लोन वुल्फको डर

बिहिबार, १९ बैशाख २०७६, ०८ : ३० अच्युत काेइराला
लोन वुल्फको डर

जब क्रिश्चियनहरुले येशु (जिसस क्राइस्ट) जन्मिएको पवित्र स्थलमा मुस्लिम बाहुल्य थलोमा परिणत भएको देखे र क्रिश्चियनविरुद्ध अत्याचार हुन थाल्यो, त्यसविरुद्ध क्रिश्चियनबाहुल्य मुलुकहरु खासगरी पश्चिम युरोपेली देशहरुले ‘क्रूसेड’ शुरु गरे । क्रूसेडको जुन उद्देश्य थियो, त्यसले बाटो बिरायो र पछि यही ‘क्रूसेड’विरुद्ध बाह्रौँ शताब्दीताका मुस्लिम शासक सलाउद्दिनले ‘जेहाद’ शुरु गरे । यही ऐतिहासिक पृष्ठभूमिलाई टेक्दै ओसामा बिन लादेनले यसलाई लोकप्रिय बनाए ।

गएको साता श्रीलंकामा क्रिश्चियनहरुको पर्व इस्टर सन्डेको मौकामा देशका विभिन्न चार ठाउँमा एक साथ आक्रमण हुँदा अढाई सय व्यक्तिको निधन भयो । यो आक्रमणमा संलग्न आशंका गरिएका एक नाइकेलाई सेनाले घेरा हाल्दा आत्मघाती बम विष्फोट गरी आत्महत्या गरे भने यो घटनाको सबैभन्दा रोचक पक्ष चाहिँ श्रीलंकाका अर्बपति मसला व्यापारीका दुई छोराको संलग्नता देखिएको छ । 

सामान्यतः धनसम्पत्तिले पुग्दो मानिसहरु मर्ने÷मार्ने झमेलामा फँस्दैनन् भन्ने सोच अहिले आएर गलत साबित भएको छ । स्रोत–साधनले सम्पन्नहरु नै अहिले ‘जेहाद’का लागि उद्दत रहन थालेका छन् । 

सिरियामा खलिफा मुलुक स्थापना गर्ने उद्देश्यका साथ आइएसआइएसले जसरी योजनाबद्ध तरिकाले सिरिया, इराकजस्ता मुलुकका ठाउँ कब्जा गर्दै गतिविधि अघि बढायो, त्यो उद्देश्यमा विकसित मुलुकका मुस्लिम युवाहरु ओइरो लागेर सघाउन पुगे । अहिले रुस, अमेरिका र अन्य मुलुकको सहयोगले आइएसका ठेगाना ध्वस्त भइसकेका छन् । आइएसका मुख्य नेता अल बगदादीको हत्या पनि भइसकेको छ । यसपछि तितरबितर भएका लडाकु संसारभरि छरिएको अनुमान गर्न थालिएको छ । 

‘अन्डरस्ट्यान्डिङ टेरर अट्याक’ पुस्तकमा मार्क सेजम्यान भन्छन्, ‘आतंकवाद कुनै व्यक्तिको मानसिक समस्या होइन । खासमा आतंकवादी भन्ने कुनै तत्व नै हुँदैन ।’

१७२ जना ‘आतंकवादी’माथि उनले गरेको अध्ययनको निष्कर्ष थियो, आतंकवाद एउटा त्यस्तो सैन्य जनसम्बन्ध हो, जसले एउटा राजनीतिक रणनीति बनाउन भूमिका खेल्छ । 

हुन त यस्ता आतंकवादी गतिविधिमा सुरुमा लाग्नेहरु एउटा निश्चित आदर्शका कारण लागेको बताइरहेका हुन्छन् तर अन्तर्यमा तिनको कमजोर घरेलु सम्बन्ध हुन्छ । तिनको परिवार टुटेफुटेको हुन्छ, स्कुलमा तिनले दुःख पाएका हुन्छन्, कयौँ अवस्थामा कामको सिलसिलामा विभेद सहेका हुन्छन् । यी सबै कुराले तिनलाई यस्ता गतिविधिमा लाग्न प्रेरित गरिरहेको हुन्छ । आवरणमा हेर्दा भने धार्मिक ‘जेहाद’ देखिएको हुन्छ ।

जति चाँडो आइएसले आफूलाई शिखरमा पुर्यायो, उति नै चाँडो उसलाई मटियामेट पारिदिए, पश्चिमा शक्तिले । त्यसो त आइएस ध्वस्त हुनुका पछाडि तिनले कब्जा गरेका तेलका कुवा, त्यहाँबाट आम्दानी भएको ठूलो धनराशि र त्यो धनराशिबाट खडा गरिएका हतियार फ्याक्ट्रीमा तलबमा काम गर्ने सर्वसाधारण, तिनको शोषणजस्ता कयौँ कारक पनि थिए ।

