फिल्मकर्मीको तारोमा समीक्षक

आइतबार, २२ बैशाख २०७६, ०९ : ०० भोला अधिकारी
फिल्मकर्मीको  तारोमा समीक्षक

चलचित्र निर्माता, निर्देशक, कलाकार अनि समीक्षक बीचको सम्बन्ध हेर्दा यस्तो देखिन्छ, यी जन्मजात दुश्मन हुन् । नेपालको सन्दर्भमा कसै गरे पनि यी दुई समूहबीच ठ्याक मिल्दैन । फिल्म रिलिजसँगै जब समीक्षा आउन थाल्छन्, निर्माता–निर्देशक– कलाकार आक्रोशको लप्का बोकेर मिडियामा उत्रन्छन् । मस्त गाली गर्छन् र अन्त्यमा समीक्षक नै झुर भन्ने पुष्टिका लागि दर्शकको सहारा लिँदै भन्छन्, ‘मेरो फिल्म समीक्षकका लागि हैन, दर्शकका लागि बनाएको हो । समीक्षकले मन नपराए के मतलब !’

हालै रिलिज भएको फिल्म ‘ए मेरो हजुर ३’ ले हलमा ठिकठिकै व्यापार गरे पनि समीक्षकबाट ताली पाउन सकेन । खरो टिप्पणीको सामना गर्नुपरयो यसकी निर्देशकले झरना थापाले । छोरीको डेब्यु फिल्मलाई समीक्षकले सराहना नगरेको पाएपछि निर्देशक थापाको कन्पारो तात्यो । उनी समीक्षकको समीक्षामा के कमजोरी भए भन्दा पनि खरो प्रतिकारमा उत्रिइन्, त्यो पनि एउटा युट्युब च्यानलमा । आमा झरनाले मच्चीमच्ची समीक्षकलाई गाली गरिरहँदा छेउमै रहेकी छोरी सुहाना हौसिदै ताली पिटेर आमालाई साथ दिइरहेकी थिइन् ।

हिन्दी फिल्मका टुक्राटाक्री जोडेर झुर फिल्म बनाएको र फिल्म हेर्ने समयको बर्बादी मात्र भएको कोणबाट आएको समीक्षाप्रति उनको टिप्पणी थियो, ‘दुई–चार वटा अनलाइन र पत्रिकाले नराम्रो रिभ्यु लेख्दैमा मलाई केही फरक पर्दैन । दर्शकले नै राम्रो छ भनेर समीक्षा गरिदिइसकेका छन् ।’
उनले केही फरक पर्दैन भने पनि समीक्षाले उनको मुटु कसरी बिझाएको रहेछ भन्ने कुरा उनले दिइरहेको अभिव्यक्तिले नै देखाइरहेको थियो । 

‘सुन्न नसक्ने, हेर्न नसक्ने फिल्म बनाएको रहेछ भनेर अनेक थरि लेखिदिन त भएन नि !’ झरनाको गुनासो थियो, ‘पुरानो कथा निकालिएको भनेर समीक्षा गरिदिएका रहेछन् । कथा पुरानो नै हो तर पुरानोकथालाई मसालेदार तरिकाले प्रस्तुत गरेकी छु त्यो कुरा समीक्षकले नबुझेका हुन् ।’
उनले समीक्षकहरुलाई घरी सम्झाउने, घरी थर्काउने गरी टिप्पणी गरेकी छन्, ‘मेरो फिल्म समीक्षकका लागि बनाएको होइन, दर्शकका लागि बनाएको हो । समीक्षा गर्नुस् तर राम्रो गर्दिनुस् ।’

झरनाको छवि एउटी उर्वर र शालिन कलाकारका रुपमा थियो । निर्देशक भएपछि भने उनको छवि बद्लिएको समीक्षक प्रतिको उनको नकारात्मक टिप्पणीबाट देखिन्छ । उनको आक्रोशको निष्कर्ष थियो, ‘यत्रो वर्ष फिल्म क्षेत्रमा काम गरेको मलाई आजका फुच्चाहरुले सिकाउने ?’

