‘भोलि भेटाै‌ं मात्रै भनेर थर्काउँछन्’

बिहिबार, २८ चैत २०७५, ०७ : ०६ भोला अधिकारी
‘भोलि भेटाै‌ं मात्रै भनेर थर्काउँछन्’

-सञ्जय खत्री, बाउन्सर

एक वर्षदेखि ठमेलमा रहेको इभिजा नाइट क्लबमा बाउन्सरको काम गर्दै आएका छन् सञ्जय खत्री ।  उनले भोला अधिकारीसँग साटेको रात्रिकालीन अनुभव :

ल्याब टेक्निसियन पढेको हो ।  बोर्ड परीक्षा सकिएपछि  छ, सात महिना खालि हुने भइयो । आर्थिक अवस्था बलियो थिएन । काम खोजेँ । केही  साथीहरु पहिलादेखि नै बाउन्सरको काम गर्थे । साथीहरुलाई कामको बारेमा कुरा गर्दा आउन त यसैमा भने । खाली बस्नुभन्दा काम गर्नु नै ठिक लाग्यो । डेढ महिनाको तालिमपछि ज्वाइन भएँ । 

अहिले एक्काइस् वर्ष पुगेँ । मेरो चाहना नेपाल प्रहरीमा भर्ना हुनेछ । हेरौँ के हुन्छ । 

खाएर ल्याङ गर्नेलाई सम्झाउने 
म सेभेन स्टार ग्रुपबाट बाउन्सरको रुपमा खटिन्छु । १, २ महिनासम्म ट्रेडिङ नै हुन्छ । हाम्रो काम नाइट क्लबमा आएका गेष्टहरुको सुरक्षा हो । गेष्टहरुमा कहिले काहीँ खाएको निहँुमा झगडा पर्न सक्छ । खाएर नाचिरहेको अवस्थामा एक अर्काले टच नगरून् भनेर स्टान्डबाइ बसेर रमाइलो गराउनुपर्छ । 

कोही कोही खाएर धेरै ल्याङ गर्छन् । अर्को गेष्टलाई र्याक गर्छन् । त्यस्तो गेष्टलाई पहिला सम्झाउने हो , नमाने फकाएर बाहिर निकाल्ने हो । कतिपयको नियत केटीलाई छुने, चलाउने, खाल्का हुन्छन् । त्यस्तो काम रोक्ने काम पनि बाउन्सरकै हो ।

कहिले काहीँ झगडा पर्न खोज्छ । यस्तोमा सम्झाउन निक्कै गाह्रो हुन्छ । त्यसैले बाउन्सरमा सम्झाउने र फकाउने क्षमता हुनुपर्छ । 

गेष्टले निहुँ खोज्न थाले भने ‘दाइ दाइ’ भनेर उसैलाई ठूलो बनाएर सम्झाउन सक्नुपर्छ । आफैँ रिसाएर काम हुन्न । पहिलो प्राथमिकता ल्याङ गर्ने गेष्टलाई सम्झाएर, फकाएर बाहिर पठाउने हो । त्यति गर्दा पनि मानेनन् भने आफैँले जबर्जस्ती नगरी प्रहरीको जिम्मा लगाउने हो । 

भोलि पख भन्ने नि हुन्छन् 

कोही कोही त खाएपछि कसैको कुरा नसुन्ने खालका हुन्छन् । यस्तोले निक्कै निहुँ खोज्छन् । पख तँलाई  मैले तेरो अनुहार चिनेको छु, भोलि भेटौ मात्रै मैले जान्या छु भनेर थर्काउँछन् पनि । 

तर त्यो रक्सीको तालमा हुन्छ । भोलि फेरि आएर के छ दाइ ,भाइ आराम हुनुहुन्छ भनेर सोध्छन् । 
कतिपय गेष्टहरु मातेर ल्याङ भएपछि म इन्स्पेक्टर हुँ भनेर थर्काउन पनि खोज्छन् । कोही प्रहरीको ठूलो मान्छे हुँ भनेर पनि तर्साउँछन् । तर हाम्रा लागि सबै गेष्ट बराबर हुन् । सबैको उद्देश्य मनोरञ्जन गर्ने त हो । त्यसैले कोही पावरफूल आउँदैमा जे गर्न पनि छुट हुन्न ।

