु साथी खोज्दै हिँड्ने गर्छन् । वर्षाैं नआएपछि के कुरेर बस्ने भनेर छाड्ने मनस्थितिमा उनीहरु पुगिसकेका हुन्छन् ।
 

Leave A Comment