०७५ का १२ प्रतिभा

शुक्रबार, २९ चैत २०७५, ०३ : २८ शुक्रवार
०७५ का १२ प्रतिभा

‘लामो रेसको घोडा’
मुकुन भुषाल फिल्म क्षेत्रमा १० वर्षदेखि नै संघर्षरत थिए तर साँघुरो दर्शकबीच मात्रै उनी परिचित थिए । ठूलो दर्शकमाझ परिचय स्थापित गर्न सकेका थिएनन् । हिन्दी र नेपाली सर्ट फिल्महरुमा काम गरेरै रमाइरहेका थिए । अभिनयमा यति कडा रुचि थियो कि एक्टिङ नै पढ्न भनेर उनी भारतसम्म पुगे । एक्टिङमा मास्टर्स पनि गरे । 

संघर्ष गरेको वर्षौं बित्दा पनि उनी फिचरमा फिल्ममा देखापरेका थिएनन् । राम्रो फिल्म पर्खंदापर्खंदै तीन वर्षअघि उनको हातमा आइपुग्यो– ‘बुलबुल’ । महिला टेम्पो ड्राइभरको कथालाई केन्द्रमा राखेर बनाइएको यो फिल्म २०७५ साल रिलिज भएका नेपाली फिल्ममध्ये सबैभन्दा बलियो देखियो । 

यही फिल्मबाट मुकुनले पनि आफ्नो अभिनय साबित गरे । उनले निर्वाह गरेको निर्दोष ‘चोपेन्द्र’को क्यारेक्टरलाई दर्शकले आफ्नै ठानेर प्रेम दर्शाए । समीक्षकले पनि खुलेर तारिफ गरे ।

‘बुलबुल’मा मुकुनको बुलन्द अभिनय हेरेपछि निर्धक्क भन्न सकिन्छ, यही लयमा हिँडिरहने हो भने उनी नेपाली फिल्ममा ‘लामो रेसको घोडा’ बनेर दौडिरहनेछन् । यो त पक्का छ । 

हलिउडको सपना

अभिनेत्री शिल्पा मास्केले हलिउडको सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज’मा तीन वर्षअघि नै ४५ सेकेन्डका लागि अभिनय गरेकी थिइन् तर नेपाली फिल्म क्षेत्रमा भने उनी यही साल अभिनेत्रीका रुपमा भित्रिइन् ‘ब्रेकअप’ र ‘कागजपत्र’ मा ।

दुवै फिल्मले व्यावसायिक रुपमा चित्तबुझ्दो नतिजा पाएन तापनि शिल्पाको अभिनयले भने तारिफ बटुल्यो । नयाँनयाँ फिल्ममा अफर आउने क्रम जारी छ । उनले साइन गरेको तेस्रो फिल्म ‘सानो मन’को त छायांकन नै सुरु भइसक्यो । 

अध्ययनका लागि लन्डन पुगेकी शिल्पा खासमा फिल्मको अफरकै कारण नेपाल फर्किएकी हुन् । र, अब लन्डन जाने सोचमा पनि छैनन् । अन्ततः उनको लक्ष्य हलिउडमै जम्ने छ । 

हलिउडले पत्याउला÷नपत्याउला तर नेपाली फिल्मले उनलाई पत्याइसकेको छ । एकै साल दुई फिल्म रिलिज हुनु र अर्कोको तयारीमा पनि जुट्नुले यस्तै संकेत गर्छ । अभिनय प्रतिको लगावलाई भन्झन् निखार्दै लाने हो भने नेपाली फिल्म क्षेत्रमा शिल्पाको भविष्य सुखद देखिन्छ । 
 

संगीतका दुई आशा 

जोगले गराएको भेट
संगीतकार बसन्त सापकोटा र समीक्षा अधिकारीको भेट पोखरामा भयो । १३ वर्षीया समीक्षाको स्वरले बसन्तलाई लोभ्यायो । भर्खर ८ कक्षा पढ्दै गरेकी किशोरीलाई उनले टपक्क टिपेर काठमाडौं ल्याए र रेकर्डिङ स्टुडियोमा प्रवेश गराए । रेकर्ड भयो ‘नाई नभन्नु ल ५’को ‘बालापनको उमेर’ बोलको गीत ।
गीत हिट भयो । त्यसपछि उनले दर्जनौँ गीतमा स्वर दिइसकिन् । पछिल्लो समय ‘वनमा काफल’ले पनि राम्रै चर्चा कमाइरहेको छ । 

