कसरी पाइन्छ अपुताली ?

बुधबार, ०४ बैशाख २०७६, ०७ : ४८ स्वीकृति बराल
कसरी पाइन्छ अपुताली ?

मृतकको ऋण, धन र सम्पत्तिसम्बन्धी दायित्व र अधिकार कानुनबमोजिम हकवालामा सर्ने कार्य आपुुताली हो । अपुताली र अंश उस्तै उस्तै लाग्न सक्छन् तर यी दुवै भिन्न हुन् । अरुको पनि कानुनी हक लाग्ने सम्पत्ति अंश हो । कुनै अंशियार नभएको एकल स्वामित्वको सम्पत्ति अपुताली हो जो मृत्युपछि मात्र अर्को व्यक्तिमा सर्न सक्छ ।

अंशबण्डा नै नभई कसैको मृत्यु भएमा निजको निजी सम्पत्ति हुने कुरै भएन । तर आफ्नो अंश भाग लिएर बसिसकेको जो कोही व्यक्तिको मृत्यु भएमा उसको भागको सम्पत्ति उसको मृत्युपश्चात् कसले प्राप्त गर्ने भन्नेमा अनावश्यक झैँझगडा नहोस् भन्ने अभिप्रायले राज्यले कानुन बनाएको हुन्छ ।

नेपालको हकमा मुलुकी देवानी (संहिता) ऐनले यस्तो व्यवस्था गरेको छ । अपुताली व्यक्तिको मृत्यु भएमा खुला भएको मानिन्छ र त्यस्तो अपुतालीमा क–कसको हक लाग्छ भन्ने कानुनमै प्रस्ट उल्लेख गरिएको छ । 

अपुताली खुला भएमा मृत्यु हुने व्यक्तिको नजिकको हकवालाको पहिलो हक लाग्छ । कानुनले नजिकको हकदार को को हो भन्ने तोकेको हुन्छ । अपुताली पाउने पहिलो हकदार मृत्यु हुने व्यक्तिको श्रीमान् वा श्रीमती हो । श्रीमान्को निधन भए श्रीमती र श्रीमतीको निधन भए श्रीमान्ले अपुताली पाउँछन् । 

अंशबन्डा भइसकेको र श्रीमान् या श्रीमतीमा एकजनाको मृत्यु पहिले नै भएको अवस्थामा अपुतालीको हक सगोलको छोरा, छोरी वा विधवा बुहारीमा जान्छ । सगोलको छोरा, छोरी, विधवा बुहारी नभएमा सगोलका आमा, बाबु, सौतेनी आमा, छोरा, छोरी तर्फका नाति, नातिनी, नातिनी बुहारीमा अपुतालीको हक जान्छ । 
सगोलका कोही नभएको अवस्थामा भिन्न भएका पति–पत्नी, छोरा–छोरी ,बाबु–आमा, सौतेनी आमामा समेत अपुतालीको हक जान्छ ।

त्यसपछि अपुतालीकोे हक क्रमअनुसार भिन्न भएका छोरातर्फका नाति, नातिनी, भिन्न भएका बाजे, बज्यै, सगोलका जिजुबाजे, जिजुबज्यै, दाजु, भाइ, दिदी, बहिनी, विधवा भाउजू वा भाइबुहारीमा समेत जान्छ ।

त्यसपछि सगोलका काका, काकी, भतिजा, भतिजी र अन्तमा भिन्न भएका दाजु, भाइ, दिदी, बहिनी, विधवा भाउजू वा भाइ बुहारीमा अपुतालीको हक जान्छ । 

कानुनले तोकेबमोजिम पहिलो प्राथमिकतामा रहेको व्यक्ति ज्युँदो भएसम्म अन्यमा अपुतालीको हक जाँदैन । एउटै प्राथमिकताका क्रममा एकभन्दा बढी हकवाला भए समानरुपमा अपुतालीको बाँडफाँड हुन्छ । 
तर कुनै पनि व्यक्तिलाई अपुताली स्वीकार गर्न कर भने लाग्दैन । यदि आफुले पाउने अपुताली स्वीकार गर्न मन छैन भने त्यस्तो व्यक्तिले अपुताली परेको तीन वर्षभित्र सो कुराको जानकारी सम्बन्धित जिल्ला अदालतमा लिखित रुपमा दिनु पर्छ । 

तर अपुताली नस्वीकारे पनि हकवालाले मृतकको रीत, परम्पराअनुसार सद्गत गर्नुपर्ने दायित्व भने रहनेछ । प्राथमिकताका क्रममा कुनै हकवालाले अपुताली लिन नचाहेमा मात्र अरु हकवालामा अपुतालीको हक सर्छ । 
कानुनले अपुताली कसले पाउने भन्ने कुराको साथसाथै अपुताली पाउने हकवालाले पालन गर्नुपर्ने दायित्व र कर्तव्य पनि निर्धारण गरिदिएको छ । मुलुकी देवानी (संहिता) ऐन,२०७४ मा भएको व्यवस्थाअनुसार अपुताली पाउने व्यक्तिले मृतकको सम्पत्ति मात्र नभई मृतकले ऋण लिएको छ भने सोसमेत सकार्नुपर्छ । तर ऋण तथा दायित्व आपुतालबापत आउने सम्पत्तिभन्दा बढी रहेको अवस्थामा अपुताली पाउने व्यक्ति तिर्न बाध्य हुँदैन । 

केही कारणवश मृत्यु हुने मान्छेको सद्गत अपुताली खाने व्यक्तिले अन्य व्यक्तिमार्फत गराउन लगाएको रहेछ भने त्यसरी सद्गत गर्नेलाई किरिया खर्च मात्र दिए पुग्छ । 

कुनै व्यक्तिको अपुताली खुला भएमा र निजका हकवाला नभएमा वा भए पनि अपुताली स्वीकार नगरेमा त्यस्तो सम्पत्ति स्थानीय तहको हुन्छ । विदेशीको हकमा संघीय गृह मन्त्रालयले सम्बन्धित देशको कुटनीतिक माध्यममार्फत मृतकको हकवालालाई चार महिनाभित्र मृतकको सम्पत्ति बुझ्न आउन कानुनबमोजिम सूचना पठाउँछ । हकवाला नआएमा त्यस्तो सम्पत्ति स्थानीय तहको हुन्छ । 

(कानुन सम्बन्धी कुनै जिज्ञासा भए infoshukrabar@gmail.com,  टुइटरमा @shukrabarweekly , फेसबुकमा @shukrabar मा शन्देस पठाउनुहाेला । हामी विज्ञ मार्फत तपाइकाे समस्याकाे समाधान गर्ने प्रयास गर्ने छाैं)
 

Leave A Comment