‘सत्य लेख्न डराउनेले किन लेख्नु आत्मकथा ?’

आइतबार, २४ चैत २०७५, ०१ : ११ प्रजु पन्त
‘सत्य लेख्न डराउनेले किन लेख्नु आत्मकथा ?’

२०२८ सालको झापा विद्रोहपछि १३ वर्षको उमेरमै कम्युनिस्ट पार्टीको राजनीति सुरु गरेकी गौरा प्रसाईंले २०६८ मा संस्मरणात्मक कृति ‘मेरा जीवनका पाना’ प्रकाशनमा ल्याइन् । प्रारम्भमा कमैले उनको पुस्तक वास्ता गरे तर ७–८ महिनापछि भने सामान्य पाठकले नै सोधखोज सुरु गरे । कारण थियो, पाठककै प्रचार । उनले आफ्नो पुस्तकमा भूमिगतकै समयमा भारतको कोठीमा बिक्री हुँदाकोे नारकीय जीवनदेखि पञ्चायती सरकारले उमेर बढाएर जेलमा दिएको कठोर यातनासम्म बिनासेन्सर उल्लेख गरेकी थिइन् । पछिल्लो समय राज्यका उच्चपदस्थ व्यक्तिहरुले समेत आत्मकथा र  आत्मसंस्मरणको पुस्तक लेख्ने क्रम बढेको छ । कतिपय  पुस्तकले झूटको पुलिन्दा भनेर आलोचनासमेत पाए । आत्मकथा तथा आत्मसंस्मरण लेखनको इमान्दारिता र लेखनमा महिला सहभागितामा केन्द्रित भएर प्रसाईंसँग शुक्रवारकर्मी प्रजु पन्तले गरेको संवाद ।

तपाईंंको संस्मरणले नेपाली साहित्यको बजारमा राम्रै तरङ्ग ल्याएको थियो । त्यहाँ लेखिएका सबै सत्य नै हुन् त ?
नढाँटीभन्दा मैले प्रमुख घटना मात्र लेखेकी छु । पुस्तकमा लेखिएका कति सत्य छन् भन्ने भन्दा पनि ममाथि घटेको घटना कति प्रतिशत लेखियो भन्ने प्रश्न चैँ सही होला ।

भन्नुस् न त, कति प्रतिशत लेख्नुभयो ?
पहिल्यै भनेँ नि, प्रमुख घटना मात्र लेखेकी छु । 

लेख्नुको विशेष कारण छ कि, एउटा पुस्तक लेखी हालौँ न भनेर लेख्नु भयो ?
मभित्र औडाहा थियो । रातदिन ममाथि पहिले नै भएका घटनाले डेरा जमाइरहेको थियो । सपनामा पनि त्यही घटनाले मलाई लखेटिरह्यो । त्यही औडाहा मेटाउन पुस्तक लेख्नुपर्छ भन्ने लाग्यो र लेखँे ।
जो कोहीले आफ्ना भित्री कुरा लेख्दा पनि लेख्दैन । त्यसको कारण आफ्नै बानी व्यहोरा गलत छ भने, चरित्र ठीक छैन भने अलग कुरा हो तर आफू सही छ, आफ्ना कुराहरु स्वच्छ छन् भने इमान्दार भएर किन नबताउने ? साँचो कुरालाई किन नलेख्ने ? यस्तै लागेपछि लेखेँ । आफ्ना कुरा बाँडेपछि हलुका होला कि भन्ने लागिरह्यो र लेखेँ । 

प्रायःले आफूमाथि भएका दुव्र्यवहार र दुव्र्यवहार गर्ने मान्छेको नाम लुकाउने चलन छ, तपाईंले भने लेख्नुभयो । त्यसको सत्यताको जाँच कसरी गर्ने ?
मलाई बच्चैदेखि बुबाले कुनै कुरा पनि झूटो बोल्न हुन्न, जे बोल्छौ साँचो र सत्य बोल भन्नुहुन्थ्यो । डराए हार्छ्यौ भन्नुभएको थियो । त्यसले पनि काम गर्यो । दोस्रो कुरा,  राजनीतिले पनि मलाई निडर बनायो । मर्नदेखि डराउन हुन्न भन्ने भयो । डर कहिले पनि लागेन । जे कुराले मलाई पोलेको थियो, जुन सत्यले मलाई पोलेको थियो त्यही लेखेँ । जे लेखेँ, त्यसको खण्डन कसैबाट हुन सकेन । सत्यको मापन त्यही नै भयो ।

