फिल्म जुधाउँदै विकास बोर्डका अध्यक्ष

आइतबार, २४ चैत २०७५, ०४ : १६ शुक्रवार
फिल्म जुधाउँदै विकास बोर्डका अध्यक्ष

मेगा स्टार मानिएका अभिनेताको फिल्मले समेत दर्शकलाई हलसम्म तान्न नसकेपछि अहिले फिल्म निर्माताहरु चिन्तामा छन् । एक्लै रिलिज हुने फिल्मले समेत लगानी उठाउन सकिरहेको छैन । 

यस्तो बेलामा फिल्मको बजारलाई सकारात्मक मोडतिर लैजाने जिम्मेवारी चलचित्र विकास बोर्ड नेतृत्वको पनि हो । तर बोर्डको अध्यक्ष बनेका फिल्म निर्माता केशव भट्टराई आफ्नै फिल्म जुधाउँदै छन् ।
चैत २९ मा भट्टराईले बनाएको ‘यात्रा अ म्युजिकल भ्लग’ अर्को फिल्म ‘ ए मेरो हजुर ३’ सँग जुध्दैछ । भट्टराईको फिल्ममा सलिनमान बनियाँको लिड रोल छ भने ‘ए मेरो हजुर’को तेस्रो सिक्वेलमा नायिका तथा निर्मात्री झरना थापाकी छोरी सुहानाले अनमोल केसीसँगै डेब्यु गर्दैछिन् ।

सेड्युलअनुसार भट्टराईको फिल्म असोजमा प्रदर्शन गर्ने भनिएको थियो । तर रिलिज डेट सर्दै यो चैतमा आइपुग्यो र ए मेरो हजुरसँगै एकै दिन रिलिज हुने भयो । एक्लै रिलिज हुँदा त लगानी उठाउन हम्मे परिरहेको बेलामा दुवै फिल्म एकै पटक रिलिजहुँदा दर्शक बाँडिने पक्का छ । 

यस अगाडि बोर्डको अध्यक्ष हुँदा निकिता पौडेलले समेत आफ्नो ब्यानर गोपीकृष्ण मुभिजबाट बनेको ‘रोज’ अर्को फिल्म ‘रामकहानी’सँग जुधाएकी थिइन् । दुवै फिल्मको व्यापार औसत मात्र भएको थियो । हैन, बोर्डमा फिल्म जुधाउन अध्यक्ष भएर जान्छन् कि फिल्मको प्रदर्शन व्यवस्थित पार्न ?
 

Leave A Comment