१८ वर्ष मुनिकालाई नो इन्ट्री
जे नियम बन्छ त्यो फलो गर्ने काम हाम्रो हो । अहिले अठार वर्षभन्दा मुनिकालाई नाइट क्लबमा छिराउन रोक लगाएको छ । तर कम उमेरकाहरु पनि आउँछन् । कसैमाथि शंका लागे उमेर खुल्ने परिचय पत्र माग्छौं । 

केही दिन अगाडि एकजना गेष्ट आउनुभएको थियो । शंका लागेर आइडीकार्ड हेर्दा १८ वर्ष पुग्न एकदिन बाँकी रहेछ । सरी भनेर फर्काउनु पर्यो । 

प्रहरी छापाको डर 
उमेर कम भएकालाई नाइट क्लबमा छिराउनु नियममा छैन । केही गरी झुक्याएर पठाइयो भने र प्रहरीले थाहा पायो भने कारबाही हुन्छ । सादा पोशाकमा प्रहरीहरु घुमिरहेका हुन्छन् । कहिलेकाहीँ चेक गर्न उनीहरुले पनि पठाउन सक्छन् । यस्तो बेलामा कमजोरी भएर नियम विपरीतभित्र पठाइयो भने प्रहरीले छापा मारेर कारबाही गरिहाल्छ । बेक्कारमा किन लफडामा पर्नु ।

सम्झाउँदा दुई हजार टिप्स 
क्लबबाट मातेर  एकजना लेडिज गेष्ट आउनुभयो ।  यसो हेर्दा निकै पिएजस्तो देखिनुहुन्छ । छोरी मान्छे भएर यति धेरै पिउनुहुन्न भनेर सम्झाएको थिएँ । उहाँले फुत्त निकालेर दुई हजार टिप्स दिनुभयो । उहाँलाई मैले सम्झाएको कुरा घत लागेछ क्यार । टिप्स दिएर जानुभयो । 

वाउन्सरलाई प्रायजसो टिप्स भनेको क्लबबाट बाहिर निस्केर कतै जाने बेलामा हात मिलाएको तरिकाले दिन्छन् । ती लेडिजले मलाई पहिलोपटक घर जाने बेलामा हातमा यसो हात मिलाए जस्तो गरेर पैसा दिएकी थिइन् । बाउन्सरलाई पैसा कहिल्लै पनि देखाएर दिँदैनन् । लुकाएर नै दिन्छन् । 

सुरुवातको समयमा म टिप्स लिन्न थेँ । त्यहाँ काम गर्ने भाइहरुले दिएको चिज त लिनुपर्छ । खुसीले दिएको चिज लिँदा के हुन्छ भन्न थालेपछि लिएको हुँ  ।

तलबले प्रोटिन किन्न नि मुस्किल

आफूले काम गरेको तलबले जिम जान र प्रोटिन खान पनि पुग्दैन ।  जागिर खाएको छ है भन्ने मात्र हुन्छ । पाँच केजी प्रोटिनलाई पन्ध्र, सोह्र हजार पर्छ । तलब पनि त्यति नै हुन्छ । यसो मिलाएर खानुपर्ने हुन्छ । नेपालमा जागिर पाउन मुस्किल छ । 

काम गर्दा बेलुका ७ बजेदेखि बिहान सात पनि बज्न सक्छ । चाडपर्व, इभेन्टहरु पर्यो भने त उज्यालो नै हुन्छ । डिउँटी सकेर घरतिर आउँदा बाटोमा मःम ठेलाहरु देखेपछि खाउँ खाउँ लाग्छ । खान थालेसी कति पैसा सकिन्छ थाहा हुँदैन । जागिरको कमाइ सापोनापो बराबर भन्नु पर्यो । 
 

Leave A Comment