चुलीमा पुग्नुअघि अलकाइदा तथा आइएसले दुई किसिमले जेहादी आकर्षित गर्ने गरेको देखिएको थियो । संसारभरि मुस्लिममाथि भएको अत्याचार र तिनको बदलाको जिम्मेवारी आफूसँग भएको र त्यसका लागि धर्मले नै छूट दिएको भन्दै पैसावाला युवालाई आकर्षित गर्ने गरेको थियो ।

तिनलाई आइएसले पैसा दिँदैनथ्यो । उद्देश्य पूरा गर्नका लागि बरु उल्टै पैसा उठाउने जिम्मेवारी दिन्थ्यो । घर व्यवहार चलाउनै समस्या भएका कतिपयलाई भने आइएसले तेलको कुवा कब्जा गरेर आएको पैसा तलबी रुपमा दिन्थ्यो । उद्देश्यविहीन जीवन बिताइरहेकालाई कुनै निश्चित उद्देश्यका लागि मर्न पाउँदा खुसी लाग्नु स्वाभाविक थियो । त्यसमाथि परिवारको भरणपोषणका लागि पैसा पनि पाइन्थ्यो । यसरी आइएसले दुईतर्फी आकर्षणको ढोका खोल्यो ।

यही कारणले आइएसले छोटो समयमै सफलता हात पा¥यो । युरोप र अमेरिकाबाट पनि आइएसको उद्देश्यमा गाँसिए । जसै युवा आकर्षण बढेको सरकारको नजरमा प¥यो, त्यसपछि त्यसलाई ध्वस्त बनाउन कम्मर कसेर लागिप¥यो ।

इराक, अफगानिस्तान र सुडान जस्ता देशमा आतंकवादविरुद्धको अभियानले देखाइसकेको छ, यसलाई निमिट्यान्न पार्न कठिन मात्र होइन, असम्भव नै छ । विश्वको एउटा कुनामा यसलाई कम गरिए पनि अर्को कुनामा टाउको उठाइरहेका दृश्य हाम्रो आँखासामु छ ।

यस किसिमको आतंकी विचार वा आक्रमण सैन्य शक्तिबाट परास्त गर्न गाह्रो हुने विविध अध्ययनले देखाइसकेका छन् किनभने जसै सेनाले रणनीति परिवर्तन गर्न थाल्छन्, आतंकीहरुले पनि आफ्नो रणनीति परिवर्तन गर्न थाल्छन् । ‘लोन वुल्फ’ पछिल्लो समयको सबैभन्दा ठूलो चुनौती हो । सबै किसिमका आतंकवादी आक्रमण गर्न सक्षम हुने एक्लो व्यक्तिलाई ‘लोन वुल्फ’ उपनाम दिइन्छ । श्रीलंकाको आक्रमणमा पनि यस्तै किसिमका ‘लोन वुल्फ’हरुको प्रयोग भएको देखिएको छ ।

यस्ता लोन वुल्फ पहिचान गर्न गाह्रो हुने मात्र होइन, चिनिदै चिनिदैनन् । झन् अफगानिस्तानजस्तो पिछडिएको र धार्मिक रुपमा कट्टरता भएको मुलुकमा जेहादलाई मलजल गर्ने राष्ट्रिय राजनीतिक पार्टीहरु नै हुन्छन् । तिनले कम शिक्षित, बेरोजगार र पीडितहरुलाई छानीछानी ‘बदला’का लागि उक्साउने गर्छन् । त्यसैले पछिल्लो समय पश्चिमा मुलुकले राजनीतिक समाधानका बाटाहरु खोज्ने गरेका छन् । अफगानिस्तानमा तालिबानसँग पश्चिमा मुलुकले सम्बन्ध बढाउने प्रयास र इराकमा स्थानीय पार्टीलाई सशक्त बनाउने कुरा यसैको परिप्रेक्ष्यमा उठेको हो । 

जसै यस्तो रणनीतिमा पश्चिमा मुलुक सफल हुँदै गए, आइएसले आफ्नो रणनीति परिवर्तन गरेर कम खर्चमा बढी क्षति गर्ने रणनीति अख्तियार ग¥यो । संसारभरि लोन वुल्फको आक्रमण त्यसैको एउटा पाटो हो ।

अहिले ‘लोन वुल्फ’को आक्रमण कम गर्न वा आतंकवादीहरुको निशानाबाट नयाँ पुस्तालाई जोगाउन अमेरिका र बेलायतजस्ता मुलुकले ‘डिर्याडिकलाइजेसन’को कार्यक्रम शुरु गरेका छन् । त्यसमा उनीहरुलाई धार्मिक कट्टरता कम गर्ने विविध तालिम दिने गरिन्छ । जसमध्ये मनोवैज्ञानिक, धार्मिक परामर्शका क्रियाकलाप र विभिन्न जीवनोपयोगी तालिमहरु पर्ने गरेका छन् । 

बेलायतमा कट्टरता हटाउने कार्यक्रमबाट हरेक वर्ष चार हजार युवाहरुले फाइदा लिइरहेका छन् । जसका कारण ७० प्रतिशतभन्दा बढी आतंकवादी आक्रमणका घटनाहरु शुरु हुनुअघि नै नियन्त्रित भइसकेको सुरक्षा निकायको दाबी छ । 

