प्राध्यापकको सुझाव : एसइई पछि समाजलाई बुझौँ

आइतबार, ०८ बैशाख २०७६, ०८ : ३६ शुक्रवार
प्राध्यापकको सुझाव : एसइई पछि समाजलाई बुझौँ

-विद्यानाथ कोइराला,प्राध्यापक 
एसइई दिएर बसेका अधिकांश विद्यार्थीको उमेर १५÷१६ वर्षको हुन्छ । यो उमेर ऊर्जावान् उमेर हो । वाल्यावस्था पार गरेर युवावस्था प्रवेश गर्ने उमेर भएकाले शारीरिकसँगै मानसिक अवस्था पनि परिवर्तन भइरहेको हुन्छ । शरीरको हर्मोन पनि परिवर्तन भएको हुन्छ । 

यो उमेर जिज्ञासु र विद्रोही हुने बेला पनि हो । किशोर कालमा स्वाभाविक रुपमा बढी नै रियाक्टिभ हुन्छन् । हरेक कुराप्रति उनीहरुको जिज्ञासा हुन्छ । जस्तै महिला र पुरुषबीचको भिन्नता, सामाजिक चलनचल्ती, रीतिरिवाज आदि हरेक कुरामा उनीहरुको मनमा जिज्ञासा आइरहेको हुन्छ । यो उमेरमा नगर भनेको कुरा नै गर्न मन लाग्ने, समाजले बसाएको नियमलाई चुनौती दिन मन लाग्ने हुन्छ । 

सामान्यतः १० वर्षे स्कुले जीवनको धेरै लामो छुट्टी हुने बेला पनि यही हो । यो बेलामा उनीहरुले आफूलाई मात्र हैन, समाजलाई पनि बुझ्न खोजिरहेका हुन्छन् । विशेषतः यो उमेर समूहकाले आफूलाई र समाजलाई बुझेसँगै धेरै प्रकारको सीप सिक्नसमेत आवश्यक छ । 

अन्तरनिर्भर हौँ 
यो उमेर स्वतन्त्रता खोज्ने उमेर हो । घर परिवारले एकदमै धेरै निगरानी गर्छ भन्ने भान परिरहेको हुन्छ उनीहरुलाई । परिवारले पनि त्यसैगरी निगरानी गरिरहेको हुन्छ । परिवारले र यो उमेर समूहको नानीबाबुले बुझ्नुपर्ने के हो भने कोही पनि व्यक्ति पूरै स्वतन्त्र हुन सक्दैन । बाबुआमाले पनि यो कुरा राम्रोसँग बुझ्नुपर्छ र आफ्नो बच्चाको सोचाइ हेरेर बुझाउन सक्नुपर्छ । 

यो बारेमा रामायणमा एउटा कथा छ । कैकयी दशरथकी श्रीमती र भरतकी आमा थिइन् । युद्ध भइरहेको बेलामा रथमा भएको चुकुल फुस्किन लागेको बेला कैकयीले देख्छिन् । उनले त्यो चुकुल लगाउने ठाउँमा औँला राखिदिएर रथ लड्नबाट जोगाउँछिन् र दशरथले युद्ध जित्छन् । 

दशरथले युद्ध जितेपछि तीन वरमध्येको भरतलाई राजा बनाउनुपर्ने बाध्यता पनि त्यसैमध्येको एक हो । भन्न खोजेको के भने, जुनसुकै कुरामा पनि अन्तर्निर्भरता लागू हुन्छ । हामीलाई पैसा भयो भने सबैथोक आउँछ भन्ने लाग्छ तर पैसा हुँदैमा सबैथोक आउँदैन ।

किसानले खाद्यान्न उत्पादन गरेन भने खाना आउँदैन । त्यसरी नै ज्ञानमा पनि हामी अन्त निर्भर छौँ । हामीले प्रविधिमा आधारित वस्तु बनाउन जानेका छैनौँ तर तिनको हामीलार्ई आवश्यकता पर्छ । यो उमेर समूहकाले हामी अन्तनिर्भर छौँ भन्ने राम्ररी बुझ्नु पर्छ ।

