लगानीकर्ताले पत्याएनन् फिल्मसिटी

आइतबार, २४ चैत २०७५, ०१ : २६ शुक्रवार
लगानीकर्ताले पत्याएनन् फिल्मसिटी

सरकारले आयोजना गरेको लगानी सम्मेलनमा जलविद्युत, सूचना प्रविधि लगायतका क्षेत्रसँगै दोलखामा बनाइने भनिएको फिल्मसिटी निर्माणको परियोजनालाई पनि महत्वका साथ राखिएको थियो । 

विमानस्थल, पाँच तारे होटलको सुविधा सहितको फिल्मसिटी बनाउन दोलखामा एक हजार पाँच सय रोपनी क्षेत्रफलको जग्गा सरकारले अधिग्रहण गरिसकेको छ । सरकारले लगानी सम्मेलनमार्फत् लगानी जुटाउन खोजेको ४३ ठूला परियोजनामध्ये अन्तर्राष्ट्रिय फिल्मसिटीलाई पर्यटन पूर्वाधारको पाँचौँ प्राथमिकतामा राखेको थियो तर सम्मेलनमा सहभागीले सो प्रस्तावलाई पत्याइदिएनन् । 

फिल्मसिटीका लागि सरकारले प्रस्तावित बजेट राखेको थियो, एक अर्ब नेपाली रुपैयाँ (२५ मिलियन अमेरिकी डलर) तर निकै तामझामका साथ गरिएको लगानी सम्मेलनमा सहभागी भएका विदेशी, स्वदेशी कुनै पनि लगानीकर्ताले फिल्मसिटी निर्माणको परियोजनामा चासो दिएनन् ।

सरकारले फिल्मसिटी निर्माणको परियोजनालाई पर्यटन पूर्वाधार निर्माण शीर्षकमा सम्मेलनमा पेश गरेको थियो । अर्थमन्त्री युवराज खतिवडाले कार्यक्रममा यसलाई महत्वका साथ प्रस्तुत गरेका थिए तर लगानीकर्ताको ध्यान त्यतातिर जाँदै गएन ।

नेपालमा फिल्मसिटी बनाउने विषय पटक–पटक उठे पनि निष्कर्षमा भने पुग्न सकेन । कहिले पोखरामा बनाउने चर्चामा आयो भने कहिले धादिङमा । २०७३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले एकाएक दोलखामा फिल्मसिटी बनाउने घोषणा गरिदिए ।

उनले घोषणा मात्र गरेनन्, निर्णयसमेत गरिदिए । त्यही वर्षको चैत १५ मा चलचित्र विकास बोर्डका अधिकारी र वन मन्त्रालयका प्रतिनिधिबीच लाँकुरी डाँडा र डाङडुङे डाँडामा वनले चर्चेको १५ सय रोपनी क्षेत्रफलको जग्गा अत्याधुनिक फिल्मसिटी बनाउन दिने सहमतिसमेत भयो । 

तत्कालीन सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतले २०७४ फागुनमा दोलखा पुगेर फिल्मसिटीको सिलान्याससमेत गरे तर निर्माण प्रक्रियाले आकारै लिन सकेको छैन । 

सडक, बत्ती, खानेपानी लगायतका प्रारम्भिक पूर्वाधार निर्माणका लागि भन्दै सरकारले फिल्मसिटीका लागि करिब करोड हाराहारी खर्च गरिसक्यो । तर अझै पनि फिल्म सिटी दोलखामै बन्छ भन्ने पक्का छैन ।

तानतान फिल्मसिटी

नेपाली फिल्मकर्मीहरुले कसले घर देला र सुटिङ गरौंला भन्ने बाध्यताबाट मुक्त भएर इन्डोर सुटिङका लागि फिल्मसिटीको माग गरेको धेरै भयो । तर अझै यो माग टुंगिने छाँटमा छैन । दोलखामा केही प्रक्रिया अगाडि त बढेको छ तर ढुक्क हुनसक्ने अवस्था अझै देखिएको छैन ।

