बच्चामै ‘बलात्कारी’

आइतबार, १५ बैशाख २०७६, ०६ : ३२ प्रजु पन्त
बच्चामै ‘बलात्कारी’

धादिङका १५ वर्षीय किशोर ७ वर्षीया बालिका बलात्कार (बालबिझ्याइँ)को अपराधमा बाल सुधार गृहमा भेटिए । उनको कसुर अदालतबाट प्रमाणित भएपछि उनलाई सुधार गृहमा राखिएको हो ।
किशोर उमेरमा यस्तो अपराधको सोच कसरी पलायो होला ? जब घटना खुल्यो, छक्क पार्ने खालको थियो । 
घटना एक वर्ष अगाडिको हो । ती किशोरमा आफू वयष्क भएको महसुस हुन थाल्यो । हस्तमैथुनको बानी लागिसकेको थियो । गाउँमा अलि ठूलासँग संगत थियो । उनीहरु  ‘जंगलमा गएर शिकार गर्ने’ कुरा गर्थे । 
बुझ्दै जाँदा जंगलमा गएर जबर्जस्ती यौन सम्बन्ध राख्ने भनेका रहेछन् । एक दिन उनी पनि दाइहरुले थाहा नपाउने गरी पछ्याउँदै जंगल पुगे । देखे, एक युवतीसँग पालैपालो यौन सम्पर्क गरिरहेका छन् । यो देखेपछि उनी सरासर घर फर्किए र दाइहरुले जंगलमा जे गरेका थिए, काकाकी सात वर्षीया छोरीमाथि त्यही ग¥यो । 
यस्तै घटनामा बाल सुधार गृहमा पुगेका अर्का १५ वर्षीय किशोर फेला परे । तर उनको कथा भने धादिङको किशोरभन्दा भिन्न थियो । धादिङका किशोरले यौन जिज्ञासा मेट्न दाइहरुको सिको गर्ने क्रममा एक अबोध बालिकाको बलात्कार गरेका थिए तर प्युठानको यो घटनामा भने पीडितको उमेर ५३ वर्ष छ । 
ती किशोरको अदालती बयानअनुसार उनको घरमा आमा बिरामी थिइन् ।

बुबा कमाउन भारत गएका थिए । उनलाई खानासमेत जुटाउन समस्या थियो । उनी आफू र आमाको पेट भर्न अरुको घरमा काम गर्थे ।

गाउँमै सामान्य प्यारालाइसिस भएकी एक महिला थिइन् । उनका श्रीमान् पनि छन् । श्रीमान् काममा घरबाहिर भएको बेलामा उनी ती किशोरलाई घरमा काम गर्न बोलाउँथिन् । उनी मालिस गर्न सिकाउँथिन् । 
मालिसको क्रममा ती महिलाले किशोरलाई आफ्ना यौनाङ्गमा समेत मालिस गर्न लगाउँथिन् । सँगै यौन सम्बन्ध राख्ने कलासमेत सिकाउँथिन् ।

यो क्रम ६ महिनासम्म चलिरह्यो । 

काठमाडौँ बसेर पढ्दै गरेकी ती महिलाकी छोरी घर गएको बेलामा छोरी त्यो दृश्य देख्छिन् । ती किशोरमाथि ५३ वर्षकी महिला बलात्कार गरेको आरोप लाग्छ । बलात्कार पुष्टिका आधार महिला प्यारालाइसिस हुँदा प्रतिरोध गर्न नसकेको देखाइन्छ । 

यी दुई प्रतिनिधि घटना मात्रै हुन् । शुक्रवारको खोजमा पछिल्लो समय बलात्कारमा किशोर उमेर समूहकाहरु पक्राउ पर्ने क्रम बढेको देखाउँछ । १८ वर्षमुनिका अपराधमा संलग्न भए उनीहरुलाई कारागारको साटो बाल सुधार गृहमा राखिन्छ ।

