उदार मन कि नौटंकी

बिहिबार, २१ चैत २०७५, ०२ : २६ शुक्रवार
उदार मन कि नौटंकी

मधेसका तीन जिल्लामा अकल्पनीय क्षतिसँगै उद्धार र राहतको कामले तिव्रता पाएको छ । हुरीको बबण्डरमा सरकारी, गैर सरकारी र व्यक्तिगत तिनै प्रक्रियाबाट आफन्त र घरबार गुमाएकाको घाउमा मह्लम लगाउन उदार मन भएकाहरु प्रभावित क्षेत्र पुगिरहेका छन् । राहतलाई व्यक्तिगत आत्म प्रशंसाको माध्यम बनाउन खप्पिसहरु पनि यही भिडमा नमिसिने कुरै भएन ।

सामाजिक सञ्जाल राहतका लागि आह्वानसँगै यस्तै व्यक्तिगत प्रचारका लोभीहरुको तस्बिरले समेत भरिएको छ । उनीहरुको तस्बिर हेर्दा लाग्छ राहत बोकेर गएका उनीहरुको उदार मन देखेर पीडितहरुले हाई डिफिनेसन क्वालिटीको तस्बिर खिचेर उनीहरुलाई उपहार दिइरहेका छन् । यस्तो बेलामा टेलिसिरियलका सिनका तस्बिरझैँ व्यक्तिको तुरुक्कै आँशु चुहाइदिने तस्बिर सामाजिक सञ्जालमा राख्न खप्पिस छन्, सीताराम कट्टेल ।

भूकम्पपछि सामूहिक बस्ती बनाएर वाहवाही कमाएका उनी पछिल्लो समय मधेसमा बाढी जाँदा उतै पुगेका थिए । त्यो बेला धुर्मुस–सुन्तली फाउन्डेसनको फेसबुक पेजमा सार्वजनिक भएको एक तस्बिर चर्चामा पनि आयो, जुन तस्विरमा उनको छातिछातिसम्म बाढी आएको थियो तर उनी उद्धारमा खटिरहेका थिए । अहिले निन्याउरो मुहारका साथ चामलको बोरा टाउकोमा बोकेर हिँडेको, बोरा पल्टाइरहेको उस्तै पोजका तस्बिरहरु उनको फाउन्डेसनको पेजमा छरपष्ट छन् ।  

ब्रोकर र सेटिङमा पाएको बदनामी समाजसेवाबाट धुन उस्तै गरी खटिन्छन्, उपराष्ट्रपति पुत्र दिपेश पुन पनि । कहीँकतै केही भए सुरक्षाकर्मीलाई साथ लगाएर पुगिहाल्ने उनी मधेसमा यत्रो प्राकृतिक वितण्डा हुँदा कसरी रोकिउन् ! उनी पुगेलगत्तै फेसबुक वालमा उद्धारमा खटिएको पोज–पोजका फोटोहरु आउन थालिहाले । 

पीडितकाे राहत र पूनर्स्थापनामा सरकारी संयन्त्र प्रभावकारी बनाउन खटिनुपर्ने सत्ताधारी दलका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पनि बाेरा बाेकेर बाड्न पुगेकाे तस्विर छाइरहेकाे छ सञ्जालमा ।

विपद्मा सहयोगका लागि खटिनु अति प्रशंसनीय कार्य हो । यसले ती व्यक्तिको उदार मनलाई देखाउँछ । मन उदार हुनु कहाँ नराम्रो हो र ! तर  त्यसैलाई आत्मप्रशंसाको हतियार बनाउन थालियो भने नियतमा खोट देखिन्छ । दाहाल, कट्टेल हुन् या पुन उनीहरुको तस्बिर असम्बन्धित व्यक्तिले खिचेर उनीहरुको उदारताको प्रशंसा गर्या भए गज्जब हुने थियो तर उनीहरु आफैं संलग्न संस्था वा आफ्नै पेजबाट पोजका पोज तस्बिर सार्वजनिक गरिरहँदा समाजसेवी कम, नौटंकी ज्यादा देखियो । 

कालो कोटमा दलको छायाँ
न्यायधीशमा सिफारिस भएपछि गुन तिर्न लाइन लागेर तत्कालीन एमाले कार्यालय बल्खु पुगेकाहरुको डफ्फाबारे लामो समयसम्म चर्चा भइरहन्छ । न्यायालयमा राजनीतिक दलको बढ्दो प्रभावबारे चर्चा हुँदा अहिले पनि सोही घटनालाई उदाहरणका रुपमा उल्लेख गरिन्छ । एमालेको कोटामा सांसद भएकी सपना प्रधान मल्ल रोलक्रममा प्रधानन्यायाधीश नै हुने गरी सर्वोच्चमा पुग्दा पनि न्यायको राजनीतिकरण बढेको चिन्ता बढेकै देखिन्थ्यो ।

तर यो चिन्ताको प्रभाव न दलका नेतामा पर्यो न न्यायाधीश सिफारिस गर्ने न्यायपरिषद्मै । अदालतमा पद जति रिक्त हुँदै गयो, पदपूर्तिमा दलकै छायाँ बोकेका कालोकोटेहरु पुगे । भर्खरै सिफारिस भएका न्यायाधीशहरुको सम्पर्क कुण्डलीमा कालो कोटमा दलकै प्रभाव बढी देखियो । 

कुमार रेग्मीलाई न्यायपरिषद्मा सदस्य रहने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको साथ देखियो, हरि फुयाँललाई प्रधानमन्त्री केपी ओलीको आशीर्वाद । नवराज थपलिया त विद्यार्थी राजनीतिमा तत्कालीन एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको कट्टर नेता भइगए !

निलम पौडेलको न्यायाधीश हुने ठूलो योग्यता रक्षामन्त्री ईश्वर पोखरेलकी भाञ्जी हुनु हावी हुने नै भयो । अन्य जो–जो सिफारिसमा परेका छन्, उनीहरुको सिधै राजनीतिक कनेक्सन नदेखिए पनि अधिकांश पूर्व प्रधानन्यायाधीश परिवारका छन् । यत्ति भएपछि अब न्यायालयको स्वतन्त्रताको रक्षा श्री पशुपतिनाथले गर्नबाहेक अरु के नै भन्न सकिन्छ र !
 

Leave A Comment