दोलखामा फिल्मसिटी बन्नेमा ढुक्क हुन नसक्नुको कारण सरकारी अन्योल नै प्रमुख हो । सरकारी अधिकारीहरु नै फिल्मसिटीको रुपमा कहिले कास्की, कहिले गोरखा त कहिले धादिङ जिल्लालाई प्रस्ताव गरिरहेका छन् ।

प्रारम्भमा पोखरामा फिल्मसिटी निर्माण गर्ने चर्चा शुरु भएको थियो तर त्यो त्यत्तिकै सेलायो । दोलखामा भएको चलचित्रसम्बन्धी कार्यशालामा त्यतै फिल्मसिटी बनाउने प्रस्ताव आएपछि यसले केही आकार लिएको थियो । तर, प्रधानमन्त्री केपी ओली दोलखामा फिल्मसिटी बनाउने विषयमा त्यत्ति सकारात्मक छैनन् । उनी सहमत नहुँदा फिल्मसिटी निर्माणको काम त्यत्तिकै रोकिएको छ ।

प्रधानमन्त्री ओलीको निमन्त्रणामा नेपाल आएको भारतीय कलाकारको टोलीले अन्तर्राष्ट्रिय फिल्म सिटीका लागि दोलखा नगई गोरखा र धादिङमा रहेको पालुङटार र सल्यानटार हेरेर सकारात्मक प्रतिक्रिया दिएका थिए । 

लगानी बोर्डले अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा दोलखामै फिल्मसिटी बनाउन प्रस्ताव गरेकाले प्रधानमन्त्रीसमेत त्यसमा सहमत भएको संकेत त देखियो तर विश्वस्त हुने गरी निर्माणले गति लिन सकेको छैन । 

‘फिल्मसिटीबारे अहिले नै भन्न सकिन्न’

मदनदास श्रेष्ठ
दोलखा चलचित्र नगरी निर्माण समितिका संयोजक

फिल्मसिटीका लागि अहिलेसम्म कति बजेट आयो ? 
खिलराज रेग्मी प्रधानमन्त्री हँुदा फिल्म सिटीका लागि भनेर दुई करोड  छुट्याइएको  थियो । अहिले बजेट परेको छैन । अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा दुई करोड पचासी लाख डलर ( २ अर्ब ८५ करोड रुपैंया) लगानी आह्वान गरिएको थियो । अस्ति भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनसमेत फिल्मसिटीमा लगानी गर्न आह्वान गरिएको थियो । 

तर लगानीको प्रतिबद्धता त आएन नि ?
विभिन्न देशका लगानीकर्ता फिल्मसिटीका लागि लगानी गर्छु भनेर आउनेक्रम जारी छ । तर लगानी भएको छैन । 

अहिलेसम्म के–के पूर्वाधार बन्यो ? 
डिपिआर तयार पार्न र बाटोघाटो, खानेपानी, विजुलीका लागि एक करोडभन्दा माथि खर्च भएको छ । अहिले म बाहिर भएकाले यति नै भन्न सकिनँ । अन्य काम हुने क्रम जारी छ । बाटोमा पिचका लागि सडक विभागसँग कुराकानी भइरहेको छ । उहाँहरुले बयालिस लाख मागिरहनु भएको छ । फिल्मसिटीको डिपिआर तयार पारेर  सरकारलाई बुझाइसकेका छौँ । 

फिल्मसिटीको निर्माण सम्पन्न गर्न कति खर्च लाग्ला ?
त्यही दुई करोड पचासी लाख डलर (२ अर्ब ८५ करोड) खर्च हुने अनुमान गरिएको छ । 

फिल्मसिटी कहिलेसम्म तयार हुन्छ त ? 
यति नै खेर तयार हुन्छ भन्ने अवस्था छैन । काम अगाडि बढाउन पहिला पैसा त हुन प¥यो नि ! लगानीकर्ता आउनु परयो । अहिले त्यसै भन्ने अवस्था छैन । 
 

Leave A Comment