०७५ मा करिब ९० हारहारी नेपाली सिनेमा हलमा रिलिज भए तर आधा दर्जन निर्माताले पनि आफ्नो यथार्थ आम्दानी खुलाउने हिम्मत गरेनन् । कारण प्रस्टै छ, निराशाजनक व्यापार ।
दाबी टन्नै आए तर सदाझैँ यो वर्ष पनि नेपाली फिल्मको हालत यति निरीह भयो कि अधिकांश निर्माताले आफ्नो पब्लिसिटी खर्चसमेत उठाउन सकेनन् ।
एउटा फिल्मको ८० लाखका दरले हिसाब गर्ने हो भने पनि करिब ७२ करोड रुपैयाँ यो वर्ष नेपाली फिल्मको निर्माणमा लगानी भयो तर यसको ९० प्रतिशत रकम पनि निर्माताले फिर्ता पाउन सकेनन् ।
यतिबिघ्न फिल्महरु के–कारण चिप्लिरहेका छन् त ? निर्मातामा देखिएको भ्रम के रहेछ ?
०७५ मा रिलिज भएका फिल्म र यसप्रति दर्शकले देखाएको उत्साहलाई केलाउँदा दृश्य प्रस्टै देखिन्छ ।
स्टार होइन, कन्टेन्ट चाहियो
फिल्म व्यापार आँकडा र दर्शकको मनोविज्ञानले यो वर्ष स्पष्ट पार्यो फिल्म चल्नलाई स्टार होइन, कन्टेन्ट नै चाहिन्छ । हाम्रो फिल्म बजारले सुपरस्टार र स्टारका रुपमा प्रचार गरिरहेको कलाकार अनमोल केसी, प्रदिप खड्काको फिल्मले हावा खानुले यस्तै देखायो ।
रोमान्टिक विधामाथि बनेका प्रदिपका तीन वटै फिल्म ‘लिलिबिली’, ‘रोज’ र ‘लभ स्टेसन’ले लगानी उठाएको आधिकारिक पुष्टि देखिएन । अनमोल केसीकै ‘क्याप्टेन’ हेर्न दर्शकको सागर उर्लिएको देखिएन ।
महँगी अभिनेत्रीका रुपमा चर्चा कमाइरहेकी साम्राज्ञीराज्य लक्ष्मी शाहको ‘इन्टु मिन्टु लन्डनमा’को व्यापार कमजोर नै रह्यो । आर्यन सिग्देलले आफ्नो ओरालो लागेको करिअर उकाल्न साम्राज्ञीलाई लिएर बनाएको ‘कायरा’ पनि नराम्रोसँग गुल्टियो । यी सबै फिल्महरु व्यापारिक रुपमा मात्रै कमजोर थिएनन्, समीक्षागत हिसाबले पनि कमजोर नै देखिए । सबै फिल्मको प्रमुख समस्या मेरुदण्डै थियो । फिल्मको पटकथा यति कमजोर थियो कि जस्तासुकै कलाकारले पनि फिल्मको व्यापारमा आएको पहिरो रोक्नै सकेनन् ।
स्टारमाथि गरेको लगानीसमेत असुरक्षित भएपछि निर्माताको आर्थिक ब्यालेन्स धर्मराउनु स्वाभाविक नै भयो । फिल्महरुको नतिजाले देखायो, दर्शक स्टार हेर्न हैन, कन्टेन्टका लागि हलसम्म आउँछन् । कन्टेन्ट बिनाका स्टारको अब काम छैन ।
यस वर्ष पुराना र खरो चिनिएका फिल्ममेकरहरु पनि नराम्रोसँग पछारिए । कारण उही– फितलो कन्टेन्ट । रोमान्टिक विधाका फिल्ममा सफल देखिँदै आएका हेमराज बिसीले आशिरमान देशराज श्रेष्ठ र शिल्पा मास्केको जोडीलाई लिएर ‘क्याजुअल रिलेसनसिप’को कथामाथि बनाएको ‘ब्रेकअप’ पर्दामा असफल देखियो । र, दर्शकको दिल दुखाएर बिदा भयो । पुराना धुरन्धर मानिने निर्देशक उज्ज्वल घिमिरेको ‘लभ स्टेसन’को हालत पनि उस्तै कमजोर ।
क्युएफएक्सका मालिक नकिम उद्दिनले बनाएको ‘द म्यान फ्रम काठमाडौं’को नेपाल व्यापार सुखद भएन । पहिलो नेपाली ग्लोबल फिल्म दाबी गरिएको यो फिल्म विदेशमा रिलिज हुन भने बाँकी छ । नेपालमै अस्वीकृत यो फिल्म, विदेशमा कसरी स्वीकृत होला त ?