नेपालमा यस्ता ८ वटा बाल गृह छन् । केन्द्रीय बाल कल्याण समितिको तथ्यांकमा तीन सय ८२ बालबालिका अदालतबाट विभिन्न बालबिझ्याइँ (अपराध) प्रमाणितपछि सुधारका लागि बसेका छन् । तीन सय ८२ मध्ये बलात्कारमा संलग्न रहेको प्रमाणित भएका बालक र किशोरको संख्या २ सय २१ जना छन् । यसले कच्चा उमेरका किशोरहरुको बलात्कारजस्तो जघन्य अपराधमा संलग्नताको कहालीलाग्दो दृश्य देखाउँछ ।

धादिङ घटनाको कारण के हुनसक्छ ?
शुक्रवारले लामो समयदेखि यस्ता बालबिझ्याइँ (अपराध)मा परेका बालक र किशोरहरुबारे अध्ययनमा संलग्न मनोपरामर्शदाता रश्मिला कासुलासँग जिज्ञासा राख्दा खुल्यो १५ वर्षका उमेरसम्मका किशोरले प्राय १० वर्ष मुनिका बालिकालाई निशानामा पार्ने गरेको देखिन्छ । प्रतिकार गर्न नसक्ने र पोल नखुल्ने सोचेर किशोर उमेरकाले साना बालिकाहरु छान्ने गरेको उनको निष्कर्ष छ । 

‘यस्तो घटना हुनुमा ५० प्रतिशत विकसित हुँदै गरेको हार्मोन र ५० प्रतिशत वरपरको वातावरणले प्रभाव पारेको देखिन्छ,’ कासुलाले धादिङ घटनाको विश्लेषण गर्दै भनिन्, ‘त्यो घटनामा उनीभन्दा ठूला उमेरकाले उक्साएको देखिन्छ ।’

यस्तै अर्को घटनासमेत फेला पर्यो नेपालगञ्जको । यसमा पीडक र पीडित दुवै जना एकै उमेरका हुन्, १५ ।
दुवै किशोर–किशोरी प्रेममा थिए । भ्यालेन्टाइन्स डेमा उनीहरु गाउँदेखि पर घुम्न जान्छन् । दुवैबीच सहमतिमै शारीरिक सम्पर्क हुन्छ । किशोरी अबेला घर पुगेपछि उनकी आमाले केरकार गर्दा ती किशोरसँगको सबै सम्बन्ध खुलेर सुनाउँछिन् । उनको परिवारले किशोरविरुद्ध बलात्कारको उजुरी हाल्छन् । त्यही मुद्दा अदालतबाट प्रमाणित भएसँगै उनी बाल सुधार गृहमा छन् ।

अध्ययनका क्रममा कासुलाले ती किशोरलाई भेटेकी थिइन् । उनले भनेका रहेछन्, ‘मैले त प्रेम भनेकै शारीरिक सम्पर्क हो भन्ने सिकेको थिएँ ।’ 

उनको निष्कर्ष छ, ‘यो घटनामा दुवैले यौनलाई प्रेमसँग लगेर हेरे । प्रेम भनेकै शारीरिक सम्बन्ध हो भन्ने बुझे । सही परामर्श नपाउँदा किशोर उमेरमै उनी बाल सुधार गृह पुगे ।’

घरमा होश नपुर्याउँदा..
यो घटना चितवन जिल्लाको हो । घरमा रहेका १७ वर्षका दाजु र १५ वर्षकी बहिनीले दिदी–भिनाजुले शारीरिक सम्बन्ध राखेको देख्छन् । उनीहरुमा यसले खुल्दुली बढाउँछ र दुवैले त्यही नक्कल गरेर आफ्नो खुल्दुली मेट्ने प्रयास गर्छन् ।

