चुनावी लफडामा कलाकार

आइतबार, २४ चैत २०७५, ०३ : ४७ भोला अधिकारी
चुनावी लफडामा कलाकार

अध्यक्षको उम्मेदवार बनेकी सरिता लामिछानेको योग्यताबारे जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि चलचित्र कलाकार संघको निर्वाचन अन्योलमा परेको छ । संघले चैत २३ मा नेतृत्व चयनका लागि महाधिवेशन बोलाएको थियो । तर संघका सदस्य सुरज आरडीले वर्तमान कार्यसमितिकी महासचिव रहेकी लामिछानेको सदस्यता नै विधानविपरीत रहेको भन्दै प्रशासनमा उजुरी दिएपछि प्रशासनले महाधिवेशन रोकेको हो ।

गत आइतबार सो मुद्दाको सुनवाई गर्दै दुई पक्षको छलफल निष्कर्षमा नपुगेको भन्दै जिल्ला प्रशासन कार्यालयले अर्को आदेश नभएसम्म संघको अधिवेशन रोक्न आदेश दिएको हो । 
संघको विधानअनुसार संघको सदस्य हुन पाँच वटा फिल्ममा अभिनय गर्नुपर्ने प्रावधान रहे पनि

लामिछानेले दुई वटा मात्र फिल्म खेलेकाले उनको सदस्यता नै बदर हुनुपर्ने माग आरडीको छ । लामिछाने वर्तमान कार्यसमितिकी महासचिव हुन् । जब उनले अध्यक्षमा उम्मेदवारीको घोषणा गरिन्, त्यसपछि मात्रै उनको सदस्यताबारे विवाद शुरु भएको हो ।

लामिछाने २० वर्षअगाडि नै संघको सदस्य भएकी थिइन् । २०५२ मा संघ गठनसँगै फिल्म र टेलिफिल्ममा अभिनय गर्ने दुवै कलाकारलाई समेटेको थियो । पछिल्लो समय विधान संशोधन गरेर फिल्मका कलाकार मात्रै समेटिएको छ ।

लामिछानेविरुद्ध लय संग्रौलाले अध्यक्षमा उम्मेदवारी दिएका छन् । लामिछानेविरुद्ध उजुरी परेपछि अहिले कलाकार संघ लामिछाने र संग्रौला समूहमा विभाजित भएका छन् ।

लामिछाने आफू २० वर्षदेखि कलाकारिताको क्षेत्रमा सक्रिय रहेको र सात वटा फिल्ममा अभिनय गरिसकेको भए पनि अध्यक्षमा उम्मेदवार बनेपछि नियोजित रुपमा विवाद निम्त्याउने काम भएको दाबी गर्छिन् ।

‘महासचिवमा चुनाव लड्दा कसैले आरोप लगाएनन्, अहिले अध्यक्षमा बलियो उम्मेदवार देखेपछि आरोप लाग्यो,’ उनले शुक्रवारसँग भनिन्, ‘सात वटा फिल्ममा अभिनय गरिसकेकी छु तर दुई वटा मात्र खेलेको भनेछन् ।’

सरिताले अभिनय गरेका ६ फिल्म
–सन्तानको माया
–सीता
–हवल्दार सुन्तली
–श्रीमान्–श्रीमती
–मंगलम्
–फिङ्गर प्रिन्ट

उनले सात वटा फिल्ममा अभिनय गरेको दाबी गरे पनि उनैले सो संख्या भने पुरयाउन सकिनन् । लामिछानेले दिएको जानकारीअनुसार उनले अभिनय गरेको फिल्मको संख्या ६ वटा मात्रै छ । ६ वटा मात्रै अभिनय गरेको पुष्टि भए पनि उनी संघको अध्यक्षको उम्मेदवार भने हुन सक्छिन् ।

अध्यक्ष पदमा अर्का उम्मेदवार लय संग्रौला भने उजुरीको पक्षमा देखिए । उनले आफूले थाहा पाएअनुसार लामिछानेले पाँच वटा फिल्ममा अभिनय गरेको नदेखिएकाले उनको सदस्यता नै गैरकानुनी रहेको जिकिर गरे ।

‘संघको अध्यक्ष पदमा उम्मेदवार हुन पाँच वटा फिल्ममा अभिनय गरेको हुनपर्छ,’ उनले भने, ‘सरिताले दुई वटा मात्रै फिल्म खेलेको देखिएको छ ।’ 

निर्णय सिडिओको हातमा
संघको निर्वाचनबारे उजुरी आएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अधिवेशन रोकेर संघका अध्यक्ष र महासचिवलाई छलफलका लागि बोलाएको थियो ।

प्रशासनले उजुरीकर्ताको दाबीअनुसार सदस्य बन्न पाँच वटा फिल्म खेल्नु पर्नेमा नखेले पनि सदस्यता दिएको र साधारण सभाको मितिभन्दा १० दिन अगाडि नै सदस्यता नवीकरण हुनुपर्नेमा सोको समेत पालना नभएको भन्दै उजुरी परेकाले निर्वाचन स्थगन गर्न निर्देशन दिएको थियो । प्रशासनले लामिछानेलाई आफ्नो सदस्यता वैध रहेको खुल्ने प्रमाण पेश गर्न निर्देशन दिएको छ । 

लामिछानेले आफ्नो सदस्यता विधान अनुसारै रहेको र आफूविरुद्ध षड्यन्त्र भएको दाबी गर्दै आफ्ना महत्वपूर्ण विवरणहरु संघबाटै गायब पारिएको दाबी गरिन् ।
‘संघमा रहेका मेरा महत्वपूर्ण विवरणहरु हराएका छन्,’ उनले दाबी गरिन्, ‘संघमा किन राजनीति हुन्छ, मलाई थाहा छैन ।’

अध्यक्षका अर्का प्रत्यासी संग्रौलाले प्रशासनले मागे अनुसारको कागजपत्र पेश नगरे लामिछानेको उम्मेदवारी रद्द हुनुपर्ने माग गर्छन् ।
‘विधानले तोके अनुसारको योग्यता पुग्दैन भने त्यस्तो व्यक्ति कसरी संघको अध्यक्षको उम्मेदवार हुन सक्छ ?’ उनले प्रश्न गरे ।


 

Leave A Comment