ट्याक्सी चालकको प्रश्न : ‘सरकार खाडी लखेट्न लाग्या हो ?’

आइतबार, २४ चैत २०७५, ०१ : २१ भोला अधिकारी
ट्याक्सी चालकको प्रश्न : ‘सरकार खाडी लखेट्न लाग्या हो ?’

आन्दोलन भन्ने बितिक्कै ढुंगामुढा, चक्काजाम र आगजनी नै बुझिन्छ । कसै कसैले भद्र आन्दोलनको रुपमा अनसन बस्ने पनि गर्छन् । तर आफ्ना माग पूरा गराउन अधिकांशले अपनाउने विधि भनेको चक्काजाम, बन्द, विरोध प्रदर्शन नै हो ।

केही महिनादेखि काठमाडौं उपत्यकाका ट्याक्सी चालक आन्दोलनमा छन् । हिजोका दिनमा आन्दोलनमा उत्रिँदा उनीहरुले अपनाउने विधि सडकमा ट्याक्सी तेर्स्याएर बाटो अवरोध गर्ने नै हो । तर २ महिनादेखि उनीहरु आन्दोलित हुँदा पनि न कतै जाम गराइएको छ न त आम नागरिकलाई अवरोध हुने अन्य कुनै विधि ।

काठमाडाैंमा ११ हजार ३ सय ८५ वटा ट्याक्सी गुड्छन् । त्यसमध्येका अधिकांश चालक भद्र आन्दोलनमा छन् । आफ्नो मागप्रति सरकारको ध्यानाकर्षण गराउन उनीहरुले आफूले चलाउँदै आएको ट्याक्सीको उपयोग गरेका छन् । सडकमा गुड्दा झट्ट आँखा पर्ने स्थानमा विभिन्न नारा लेखेका छन् ।
‘ नेपाल सरकारको समृद्ध अभियानमा, हामी ट्याक्सी चालक मजदुर छुट्यौ कि ? ’ 

‘सरकार मैले ट्याक्सी ७५ सालको मूल्यमा खरिद गर्नुपर्ने तर सेवा दिँदा चाहिँ २०६९ सालको मूल्यमा दिनुपर्ने ? के यो न्यायोचित हो र ?’

‘सरकार मेरो पेशालाई यसरी धराशयी पारी मलाई खाडी जान बाध्य नबनाउनुस् ।’
यस्तै नारा टाँसेर गुड्ने ट्याक्सीहरु प्रशस्तै छन् काठमाडौंमा । 

ललितपुरको कुपण्डोलमा भेटिएको बा२ज ४२७ नम्बरको ट्याक्सी चालक सुनिल पाण्डेका अनुसार जति भने पनि सरकारले आफ्नो माग नसुनेपछि भद्र शैली अपनाइएको बताए ।

उनले ट्याक्सीको डिकीमाथिको सिसामा टाँसेका छन् ‘नेपाल सरकारको समृद्ध अभियानमा, हामी ट्याक्सी चालक मजदुर छुट्यौँ कि ?’

ट्याक्सी चालकले ठग्यो भन्ने गुनासो सुन्नुपर्ने, ट्राफिकको टार्गेटमा पनि बढी ट्याक्सी नै पर्ने गरेपछि भाडा वृद्धि गराउन नैतिक दबाब दिन यस्तो उपाय अपनाइएको उनले बताए ।

‘पम्प्लेट टाँसेर सरकारसँग हाम्रा मागहरु राखिएको हो,’ उनले भने ‘हाम्रो कुरा सरकारले नसुनेपछि नयाँ टेक्निक अपनाएका हाँै । सायद सरकारले नसुने नि आम मानिसले त सुन्छन् र मनन् गछर्न कि ।’
काठमाडौं अनामनगरमा भेटिएको बा२ज १२६४ नम्बरको ट्याक्सीको पछाडि ‘सरकार मेरो पेशालाई यसरी धराशयी पारी मलाई खाडी जान बाध्य नबनाउनुस्’ भन्ने पम्प्लेट टाँसिएको थियो । 