देखासिखीमा शुरु भएको सम्बन्ध बढ्दै जाँदा बहिनी गर्भवती हुन्छिन् । जब घरकाले चाल पाए, गर्भपतन गर्नसक्ने अवस्था थिएन । लोकलाजको भयले बच्चा जन्मिएलगत्तै किशारीले मारेर गाडिन् ।
भ्रूणलाई कुकुरले खाल्डोबाट बाहिर निकालेपछि घटना प्रहरीसम्म पुग्छ । त्यो बेलासम्म दाइ वैदेशिक रोजगारीका लागि विदेशिइसकेको थियो । प्रहरी अनुसन्धान र अदालती परीक्षणमा उनै किशोरीले भ्रूणको हत्या गरेको खुलेपछि उनी सुधारका लागि सुधार गृह पुगिन् ।

बाल मनोविज्ञ ज्योति गुरुङको भनाइ छ, ‘अहिले पनि किशोर उमेर समूहकालाई एकै कोठामा सुताउने गरिन्छ । पाहुना आउँदा बालबालिकाको कोठामा राख्ने पनि गरिन्छ । यी दुवै गतिविधि गलत हुन् ।’
‘किशोर–किशारीको उमेर जिज्ञासु हुन्छ,’ गुरुङ भन्छिन्, ‘यस्तो बेलामा यौन सम्बन्ध लगायतका गतिविधि गर्दा गोपनीयता निकै ख्याल गर्नुपर्छ । बच्चा हुन्, चाल पाउँदैनन् भनेर हेलचेक्र्याइँ गर्दा उनीहरुको मनस्थितिमा नराम्रो असर पार्न सक्छ ।’

सूचना प्रविधिको फन्दा
अरुको देखेर मात्रै हैन, सूचना प्रविधिको सहज पहुँच र किशोर उमेरकामाथिको निगरानी अभावमा समेत जिज्ञासावश किशोर–किशोरी बलात्कारजस्तो जघन्य अपराधमा पर्ने गरेका छन् । इन्टरनेटमा सहजै फेला पर्ने यौन गतिविधिका दृश्यले कुत्कुत्याउँदा यस्तै दुखद् घटना भएको एउटा घटना फेला पर्यो ।

घटना काठमाडौँ बालाजुको हो । बुबा वकिल, आमा पनि रोजगार । घरमा इन्टरनेटको सुविधा थियो । मोबाइलको सुविधा पनि । १४ वर्षका किशोरलाई पोर्नोग्राफी भिडियो हेर्ने बानी पर्यो । हेर्दा उनको मनमा कस्तो होला भन्ने कौतुकपना जाग्यो । उनको घरमा डेरा गरी बस्नेकी किशोर छोरी थिइन् । उनले ती किशोरीमार्फत् जिज्ञासा मेट्ने अपराध गर्छन् । किशोरीले आमालाई घटना सुनाइदिन्छिन् र किशोरको पोल खुल्न पुग्छ । 

‘बालबालिकालाई इन्टरनेटको पहुँचबाट बाहिर राख्नुपर्छ भन्ने हैन तर उनीहरुले के हेरिरहेका छन् भन्ने निगरानी गरिरहनुपर्छ,’ मनोविद् गुरुङले भनिन्, ‘बालबालिकासँग बसेर प्रौढहरुले इन्टरनेटमा उनीहरुको उमेरले हेर्न नहुने सामग्री हेर्नु हुन्न । उनीहरुले सिको गर्ने जोखिम हुन्छ ।’

प्रौढको नजर किशोरमा
यी घटनामध्ये अनौठो घटना प्युठानको थियो, जहाँ पीडक भनिएका किशोर उमेरका थिए, पीडित प्रौढ महिला । तर यस घटनामा पनि किशोरकै गल्ती देखियो । प्युठानको घटनाबारे अध्ययन गरेकी रसुलाका लागि यो घटनालाई बालकको भावनाको दुरुपयोगका रुपमा विश्लेषण गर्छिन् ।

