‘ सन्तानलाइ नियन्त्रित हैन, एक्सप्रेसिभ बनाऊँ’

शुक्रबार, २० बैशाख २०७६, ०४ : ०३ शुक्रवार
‘ सन्तानलाइ नियन्त्रित हैन, एक्सप्रेसिभ बनाऊँ’

किशोर अवस्था प्रवेशसँगै शारीरिक तथा मानसिक परिर्वतन देखा पर्छन् । शरीरमा विभिन्न प्रकारका हार्माेनहरुको विकास भएका हुन्छन् । हार्मोनकै कारण उनीहरुलाई हरेक कुरामा जिज्ञासा लाग्छ । यो उमेरमा विपरीतलिङ्गीप्रति उनीहरु आकर्षित हुन्छन् । एकअर्कासँग भावानात्मक मात्र हैन शारीरिक रुपमा पनि नजिक हुन चाहन्छन् ।

हाम्रो समाजमा अझै पनि विवाहभन्दा पहिले विपरीतलिङ्गी प्रतिको निकटतालाई सहजताका साथ लिइँदैन । हाम्रो समाज पहिलेभन्दा अहिले खुला त भएको छ तर अझै पर्याप्त छैन । बुबाआमाले मात्र होइन, स्कुलमा पनि खुलेर यौन शिक्षा नदिँदा सानैमा गर्भवती हुने, मातृ मृत्युदर बढी हुने, शिक्षाबाट पनि वञ्चित हुने, आर्थिक क्षेत्रमा पनि कमजोर हुने दम्पति नेपालमा बढी नै छन् । समयमा यौन शिक्षा दिने हो भने हामी यस्ता समस्याबाट केही हदसम्म छुटकारा पाउन सक्छौँ ।  

यौन शिक्षा कसरी दिने भन्नुभन्दा पहिले यसको सांस्कृतिक पाटो बुझ्न जरुरी छ । विश्वव्यापीकरणले गर्दा विश्वभरि नै एकअर्काको संस्कृति आदानप्रदान भएको छ । यसको अर्थ हामी हरेक कुरामा एक देशसँग अर्काे देश अन्तर्निर्भर छौँ । 

हाम्रो संस्कृतिलाई पूर्वीय दर्शनमा आधारित संस्कृति भनिन्छ । छोटकरीमा पूर्वीय संस्कृतिमा यौनलाई नकारेर अघि बढ भनेर सिकाइन्छ । हाम्रा धार्मिक ग्रन्थले इन्द्रियलाई नियन्त्रण गरेर अघि बढ्नुपर्ने कुरा सिकाएको छ । हामीले यौनका कुरा खुलेर गर्न नसक्नुको सांस्कृतिक कारण यही हो ।

यौनका प्रतीकका रुपमा रति र कामदेव नभएका हैनन् तर खुला रुपमा बहस भएको पाइँदैन । बुबाआमाले छोराछोरीलाई, गुरुले शिष्यलाई यौन शिक्षा के हो, किन, कसरी, भनेर उत्तर दिनुभन्दा पनि इन्द्रियलाई नियन्त्रण गरेर अघि बढ्न प्रेरित गरिरहे । अहिले पनि त्यसैको प्रभाव छँदैछ ।
पश्चिमा संस्कृति भनेको एक्सप्रेसिभ अर्थात् चाहे यौन होस् या जुनसुकै कुरा, त्यसलाई  प्रकट गर्ने र अनुभव लिने संस्कृति हो । हाम्रो संस्कृति भनेको जेन्डर सेट संस्कृति हो । हामीलाई हुर्काउँदा नै केटाले के गर्न हुने, नहुने, केटीले के गर्ने, के गर्न नहुने भनेर सिकाइन्छ । पश्चिमा संस्कृति भनेको प्रतिस्पर्धी संस्कृति हो ।