पार्टी भित्रका ठूलै नेताको व्यवहारबारे पनि खुलेरै लेख्नुभयो । प्रष्टीकरण सोधिएन ?
अहँ, कसैले आँटै गरेन । झूटो लेखेको भए पो सोध्ने त ! यो आत्मसंस्मरण लेख्नेबारे भूमिगत कालमै मैले लक्ष्मण रायमाझीलाई सुनाएकी थिएँ । यो घटना लेखिनुको प्रमुख कारण मेरो चिट्चिटहापन नै प्रमुख कारण थियो । श्रीमान् गोविन्द कोइराला र मेरी जेठी छोरीलाई पनि योजना सुनाएकी थिएँँ । उहाँहरुले मलाई प्रोत्साहित गरेपछि लेखेँ । 
भनाइ नै छ, ‘दुनियाँ साथमा छ तर लोग्ने छैन’ भने संसार जितिन्न तर लोग्ने साथमा छ र संसार साथमा छैन भने आफैँलाई जित्न सहज हुन्छ । श्रीमान्ले नै सहमति जनाएपछि लेख्ने हिम्मत थप बढ्यो । पुस्तक निस्किएपछि विभिन्न प्रतिक्रिया आए । आफैँ संलग्न पार्टीका नेताको पनि नाम थियो तर प्रष्टीकरण भने सोधिएन । 

अहिले खुब आत्मसंस्मरण र आत्मकथाका पुस्तक निस्किरहेका छन् । झूटो लेखेँ भनेर आलोचना पनि भइरहेका छन् । तपार्इंले यसलाई कसरी लिनुहुन्छ ?
कतिपयले अरुलाई बगाउन, डुबाउन भनेर लेख्छन् भन्ने थाहा पाइयो । कतिले फँसाए भन्ने पनि सुनियो । मेरो प्रश्न– झूटो लेख्ने भए किन लेख्ने ? आत्मकथा र संस्मरणमा सत्य लेख्न सकिन्न भने बरु नलेखेकै राम्रो । 
मेरै पुस्तकको कुरा गर्ने हो भने पुस्तक निस्किएपछि ‘यस्ता कुरा किन लेखी ? लाज लागेन ?’ समाजमा मुख देखाएर हिँड्न नहुने बनाई, यस्ती रहिछे भनेर अपशब्द बोल्नेदेखि ‘ए यो त यस्ती पो त !’ भनेर हियाउनेसम्म गरे । श्रीमान्लाई त धेरैले त्यस्तीलाई सम्हालेर बसेको रहेछ समेत भने । तर यस्तो भन्ने १ प्रतिशत थिए, ९९ प्रतिशतले सही नै भने ।

१३ वर्षकै उमेरमा ‘झापा विद्रोह’ मा सहभागी हुनुभयो । त्यो बाल्यावस्थाको राजनीतिलाई अहिले ६० वर्षको प्रौढ आँखाले हेर्दा कस्तो लाग्छ ?
ममा सानैबाट विद्रोही चेत रहेछ कि जस्तो लाग्छ । त्यो बेला समाजमा रहेको असमानताको विरोधमा भूमिगत दलहरुले आन्दोलन सुरु गरे । कक्षा आठ पढ्दा नै धेरथोर राजनीतिमा संलग्न हुन थालिसकेकी थिएँ । कम्युनिस्ट पार्टीले सबै बराबर हुन्छन् विभेद गर्नुहुन्न भनेर लुकीलुकी राजनीतिक प्रशिक्षण दिन्थ्यो । त्यसले मलाई आकर्षित ग¥यो । जब घरकाले विवाह गरिदिन्छन् भन्ने भाइबाट थाहा पाएँ, त्यसपछि म भूमिगत भएँ । 
त्यतिबेला मेरो आँट देखेर सबै छक्क पर्थे । हिरासत बस्दा पुलिस पनि छक्क परेका थिए । मलाई त्यतिबेला डर भन्ने फिटिक्कै लाग्दैनथ्यो । जस्तोसुकै परिस्थितिमा पनि मैले मुक्तिको बाटो खोजिरहेँ । जुन दिन म वेश्यालयमा बेचिएँ, त्यतिबेला पनि म यहाँबाट कुनै दिन निस्कन्छु भन्ने आत्मविश्वास थियो, निस्किएँ पनि । साँच्चै त्यतिबेलाको आत्मविश्वास र आँट देखेर म आफैंलाई अचम्म लाग्छ । अहिले सम्झँदा त्यत्रो आँट कसरी आयो होला भनेर आफैँ छक्क पर्छु । 

अब महिलाको उपस्थितिबारे कुरा गरौँ । २०२८ देखि अहिलेसम्म विविध क्षेत्रमा महिलाको उपस्थिति कस्तो देख्नुहुन्छ ?
शिक्षित भएका छन् । जागिरे महिलाहरु बढेका छन् । प्राविधिक क्षेत्रमा कामकाजी  बन्नेको संख्या बढेको छ तर सामाजिक तथा  राजनीतिक सहभागिता अझै कम छ । अझै पनि बलात्कारजस्तो जघन्य अपराध घटेको छैन । बुहारी ज्युँदै जलाइएका छन् । राजनीतिक रुपमा आवाजहरु बुलन्द पारिएका छैनन् । निर्णायक तहमा अझै महिलाको उपस्थिति बलियो हुन सकेको छैन ।

