भगवान् बनाउने भोक,

बिहिबार, ०५ बैशाख २०७६, ०४ : ५२ शुक्रवार
भगवान् बनाउने भोक,

धेरै भयो एउटा बालक आदित्य दाहालबारे सञ्चारमाध्ययमा विभिन्न दाबीहरु आउन थालेको । औपचारिक अध्ययन नै नगरेका बालकले प्रशस्त अध्ययन गरेको व्यक्तिझैँ सन्देश दिने गरेको समाचार भाइरल भएको एकाध वर्षै नाध्यो ।

नेपाली गुगल ब्वाईको उपमा दिँदै उनको शारीरिक अस्वस्थताको उपाय पत्ता लागिहाल्छ कि भनेर उनका अभिभावक अमेरिकासम्म पुगे उपचार गर्न । तर सम्भव नभएपछि उनीहरु स्वदेश फर्किए । केही समय आदित्य गुमनामझैँ भए । जब एकाएक चर्चामा आए, उनी गुगल ब्वाई या प्रतिभावान् बालक रहेनन्, बालगुरु आदित्यनाथ बनिसकेका थिए । 

उनी बस्ने गौरीघाट अहिले सामान्य रहेन, आध्यात्मिक र धार्मिक धाम बन्यो । 

प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरु लाइन लागेर गौरीघाट पुगेर उनलाई जबर्जस्ती बाल गुरु बनाउन लागेका छन् । उनको उपचारमा केन्द्रित भएर सहयोग रकम उठाउन खोलिएको प्रतिष्ठानले धार्मिक स्वरुप लिइसक्यो । उनको बाबुको अध्यक्षतामा भएको प्रतिष्ठान उनको प्रतिभा फैलाउन भन्दा पनि उनलाई भगवान्को दर्जा दिन मरिहत्ते गरेर लागेको छ ।

उनलाई गेरु वस्त्र धारण गर्न लगाएर जबर्जस्ती हिन्दु धार्मिक गुरु बनाउन एक समूह मरिहत्ते गरेर लागेको छ भने केही व्यक्ति उनको प्रतिभालाई धार्मिक आवरण दिएर आम्दानीको स्रोत बनाउन लागिपरेका छन् ।
उनी बस्न बनाइएको स्थानमा शिव मन्दिरको निर्माण र सो स्थानलाई धार्मिक स्थलको रुपमा धामको रुपमा प्रचार गर्नुले आदित्यलाई जबर्जस्ती धर्मसँग जोडेर लाभ लिने समूह सक्रिय भएको प्रस्टै हुन्छ । यसको प्रचारमा प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री नै मरिहत्ते गरेर खटिएको दृश्य उदेकलाग्दो नै छ ।

अहिलेसम्म आदित्यबारे जे–जति विवरण सार्वजनिक भएका छन्, त्यसले उनमा केही प्रतिभा भएको देखिन्छ नै । उनी बोल्न सक्दैनन् तर लेखेर संवाद गर्छन् । औपचारिक अध्ययन नै नगरेका उनी नेपाली र अंग्रेजी भाषामा लेख्न सक्छन् । उनीसँग प्रत्यक्ष साक्षात्कार गरेकाहरुका अनुसार उनी गहन विषयमा समेत छलफल गर्न सक्षम छन् । उनी बस्ने गौरीघाटमा अहिले जुन मन्दिर बनेको छ, त्यसको खुट्किलाको नापसमेत उनै आदित्यले दिएको र उनले नै प्रत्यक्ष रेखदेख गरेको प्रचार गरिएको छ ।

के यही क्षमता नै भगवान् हुने योग्यता हो ? आदित्यलाई प्रतिभावान् बालककै कोटीमा राखेर उनको ज्ञानको उपयोग गर्न सकिन्न ? उनलाई गेरुवस्त्र धारण गराएर गुरु बनाउनु नै उनको क्षमताको कदर हो त ?
उत्तर पाऊँ त सेवकज्यूहरु !