झरना त एउटी पात्र मात्र हुन् । नेपाली फिल्म क्षेत्रमा मपाइँत्व भएका यस्ता धेरै निर्माता, निर्देशक र कलाकार छन्, जो कमजोरी औंल्याउँदा स्वीकार गर्नुभन्दा उल्टै तथानाम सार्वजनिक टिप्पणी गर्दै जगहँसाइ गरिरहेका हुन्छन् ।

दीपकराज गिरी अर्का पात्र हुन्, जो समीक्षा मात्रै हैन उनका फिल्मबारे सामाजिक सञ्जालमा आउने सामान्य नकारात्मक टिप्पणी पनि सहन सक्दैनन् । पछिल्लो समय हास्यरसका फिल्म बनाउन सक्रिय उनका प्रायः हरेक फिल्मले समीक्षकबाट धुलाई खाने गरेको छ । ‘छक्कापञ्जा’को सिक्वेलबारे त नकारात्मक सामाजिक बहसै भएका थिए ।

तर उनी समीक्षक र दर्शकले औँल्याएका कमजोरी आत्मसात गर्नुको साटो सधैँ प्रतिवादमा मात्र उत्रने गरेका छन् । भाग्यवश उनले बनाएका फिल्म व्यापारिक रुपमा सफल छन् तर फिल्मको विषयवस्तु र चरित्रचित्रण सधैँ आलोचनामा पर्ने गरेको छ । अनुभवीहरुका अनुसार, उनी आलोचाप्रति कतिसम्म आक्रामक हुन्छन् भने कसैले सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गरेको छ भने सो व्यक्तिसँग प्राइभेट च्याटमै गएर भिड्छन् ।

हालै रिलिज भएको ‘लभ स्टेसन’ दुईवटा स्पेनी फिल्मको नक्कल भएको समीक्षकहरुले खुलासा गरेपछि फिल्मका निर्मातासमेत रहेका नायक प्रदीप खड्का पनि उस्तै शैलीमा प्रतिवादमा उत्रिएका थिए । फिल्म हेर्ने अधिकांशले उनको कमजोरी औंल्याए पनि उनले स्वीकार गरेनन् । 

दुई वर्षअघि प्रदर्शनमा आएको ‘पुरानो  डुङ्गा’की नायीका प्रियंका कार्कीको अभिनय फितलो रहेको बरु मेनुका प्रधानको अब्बल रहेको समीक्षा आएपछि उनलाई सहिनसक्नु भएको थियो । उनी सामाजिक सञ्जालमा समीक्षकविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएकी थिइन् ।

सन् २०१२ मा सुनील मानन्धरले बनाएको फिल्म ‘मायाज बार’को समीक्षाबारे टिप्पणी गर्दै निर्देशक दिनेश डिसीले समीक्षकलाई पागलसम्म भन्न भ्याए । उनको टिप्पणी फिल्मलाई ‘मायाज बार, महङ्गो गिलासमा सस्तो रक्सी’ भनेर समीक्षा गर्ने दीपेन्द्र लामा लक्षित थियो । 

किन यत्रो आक्रोश ?
समीक्षकविरुद्ध टिप्पणी गरिरहने दीपकराज गिरी नेपाली समीक्षकहरुले नेपाली फिल्मलाई नै हेपेको दाबी गर्छन् । गम्भीर खालको फिल्म भए त्यसलाई फिल्मजस्तो मान्ने र वाहवाह गर्ने तर कमेडी फिल्मलाई फिल्म जस्तै नमान्ने र तल्लो तहमा राख्ने गरेको उनको दाबी छ ।

उनले बलिउड फिल्मका उदाहरण दिँदै भने, ‘सञ्जय दत्तका ‘मुन्ना भाइ’ शृंखलाका फिल्म पनि कमेडी नै हो तर त्यहाँका समीक्षकहरुले राम्रो प्रतिक्रिया दिएका थिए । तर नेपालका समीक्षकहरुले कमेडी खालको फिल्म भयो भने फिल्म नै मान्दैनन् ।’

यस्तै हो त ?
डिसीबाट पागलसम्म भनिएका फिल्म समीक्षक तथा निर्देशक लामा समीक्षा लेख्दा गालीगलौज र धम्की आउनु सामान्य रहेको बताउँछन् । नेपाली सिनेमाका निर्देशक होस् या निर्माता या कलाकार कसैमा पनि समीक्षा स्वीकार गर्न सक्ने क्षमता नभएको उनले टिप्पणी गरे । 

