जमेनन् लेखक

शुक्रबार, २९ चैत २०७५, ०६ : ४३ प्रजु पन्त
जमेनन् लेखक

घट्टेकुलो बस्ने श्रेया पाण्डेले यो वर्ष प्रकाशित भएका केही आख्यान र गैरआख्यान पढिन् । उनको रोजाइमा उपन्यास र कथाहरु नै पर्छन् । यो वर्ष आएका पुस्तकमा नारायण वाग्लेको ‘कोरियाना कफी गफ’ ब्रजेशको ‘साइड हिरो’ र सुबिन भट्टराईको ‘प्रिय सुफी’ पढिन् । बाँकी पुराना पुस्तक । नयाँ पुस्तकले उनको मन छुन सकेन ।

‘पहिले मानक बनाइसकेका लेखकको पुस्तक किनेर पढेँ तर सन्तुष्ट हुन सकिन,’ पाण्डेले भनिन्, ‘ पहिलो पुस्तक राम्रो लेखेका लेखकको अरु पुस्तक उति दमदार नहुने रहेछ ।’

०७५ मा आएका पुस्तकको प्रभावबारे रिपोर्टिङको क्रममा एजुकेसन बुक हाउस जमलमा पुग्दा भेटिए अर्का किताबका पारखी संयोग भट्टराई । उनका लागि पनि यो वर्ष सम्झिन लायक बनेन । 
‘आत्मकथा र केही उपन्यास पढे, तर केही नयाँ भेटिन,’ उपन्यासमा त्यही पुरानै शैलीले भरिएको प्रेम कथा अनि आत्मकथामा आत्मरति’ उनले अशन्तुष्टी जनाए । 

डिल्लीबजारमा रहेको हिमाल बुक स्टलका सञ्चालक अनिल हिमाल गौतमका अनुसार पनि यो वर्ष वाह  भन्न लायक पुस्तक आएन । नयाँ लेखकका पुस्तक प्रशस्तै आए पनि बिक्रीको हिसाबले पाठकको रोजाइमा त्यत्ति नपरेको उनको अनुभव छ । बिक्रीको हिसाबले भट्टराईको ‘प्रिय सुफि’ उपन्यास राम्रै चले पनि उनका पुराना पुस्तकको रेकर्ड वरिपरि पनि नपुगेको गौतमले बताए ।
गौतमले भने, ‘बरु पुराना पुस्तकहरुको माग राम्रो छ ।’

‘बजार पिट्ने पुस्तकका लेखकको दोस्रो पुस्तकले पाठकलाई खुसी पार्न सक्दो रहेनछन् ,’एजुकेसन बुक हाउसकी सहसञ्चालक विना श्रेष्ठले भनिन्, ‘पाठकको स्तर पहिले भन्दा बढेको हुन्छ तर लेखन उही हुँदा मन पराउँदा रहेनछन् ।’

नयाँ पुस्ताको लेखकको पुस्तक पनि नआएको हैन यो वर्ष । तर पाठकको माया पाउन सकेनन् त्यत्ति । 
‘प्रेमको बारे लेखे पनि एउटै शैलीमा लेख्ने कारण पुस्तक नचलेका हुन्,’ समीक्षक महेश पौड्याल भन्छन्, ‘आफ्नै शैलीमा नआएको पुस्तक चल्दैनन् ।’

नेपाली पुस्तकभन्दा अंगेजी पुस्तकको माग बढी भएको महांकालस्थित एडुकेशन बुक हाउसका कर्मचारी हरिहर अर्याल बताउँछन् । पछिल्लो समय नेपाली पुस्तक पढ्ने पाठक बढे पनि यो वर्ष पाठकले खोज्ने प्रकारको नयाँ पुस्तक नआएको उनको अनुभव छ । 

अर्यालले भने, ‘स्थापित लेखकले नयाँ पुस्तक निकाले पनि नयाँ पुस्तकभन्दा पुराना पुस्तक खोज्दै आउनेको संख्या धेरै छ ।’

समीक्षक पौड्यालका अनुसार पुस्तक धेरै नै प्रकाशित भए पनि वाहवाही कमाउने पुस्तक नआउनु दुःखद् पाटो हो यो वर्षको । संख्याको हिसाबले ०७५ बजारको अवस्था निकै सुस्त रहेको उनको ठम्याइ छ । 

