लौ, आइजी सा’पलाई उत्तर चाहियो !

बिहिबार, १२ बैशाख २०७६, ०६ : ३५ शुक्रवार
लौ, आइजी सा’पलाई उत्तर चाहियो !


उत्तर दिनुपर्ने जिम्मेवारीमा रहेका अधिकारी जब आफैँ प्रश्न बोकेर आउँछन् नि बडो गजबको दृश्य देखिने रहेछ । सोमबार प्रहरी प्रधान कार्यालयमा यस्तै दृश्य देखियो, जब ७५ हजार सदस्य रहेको सुरक्षा संगठनको जिम्मेवारी बोकेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफ्नो एक वर्षे  कार्यकालको फेहरिस्तसँगै उत्तर हैन प्रश्न बोकेर पत्रकारसामु आए ।

उनको एक वर्षे कार्यकाल निकै उतारचढावपूर्ण रह्यो । निर्मला हत्या र बलात्कारको घटनाको अनुसन्धानको नतिजा र प्रक्रियाले प्रहरी संगठनको अनुसन्धान क्षमतामाथि कहिल्यै मेटाउन नसकिने प्रश्न उठाइदियो । सुन तस्करीमा प्रहरी अधिकारी नै पक्राउ पर्नु, गम्भीर अपराधको अनुसन्धानको नेतृत्व निजामती कर्मचारीको हातमा पुग्नु, सरुवा–बढुवा पारदर्शी हुन नसक्नु र संगठनका सदस्यले नै राजिनामा दिनु लगायतका घटनाले प्रश्नैप्रश्नमा घेरिए खनाल ।

एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्दा उनीबाट यिनै उतारचढावबारे उत्तर आउने अपेक्षा हुनु अचम्म लाग्ने विषय पनि हैन तर उनी उत्तर हैन उल्टो प्रश्न बोकेर उभिए र उल्टो सोधे, ‘सबै बिगारेको आइजिपीले हो ?’

प्रश्न गर्न सजिलो हुन्छ, उत्तर त्यत्ति नै कठिन । उनको प्रश्नको उत्तर हैन भन्न पनि सकियो, हो पनि ।  हैन ? यस कारण कि निर्मला हत्या र बलात्कार घटनाको अनुसन्धानका लागि उनी फिल्डमा खटिएका हैनन्, निर्मलाकी आमाले छोरी खोज्न गरेको आग्रह उनले टारेका हैनन् । सुन ओसार्न उनी आफैँ पुगेका हैनन् । यी सबै काम संगठनका सदस्यले गरेका हुन् । संगठनबाट राजिनामै दिएर हिँड्नुपर्ने अवस्था निर्माण गर्नुमा उनी एक्लैको भूमिका पक्कै छैन । 

प्रहरी संगठन चेन अफ कमान्डमा चल्ने संगठन हो भनेर आइजी सापलाई नै सम्झाउनु त नपर्ने हो । चेन अफ कमान्डमा टुप्पोमा जो हुन्छ, गलत कामको अपयश पनि उसैको थाप्लोमा पुग्छ । राम्रो कामको जश पनि उसैको हुन्छ । जस्तो, उनी आइजिपी हुनुभन्दा अगाडिका संगठका प्रमुखहरुले संगठनको आर्थिक पारदर्शितामा गरेको मिहिनेतले बेरुजु घटाउँदा पाएको प्रशंसाको प्रमाणपत्र उनले थाप्ने मौका पाए । स्याबासी उनले खाए । त्यसैले उनको कार्यकालमा जे–जस्ता हुनु नपर्ने घटना भए त्यसको जिम्मेवारी कसलाई दिने ? को हो त जिम्मेवार आइजी सा’प ?

उपलब्धि चाहिँ संगठन प्रमुखको अनि कमजोरी चैँ तल्ला तहका कर्मचारीको मात्रै ? धापको लायक तपाईंको पिठ्यु, छडी लायक पिठ्यु चैँ तल्ला तहकाको मात्रै ?
केही प्रश्न आए, उत्तर पनि आओस् न त ?


कांग्रेसी नेताको मुखमा पानी
प्रमुख प्रतिपक्षको जिम्मेवारी नै हो, सरकारको कामको सूक्ष्म निगरानी गर्नु । राम्रो कामको रचनात्मक समर्थन अनि गलत कामको खबरदारी विपक्षीको धर्म हो तर नेपाली कांग्रेसको चाला हेर्दा अब प्रमुख प्रतिपक्षको परिभाषा बदलेर ‘प्रमुख प्रतिपक्षको प्रमुख जिम्मेवारी मौनधारण गर्नु हो’ बनाउनुपर्ने देखियो ।
यस बीचमा जे–जस्ता ठूला प्रकरणहरु सार्वजनिक भए, त्यसमा उसको भूमिका मौन नै देखिन्छ ।

हालसालैको ललिता निवास प्रकरणमा कांग्रेसको भूमिका हेरौँ न ! कहीँकतै चुइँक्क बोलेका छन् विपक्षी दलका कुनै नेता ? सत्ताधारी दलका महासचिव विष्णु पौडेलको सम्बन्ध सरकारी जग्गा व्यक्तिको नाममा ल्याएर बेचबिखन गर्ने भूमाफियासँग देखियो । बरु पौडेल आबद्ध समूहका नेताहरु नै निष्पक्ष छानबिनका लागि उनलाई राजिनामा दिन सुझाव दिइरहेका छन् तर कांग्रेस र कांग्रेसी भने अचम्मलाग्दो मौनतामा छन् ।
ललिता निवास प्रकरणमा जोडिएको जग्गा कांग्रेस संस्थापकमध्येका एक सुवर्ण शम्सेर राणासँग जोडिएको छ । यो बदमासीमा सुवर्णका सन्तानको भूमिका शंकास्पद छ । यति हुँदैमा मौन नै बस्नुपर्छ र ? ललिता निवासको अधिग्रहणलाई उल्टाउने निर्णय बहुदलपछिको पहिलो सरकारले गरेको थियो ।

कृष्णप्रसाद भट्टराईले निर्णय गर्दा सरकारी नियमअनुसार हदबन्दी लाग्ने हकका जग्गाभन्दा अन्य फिर्ताको निर्णय गरेकै हुन् । भट्टराईको नाम जोडिएको आधारमा कांग्रेसले मुखमा पानी हालेर बस्नु पर्ने अवस्था छ र ?

अहिले जे जति विवरण बाहिरिएका छन्, त्यसमा असहमति हो भने असहमति राख्न सकिन्छ । सरकारले अगाडि बढाएको कदम ठीक हो भने समर्थन गर्ने हिम्मत गर्न सक्नु पर्छ नि कांग्रेसीजन ! यसरी मुखमा पानी हालेर बसेको त पटक्कै सुहाएन है, भन्द्या छु !
 

Leave A Comment