नयाँ स्वादलाई स्वागत
नेपालका अधिकांश सिनेमाहरुमा बाह्य प्रभाव हावी भइरहेका बेला नेपालमा यस वर्ष केही नयाँ मेकर्सहरुको उदय भयो । नयाँमध्ये एक हुन्, विनोद पौडेल । उनको फिल्म स्वादका हिसाबले दर्शकमाझ आशा बोकेर आयो ।
बजारु फिल्म बनिरहेका बेला उनले टेम्पो महिला ड्राइभरको कथामाथि फिल्मी कथा भन्ने चुनौती मोले र बनाए ‘बुलबुल’ । दृश्यभाषाका हिसाबले यो वर्ष रिलिज भएका फिल्महरुमध्ये यो अब्बलमा पर्छ । यो उनको पहिलो फिल्म भए पनि उनले यसमा कुनै स्टार कलाकारलाई कास्ट गरेनन् । बरु मुकुन भुषाललाई डेब्यु गराए, स्वस्तिमा खड्कालाई अहिलेसम्मकै फरक र चुनौतीपूर्ण टेम्पो ड्राइभरको भूमिकामा अभिनय गराए । फरक र बलियो कथ्य शैलीका कारण उनको यो फिल्मलाई दर्शक र समीक्षक दुवैले रुचाए । व्यापारिक हिसाबले पनि फिल्म घाटामा गएन, बरु विदेश प्रदर्शनपछि थोरबहुत नाफा नै कमाउने अवस्थामा छ ।
सधैँ स्टार कलाकारलाई लिएर रोमान्टिक विधाको फिल्म निर्देशन गरिरहेका निर्देशक दिनेश राउत पनि फिल्म ‘प्रसाद’मार्फत् यस वर्ष फरक र मौलिक कथ्य शैलीका साथ दर्शकमाझ आए । निःसन्तान दम्पतीको कथामाथि बनेको यो फिल्ममा उनले कुनै स्टार कलाकार लिएनन्, बरु स्टारका रुपमा अस्वीकार गरिँदै आएका एक्टर विपिन कार्कीलाई लिए । र, यहीपल्ट उनको फिल्मले बजारमा बहस सिर्जना ग¥यो, लगानी पनि उठायो ।
केही गीत, केही फाइट, केही कमेडी र केही रोमान्सका दृश्य राख्दा फिल्म बनिहाल्छ अनि बजारमा चलिहाल्छ नि भन्ने परम्परागत मानसिकताबाट धेरै पर रहेर यही वर्ष अर्को सशक्त फिल्म पनि बजारमा आयो– ‘हरि’ । यो फिल्मले कसैले छाड्न नसकेको नेपाली फिल्मको परम्परागत कथ्य संरचनालाई सजिलै छाडिदियो । अरुले रोपिदिएकै विरुवामा मलजल गर्न रुचाउनेहरुको भिडमा निर्देशकद्वय सफल केसी र प्रतीक गुरुङ फरक देखिए ।
यो सिनेमामार्फत् नेपाली फिल्मले पहिलोपल्ट सन् १९२१ मा फ्रान्सको पेरिसबाट सांस्कृतिक क्रान्तिका रुपमा सुरु भएको सर्रियालिज्म (अतियथार्थवाद)लाई आत्मसात गर्यो । प्रचारबाजी नगरी हलमा आएको यो फिल्म व्यापारिक रुपमा त सफल देखिएन तर समीक्षागत हिसाबले अब्बल ठहरियो ।
बाह्य र बजारिया प्रभावमा परेर बनाइएका फिल्महरु धमाधम गुल्टिरहेका बेला ‘बुलबुल’ र ‘प्रसाद’जस्ता फिल्मप्रति दर्शकले देखाएको उपस्थितिले दर्शक नयाँ स्वादको खोजीमा रहेको स्पष्ट संकेत गर्यो ।
फिल्ममा उनीहरु स्टार खोजिरहेका छैनन्, कथा खोजिरहेका छन् भन्ने प्रमाणित पनि गर्यो । नेपालमा ‘फिल्म लिटरेसी’ बढिरहेको यो एउटा गतिलो संकेत पनि हो ।
दर्शकको गतिलो जवाफ
विदेशी फिल्मको कथाबाट प्रभावित हुनु नेपाली फिल्मका लागि नौलो होइन । नेपाली फिल्मले वर्षौदेखि खेप्दै आएको समस्या हो । यस वर्षको सुरुवातमै मिलन चाम्सले निर्देशन गरेको ‘लिलिबिली’ले हिन्दी फिल्मबाट प्रभावित भएको आरोप खेप्यो ।
बौद्धिक छवि बनाएकी अभिनेत्री केकी अधिकारीले निर्माण गरेको ‘कोहलपुर एक्सप्रेस’ बलिउडको ‘मुम्बई एक्सप्रस’बाट कपी गरेको पाइयो । वर्षको अन्तिममा प्रदिप खड्का स्टारर ‘लभ स्टेसन’ पुरापुर दुई टर्किस फिल्म ‘हर से असक्तन’ र ‘सेबिम्ली तेल्केली’बाट चोरी गरेको पाइयो । ठूला र चल्तीका कलाकार नै संलग्न भएका यस्ता फिल्मले सिर्जनाका नाममा दर्शककै अपमान गर्यो ।