चालक थिए राजकुमार श्रेष्ठ । 
उनका अनुसार टुटल र पठाओले गर्दा अहिले ट्याक्सी व्यवसाय धराशयी बन्दै गएको छ । अन्य सार्वजनिक सवारी साधनको भाडादर बढे पनि ट्याक्सीको भने उस्तै छ । यदि यही अवस्था रहे ट्याक्सी बेचेर विदेशिनुको विकल्प नभएकाले यस्तो लेखेर टाँसेको उनले बताए । 

त्यस्तै बागबजार श्रेष्ठ टेलरिङ अगाडि रोकिराखेको बा२ज ११२८ नम्बरको ट्याक्सीमा ‘भाडाको सवारी साधनले कालो नम्बर प्लेट, निजी कारले रातो नम्बर प्लेटको अर्थ चाहियो सरकार ? टाँसिएको थियो । 
किन यस्तो टाँसेको ? चालक रामबहादुर घिसिङले भने ‘अहिले विभिन्न निजी सवारी साधनले यात्रु ओसार्ने काम गरिरहेका छन् । ट्याक्सी चालकलाई बेरोजगार बनाउने शड्यन्त्र गरियो त्यसैले ।’

कसरी आयो यो आइडिया ?
प्रायः अराजक आन्दोलनमा उत्रिने ट्याक्सी चालक कसरी भद्र आन्दोलनमा सहमत भए ? कसको हो यो आइडिया ? अधिकांश ट्याक्सी चालकले आफूले लगाएको ज्याकेट देखाउँदै भने  ‘उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज ।’ 

यही संस्थामा आबद्ध ट्याक्सी चालकहरुले कुरै कुरामा यस्तो आइडिया निकालेका रहेछन् । 
जति भने पनि सुनुवाइ नभएपछि समाजको प्रयासमा केही ट्याक्सी चालक भेला भएर छलफल गर्दा आएको आइडिया रहेछ यो । 

धेरैले भिन्न प्रकारका आन्दोलनको आइडिया सुनाए । प्रायको सुझाव दबाबमूलक कार्यक्रमको पुरानै शैली थियो । समाजका महासचिव पूर्णबहादुर तामाङले भने पुरानै शैलीभन्दा रचनात्मक शैली अपनाउन सुझाए ‘हाम्रो माग आ–आफ्नो ट्याक्सीमा टाँसौं, पब्लिकले पनि चाल पाउँछ, सरकारसम्म पनि पुग्छ ।’
उनको आइडिया धेरैलाई मन पर्यो । भेलामा रहेकाहरुले आ–आफ्ना शैलीका नारा फुराए र प्रिन्ट गरेर टाँसे ।

के हो माग ?
उनीहरुको मुख्य माग ट्याक्सीको भाडा समायोजन नै छ । सरकारले पटक–पटक लामो र छोटो दूरीको सार्वजनिक सवारी साधनको भाडा समायोजन गरे पनि २०६९ देखि ट्याक्सीको भाडाबारे कुनै निर्णय गरेको छैन । 

उनीहरुको चित्त दुखाइ यसमै रहेछ । 

२०६९ मा बाटो इजाजत २ सय ५० थियो, अहिले ५ सय छ । सामाजिक सुरक्षाको प्रबन्ध छैन । इन्धनको मूल्य आकाशिएको छ । पार्टपूर्जा र ट्याक्सीकै मूल्य दोब्बर भइसक्यो ।

‘०६९ देखि यता पटक–पटक ठूला सवारी साधनको भाडा बढेको छ, तर ट्याक्सीको भने जस्ताको तस्तै छ,’ ट्याक्सी चालक शम्भु कुँवरले भने, ‘कि ठूलाको पनि नबढाएको भए हुने । उनीहरुको बढ्दा ट्याक्सीको किन नबढेको ?’