उनले गाएका गीतहरुले युट्युबमा भ्युज पनि राम्रै पाइरहेका छन् । मिडियामा अन्तरवार्ता दिन भ्याईनभ्याई छ । यसको खास कारण उनकै सुरिलो स्वर हो । 

पृथक् शैली
‘५ः५५’ नामै पृथक् । नामझैँ स्वर पनि पृथक् छ, चिरागसिंह खड्काको । ५ः५५ चै उनको टाइटल नाम हो । उनले गाएको ‘ए बुढी, म मान्छे साह्रै रिसाहा अनि मुडी’ बोलको मेलोडियस ¥याप अहिले शहर नाघेर ग्रामीण भेगमा समेत पपुलर भइरहेको छ । 

आफ्नै स्टाइलमा बाँच्न रमाउने उनको फ्यान फलोइङ पनि बाक्लो छ । उनका ‘तोपेन्द्र’, ‘परिरा’छ पानी’, ‘जिन्दगी’, ‘माया’ लगायत गीत पनि र्यापप्रेमी स्रोतमाझ लोकप्रिय छ । 

यो साल उनका थुप्रै गीतले बजार पिटे । मिडियाका पानाहरुमा पनि खुब छाए । सोसियल मिडियाको क्रेज उस्तै । ५ः५५ले संगीतप्रतिको निरन्तर साधना र अठोटलाई जारी राख्ने हो भने यही क्षेत्रमा उनको भविष्य सुन्दर छ । 

 

साहित्य का २ प्रतिभा 

कच्चा उमेर, पाको विचार
उमेर २४ पुग्यो । तर उनका कविता पढ्दा विचारमा निक्कै पाका लाग्छन् नविन प्यासी ।  पछिल्लो समय निक्कै रुचाइएका छन् उनका सृजना । उनका कविता जिवन्त हुन्छन् । उनी समाजमा व्याप्त विकृति विसंगतिमाथि चोटिलो प्रहारमा केन्द्रित हुन्छन् । २०७४ मा १७ जना कविहरुको सामूहिक कविता सङ्ग्रह ‘अनुहारका भीडहरु’ सम्पादन गरेका उनले आफ्नै पुस्तक ‘हस्ताक्षर’ प्रकाशनको तयारीमा छन् । 
खोटाङका प्यासीले बिबिए पढ्दापढ्दै हापेर कवितातिर लागे । पढाइ मानविकितिर सारे । वर्षदेखि कविता कर्ममा सक्रिय उनी ‘उकुसमुकुस अभिव्यक्त  गर्ने माध्यम खोज्दैजाँदा कवितासँग ठोक्किएको’ बताउँछन् । 

कन्सर्टमा ब्यस्त अमृता
धादिङकी अमृता स्मृति हिजोआज कन्सर्टमा भेटिन्छिन् तर कविताको । ०७३ मा युनस्कोले गरेको राष्ट्रव्यापी कविता प्रतियोगीतामा प्रथम भएकी उनी ०७४ मा प्रज्ञा प्रतिष्ठानले आयोजना गरेका कविता महोत्सव  प्रतियोगीतामा तेस्रो भइन् । 

उनको सफलताको यात्रा कक्षा ९ बाटै शुरु भएको थियो जिल्ला स्तरिय मावी प्रतियोगितामा प्रथम भएर । त्यस यता उनी निरन्तर कवितामा घोत्लिइरहेकी छिन् । उनको ‘स्मृतिका आवाजहरु’ नामक पुस्तक प्रकाशित छ । 

योजना बनाएर भन्दा पनि समाज, व्यक्ति, परिवारका अनेकौ घटनाले प्रभावीत पार्दा कविता बन्ने गरेको उनले सुनाइन् । 

खेल :
अजितको सफलता
चर्चाभन्दा बाहिरै रहेका अजितकुमार यादवले जब हङकङमा भएको तेस्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक जिते उनी सबैको नजरमा परे । चैतमा भएको प्रतियोगितामा उनले तीन हजार मिटरको दौडमा स्वर्ण जितेर स्वदेश फर्किएपछि अहिले सम्मान थाप्न व्यस्त छन् । 

