फुटबलमय अवार्ड

शनिबार, १५ साउन २०७३, १२ : ३९ हिमाल लम्साल , Kathmandu
फुटबलमय अवार्ड

 उपाधिको हिसाबले २०७२ साल नेपाली फुटबलको लागि उत्साहजनक रह्यो । एन्फा भित्रको भ्रष्टाचार, म्याच फिक्सिङ र असफलताबाट गुज्रिएको फुटबलले एकाएक नेपालीमा खुशीको लहर ल्यायो । खुशीको लहर ल्याउने  माध्यम हो, बंगबन्धु गोल्डकप र दक्षिण एसियाली खेलकुदमा राष्ट्रिय फुटबल टिमको शानदार प्रदर्शन । जहाँ दुवै खेलमा नेपाल विजेता बन्यो ।
फुटबल टिमको प्रदर्शनको झल्को पल्सर स्पोट्र्स अवार्डमा पनि देखियो । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोट्र्स अवार्डले प्रदान गर्ने नौ विधामध्ये छ विधामा फुटबलले नै बाजी मा¥यो । छ विधामध्ये पाँच व्यक्तिगत र एक विधा समूहलाई दिइएको हो ।
उत्कृष्ट वर्ष खेलाडी पुरुषबाट फुटबलका नवयुग श्रेष्ठले बाजी मारे । लाइफटाइम अचिभमेन्ट अवार्डबाट फुटबलकै श्रीराम रञ्जितकार सम्मानित भए । उत्कृष्ट वर्ष युवा खेलाडी फुटबलर अञ्जन विष्ट भए । उत्कृष्ट प्रशिक्षकमा फुटबलकै बालगोपाल महर्जन सम्मानित भए । वर्षको उत्कृष्ट टिमबाट नेपाली राष्ट्रिय फुटबल टिम र स्पेसल अवार्डबाट मरणोपरान्त फुटबलकै ललितकृष्ण श्रेष्ठले पाएका छन् । उत्कृष्ट वर्ष खेलाडी महिलाबाट  जुडोकी फुपूल्हामु खत्रीले जितिन् । पिपुल्स च्वाइस अवार्डबाट टेबल टेनिसकी नविता श्रेष्ठ र पारा एथलिटबाट तेक्वान्दोकी सीता भण्डारीले जितेका छन् ।  उत्कृष्ट वर्ष खेलाडी महिला, उत्कृष्ट वर्ष खेलाडी पुरुष र पिपुल्स च्वाइस अवार्डका विजेतालाई पल्सर मोटरसाइकल र अवार्डले पुरस्कृत गरियो ।
नवयुग श्रेष्ठ, खेलकुदमा २३ वर्षपछि नेपाली राष्ट्रिय फुटबल टिमले स्वर्ण जित्दाका मुख्य नायक हुन् । उनी बंगबन्धुगोल्डकप र १२ औँ सागका उत्कृष्ट प्रदर्शन गर्ने नेपाली स्ट्राइकर हुन् । ‘अवार्डले  जिम्मेवारी थपेको छ,’ अवार्ड थापेपछि उनले भने, ‘खेलमा अझै सक्रिय भई लाग्नेछु । जनताको आशा र भरोसा बढेको अनुभव गरेको छु ।’ उनले आफूमा उत्साह र जिम्मेवारी थपेको प्रतिक्रिया दिए ।
उत्कृष्ट वर्ष खेलाडी महिला जुडोकी  फुपूल्हामु खत्री बनिन् । खत्रीले प्रतिस्पर्धामा रहेका उसुकी स्वर्णपदक विजेता निमा घर्तिमगर, पौडीकी गौरिका सिंह, ट्रायथलनकी रोजा केसी र तेक्वान्दोकी रेजिना कार्कीलाई पछि पार्दै उत्कृष्ट वर्ष खेलाडी महिला घोषित भएकी हुन् । अवार्ड जितेपछि आफू खुशी भएको प्रतिक्रया उनले दिइन् । ‘एकदमै खुशी छु,’ उनले भनिन्, ‘मसँग खुशी व्यक्त गर्ने कुनै शब्द नै छैन ।’ अवार्डले आफूमा आत्मविश्वास बढाएको खत्रीको भनाइ छ । ‘यो अवार्डले मेरो कन्फिडेन्ट बढाएको छ,’ उनले भनिन्, ‘आगामी खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने कोसिस गर्नेछु ।’
