प्रकाशकीय : खोजमूलक र मनोरञ्जनात्मक सामग्री पस्कन प्रतिबद्ध

बिहिबार, २८ चैत २०७५, ०५ : ३५ शुक्रवार
प्रकाशकीय : खोजमूलक र मनोरञ्जनात्मक सामग्री पस्कन प्रतिबद्ध

नेपाल रिपब्लिक मिडिया प्रालिद्वारा प्रकाशित शुक्रवार साप्ताहिकले आठौं वर्ष पूरा गरेर नवौं वर्षमा प्रवेश गरेको छ । आठ वर्षसम्मको यो यात्रामा सुशासन, पारदर्शिता र जवाफदेहितालाई केन्द्रमा राखेर शुक्रवारले समाजमा रहेका विकृति, विसंगतिको पर्दाफास, जिम्मेवारीमा रहेका पदाधिकारीहरुको गतिविधिमाथि तिखो निगरानी राख्दै खोजपूर्ण सामग्री प्रकाशित गर्दैआएको छ । 

आठ वर्षे यात्रामा पाठकमाझ शुक्रवारको अलग्गै छवि बन्न सक्नुमा पाठकको रचनात्मक सहभागिताको भूमिका महत्वपूर्ण छ । आगामी दिनमा यस्तै सहभागिताको अपेक्षा गरेका छौं ।

गत वर्ष शुक्रवारले भ्रष्टाचार, सामाजिक न्याय, सामाजिक सञ्जालले निम्त्याएको नयाँ संकट, सुरक्षा, युवा पुस्ताको समस्यामा केन्द्रित भएर सामग्री पस्कियो । नकारात्मक र असफलताका फेहरिस्त मात्र हाम्रो प्र्राथमिकतामा थिएनन्, सफलता र उत्साहका सामग्रीलाई पनि उत्तिकै महत्व दियौं । 

समाजको लय र पाठकको रुचिलाई केन्द्रमा राख्दै खोजमूलक र मनोरञ्जनात्मक सामग्री पस्कने हाम्रो यात्रा जारी छ । समाजका विकृतिविरुद्ध अक्षरमार्फत् धावा बोल्न हामी प्रतिबद्ध छौँ । 

नेपाल रिपब्लिक मिडियाले शुक्रवार साप्ताहिकसँगै नागरिक राष्ट्रिय दैनिक, रिपब्लिका दैनिक, नागरिक न्यूज डटकम, माई रिपब्लिका डटकम र नागरिक परिवार मासिक म्यागेजिनको प्रकाशन गर्दै आएको छ । ब्रोडकास्ट मिडियममा रेडियो नागरिकमार्फत् प्रवेश गरेका हामी डिजिटल मिडियामा यसै वर्षबाट नागरिक नेटवर्कमार्फत् उपस्थित भइसकेका छौं । 

हामी हाम्रा प्रकाशनहरू समयअनुसार थप परिमार्जित गर्न सधैँ प्रयत्नशील छौं र रहनेछौं । 

अन्त्यमा शुक्रबार नवौं प्रवेश गरेको सुखद् उपलक्ष्यमा पत्रिका प्रकाशनमा निरन्तर खटिइरहने सम्पादकीय टोली, विज्ञापनदाता, वितरक, विक्रेता, लेखक, स्तम्भकारहरूलाई धन्यवाद दिँदै निरन्तर सहयोग र सद्भावको अपेक्षा गर्दछु । 
साथै, नयाँ वर्ष २०७६ को शुभकामना । 

विनोदराज ज्ञवाली
प्रबन्ध निर्देशक, 
नेपाल रिपब्लिक मिडिया प्रा.लि.
 

Leave A Comment