आतंकी फिल्मको नेपाल कनेक्सन

आइतबार, १५ बैशाख २०७६, ०५ : ३८ शुक्रवार
आतंकी फिल्मको नेपाल कनेक्सन

नेपालमा समेत छायाँकन गरिएको भारतीय फिल्म ‘इन्डियाज् मोस्ट वान्टेड’ले आफ्नो पोस्टरमा नेपाललाई मुख्य प्राथमिकता दिएको छ । ‘नो वन किल्ड जेसिका’, ‘रेड’ जस्ता चर्चित फिल्म निर्देशन गरेका राजकुमार गुप्ताको यो फिल्म आतंकवादसँग सम्बन्धित छ । 

भारतका विभिन्न शहरमा भएका बिष्फोटको घटनाका मुख्य योजनाकार मानिएका ‘भारतीय ओसामा’लाई पक्रने मिसनमा आधारित फिल्म भनिएको छ । यसमा केही नेपाली कलाकारले समेत अभिनय गरेका छन् ।

सार्वजनिक भएका तस्बिर र टिजरबाट यो फिल्म नेपालमा लुकेका भारतीय आतंकवादीको खोजीमा केन्द्रित रहेको सहजै अनुमान लगाउन सकिन्छ । अर्जुन सहितका पाँच भारतीय सुरक्षाकर्मी नेपाल आएर भारतीय आतंकवादीको खोजी गर्ने कथामा आधारित फिल्म सत्य घटनामा आधारित भएको दाबी गरिएको छ ।

नेपालमा पटक–पटक भारतीय अपराधी पक्राउ पर्ने गरेका छन् । उनीहरुलाई नेपालमा पक्राउ गरिए पनि भारत पु¥याएर उतै पक्राउ परेको दाबी गर्ने गरिएको छ । पछिल्लो समय नेपालमा पक्राउ परेका सबैभन्दा हाइप्रोफाइल आतंकी यासिन भट्कल नै हुन्, जो भारतीय आतंकवादी समूह ‘इन्डियन मुजाहिद्दिन’का दोस्रो तहका नेता थिए । 

पोखरामा सामान्य पसल चलाएर बसेका उनलाई नेपाली र भारतीय सुरक्षा अधिकारीले पोखरामा नियन्त्रणमा लिएर रातारात भारत पु¥याइएको थियो । सार्वजनिक भएको पोस्टर र टिजर हेर्दा सो फिल्म भट्कल पक्राउमा आधारित देखिन्छ ।

यसअघि पनि नेपालमा लुकेर बसेका भारतीय अपराधी र आतंककारी खोज्ने विषयका भारतीय फिल्म बन्ने गरेका छन् । अक्षय कुमार अभिनित फिल्म ‘बेबी’ पनि यस्तै विषयमा बनेको फिल्म थियो । यसको छायाँकन भक्तपुर र काठमाडौंको विभिन्न स्थलमा छायाँकन गरिएको थियो ।
 

Leave A Comment