पौडेललाई आठ आने दशा
एकीकृत माओवादी र नेकपा एमालेबीच एकीकरण भएसँगै नाटकीय रुपमा महासचिव बने, विष्णु पौडेल । उनको यो रुपले पार्टीभित्र असन्तुष्टि बढाए पनि कसैको जोर चलेन । शक्तिशाली पार्टीको शक्तिशाली पदमा रहेका उनको राजनीतिक रवाफै बेग्लै थियो तर जब पञ्चायतकालमा सरकारले अधिग्रहण गरेको र पछि भूमाफियाले व्यक्तिको नाममा बनाएको बालुवाटार क्षेत्रमा रहेको ललिता निवासको १ सय १४ रोपनी जग्गामध्ये ८ आना जग्गा पौडेलको छोराको नाममा पुगेको खुल्यो उनको हलुवारुपी राजनीतिक छलाङमा बालुवा मिसियो ।

उनले विज्ञप्तिमार्फत् कानुनबमोजिम मालपोतबाट जग्गा किनेको तर्क त गरे तर उनले बालुवाटारको सुनरुपी सो जग्गा घुनरुपी मूल्यमा किनेको तथ्य बाहिरिएसँगै लाभबापत पाएको भनी आशंका बढायो । 
यो शंका बढाउनुमा जग्गाको खरिद मूल्य मात्र पनि थिएन । जग्गा हडप्न सक्रिय समूहलाई फाइदा पुर्याउने गरी भएका निर्णयको फेहरिस्त र त्यसमा उनको भूमिकाले समेत उनले दाबी गरेझैँ जग्गा खोज्ने क्रममा बालुवाटार पुगेर सामान्य खरिदकर्ताले झँै उनले जग्ग्गा खरिद गरेको देखाएन ।

२०६१ मा उनका छोराको नाममा बालुवाटारको ८ आना जग्गा आएको देखियो र मालपोतको रेकर्डमा उनले आनाको जम्मा ५० हजारका दरले ४ लाखमा सो जग्गा किनेको देखायो । बालुवाटार क्षेत्र आफैंमा भिआइपी एरिया मानिन्छ । त्यहाँको जग्गा ०६१ मा आनाको जम्मा ५० हजारमा ? असम्भव ।

उमा ढकाल र माधवी सुवेदीको नाममा रहेको २ कित्ता जग्गा पौडेलका छोराको नाममा नामसारी भएको रहेछ । उमाका श्रीमान् शोभाकान्त ढकाल र माधवीका श्रीमान् रामकुमार सुवेदीमध्ये ढकालसँग पौडेलको घनिष्ठता अनि माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेलामा सो जग्गाबारे मालपोत कार्यालय डिल्लीबजारले गरेको विवादित निर्णय सदर हुने गरी मन्त्रिपरिषद्बाट भएको निर्णयले उनीमाथि बढाएको आशंका मिथ्या हैन भन्ने थप बलियो बनायो ।

भूमाफियाले हडपेको बालुवाटारको सरकारी जग्गा फिर्ता ल्याउने प्रक्रिया अहिलेकै सरकारले शुरु गरेको हो । प्रक्रियाअनुसार जग्गा पनि रोक्का भइसके तर आफ्नै पार्टीका महासचिवको समेत भूमिका शंकास्पद देखिएपछि जसरी पौडेलबारे सरकारी टोन ‘आरोपीबाट पीडित’मा बद्लियो, त्यसले जग हँसाइ मात्र गरायो । 
अहिलेसम्म सार्वजनिक भएको विवरण २०४६ पछि बनेका केही सरकारले भूमाफियालाई सहयोग पुग्ने गरी निर्णय गर्दै आएको र त्यसैको बलमा सरकारी जग्गा निजी बन्दै गएको देखिन्छ । जसमा जग्गाधनीहरुसमेत शंकाको घेरामा पर्ने नै भए । रुक्मशमसेर राणा लगायतका जग्गाधनी शंकाको घेरामा पर्दा पौडेल मात्रै पीडित नहोलान् कि सञ्चारमन्त्रीज्यू ?
 

Leave A Comment