यो वर्षका केही पुस्तक 
रमेश सायनको ‘छुटेको अनुहार’ भुवनहरि सिग्देलको संस्मरण ‘चतुर तिवारी’ राजवको उपन्यास पाइ , धु्रव सापकोटाको कथा सङ्ग्रह ‘विचारको लाश’, योगेशराजको उपन्यास रणहार, नारायण वाग्लेको संस्करण कोरियाना कफी गफ, किशोर पहाडीको कथा संग्रह रोजा, राजेन्द्र पराजुलीको कथा सङ्ग्रह अघोरी, सरल सहयात्रीको उपन्यास शिखरको ढुंगा, विमल तुम्खेवाको कविता हत्केलामा पृथ्वी राखेर हिँडेको मान्छे, राजेन्द्र थापाको कथा संग्रह फिर्ता चाहियो आयो यो वर्ष ।

त्यसैगरी जिके पोख्रेलको कथा सङ्ग्रह गोहो, चुदेन कविमोको उपन्यास फत्सुङ, श्रीराम  उपाध्यायको नेपालको इतिहास, युवराज नयाँघरेको औँलाऔँलामा अस्टे«लिया, ओम प्रतीकको बदनाम बस्ती, सविता श्रेष्ठको सेतो स्कार्फ, डा. राजु अधिकारीको जिन्दगी रिल्याक्स, सरोजराज अधिकारीको धम्बोझी उपन्यास, वसन्त बस्नेतको गैरआख्यान कृति ७२ को विस्मय र जगत नेपालको गैरआख्यान कृति बिपीको विद्रोह बजारमा आए । 

वर्षको अन्त्यतिर वाग्लेको संस्मरणात्मक पुस्तक कोरियाना गफ आएको थियो । चर्चाका हिसाबले राम्रै गरे पनि विक्रेताहरुका अनुसार पुस्तक बजारलाई यसले पनि सोचेअनुसार चलायमान गराउन सकेन । योगेशराजको रणहारले केही प्रशंसा पायो । प्रायः गैर आख्यानमा कलम चलाउने अधिकारीको पहिलो उपन्यास धम्बोजी पनि बिक्रीको हिसाबले ठिकठिकै सूचीमा पर्यो ।

राजेन्द्र पराजुलीको कथा सङ्ग्रह अघोरीले समीक्षकहरुबाट राम्रै प्रतिक्रिया पाए पनि पाठकबाट समीक्षाअनुुसारको प्रतिक्रिया आएको देखिएन । गैर आख्यानले पनि पाठकको मन पगाल्न सकेन यो वर्ष ।

आत्मकथाको उस्तै ताल
यो वर्ष संस्मरण तथा आत्मकथाहरु राम्रै निस्किए । पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, दुर्गा सुवेदी, पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल आत्मकथा बोकेर आए । तर यी पुस्तकले पाठकको मन जित्न सकेन ।

पहिलो महिला प्रधानन्यायाधीशसमेत रहेकी कार्कीको प्रधानन्यायाधीशको कार्यकाल विविध कारणले चर्चा र विवादमा रह्यो । महाअभियोगसमेत खेपेकी उनले लेखेको ‘न्याय’ भने चर्चामा आएन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको कारबाहीलगायतका महत्वपूर्ण घटनाक्रम उनको पुस्तकमा समेटिए पनि पुस्तकमा इमानदारिता फेला पार्न सकेनन् पाठकले ।
कार्कीकै श्रीमान् तथा नेपालमा भएको पहिलो विमान अपहरणमा संलग्न सुवेदीको ‘विमान विद्रोह’ ले पनि बजारलाई चलायमान बनाउन सकेन ।

आफ्नो कार्यकालमा निक्कै चर्चित रहेका पूर्व आइजीपी खरेलको आत्मकथाको हालत पनि उस्तै देखियो । संस्मरणमा मदनमणि दीक्षितको मेरी माता लगायतका पुस्तकहरु आए । तर यी कहिले आए पाठकले मेसो नै पाएनन् । 

रत्न पुस्तकका कर्मचारी श्याम तण्डुकार अहिलेको पाठक एक्ज्याट् तथ्य खोज्ने तर आत्मकथामा छलछाम र बखान बढी हुने भएकाले पाठकको रोजाइमा नपरेको बताए । कविताका पुस्तक पनि प्रशस्तै आए तर पाठकको मन तान्न सकेन । 

यो वर्ष भाडाका लेखकहरु धेरै व्यस्त भए । भाडाका लेखकले लेखेका नेता, कलाकार, खेलाडी लगायतकाहरुको पुस्तक बजारमा आए पनि पाठकले पत्याएनन् ।

‘उत्तरार्धमा  पुस्तकको संख्या ह्वात्तै बढ्यो,’ समीक्षक पौड्यालले भने, ‘त्यसपछि बजार पनि तात्यो । संख्या धेरै भए पनि यो साल उल्लेख्य पुस्तकको संख्या भने कम छन् ।’
 

Leave A Comment