श्रीमान् विदेश गएको, एकल महिला, प्रौढ उमेर पार गरेका महिलाहरुले समेत यौन चाहना पूरा गर्न किशोर उमेरकाको दुरुपयोग गर्ने गरेको देखिएको बताउँदै उनले भनिन्, ‘३० भन्दा माथि र ६० वर्ष उमेरभन्दा तलको महिलाको नजर १५–१६ वर्षका किशोरमा पर्ने गरेको छ ।’

उनको अध्ययनको अनुभवमा, किशोर उमेरकाहरुमा यौन जिज्ञासा हुँदा महिलाले उनीहरुलाई सहजै आकर्षित गर्न सक्छन् र आफूअनुकूल प्रयोग गर्न सक्छन् । किशोर उमेरकासँग सम्बन्ध बनाउँदा गोपनीयता कायम रहने, किशोरसँगको सम्बन्धबारे अन्यले झट्ट शंका पनि गरिनहाल्ने भएकाले उनीहरुको छनोट यही उमेर समूहकाको हुने गरेको उनको निष्कर्ष छ ।

डरलाग्दो तथ्याङ्क 
केन्द्रीय बाल कल्याण समितिको तथ्याङ्कअनुसार बालबिझ्याइँ (बाल अपराध)मा सुधार गृहमा रहेका बालबालिकाको सङ्ख्या तीन सय ८२ छ । यसमा बालिकाको सङ्ख्या १४ छ । बलात्कारको अभियोगमामा सुधार गृहमा रहेका २ सय २१ जनै बालक हुन् ।

चोरी तथा डकैतीको केसमा २५ जना बालक र १ बालिका छन् । चोरी तथा डाका केसमा ८, मानव बेचबिखनमा २ बालिका  र १ बालक सुधार गृहमा छन् । लागुऔषधमा ३९ बालक र २ बालिका सुधार गृहमा छन् । ज्यान मार्ने उद्योगमा ९ बालिकासहित ६० बालक सुधार गृहमा आचरण सुधार्दै छन् । 
अवैध मुद्राको केसमा १, सवारी ज्यानमा १, अप्राकृतिक मैथुनमा २, हातहतियारसम्बन्धी केसमा २ र कीर्तेमा २ जना बालबालिका सुधार गृहमा छन् । 

कच्चा उमेरमै यत्रो संख्या कसरी बलात्कार लगायतका गम्भीर अपराधमा पक्राउ परे होलान् ?
जानकारहरु भन्छन्, अरुको देखासिकी, बढ्दो उमेरको जिज्ञासाजस्ता कुराले मात्र बालकहरु बाल बिझ्याइँमा फँस्ने गरेका होइनन् । कहिलेकाहीँ कानुनी समस्याका कारण पनि उनीहरु बाल सुधार गृहमा लामो समय कटाउनुपर्ने हुन्छ । विशेषज्ञहरु भन्छन्, ‘आपसी सम्झौतामा उही उमेर समूह भए पनि कानुनी व्याख्यामा बालक मात्रै दोषी देखिने हुनाले यस्ता घटनामा बालकको संख्या बढी देखिने गरेको हो ।’ 

टिप्पणी 
‘पछि बुझ्छौ नभनौँ’ 
रश्मिला कासुला,उपप्राध्यापक तथा मनोविद् 

बालसुधार गृह भक्तपुरमा आठ वर्ष मनोपरार्मशदाताको रुपमा काम गर्दा बालबालिकाको मनस्थितिसँगै घटना घटेको स्थानमा गएर स्थलगत अध्ययन अनुसन्धान गर्ने मौका पाएँ । यसले धेरै पाटो खुलायो । 
बालबालिकाले बिझ्याइँ (कानुन उलंघन) गरे भने उनीहरुको पारिवारिक पृष्ठभूमि हेर्नुपर्छ । हुर्काउँदा कस्तो वातावरणमा हुर्काइयो, बुबाआमाले के भन्छन् ? केही गल्ती गर्दा सजाय के–कस्तो प्रकृतिको दिन्छन् ? कस्ता शब्द प्रयोग हुन्छन् ? कति पिट्छन् ? बालबालिकालाई के मन पर्छ, के मन पर्दैन भन्ने बुझ्न आवश्यक छ ।

