कंगनाको बाटोमा वर्षा सिवाकोटी

बुधबार, २० चैत २०७५, ०६ : ५८ शुक्रवार
कंगनाको बाटोमा वर्षा सिवाकोटी

बलिउडमा प्रतिभाभन्दा पनि परिवारवाद हावी हुँदा स्टारका सन्तानले मौका पाइरहेको प्रतिक्रिया दिएपछि भारतीय अभिनेत्री कंगना रनावत निक्कै विवादमा तानिएकी थिइन् कुनै समय । प्रशंसा र गाली दुवै पाएकी उनकै पथमा देखिइन् नेपाली अभिनेत्री वर्षा सिवाकोटी ।

संख्याका हिसाबले उल्लेख्य अनि सफलताका हिसाबले पनि राम्रै फिल्ममा अभिनय गरे पनि छायाँमै छिन् अझै उनी । मिडियामा पनि त्यत्ति आउँदिनन् । उनको तुलनामा कमजोर अभिनय क्षमता भएकाहरु मज्जैले जमेका छन् मिडियामा । फिल्म फ्लप हुँदा पनि उनीहरुकै चर्चा भइरहन्छ । यसले मज्जैले झोँक चलेछ उनलाई र मज्जैले पोखिन्, फेसबुकमा कंगनाकै शैलीमा । उनले नेपाली फिल्म इन्डस्ट्रीमा देखिएको परिवारवाद  र मिडियामा भइरहेको सिन्डिकेटलाई टार्गेट गर्दै लेखिन्, ‘न म स्टार किड, न कसैको गर्लफ्रेन्ड, न हिट ब्यानरको रेगुलर मेम्बर न कुनै युट्युब च्यानलको अफिसियल हिट एक्टर !’ 

स्टार मानिएका अनमोल केसीको फिल्म ‘क्याप्टेन’ले व्यापारमा धुलो चाट्दा समेत उनकै चर्चा छ अहिले पनि । केही युट्युब फ्लप फिल्मलाई हिटको सूचीमा पार्न दिनरात मिहिनेत गरिरहेको छन् । नेपाली फिल्ममा जमेका अभिनेता भुवन केसीका पुत्र अनमोल परिवारको अभिनयको पेशाको निरन्तरताको रुपमा फिल्मी क्षेत्रमा आएका हुन् । 

केसीझैँ परिवारको आडमा फिल्म क्षेत्रमा आउनेहरुको संख्या बढिरहेको छ । अभिनयको दमले भन्दा पनि पत्रकार र ब्यानरको साथले मात्रै स्टारका सन्तान फिल्ममा जमेका हुन् त ? उनको प्रतिक्रियाले राम्रै बहस ल्याउनुपर्ने हो तर ल्याएन । परिवारवादबारे रचनात्मक बहसै भएन । फिल्ममा त सिन्डिकेट लाग्यो–लाग्यो, विचारमा पनि सिन्डिकेटै देखियो । सायद उनको अर्को स्टाटस विचार माथिको सिन्डिकेटबारे पो आउने हो कि !
 

Leave A Comment