समीक्षक यज्ञशको अनुभवमा नेपालमा फिल्मकर्मीको जति सोचाइ छ, त्यति नै बोल्ने गरेका हुन् । उनले बलिउडको एउटा उदाहरण दिँदै भने, ‘बलिउड अभिनेता आमिर खानले ‘ठग्स अफ हिन्दुस्तान’ बक्स अफिसमा असफल भएपछि फिल्म असफल भएको स्वीकार्दै क्षमा मागे । तर नेपाली फिल्मकर्मी यसरी आफ्नो कमजोरी स्वीकार्नै सक्दैनन् ।’

‘नेपाली फिल्मकर्मीले फिल्म भयंकर बनाएजस्तो लाग्दो हो, दर्शकका लागि फिल्म नराम्रो लाग्न सक्छ,’ उनले भने, ‘कसले कुन एङ्गलबाट फिल्म हेर्न गएको हो, त्यो दर्शकमा भर पर्ने कुरा हो । दर्शकले जस्तो पनि टिप्पणी गर्न सक्छ । जायज समीक्षा भने स्वीकार्नु राम्रो हुन्छ ।’

अर्का समीक्षक गोकर्ण गौतम नेपाली फिल्मकर्मीमा फिल्मको समीक्षा स्वीकार गर्न सक्ने क्षमता नै भएको आरोप लगाउँछन् । निर्देशक निमार्तामा मपाइँत्व भएकाले फिल्मको समीक्षा सजिलै स्वीकार गर्न नसकेको उनको विश्लेषण छ ।

‘राम्रा फिल्म बनाउने होइनन्, अनि समीक्षा राम्रो गरेन भनेर गाली गर्न थाल्छन्,’ उनले शुक्रवारसँग भने, ‘मेरो फिल्म समाजसेवाको लागि बनाएको छु । समीक्षा राम्रो गरिदिनुस् है भन्ने निर्माता, निर्देशक पनि छन् ।’

उनी आफ्नो समीक्षा फिल्मकर्मीका लागि भन्दा पनि दर्शक केन्द्रित रहेको र फिल्मबारे चासो राख्ने दर्शकलाई फिल्मबारे जानकारी दिन समीक्षा गर्ने गरेको बताउँदै भन्छन्, ‘समीक्षा फिल्मकर्मीले स्वीकार गर्नै पर्छ भन्ने छैन ।’

एक वर्षपछि गल्ती स्वीकार
अभिनेत्रीका रुपमा अलग्गै छवि बनाउँदै गएकी केकी अधिकारी गत वर्ष ‘कोहलपुर एक्सप्रेस’मार्फत् निर्मात्रीको रुपमा आइन् । उनले चल्तीका नायिकाहरु लिएर फिल्म बनाइन् । प्रमोसन पनि खुबै गरिन् । तर जब फिल्म हलमा लाग्यो, उनको पोल खुल्यो । फिल्म त हिन्दी फिल्म ‘मुम्बई एक्सप्रेस’को डिट्टो कपी रहेछ । उनले कपी गरिएको फिल्मलाई क्रेडिटसमेत दिएकी थिइनन् ।

समीक्षा त्यही नै आयो, जुन फिल्ममा देखियो तर उनले त्यो बेला यो कुरा स्वीकार गरिनन् । हल्का प्रभावित हुनसक्छ तर हाम्रै मौलिक कथामा बनेको हो भनेर जिकिर गरिरहिन् । हलमा फिल्मले करामत देखाउन सकेन । फ्लप भयो तर फिल्म भव्य चलेको भ्रम दिन उनले केक काटेर सक्सेस पार्टीसमेत दिइन् ।
एक वर्षपछि भने उनको चेत खुलेछ । अहिले आएर उनले आफ्नो कमजोरी स्वीकार्दै भनिन्, ‘फिल्म कपी भएकै हो । गल्ती दोहोरिन नदिन अबको प्रोजेक्टमा मिहिनेत गरिरहेकी छु ।’
 

Leave A Comment