अमेरिकाको पेन्टागन (रक्षा मन्त्रालय)ले पनि यस्तै कार्यक्रम गुपचुप सञ्चालन गरिरहेको छ । यस्ता कार्यक्रम उसले मस्जिद केन्द्रित बनाएको छ ।

यस किसिमका कार्यक्रमका खतरा पनि कम छैनन् । यसले पूरै समुदायलाई नै आतंकीको ठप्पा लगाउने खतरा बढेर जान्छ । त्यसैले पनि बेलायती संसद् अन्तर्गतको ह्युमन राइट्स कमिटीले सरकारको यस किसिमको रणनीतिलाई चर्को आलोचना गर्ने गरेको छ जसरी उसले चीनमाथि खेदो खन्ने गर्छ । अहिले चीनले पनि पूराका पूरा गाउँलाई नै एउटा क्याम्पसमा खाँदेर उनीहरुलाई डि¥याडिकलाइजेसन गरिरहेको छ । र, यस्तो क्रियाकलाप गरेकामा पश्चिमा मुलुकहरुले चर्को आलोचना गरेर थाकेका छैनन् । 

मर्न र मार्न तयार भएका यस्ता कट्टर आतंकीलाई उनीहरुको उद्देश्यबाट सहजीकरण गरी पुनः समाजका लागि योगदान दिने बनाउन अति आवश्यक छ । र, यसका विशेषज्ञहरु भन्छन्, सामाजिकीकरण सबैभन्दा ठूलो अस्त्र हो । उनीहरुलाई जति सामाजिक बनाउन सक्यो, समाजसँग जोड्न सक्यो उति नै चाँडो उनीहरुको कट्टरता कम गर्न सकिन्छ ।

कतिपय समस्या भने हामी आफैँले पनि उप्जाउने गरेका छौँ । हाम्रा कतिपय पूर्वाग्रहका कारण उनीहरुलाई कट्टर बनाउन भूमिका खेलिरहेका हुन्छौँ । चाहे त्यो मुस्लिमलाई सम्बोधन गर्ने वा साना गल्तीमा पनि ठूला सजाय दिने कुरा होऊन् या उसले पाउनुपर्ने हक खोस्ने कुरा होस् । 

हामीले बुझ्नुपर्ने हुन्छ, समाजको सबैभन्दा तल्लो तह नै कतिपय अवस्थामा लड्न भिड्न गइरहेको हुन्छ किनभने ऊसित कम स्रोत साधन हुन्छ । उसलाई बहकाइने सम्भावना बढी हुन्छ । त्यसैले बहकिने सम्भावना भएकाहरुलाई विभिन्न सामाजिक क्रियाकलापमा संलग्न गराउने, सक्रिय पार्ने र समाजसँग जोड्न सकेको खण्डमा तिनको कट्टरता कम गर्न सकिने विविध अध्ययनहरुले देखाएका छन् ।

सामाजिक न्युरोविज्ञानीहरुले अल्पसंख्यकले सहज अनुभव गर्ने, सामाजिक क्रियाकलापमा सक्रिय बनाउन सकेका खण्डमा कट्टरता कम हुने बताउने गरेका छन् । सामाजिकीकरणले अन्य व्यक्तिको भावनासँग तिनले आफ्नो भावना साट्छन्, करुणाको भाव अनुभूत गर्छन् । यसले अरुको कोणबाट पनि मानिसलाई सोच्न बाध्य पार्ने गर्छ भन्ने तिनको भनाइ छ ।

सरकारले ध्यान दिनुपर्ने पक्ष भनेको सामाजिक सम्बन्ध बिग्रिएका, पारिवारिक सम्बन्धमा लामो समयदेखि अलगाव रहेका व्यक्तिहरुप्रति निगरानी बढाउनु पनि हो । खासगरी मानसिक रोगबाट लामो समयसम्म प्रभावित व्यक्तिहरु, जोसँग जीवनको उद्देश्य छैन, तिनले अतिवादीहरुको संगत पाए भने नयाँ उद्देश्य फेला पार्नेछन् र ती आँखा चिम्लेर नयाँ उद्देश्यका लागि होमिन थाल्छन् ।

अर्को खतरा भनेको अल्पसंख्यक हुन् । जुन मुलुकमा अल्पसंख्यकमाथि लगातार आक्रमण भइरहन्छ, कालान्तरमा त्यस्ता  मुलुकले बढीभन्दा बढी आतंकको अवस्था झेल्नुपर्ने अवस्था आउँछ । आतंककारीहरुले पनि त्यस्ता समूहलाई खोजीखोजी प्रयोग गर्ने गर्छ । 
(कोइरालाले अलकाइदा र लादेनमाथि ‘टार्गेट बिन लादेन’ पुस्तक लेखेका छन् ।)
 

Leave A Comment