पुग्न नसकेका कि नदिएको ?
सजिलोका लागि भन्ने हो भने दिएको छैन भन्दा होला तर यथार्थमा भन्ने हो भने हामीले मुद्दा बिर्सिएका छौँ कि जस्तो लाग्छ । पदमा कसरी पुग्ने भनेर गुटबन्दीमा लाग्नु भएन । पदभन्दा मुद्दा प्रमुख हो । अहिले हामी मुद्दामै अल्मलिएका छौं । प्रत्येक राजनीतिक दलमा महिला संगठन छन्् । कञ्चनपुरमा बालिकाको बलात्कार र हत्या भयो । नेपालगञ्जमा दाइजो नल्याएको निहुँमा ज्युँदै जलाइयो । तर कुन महिला संगठन सडकमा आए ? अब दोष कसलाई दिने ? नेतृत्वमा रहेका महिलाहरु एकीकृत भएर पार्टी नेतृृत्वलाई घेर्नु पर्दैन ? हामीले आफ्ना मुद्दा नै बिर्सियौं ।

घर परिवार समाजले नै महिलाको उन्नति–प्रगतिमा बाधा पारिरहेको छ । घरमा नै सीमित बनाइएको छ भनिन्छ यसमा कत्तिको सत्यता भेट्नुहुन्छ ?
आंशिक सत्यता छ तर पूरै हैन । सामाजिक संरचना नै पुरानो छ । संरचना बदलिएला र अघि बढौँला भन्ने हो भने त्यो दिन आउन्न । हिजो हामी भूमिगत हुँदा सबै ठाउँमा छोरीमान्छेलाई पढाउने चलनसमेत थिएन । बाधा त गर्छ नै तर त्यही निहुँ बनाएर घरमा बस्नु भएन ।

अहिले नागरिकतामा महिलाको उपस्थितिको विषय चर्किरहेको छ, यसमा तपाईंंको धारणा ?
अहिलेको प्रमुख विवाद विदेशीसँग विवाह गरेको महिलाको सन्तानको केस हो क्यारे । पुरुषले विवाह गरेको हकमा तुरुन्तै विदेशी महिलाले नागरिकता पाउने र महिलाले विदेशीसँग विवाह गरेको हकमा विदेशी पुरुषले सहजताको साथ नपाउने भन्ने हुँदैन  । बराबरी हुनुपर्छ । लिंगको आधारमा विभेद हुनुहुन्न । पुरुषले विवाह गर्ने विदेशी महिलाको हकमा र महिलाले विवाह गर्ने विदेशी पुरुषको हकमा समान कानुनी प्रावधान हुनुपर्छ । 

नागरिकताकै कुरा, तपाईंले पुस्तकमा कांग्रेस नेतृ शैलजा आचार्यसँग जेलमै भएको रोचक कुरा लेख्नुभएको छ । जसमा शैलजा आचार्यले ‘विवाह नगरे पनि सन्तान जन्माउने अधिकार महिलामा निहित हुन्छ, यस कुरामा सँगैँ लडौँ’ भन्दा तपाईंले ठाडै विरोध गर्नुभयो । अहिले यसप्रतिको तपाईंको धारणा उही छ कि फेरियो ?
हेर्नुस् म गाउँमा हुर्किएकी हुँ । अहिले त आर्थिक तथा सामाजिक रुपमा महिलाको पहुँच कम छ भने त्यो बेला के हाल होला ? आर्थिक तथा सामाजिक, राजनीतिक पहुँच भएको पुरुषलाई किन दायित्वबाट उम्काउने भन्ने मेरो भनाइ हो । अहिले यहाँ अरु के प्रगति भएको छ र ? जब एउटा नारीले आफूमाथि भएको अन्यायबारे खुलेआम लेख्दा त पत्याइन्न भने अरु कुरा पत्याउँछन् ? कति नेपाली नारी विवाह नगरी स्वतन्त्र भएर बस्न सक्छे ? विवाह नगर्दा त चियोचर्चो बढी हुन्छ भने सन्तानै जन्माउँदा बस्न खान देलान् ?
शैलजाजीले बन्दुक बोकेर पनि हिँड्नुभयो । उपप्रम भएको मान्छे अन्तिम घडीमा उहाँलाई अस्पतालमा कुर्ने मान्छे भएनन् । कोही पुरुष हुन्थ्यो भने त्यस्तो हालत हुन्थ्यो ? उहाँलाई राज्यले पनि हेरेन । यस्तो अवस्थामा म आमा मात्रै भए हुन्छ भन्ने कुरा अहिले पनि स्वीकार्न सक्दिनँ ।
 

Leave A Comment