ए मेरो हजुर–३ : बिर्सन योग्य फिल्म (फिल्म दृष्टि)

बिहिबार, ०५ बैशाख २०७६, ०३ : ३२ अनिल यादव
ए मेरो हजुर–३ : बिर्सन योग्य फिल्म (फिल्म दृष्टि)

दर्शकलाई जबर्जस्ती हँसाउन द्विअर्थी र भद्दा संवाद, जबर्जस्ती रुवाउनलाई विरहको ध्वनि । अभिनेत्री झरना थापाको दोस्रो निर्देशकीय फिल्म ‘ए मेरो हजुर–३’ भित्र के छैन र ? गीत र फाइट त छुट्नै कुरै भएन । केही छुटेको छ भने त्यो हो– सिर्जनशीलता । 

अनमोललाई ‘मेगास्टार’को ट्याग दिँदै सुरु हुने यो फिल्मको कथामा पनि उनी सुपरस्टार प्रेमको भूमिकामै छन् । उनको स्वर सुन्न र कन्सर्टमा सहभागी हुन लाखौँ फ्यान तँछाडमछाड गर्छन् । तिनै फ्यानमध्ये एक छिन्, आर्या (सुहाना थापा) । प्रेमलाई भेट्ने र आफ्नो बनाउने उनको सपना हो । 

उता आर्यालाई थाहा छैन, प्रेम पनि उसलाई मन पराइरहेको छ तर ऊ आर्यालाई सुपरस्टारका रुपमा नभएर सामान्य व्यक्तिका रुपमा प्रभावित पार्न चाहन्छ । त्यसैले ऊ आर्यालाई घनश्याम महर्जन बनेर पछ्याइरहन्छ । दुवैको इच्छा पूरा होला त ? सुपरस्टार र फ्यानले एकअर्कालाई पाउन गर्ने संघर्ष नै यो फिल्मको कथा हो । 

फिल्मको पटकथा बलिउड फिल्मको धङधङीबाट पूरै ग्रसित छ । एउटा पनि त्यस्तो खास दृश्य छैन, जुन यसअघि पर्दामा नहेरिएको होस्, जसले दर्शकलाई केही थ्रिल गराओस् । फिल्ममा केही ताजा लाग्छ भने त्यो झरनाकी छोरी सुहाना थापाको प्रवेश मात्र हो । उनको अभिनयले स्वघोषित मेगास्टार अनमोललाई नै छायाँमा पारिदिएको छ ।

नत्र लभस्टोरी सिनेमाका पारखी दर्शकलाई न फिल्मको कथा नयाँ लाग्छ, न यसको कथ्यशैली । रमाइलो त के भने यो फिल्मलाई चार जना भएर लेखेका हुन्, छेतन गुरुङ, बाबुराम दाहाल, सुमन पौडेल र प्रतीक पौडेल । चार जनाले लेखे पनि फिल्ममा थुप्रै बलिउड फिल्मको गन्ध आउँछ । फिल्म हेर्दा यस्तो देखिन्छ, चार जना लेखकले छुट्टाछुट्टै चार वटा हिन्दी फिल्म हेरेर कथा लेखेका हुन् ।

सुपरस्टार र फ्यानको भेट हुने दृश्यले शाहरुख खानको ‘जिरो’लाई सम्झाउँछ । हिरोइनलाई भेट्न प्रेमबाट घनश्याम बन्ने अनमोलको शैली  शाहरुखको ‘रब ने बना दी जोडी’ र आमिरको ‘गजनी’ कन्सेप्टमा छ । फिल्मको अन्त्यमा आउने कथाको ट्वीस्ट र दृश्यहरु पूरापूर शाहरुखकै ‘कल हो ना हो’को कपी देखिन्छ । 

कथामा ‘ट्वीस्ट’ ल्याउन अनौठा र प्राणघातक रोगको सहारा लिने प्रवृत्ति नेपाली फिल्ममा नौलो होइन । यो बासी फर्मुलालाई झरनाले पनि छाडेकी छैनन् । 

फिल्ममा मधेसी र तेस्रोलिङ्गी पात्रको चरित्रचित्रण रुढीवादी छ । रवीन्द्र झाले निर्वाह गरेको पानीपुरी पसलेको भूमिकालाई दर्शक हँसाउन मजाकको पात्रको रुपमा प्रस्तुत गरिएको छ । एउटा दृश्यमा एक पात्रले रवीन्द्रलाई पटक–पटक ‘ओई बिहारी, ओई बिहारी’ भन्दै गिज्याउँछ । यो मधेसका नेपाली प्रतिको भद्दा मजाक हो । दृश्यको अन्त्यमा जसरी रवीन्द्रमार्फत् ‘तराई, पहाड र हिमाल सबै एकै’ भन्ने सन्देश दिन खोजिएको छ, त्यो आफू जोगिन निर्देशकले प्रयोग गरेको बकवास फर्मुलाबाहेक केही हैन । 

विधागत हिसाबले यो फिल्म लभस्टोरी भए पनि द्विअर्थी र भद्दा संवादको प्रयोगमा यसअघि यस्तै फर्मुलामा बनेका कमेडी फिल्मलाई समेत उछिनेको छ । फिल्ममा अधिकांश भद्दा संवादहरु महिला पात्रले बोल्दा महिला निर्देशकले नै निर्देशन गरेको फिल्ममा महिलाको चरित्रचित्रण कसरी यति कमजोर भयो भनी सोच्न बाध्य बनाउँछ । यसले लैंगिक तथा सामाजिक विषयमा झरनाको कमजोर चेतना प्रस्ट बनाउँछ । 

पटकथा बासी नै किन नहोस्, यसको लयलाई सिनेमाटोग्राफीले मर्न दिएको छैन । गीतहरु श्रुतिमधुर छन् । बरु ब्याकग्राउन्ड म्युजिक भने ‘लाउड’ सुनिन्छ । 

फिल्म निर्माताले अनमोललाई सुपरस्टार र मेगास्टारको ट्याग दिइरहेकै थिए, वरिपरि बडीगार्ड पनि उभ्याइरहेकै थिए, हुँदाहुँदा अब त उनले निर्वाह गर्ने पात्र पनि त्यस्तै भइसक्यो । सुपरस्टार हुने लोभमा उनी पटकथाको छनोट र अभिनयको स्तर बढाउन चुकिरहेका छन् । यसले उनको फिल्मी करिअर धर्मराउन थालिसक्यो । अनमोलको ओरालो यात्रा रोक्न यो फिल्म पनि सफल देखिएन । 

पहिलो फिल्म भए पनि सुहाना आर्याको भूमिकामा सुहाएकी छन् । उनले नेपाली फिल्ममा जम्न सक्ने सुखद् संकेत दिएकी छन् । सलोन बस्नेतको उपस्थितिले दर्शकलाई हँसाइरहन्छ । रवीन्द्र झाको अभिनय ‘लाउड’ लाग्छ, अर्पण थापा ठीकै छन् । 

सिनेमामा सिर्जनशीलता, कलात्मकता र नयाँपन खोज्नेहरुलाई झरनाको यो फिल्मले रिझाउन सक्दैन । तर, बासी कथाकै आडमा बन्ने फर्मुला फिल्ममा पनि रमाउन सक्नेलाई भने यो पनि मन पर्न सक्छ तर यो सम्झनयोग्य फिल्म भने होइन । 
 

Leave A Comment