स्वादबिनाको ‘दाल भात तरकारी’

शुक्रबार, २० बैशाख २०७६, ०५ : ३५ अनिल यादव
स्वादबिनाको ‘दाल भात तरकारी’

जीवनको उतराद्र्धमा पुगेपछि बलिउड अभिनेता अमिताभ बच्चन ‘पिंक’, ‘बदला’ जस्तो शक्तिशाली र चेतनामुलक फिल्ममा केन्द्रित भइरहेको बेला प्रतिष्ठित कलाकार जोडि ‘मह’ भने अझै हल्काफुल्का कमेडिमै रमाइरहेको उदेक लाग्दो अवस्था छ । 

पढ्दा मदनकृष्ण र हरिबंश आचार्यको फ्यानहरुको चित्त पक्कै कुडिन्छ नै । लेख्दा पनि चित्त कुँडिएकै हो । तर शुक्रवारबाट रिलिज भएको फिल्म ‘दाल भात तरकारी’ को स्तर जस्तो छ त्यस्तै लेखिएको हो । 

एक वर्ष अगाडिको फिल्म ‘शत्रुगते’ को पटकथा बरिष्ठ कलाकार मह  जोडी सुहाउँदो थिएन । त्यसको आलोचना पनि भएकै थियो । त्यसपछिको प्रोजेक्टमा पनि कमजोरी सुधार्ने प्रयास देखिएन । कलाकार हेरफेर भए, निर्देशक पनि हेरफेर भए । तर सोच उस्तै रह्यो । 

निर्माण पक्षले ‘दाल भात तरकारी’ स्वादिलो भएको दावी गर्यो तर फिल्मको स्वाद नमिठो भयो । फिल्म रिलिज अगाडि निर्माण टोलीबाट जे जस्ता दावी आए ती सबै दर्शकलाई हलसम्म तान्ने उपाय मात्र देखिए ।

दिन खोजिएको सन्देश जति नै प्रभावशाली किन नहोस्, त्यसले दर्शकमा कुनै छाप छोड्न सक्दैन भने त्यसको अर्थ हुन्न । ‘दाल भात तरकारी’ बलियो सन्देश बोकेको फिल्म हुनसक्थ्यो । तर कमजोर पटकथाले फिल्मको सबै स्वाद बिगारीदियो । 

वैदेशिक रोजगार र विदेश मोह बहुसंख्यक नेपालीको तीतो यथार्थ हो । वर्षौदेखि नेपाली फिल्मले नेपालीको यही नियतीलाई आफ्नो कथा बनाइरहेका छन् । ‘दाल भात तरकारी’ले उठाएको विषय पनि नयाँ छैन, यही वरिपरी छ । तर, विषय छरपष्टहुँदा फिल्मको मुल कथा र केन्द्रिय द्धन्द स्थापनामै यसका निर्देशक सुदन केसी चुकेका छन् । 

फिल्मभित्र रामहरीको (हरिवंश आचार्य) परिवार छ जसको स–साना कुरामा पनि श्रीमती उर्मिला (निरुता सिंह)सँग ठाकठुक परिहाल्छ । उर्मिलाको चाहना छ, श्रीमान अमेरिका गइदियोस्, आफू र सन्तानलाई पनि सँगै लगोस् अनि उतै सुःखी र खुशीसँग जीवन बिताउन पाइयोस् । अमेरिका जाने चक्करमै रामहरीले डिभी त भर्छन् तर त्यसले उनलाई अमेरिका पु¥याउँदैन ‘हात खाली नहुने डिभी’मै चित्त बुभाउँछन् । 

डिभी नपरेर निरास उनी अमेरिकाकै लोभमा गायक स्वामी (शिशिर वाङ्देल’सँग ठोक्किन्छन् जो कलाकारको आवरणमा अमेरिका पु-याइदिने आश्वासन दिइरहेका छन् । परिवारलाई नै अमेरिका लाने सुरमा घरै धितो राखेर उनी मिटरब्याजमा ऋण लिन्छन् । तर पैसा लिएपछि स्वामी गायब हुन्छन् । त्यसपछि के हुन्छ रामहरीको अमेरिका सपना ? फिल्म यही जवाफ वरपर घुमेको छ । 