सम्बन्ध विस्तार गर्ने 
हामी सामाजिक प्राणी हौँ । बच्चा बेलामा धेरै कुरा थाहा हुन्न । उमेर बढ्दै जाँदा सामाजीकीकरण हुनुपर्ने हुन्छ । अभिभावक र किशोर उमेरकाले पनि बुझ्नुपर्ने के हो भने सम्बन्ध जीवनको महत्वपूर्ण पाटो हो । किशोर उमेर समूहकालाई कुन उमेर समूहकासँग कस्तो व्यवहार गर्ने लगायतका विषय राम्रोसँग जानकारी नहुन सक्छ  । 

हाम्रो शास्त्रले भनेको छ, १६ वर्ष पुगेको सन्तानलाई साथीजस्तो गर्नु । यो भनाइ एसइई दिएर बसेका किशोर उमेर समूहमा लागू गर्न सकिन्छ । यो बिदाको समयमा परिवार, समाजसँग बिस्तारै घुलमिल गराउने, आफन्तलाई चिनाउने, घुमाउने गर्न सक्नु पर्छ । यसले उनीहरुमा सामाजिकीकरणको भावना बढाउँदै लैजान्छ । अरुलाई बुझ्ने क्षमताको विस्तार हुन्छ । अरुको अस्तित्व स्वीकार्ने र सबैलाई सम्मान गर्ने विचारको विकास हुन्छ । यसले सबैसँग मिलेर बस्ने क्षमताको विकास गराउँछ । 

शैक्षिक विस्तारको बाटो 
एसईईपछिको उमेर शैक्षिक विस्तारको उमेर पनि हो । भावी शैक्षिक यात्रा कस्तो बनाउने भन्ने निर्णय यहीँबाट सुरु हुन्छ । किशोर उमेरकाहरु पनि अब कुन विषय छान्ने, आफू कुन विषयमा राम्रो गर्न सक्छु र मेरो रुचि के हो भन्नेमा अल्मलिन सक्छन् ।

कतिपय अभिभावकले तैँले यहीँ पढ्ने भनेर जबरजस्ती गर्ने गरेको देखिन्छ । यस्तो गर्नु उत्तम हैन । प्रारम्भमा उनीहरुको मनोभाव बुझ्न जरुरी हुन्छ । विद्यार्थीले पनि हिजो मैले कसरी पढेँ ? अब कसरी पढ्ने ? भन्ने हेर्नुपर्छ । 

हिजोको पढ्ने तरिका र आजको पढ्ने तरिकामा  परिवर्तन  हुन्छ ।  निश्चित ढंगले स्कुले जीवनमा गाइडेड पढाइ पढिएको थियो । यो भन्नाले यसरी पढ, उसरी पढ, यो विषयलाई यति समय देऊ, त्यो विषयलाई यति समय देऊ भनेर परिवार र शिक्षकले गाइड गरेका हुन्छन् । 

तर एसईईपछिको पढाइ गाइडेड हैन इन्डिपेन्डेन्ट हुनुपर्छ । बाउआमासँग टाढा बस्नुपर्ने हुनसक्छ । हिजोका साथी–सर्कल परिवर्तन हुन सक्छन् । त्यसैले भावी यात्राबारे निर्णय गर्दा आवेगभन्दा विवेक प्रयोग गर्नु उत्तम हुन्छ ।

के सीप सिक्ने ? कस्ता सीप सिक्ने ? आफ्नो रुचि के हो ? यी जिज्ञासाको समाधान खोज्नु राम्रो । सीप सिक्दा परम्परागत र आधुनिक सीप सिक्ने हो । परम्परागत भन्नाले हाम्रो संस्कारअनुसारका सीप छ, जो जीवनपर्यन्त चाहिन्छ । आधुिनक सीपसमेत पहिल्याउन सकिन्छ । हामी घरायसी काममा समेत निपूण हुन सक्नुपर्छ । प्रविधिमैत्री पनि बन्न सक्नुपर्छ । 

संवादको क्षमता 
संवादको क्षमता एक प्रकारको कुटनैतिक क्षमता पनि हो । हाम्रोमा ‘मैले भनेकै अन्तिम सत्य हो’ भनेर संवाद गरिन्न । यो ठीक अध्यास हैन । केटाकेटी रियाक्टिभ हुन्छन् भन्ने जान्नुपर्यो । स्वतन्त्रता खोज्ने उमेर नै यही हो । हिजोआज बालबालिकाबीच रचनात्मक संवाद हुने गरेको देखिन्न । पहिले ठूलो परिवार हुन्थ्यो । घरपरिवार, मेलापात गर्दा मनका कुराहरु सेयरिङ हुन्थ्यो । अब त्यो समय छैन । प्रविधिको समय आएको छ । यस विषयमा मेरो विचार यो छ, तिम्रो के छ ? भन्ने लगायतका विषयमा बहसका लागि प्रविधिकै उपयोगसमेत गर्न सकिन्छ ।

