विद्वान सन्तुष्ट रहन्छ

शनिबार, १५ साउन २०७३, १२ : ३० विदुर नीति , Kathmandu
विद्वान सन्तुष्ट रहन्छ

सहनशील मानिसमा एउटै मात्र दोष छ भनी अरूहरूले मात्र भनेका छन् । अरूहरूको दृष्टिमा क्षमाशील व्यक्ति कमजोर वा दुर्बल मानिएको छ । क्षमाशील मनुष्यलाई अरूद्वारा लगाइएको कमजोर वा असमर्थ भन्ने आरोप ठीक होइन बरु सहनशीलता उसको ठूलो बल हो । क्षमा भन्ने वस्तु असमर्थ मान्छेको गुण र समर्थवान्हरूको भूषण हो । क्षमा गरिसकेपछि के नै कुरा सफल हुँदैन र ? जुन मान्छेको हातमा शान्तिरूपी तरबार छ भने दृष्ट मानिसहरूले उसको के नै बिगार गर्न सक्लान् र ? सुकेको घाँस र पराल नभएको ठाउँमा आगो खस्न गएपछि आफैँ निभ्न जान्छ । क्षमाहीन असहनशील मानिसले आफू स्वयम्लाई र अरू सबैलाई समेत दोषभागी बनाउँछ । क्षमा भन्ने एकमात्र वस्तु छ, जो सदैव शान्तिदायिनी हुन्छ ।
विद्या नै एक वृत्तिकारिणी हो भने अहिंसा एउटै मात्रले पनि सुख दिने गर्छ । सहनशील पुरुष सदैव शान्त रहन्छ । विद्वान व्यक्ति सन्तुष्ट रहिरहन्छ । अहिंस्रक मानिस सदा सुखी हुन्छ । कत्ति पनि कडा नबोल्ने र दुष्ट व्यक्तिलाई वास्ता नगर्ने, यी दुई काम गर्ने मानिसले नै यस संसारमा शोभा पाउँछन् ।
अर्को स्त्रीले मन पराएको पुरुषलाई मन पराउने स्त्रीहरू तथा अरूद्वारा पूजित मनुष्यलाई आदर गर्ने पुरुषहरू, यी दुवैखाले व्यक्तिले अन्य मानिसलाई विश्वास गर्दै जीवनयापन गर्ने गर्छन् । गरिबले बहुमूल्य वस्तु पाउने इच्छा गर्नु र असमर्थ, दुर्बलले क्रोध गर्नु, यी दुवै तीखा काँडा समान छन्, जसले शरीरलाई सुकाउने काम गर्छन् ।

Leave A Comment