उनले १२ राष्ट्रका १५ खेलाडीलाई पछि पारेका थिए । उनले ०७३ देखि ०७५ सम्म निरन्तर राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण जित्दै आइरहेका छन् । ५.९ फिट उचाइ भएका यादवको तौल ६२ किलो रहेको उनले बताए । मिजासिला स्वभावका उनी दैनिक करिब तीन घण्टा ट्रेनिङ लिन्छन् । राज्यले उनलाई भरथेग गरेर खेलमा लागिरहने वातावरण बनाए उनले देशको नाममा थप अन्तर्राष्ट्रिय पदक थप्ने सम्भावना बलियो देखिन्छ ।

सावित्राको उडान
महिला फुटबलमा गोलमेसिनको परिचय बनाएकी सावित्रा भण्डारी खेल अवधिभरि आक्रामक खेल्छिन् । सुन्दर र गोलपोस्टमा फुटबल आकर्षक प्रहार गर्छिन् । विराटनगरस्थित आफ्नै घरेलु मैदानमा साफ च्याम्पियनसिपको उपाधि उचाल्ने नेपाली महिला फुटबल खेलाडीको सपना अधुरै बने पनि आफ्नो खेल कौशल भने देखाउन चुकिनन् उनले । भण्डारी र भारतकी इन्दुमति खातिरेसन सर्वाधिक गोलकर्ताको हैसियतमा पुरस्कृत  भए । 

राष्ट्रिय टोलीमा डेब्यु गरेको चार वर्षमा सावित्राले राम्रो सफलता पाइरहेकी छिन् । महिला फुटबलको राष्ट्रिय टोलीमा प्रवेश गरेको चार वर्षमा सावित्रा पहिलो स्ट्राइकरको रोजाइमा परिसकेकी छन् । र उनको सफलताको यात्रा जारी छ ।

 

राजनीति :

कान्छी सरकार प्रमुख
२९ वर्षिया कौशिला भट्टले छाउपडी प्रथा निरन्तरता दिनेलाई गाउँपालिकाले दिने सुविधा कटौती गरिदिने निर्णय गरिन् । उनी  डडेल्धुरास्थित भागेश्वर गाउँपालिकाकी अध्यक्ष हुन् । छाउपडी प्रथाले आक्रान्त भएको समयमा उनकोे निर्णयले हलचल ल्यायो । धेरैले साहसिक कदम भनेर प्रशंसा गरे । यो नियम ल्याएपछि उनको क्षेत्रमा छाउ गोठमै जाने प्रचलन हटेको छ । ‘छाउपडी प्रथा यति गडेको छ कि यसलाई नियन्त्रण गर्न निकै गाह्रो भएको छ,’ भट्ट भन्छिन्, ‘मैले यो छाउ बार्ने हैन भनेर जनचेतनामूलक कार्यक्रम गर्दा यो अध्यक्ष के भा होला भन्छन् । ’

१४ वर्षको उमेरदेखि राजनीतिमा लागेकी कौशिला बुबाको प्रेरणाले यता आएकी हुन् । २०६१ मा एसएलसी गरेपछि व्यवस्थापन संकायमा भर्नासँगै ३ वर्ष उतै राजनीति गरिन् । ०६५ मा काठमाडौंमा स्नातक तह पढ्न आएकी उनी पद्मकन्या क्याम्पस भर्ना भएसँगै इकाइ समितिको अध्यक्ष भइन् । ०६७ मा भएको नेपाली कांग्रेसको महाधिवेशनमा डडेल्धुराबाट निर्वाचित महाधिवेशन प्रतिनिधि भएर आएकी उनी स्थानीय तहको निर्वाचनमा उनी गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेर सबैभन्दा कान्छी स्थानीय सरकार प्रमुख बनिन् ।

अब साढेँ तीन वर्ष जति अझै बाँकी छ उनको कार्यकाल । यो अवधिभर खानेपानीको समस्या पूरै समाधान गर्ने र विकसित गाउँपालिका बनाउने उनको योजना छ । 

 

मिलनको यात्रा
साझा र विवेकशील दलको विभाजनले बजारमा अन्योल सिर्जना हुँदा त्यसलाई मज्जैले चिर्ने काम गरे, मिलन पाण्डेले । केहीले आलोचना पनि गरे तर धेरैबाट उनले प्रशंसा नै पाए । अहिले विवेकशील नेपाली दलमा रहेका २९ वर्षे यी ठिटाले राजनीतिक यात्राको क्रममा राम्रै सम्भावना देखाएका छन् ।