यसको सबैभन्दा राम्रो उपाय ब्लग राइटिङ हो । आफ्ना कुरा लेख्ने र सामाजिक सञ्जालमार्फत अरुसम्म पुर्याउन यसले सघाउँछ र रचनात्मक समेत बनाउँछ । संवादले एक्लिनबाट जोगाउँछ ।
विदेशतिर सम्बन्धित क्षेत्रका विज्ञहरुसँग संवाद गराउने चलन सुरु भइसकेको छ । नेपालमा पनि यसको आवश्यकता खट्किसक्यो ।

अभिभावकलाई कसरी बुझ्ने ?
हाम्रोमा तीन थरिका अभिभावक छन् । पहिलो पढेलेखेका, दोस्रो आधा पढे लेखेका र तेस्रो नपढेका । बाबुआमा परिर्वतन गर्न सकिन्न । त्यसैले सन्तानले पनि आफ्ना बाबुआमासँग कसरी कुरा गरेर आफ्नो चाहना बताउन सकिन्छ भन्नेमा ध्यान दिनुपर्छ । 

पढेलेखेका अभिभावकले बच्चाको चाहना के हो ? उनीहरुको केमा झुकाव छ ? केमा राम्रो गर्न सक्छन् भन्ने कुरा बुझ्न सक्छन् र त्यहीअनुसारको वातावरण सिर्जना गर्न पनि सक्छन् । 

आधा पढेलेखेका अभिभावकले आफू बन्न नसकेको कुरा छोराछोरी बनिदिऊन् भन्ने चाहना राख्छन् । त्यसका लागि केही फोर्स दिएर भए पनि यो पढ् भनेको हुन सक्छ । यो परिवारका बच्चालाई आफ्नो इच्छा र परिवारको इच्छाको तादात्म्य नमिल्दा समस्या आउन सक्छ । यो बेला परिवारलाई संवादमार्फत आफ्नो चाहना बुझाउनुपर्ने हुन्छ । 

निरक्षर अभिभावकले पैसा कमाउन फोकस गरेको हुन्छ । यहाँ पनि करियर बेसको हुँदैन । त्यसकारण बालबालिकाले पनि अभिभावकलाई बुझ्न जरुरी छ । आफ्नो इच्छासँगै उनीहरुको चाहना र आर्थिक क्षमतालाई पनि ध्यान दिनुपर्छ ।

अभिभावकले बुझ्नुपर्ने कुरा 
किशोर अवस्थाका केटाकेटीमा अभिभावकले धेरै नै निगरानी गर्छन् । अब हरकुरामा निगरानीले हुँदैन । यो उमेर समूहको बच्चाबच्चालाई जे कुरामा पनि प्रयोगात्मक हुन मन लाग्छ । चाहे त्यो जुनसुकै कुरामा होस् । विषयवस्तु ठूलो कुरा हैन भन्ने अभिभावकले के बुझ्नुपर्छ  । हरेक कुरामा एक्सपेरिमेन्ट गर्न सुरक्षित तरिका बता दिने हो ।

विज्ञानको युगमा कुनै पनि कुरा प्रयोगात्मक नगरी आजको युवाले पत्याउँदैनन् । त्यसकारण प्रयोगात्मक हुन दिन जरुरी छ । हर कुरामा कज एन्ड इफेक्टबारे भने बताउनुपर्छ । 

अर्थशास्त्रको एउटा नियम छ, मार्जिनल युटिलिटी । त्यसले के भन्छ भने, एउटै कुरा उपभोग गर्दा गर्दा मान्छे आजित हुन्छ र त्यो काम गर्दैन । एउटै लुगा लगाउँदा मान्छे आजित हुन्छ र अर्काे लगाउँछ । मान्छेको प्रकृति नै यस्तै हो । कुनै पनि कुरा आफैँमा खराब हुँदैनन्, आफूले कुन हदसम्म प्रयोग गरिन्छ भन्ने ठूलो कुरा हो । लत लगाइन्छ कि लगाइन्न भन्ने कुरा महŒवपूर्ण हुन्छ । 
(प्रजु पन्तसँगको कुराकानीमा आधारित)
 

Leave A Comment