तर, उनीहरुको फिल्म नहेरिदिएर दर्शकले पनि उनीहरुलाई गतिलो जवाफ फर्काए । अन्ततः अन्तबाट प्रभावित र चोरिएका सबै फिल्महरु यस वर्ष असफल नै देखिए ।
इन्टरनेटको चुनौती
नेपाली फिल्मलाई हलिउड र बलिउड फिल्मको चुनौती त पहिलेदेखि नै थियो, अझै छँदैछ । तर, फिल्मकर्मीका लागि त्योभन्दा ठूलो चुनौती अब इन्टरनेट बन्दैछ । युट्युब, नेटफ्लिक्समा आफ्नो रोजीछाडी स्तरीय फिल्म हेर्ने विकल्प हँदाहुँदै दर्शक ‘नेपाली फिल्मलाई माया गरौँ न’ भन्ने एकोहोरो प्रलापकै भरमा अब घरबाट हलसम्म जाने अवस्था छैन ।
यो वर्ष अधिकांश फिल्म फ्लप हुनुको एउटा कारण यो पनि हो । दर्शकलाई घरबाट हलसम्म डो¥याउने एउटै उपाय भनेको राम्रो फिल्म बनाउनु नै हो । सायद यो वर्षको नतिजाबाट फिल्मकर्मीले सिक्नुपर्ने गतिलो पाठ यो पनि हो ।
कि हाँसो, कि रोदन
‘६क्कापन्जा’ र ‘नाइँ नभन्नु ल’को सफलतापछि नेपाली फिल्मकर्मीमाझ कमेडी र रोनाधोनाले भरिएका फिल्म निर्माणको लहर नै देखियो । फिल्ममार्फत् उनीहरुको ध्येय एउटै देखिन्थ्यो– दर्शकलाई कि पेट मिचुञ्जेल हँसाउने, कि आँखा भिजुञ्जेल रुवाउने ।
तेश्रो सिरिजसम्म आइपुग्दा ‘६क्कापन्जा’ यो वर्ष पनि सफल नै देखियो । तर, ‘नाइँ नभन्नु ल’ले भने पहिलेजस्तो क्रेज ‘क्यास’ गर्न सकेन । दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको ‘६क्कापन्जा’कै सिको गर्दै धेरै फिल्म मेकर्सले यो वर्ष पनि दर्शकमाझ कमेडी बेच्न खोजे । ‘चौका दाउ’, ‘सुश्री सम्पत्ति’, ‘मिस्टर भर्जिन’, ‘कोहलपुर एक्सप्रेस’, ‘पिरिम प¥या छन्’, ‘साली कसको भेनाको’जस्ता फिल्म उनीहरुकै पथमा हिँड्न खोज्दाको परिणाम हो । तर, यसरी दर्शकमाझ द्विअर्थी र भद्दा संवाद प्रयोगकै भरमा फिल्म चलाउन खोज्ने कोही पनि मेकर्स व्यापारिक रुपमा सफल देखिएनन्, न उनीहरुको कामलाई कुनै समीक्षकले नै तारिफ गरे ।
‘६क्कापञ्जा’ पछ्याउने निर्माताहरुले के बुझेनन् भने दीपक–दीपाले निर्माण गरिरहेको फिल्म सुपरहिट हुनुको पछाडि अर्कै मनोविज्ञानले काम गरिरहेको छ । यहाँ उनीहरुको वर्तमान कर्मले मात्रै प्रभाव पारिरहेको छैन, दशकौँदेखिको रेडियो र टेलिभिजन कार्यक्रममार्फत् कमाएको प्रभावले खास काम गरिरहेको छ । दीपक–दीपाले अन्य जो जो कलाकार (केदार घिमिरे, जितु नेपाल, शिवहरी घिमिरे, किरण केसी लगायत) हरु फिल्ममा लिइरहेका छन्, ती सबै टेलिभिजनका स्टार हुन् । उनीहरुलाई हेर्न प्रत्येक साता दर्शक टेलिभिजनमा कुर्थे । अहिले उनीहरुको टेलिभिजन कार्यक्रम बन्द छ । त्यतिबेला दीपक–दीपाले बानी पारेका सिरियलका दर्शक र प्रशंसक नै अहिले उनीहरुको फिल्म हेर्न हलसम्म पुगिरहेका छन् । उनीहरुको फिल्ममा कथा कम, कमेडी ज्यादा हुन्छ । एउटै फिल्ममा मल्टी स्टारहरुको अभिनय हुन्छ । त्यही कारण पनि उनीहरुको फिल्म चलिरहेको छ ।
शंकै छैन, नेपाली फिल्म क्षेत्रमा ‘६क्कापन्जा’ अपवाद हो । यसैलाई पछ्याएर फिल्म बनाउन खोज्दा यस वर्ष पनि दर्जनौँ फिल्म नराम्रोसँग डुबे । अर्काको सिको र सिर्जनाको भरमा फिल्म बनाउन खोज्दा कसरी डुबिन्छ ? यो वर्षको नेपाली फिल्मको व्यापारिक नतिजाले यसको गतिलो जवाफ पनि दियो । सँगसँगै आफ्नै कन्टेन्टको बलबुतामा फिल्म बनाइयो भने सफल भइन्छ भन्ने सन्देश पनि । के लाई पछ्याउने ? त्यो त आ–आफ्नो मर्जी !
Leave A Comment