तर भएन सम्बोधन
टायर बाल्दा, चक्काजाम गर्दा सबैभन्दा धेरै नकारात्मक प्रतिक्रिया आम नागरिकबाटै आउँछ । रचनात्मक रुपमा आन्दोलन गर्दा कतै उनीहरुको ध्यान तानिएला, सञ्चारमाध्यमले साथ देलान् र सरकारको ध्यान आकर्षित होला भन्ने उनीहरुको आश रहेछ । तर आन्दोलन सुरु गरेको ३ महिना बढी हुँदासमेत सोचेजस्तो केही भएन ।

सामाजिक सञ्जालमा हल्का चर्चा भयो । तर बढी बहस ट्याक्सी चालकले ठगेकै भयो ।
‘कमसे कम बुद्धिजीवी वर्गले किन यस्तो लेखेको समस्या के हो भनेर सोधखोज गर्लान् र अवस्था बुझेपछि मागप्रति साथ देलान् भनेको यस्तो भएन,’ चालक तामाङले भने, ‘सरकारले पनि अहिलेसम्म वास्ता गरेको छैन ।’

यातायात व्यवस्था विभागका सूचना अधिकृत गोकर्णप्रसाद उपाध्याय ट्याक्सी चालकहरुको भद्र आन्दोलनप्रति विभाग सकारात्मक रहेको बताउँछन् । उनले ट्याक्सी चालकहरुको माग जायज रहेको र सोबारे मन्त्रालयलाई जानकारी गराइएको बताए ।

‘उहाँहरुको माग वैज्ञानिक भाडादर कायम हो, यसबारे विभाग सकारात्मक छ,’ उनले भने, ‘मन्त्रालयलाई यसबारे जानकारी गराइसकेका छौं । छलफल पनि भइसकेको छ ।’
उनले छलफल भएको बताए पनि निर्णय के भयो भन्ने जानकारी दिएनन् ।

‘टुटल, पठाओ धेरै टिक्दैनन्’
गोकर्णप्रसाद उपाध्याय
यातायात व्यवस्था विभागका सूचना अधिकारी 

ट्याक्सी चालकको मौन आन्दोलनलाई कसरी हेर्नु भएको छ  ? 
उहाँहरुले रचनात्मक आन्दोलन गरिरहनुुभएको छ । वैज्ञानिक भाडादर कायम गर्नुप¥यो भन्ने माग छ । माग सकारात्मक नै हो ।  लामो समयदेखि ट्याक्सीको भाडादर बढेको छैन । चालकहरुले राख्नुभएको माग मन्त्रालयलाई जानकारी गराइसकेका छौँ । गाडीको सिण्डिकेट हटाउन केन्द्रित हुँदा ट्याक्सी चालकहरुको माग सम्बोधन गर्न सकेका थिएनौँ  । अब त्यता ध्यान दिन्छौं ।

के गर्नुहुन्छ त ?
विना अवरोध ट्याक्सीमा टाँसेर सरकारलाई जुन माग राख्नुभएको छ त्यसबारे छलफल गर्छौं र निष्कर्षमा पुग्छौं ।

निजी सवारी साधनले भाडाको काम गरे भन्ने छ नि ?
टुटल, पठाओ क्षणिक हो । यो धेरै समयसम्म टिक्दैनन् । अरु चिज आयो भनेर भन्नुभन्दा पनि आफ्नो व्यवसाय राम्रो बनाउने हो । अर्को कुरा ट्याक्सी चालकहरुले आम यात्रुलाई राम्रो सेवा दिने वातावरण दिनुपर्यो ।  त्यो बेलामा टुटल र पठाओ ट्याक्सीको विकल्प हुन सक्दैनन् । ट्याक्सीको आफ्नै किसिमको महत्व छ । आफ्नै यात्रुहरु छन् । अहिलेसम्म कानुनअनुसार टुटल र पठाओले कानुनी मान्यता पाएका छैैनन् । कानुनमा प्रस्ट निजी सवारी साधनले यात्रु ओसारपसार गर्न नपाउने उल्लेख छ । 

उनीहरुको मागबारे कहिले सम्बोधन हुन्छ ? 

सबै कुरा अगाडि बढाइसकेका छौँ । चाँडै नै वैज्ञानिक भाडादरका बारेमा कुरा हुनेछ । माग मन्त्रालय पठाइसकेका छाँै  र प्रक्रियामा छ । 
 

Leave A Comment