नेपालमा बन्ने अधिकांश कमेडी फिल्मको समस्या दृश्यभाषाको शक्तिलाई नजरान्दाज गर्दै दर्शक हसाउन संवादको सहारा बढी लिनु हो । ‘दाल भात तरकारी’ मा पनि यो समस्या उस्तै छ । 

फिल्मले केही गम्भिर विषयको उठान गर्ने प्रयास नगरेको छैन, तर त्यसको गहिराईमा जाने प्रयासै नगर्दा गम्भिर विषय पनि हल्काफुल्का बनिदियो ।

जस्तै, फिल्मले स्वामीको पात्रमार्फत स्वामीको आवरणमा हुने अपराधलाई देखाउन खोजेको छ । यसमा नेता र गुन्डाको नेक्सस कस्तो हुन्छ, त्यो पनि देखाइएको छ तर सतही र ठट्टापुर्ण प्रस्तुतीले त्यो निक्कै कमजोर  देखिएको छ । फिल्मले भन्सारदेखि भ्रष्ट कर्मचारीतन्त्रसम्मलाई व्यंग्य गरेको छ तर ती पनि दृश्यको साटो अनुप्रास मिलेका संवादमा मात्रै समेटिएको छ । 

फिल्ममा देखिने श्रीमान–श्रीमतीको सम्बन्ध स्वाभाविक देखिएको छैन । नाटकीय महुसस हुन्छ । नेपालका कमेडियनहरु महिलाको चरित्रचित्रणमा प्रायःगम्भिर देखिने गरेका छैनन् । यो फिल्ममा पनि निरुता सिंह, वर्षा राउत र आँचल शर्माको चरित्र चित्रण फिक्का छ । उनीहरुको भुमिका पुरुष पात्रको वरिपरी घुमेर सकिन्छ । 

श्रीमान फोनमा अर्कै युवतीसँग बोलेको सुनेपछि रिसले चुर भएकी उर्मिला (निरुता) श्रीमानलाई डिभी परेको सुन्नासाथ एकैछिनमा श्रीमानसँग लपक्क हुनु बलियो चरित्रचित्रण हुन सक्दैन । वर्षालाई स्कुटी र आँचललाई पुष्पलको वरिपरिमात्रै घुमाइएको छ, त्यसले महिलाको चरित्रचित्रणप्रति निर्देशकको कमजोर चेतना देखाउँछ । 

फिल्ममा राखिएका ‘दाल भात तरकारी’ र प्रियंका कार्कीले आइटम डान्स गरेको ‘एन्टिबायोटिक’ गीत उचित ठाउँमा छैन । अनावश्यक ठाउँमा गीतको प्रयोग गरिनु गीत त चाहिन्छ भन्ने परम्परागत सोचको निरन्तरता मात्रै हो । गीत नभए पनि राम्रा फिल्म बन्न सक्छन् । 

फिल्ममा हरिवंशको अभिनय चरित्र सुहाउँदो छ । यो फिल्मबाट कमब्याक दाबी गरिरहेकी निरुता सिंहको अभिनय भने लाउड छ । उनको लाउड अभिनयले झर्को लाग्छ । आँचल उस्तै नाटकीय देखिएकी छिन् । 

फिल्म रिलिजअघि हालसालै एक अन्तरवार्तामा हरिवंशले भनेका थिए, ‘ व्यावसायिक फिल्म खेल्यो भन्दैमा मह जोडीले कम इज्जतको काम ग-यो भन्ने म सोच्दिन । बरु फिल्म नचल्दा इज्जत घट्छ ।’ 

उनको आशय मह जोडीले जस्तो फिल्म बनाए पनि इज्जत राखिदिन उनका प्रशंसकले हेरिदिनै पर्ने देखियो । तर उनका प्रशंसकले ‘दाल भात तरकारी’ हेरिदिएर फिल्मलाई ब्यापारिक रुपमा सफल बनाइदिए भने पनि यो फिल्मले उनको इज्जत पक्का बढाउँदैन ।

तत्काल त उनलाई यो सत्य तीतो लाग्ला, तर कुनै समयमा पक्कै उनले यो मनन गर्ने नै छन् ।
 

Leave A Comment