त्रिचन्द्र कलेजको हाताभित्र क्याम्पसकै पुस्तकालय विद्यार्थीले जलाएपछि उनलाई राजनीतिले भित्रैसम्म छोयो । परिवर्तनका लागि राजनीति गर्ने सोच त्यहीँबाट पलाएको हो । २०६८ मा भ्रष्टाचार नियन्त्रण तथा सुसाशनमा आवाज उठाउँदै अभियानै चलाए । नेपाल बन्दको समयमा ‘नेपाल खुला छ’ भन्ने प्लेकार्ड बोकेर सडक किनारमा उभिए । यसपछि विवेकशीलका टिठाहरुमाथि समाजको नजर पर्न थाल्यो ।

२०७१ मा विवेकशील दल दर्ता भएपछि उनी काठमाडौँ जिल्ला अध्यक्ष निर्वाचित भए । ०७४ मा काठमाडौं क्षेत्र नम्बर ९ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बने । असफल भए पनि आफ्नो परिचय वृत्त फैलाउन सफल उनी अहिले विवेकशीलको केन्द्रीय सदस्य तथा प्रवक्ताको जिम्मेवारीमा छन् । जुन रफ्तारमा उनको राजनीतिक यात्रा चलिरहेको छ । यो यात्रा कायम रहने हो भने राजनीतिमा उनको भविष्य राम्रो देखिन्छ ।

 

शिक्षा :

जनावरले दिलाएको मेडल 
त्रिभुवन विश्वविद्यालयले वर्षेनी गर्ने दीक्षान्त समारोह यो वर्ष पहिलेको भन्दा केही फरक रह्यो । २९ वटा पदक २३ जना विद्यार्थीले पाउँदा १४ जना छात्रा थिए । त्यही सूचीमध्ये सर्वाेत्कृष्ट छात्राको पदक पाइन् चीतवनस्थित रामपुर क्याम्पसकी सुलोचना श्रेष्ठले । उनले एक हैन तीन वटा पदक पाइन् । 
३० वर्षीया श्रेष्ठ पशुविज्ञानकी विद्यार्थी हुन् । उनले ‘ चान्सलर पदक, त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ स्वर्ण पदक र रामदास मानन्धर स्वर्ण पदक पाइन् । 

अहिले उनी सरकारको उपसचिव पदमा कार्यरत छिन् । स्वर्णपदक पाएपछि उनले सञ्चारकर्मीसँग सानैदेखि जनावर मन पर्ने भएकाले यसैबारे अध्ययन गर्दा सन्तुष्ट भएको बताइन् । यस्तै लगाव हुने हो भने भावी दिनमा उनलाई थप अब्बल बनाउन सक्छ ।

पढन्तेको पोलटिक्स यात्रा
२९ वर्षीय निर्देश सिलुवालले राजनीतिशास्त्रतर्फ स्नातकोत्तर तहमा ३.८६ गे्रड ल्याएर स्वर्णपदक  प्राप्त गरे । स्कुले तह लमजुङको भूपू सैनिक माविबाट २०६३ सालमा एसएलसी उत्तीर्ण गरेका सिलुवाल स्कुलमा पढ्दाखेरि प्रथम भएनन् , तर दोस्रो या तेस्रो स्थान छुट्दैनथ्यो । उनले इन्टरमा साइन्स लिएर पढे पनि स्नातकतहमा स्वीडेनको माल्मो युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्धबारे अध्ययन गरे ।

स्नातकोत्तरतहमा भने त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रमा भर्ना भए । 

अहिले पार्ट टाइमरका रुपमा  ‘लिटिल एन्जल कलेज अफ मेनेजमेन्ट’ र   ‘नेसनल कलेज अफ ल’ मा राजनीतिशास्त्र पढाउँछन् । अध्ययनको उपयोगका लागी उनले राजनीतिक अभ्यास पनि शुरु गरिसके विवेकशिल साझाबाट । उनी ०७४ मा लम्जुङबाट प्रतिनिधि सभाको उम्मेदवार समेत बनेका थिए । पहिलो प्रयास सफल भएन तर उनी निरन्तर सक्रिय छन् । 

Leave A Comment