नकारात्मक घटना घट्दा घटेको स्थानको परिस्थिति र बालबालिकाको मनस्थिति बुझ्नु सबैभन्दा महत्वपूर्ण हो । कोही पनि बालक जन्मदै आपराधिक मानसिकताको भएर जन्मदैन । उनीहरु जुन परिस्थितिमा हुर्कन्छन्, उनीहरुको मानसिकता त्यस्तै बन्दै जान्छ ।

बाबुआमा नै आपराधिक गतिविधिमा छन् र उनीहरुकै रोहबरमा बालबालिका हुर्किएका छन् वा दिनहुँ आपराधिक गतिविधि देखेका छन् भने उनीहरुलाई आपराधिक कार्यमा संलग्न हुन सक्छन् । 

परिस्थितिअनुसार मनस्थिति 
तथ्याङ्कमा जबरजस्ती करणीको केसमा धेरै बालक परेका देखिन्छन् । उनीहरुको मनस्थिति र परिस्थिति बुझ्दा देखासिकी, जिज्ञासा, गरिबी र यौन शिक्षाको अभावले यस्तो घटनामा पर्ने गरेको देखिएको छ । 
पहिले अरुको देखेर सिको गरेको पाइन्थ्यो भने हिजोआज सामाजिक सञ्जालमा रहेका अश्लील सामग्रीमा सहज पहुँचले समेत किशोर–किशोरीलाई यस्तो गम्भीर अपराधमा धकेलिइरहेको छ ।

देखासिकी र यौन शिक्षाको अभाव
धेरै दिनको काउन्सिलिङपछि मात्र बालबालिकाले आफू कुन कारणले बलात्कारजस्तो गम्भीर अपराधमा परे भन्ने खुलाउँछन् । प्रायःको भनाइअनुसार पहिलोमा आफन्तको देखासिखी, उमेरअनुसार यौन शिक्षाको अभाव, सूचना प्रविधिमा पहुँचसँगै आवश्यक निगरानीको अभाव मुख्य कारण देखिने गरेको छ । 
१५÷१६ वर्षका बालक यस्तो घटनामा संलग्न हुनुको कारण पनि छ । उनीहरुको यौनाङ्ग विकास हुँदै गएको हुन्छ । हार्मोनको पनि विकास भइरहेको हुन्छ । उनीहरुमा यौन भावना बढिरहेको हुन्छ । यस्तो अवस्थामा अभिभावक वा विद्यालयले यौनसम्बन्धी आवश्यक परामर्श नै दिँदैनन् । त्यसको परिणामसमेत हो यो दुखद् तथ्यांक ।

कसरी हुर्काउने ?
यस्तो घटना घट्नुको प्रमुख कारण संस्कार हो । बालबालिकालाई निगरानीसँगै गाइडेन्स पनि दिनुपर्छ, जुन हाम्रोमा हुनै सकेको छैन । उमेरअनुसार यौन शिक्षा दिनै पर्छ तर अधिकांश अभिभावक आफ्ना सन्तानसँग यसबारे कुरै गर्न चाहँदैनन् । जिज्ञासा राखे भने ‘पछि बुझ्छौ’ भनेर पन्छिने गरिन्छ । यो घातक हो । 
दोस्रो, अहिले पनि हामी उमेर अनुसारको सन्तानको व्यवस्थापनमा चुकिरहेका छौं । छोराछोरी र आफू सुत्ने कोठा बेग्लै बनाउनु पर्छ । उनीहरुले के हेर्छन्, के पढ्छन् भन्ने कुराको निगरानी आवश्यक छ । 
 

*कभर तस्बिर ः सांकेतिक

Leave A Comment