नायकको ‘लाखे’ हल्ला

शुक्रबार, २९ चैत २०७५, ०५ : ४२ शुक्रवार
नायकको ‘लाखे’ हल्ला

नेपाली फिल्मको काटकुट बजेट उही ७० लाख हाराहारी हो । उदार निर्माता भए पनि करोड माथि जाँदैन । यस्तो ओपन सेक्रेट तथ्य छरपष्ट हुँदा पनि हाम्रा नायकहरु नाक फुलाउँदै पारिश्रमिक आधा करोड भएको धक्कु लगाउन छाड्दैनन् । 

०७५ मा त यो क्रम ह्वात्तै बढ्यो । अभिनेता अनमोल केसी, प्रदिप खड्काले बारम्बार ५० लाख पारिश्रमिकको डंका पिटिरहे । ल ठिकै छ पत्याइदिउँ यी दुईका कुरा । दुवै हल्का चलेकै अभिनेता हुन् । भर्खर फिल्म क्षेत्रमा तंग्रिन खोज्दै गरेका अभिनेता पुष्प खड्का पनि ‘५० लाख नभई त फिल्म खेल्दिनँ’ भन्न थालेको गाइँगुइँ बाहिरियो वर्षान्ततिर ।

पुष्पको छवि आफैँ लगानीकर्ता भएर हिरो हुने रहर पूरा गर्नेको सूचीमा छ । उनका फिल्म खासै चलेका पनि छैनन् । उनले यस बीचमा ‘दपर्णछाँया–२’, ‘मंगलम्’मा अभिनय गरे । दुवै फिल्मको औसत रहे । ‘दाल भात तरकारी’ पोस्ट प्रोडक्सनमा छ ।

यसैबीच उनलाई दार्जिलिङतिरका एक निर्देशकले फिल्मको अफर गरेको र उनले ५० लाख पारिश्रमिक माग गरेको खबर बाहिरियो । पुष्प निकटको दाबी पत्याउने हो भने ती निर्देशक उनले बनाउन लागेको फिल्ममा उनलाई अभिनय गराउन मरिहत्ते गरिरहेका छन् तर पुष्प डिमान्ड घटाउने मुडमा छैनन् रे !

माहोल हेर्दा ५० लाख डिमान्ड गरेको भन्दा पनि गरेको हल्ला फिँजाउने मनसाय प्रष्टै देखिएपछि के धेरै चर्चा गर्नु ? पुष्पको फन्डाले काम गरोस्, शुभकामना ।

Leave A Comment