श्रीराम रञ्जितकार लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भए । यो अवार्ड आफ्नो खेल जीवनकै सबैभन्दा ठूलो सम्मान भएको उनले बताए । ‘यो मेरो खेल जीवनकै ठूलो पुरस्कार हो,’ उनले भने, ‘जीवनमा धेरै पुरस्कार पाएँ । तर, यस्तो सम्मानित अवार्ड पहिलो पल्ट पाएँ ।’
नेपाललाई बंगबन्धु गोल्डकप र सागमा स्वर्ण दिलाएका कप्तान विराज महर्जनले अवार्डले टिम नेपाललाई गौरवान्वित बनाएको बताए । ‘यो अवार्डसँगै म मात्र होइन टिम नेपालले गर्व गर्ने मौका पाएको छ,’ उनले भने, ‘हामीले हारको खडेरी तोडेर जीतको शुभारम्भ गरेका छौँ ।’
 वर्षको उत्कृष्ट युवा खेलाडीबाट सम्मानित अञ्जन विष्ट उसुकी नीमा घर्तीमगर, पौडीकी गौरिका सिंह, क्रिकेटका सन्दीप लामिछाने, जुडोकी मनिता श्रेष्ठ प्रधानलाई हराउँदै विजेता बनेका हुन् । वर्षका उत्कृष्ट प्रशिक्षकबाट सम्मानित भएका बालगोपाल महर्जन अवार्ड कार्यक्रममा आउन सकेनन् । विदेशमा भएकाले उनको तर्फबाट अवार्ड उनकी श्रीमतीले थापेकी थिइन् । उनको  प्रशिक्षणमा नेपालले २३ वर्षपछि बंगबन्धु गोल्डकपमार्फत उपाधि चुमेको थियो । उनकै नेतृत्वमा प्रथम साफ यू–१९ च्याम्पियनसिपमा नेपाल विजेता बन्न सफल भयो ।
एन्फाका पूर्व कार्यवाहक अध्यक्ष ललितकृष्णश्रेष्ठलाई मरणोपरान्त स्पेसल अवार्ड प्रदान गरिएको थियो । उक्त अवार्ड श्रेष्ठकी धर्मपत्नी निलु श्रेष्ठ र उनका छोरालाई प्रदान गरिएको थियो ।
पिपुल्स च्वाइस अवार्ड भने टेबल टेनिसकी नविता श्रेष्ठले जितेकी छिन् । नविता फुटबलका नवयुग श्रेष्ठ, भलिबलकी प्रतिभा माली, भारोत्तोलनकी तारादेवी पुन, क्रिकेटका सन्दीप लाामिछानेलाई एसएमएस भोटिङमा पन्छाउँदै विजेता बनेकी हुन् । अवार्ड हात पारेपछि नविताले जिम्मेवारी र प्रोत्साहन मिलेको बताइन् । ‘अवार्ड जितेसँगै टेबल टेनिसमा भविष्य खोज्ने नयाँ खेलाडीलाई उत्साह र उमंग थपिएको छ,’ उनले भनिन्, ‘दर्शकको आशा र भरोसालाई अझै उचाइमा पु¥याउनेछु ।
वर्षको उत्कृष्ट खेलाडी पुरुषः नवयुग श्रेष्ठ (फुटबल)
वर्षको उत्कृष्ट खेलाडी महिलाः फुपूल्हामु खत्री (जुडो)
पिपुल्स च्वाइसः नविता श्रेष्ठ (टेबलटेनिस)
वर्षको उत्कृष्ट युवा खेलाडीः अञ्जन विष्ट (फुटबल)
वर्षको उत्कुष्ट प्रशिक्षकः बालगोपाल महर्जन (फुटबल)
लाइफ टाइम अचिभमेन्ट अवार्डः श्रीराम रञ्जितकार (फुटबल)
वर्षको उत्कृष्ट टिमः राष्ट्रिय फुटबल टिम

स्पेशल अवार्ड
मरणोपरान्त ललितकृष्ण श्रेष्ठ (फुटबल)
पारा–एथलिटबाट सीता भण्डारी (तेक्वान्दो)

 

Leave A Comment