केही वर्ष पहिले एउटा समाचार आएको थियो । एउटा विश्वविद्यालयमा नजिकै खुला ठाउँमा विद्यार्थीहरु बसेका थिए । गर्मी भएको कारण उनीहरु शितल छहारीमुनि थिए । केटाहरुले गर्मी भयो भनेर टिसर्ट खोलेछन् । त्यो देखेर केटीहरुले पनि खोले । यो कुराले हंगामा भयो । पक्ष विपक्षमा तर्क भए । 
त्यतिबेला अमेरिकामा सार्वजनिक स्थलमा बच्चालाई स्तनपान गराउन पाइँदैन थियो । भन्न खोजेको के भने उनीहरुलाई सानैबाट प्रतिस्पर्धीको रुपमा हुर्काइन्छ । उनीहरुलाई जेन्डरसेटमा हुर्काइन्न ।

हाम्रोमा गर्ल, ब्वाइज होस्टल फरक–फरक हुन्छ तर पश्चिमतिर त्यस्तो हुन्न । उनीहरुको रुम छुट्टै हुन्छ, कमन रुम एकै हुन्छ । यसमा कसैले आपत्ति जनाउँदैन । उनीहरुले मन लागे शारीरिक सम्बन्ध पनि राखेका हुन्छन् । पश्चिमा संस्कृतिले यसलाई ठूलो कुरा मान्दैन । 

हाम्रोमा यसको उल्टो छ । शारीरिक सम्बन्ध नराख्न समाजको, परिवारको डर देखाउने संस्कार हाम्रोमा छ । उनीहरुको के गर्दा के हुन्छ भनेर परिणाम देखाउने प्रचलन छ । उमेर पुगेकालाई सिकाउने प्रचलन छ ।

मेरो एक जना क्यानडेली साथी थिइन् । उनलाई यौन शिक्षा कसरी दिन्छौ भनेर जिज्ञासा राख्दा एउटा घटना सुनाएकी थिइन् । उनकी छोरी ७ कक्षामा पुग्दा स्कुलबाट आमालाई फोन आयो । तिम्री छोरीलाई यौन जिज्ञासा रहेछ, हामी उनलाई यसबारे जानकारी दिन चाहन्छौँ, दिऊँ कि नदिऊँ ? यसरी त्यहाँ अभिभावकको अनुमति लिने चलन रहेछ । यौन शिक्षा दिँदा भिडियोमा शारीरिक सम्बन्ध कसरी गर्ने, बच्चा रहने सम्भावना कसरी रहन्छ भनेर देखाइँदो रहेछ । उनीहरु किशोरावस्था प्रवेश गर्दा नै के गर्दा के हुन्छ भन्नेसम्म जानिसकेका हुन्छन् । 

हाम्रो संस्कृति नराम्रो भन्न खोजेको हैन । फरक मात्रै छुट्ट्याएको हो । हाम्रै केही संस्कृति यस्ता छन्, जसमा यौनका कुरा गर्न छुट थिए र छन् । जनजातिहरुमा यो संस्कार पाउन सकिन्छ ।

यो अवस्थामा अब हामी परिर्वतन हुने बेला भइसकेको छ । उमेरअनुसार यौन शिक्षा दिनुपर्ने बेला भइसकेको छ । पहिलेको हाम्रो बस्ती एकै जातको, गोत्रको बस्ती एक गाउँ हुन्थ्यो । सबै नाता पर्ने हुन्थ्यो । दाजुभाइ दिदीबहिनी पर्नेलाई यौनिकतामा हेर्ने चलन हाम्रोमा छैन तर अहिले परिवर्तन भएको छ । पुरानो समाजको संरचना लगभग भत्किसकेको छ । 

हिजोको संरचनाअनुसार आजको सामाजिक संरचना नभएपछि अब पुरानै संस्कार दिएर हुँदैन । हाडनाता नपर्ने भएपछि त्यहाँ सम्बन्धका कुरा आउँछन् । त्यसकारण सम्भावित दुर्घटनाबाट बच्न सानैमा यौन शिक्षा दिनुपर्छ ।
(कुराकानीमा आधारित) 
 

Leave A Comment