‘भाडा’मा लेखक

मङ्गलबार, २४ बैशाख २०७६, १२ : १३ प्रजु पन्त
‘भाडा’मा लेखक

कलाकार हरिवंश आचार्य आफैँ लेखक भएका दुई वटा पुस्तक बजारमा आयो, ‘चिना हराएको मान्छे’ र ‘हरिबहादुर’ । पुस्तक लेखनबारे जानकारहरुको दाबीअनुसार ‘चिना हराएको मान्छे’मा हरिवंशको भूमिका कथा वाचक मात्रै हो । 

‘सेतो धर्ती’, ‘करोडौं कस्तुरी’का लेखक अमर न्यौपानेले पुस्तक लेखिदिएको दाबी गर्नेहरु भेटिए । अझ केहीले त न्यौपानेको ‘करोडौं कस्तुरी’ पुस्तक ‘चिना हराएको मान्छे’ को सिक्वेल भएको दाबीसमेत गरे । 
पछिल्लो समय व्यवसायी, अवकाशप्राप्त सरकारी कर्मचारी, खेलाडी, राजनीतिज्ञको पुस्तक आउने क्रम ह्वात्तै बढेको छ । अधिकांश पुस्तक पढ्दा लेखकको रुपमा उनीहरुनै देखिन्छन् । पुस्तक पढ्दा यस्तो लाग्छ, यी सबै सिद्धहस्त लेखक हुन् ।

पुस्तकमा समेट्न लायक अनुभव भएका तर आफैँ लेख्न नसक्नेहरुले लेखनमा दक्ष रहेकाहरुसँग सह–लेखकको रुपमा सहकार्य गर्ने प्रचलन सामान्य नै हो । तर नेपालमा प्रकाशित यस्ता अधिकांश पुस्तकमा सहलेखक हराउँछन् । जसबारे लेखिएको हो, लेखकको रुपमा ऊ एक्लै उभिएको हुन्छ ।
शुक्रवारको खोजमा ‘गोस्ट राइटिङ’ भएका केही पुस्तकको सूची फेला पर्यो । 

लेखकको रुपमा दरिएका लेखक पर्यटन व्यवसायी कर्ण शाक्यका अधिकांश पुस्तकमा लेखकको रुपमा उनकै नाम छ तर उनको पुस्तक लेखनमा पूर्व पत्रकार एवं गोष्ट राइटिङ नेपालका सञ्चालक कमल ढकालले लेखेको भन्नेहरु प्रशस्तै भेटिए । 

साहित्यकारको रुपमा दरिएका व्यवसायी वसन्त चौधरीलाई कविता फुराउन राजेन्द्र शलभ र रमण घिमिरेको ‘कला’ले काम गरेको बताउनेहरु पनि भेटिए ।

कलाकार मदनकृष्ण श्रेष्ठको पुस्तक ‘महको म’मा पत्रकार जनकराज सापकोटाले धेरै औँला खियाए तर श्रेष्ठले सापकोटालाई सह–लेखकको क्रेडिट दिन कञ्जुस्याइँ गर्दै एकल लेखक बने । उनले जनकलाई धन्यवाद दिएर टारे । 

चार वर्षदेखि गोस्ट राइटिङ नेपालसँग आबद्ध लेखक तथा पूर्व पत्रकार कुशुम भट्टराई आफैँ २० जनाको जीवनी लेखिदिएको स्वीकार गर्छन् । उनले लेखेका सबै पुस्तकमा जसको जीवनी हो लेखकको रुपमा उनैको नाम छ । कति पुस्तकमा त सम्पादनमा सघाएको भनेर क्रेडिटसमेत पाएनन् उनले । 

गोस्ट राइटरको रुपमा सक्रिय अन्य लेखक पनि नभएका हैनन् । प्रशस्तै छन् । पछिल्लो समय केही रकम लिएर पर्दापछाडि बसेर नक्कली लेखक जन्माउन घोस्ट राइटिङ नेपाल नै सक्रिय छ । उसको आधिकारिक सूचीअनुसार यस बीचमा ३५ वटा पुस्तक निकालिसकेको छ, जसको वास्तविक लेखक अरु नै हुन् ।
यो संस्थाले आफ्नोबारे पुस्तक निकाल्न चाहनेसँग निश्चित पैसा लिन्छ र लेख्न चाहने लेखकको खोजी गरेर निश्चित रकम दिएर लेखाउँछ । पुस्तक लेखकको रुपमा जसका बारेमा लेखिएको हो, उसैको मात्र नाम हुन्छ ।

गोस्ट राइटिङ नेपालको सूचीमा रामहरि जोशीको ‘अँध्यारोबाट उज्यालोतिर’, प्रकाश उपाध्यायको ‘रेडियो जिन्दगी’, सुनिता दनुवारको ‘आँशुको शक्ति’,  राजेश्वर देवकोटाको ‘विद्रोही’, प्रदीप ज्ञवालीको ‘बिना सालिकका नायकहरु’, भरतमोहन अधिकारीको ‘सांसद्देखि संविधानसभा’ र ‘मेरो जीवन यात्रा’, डा. रामकृष्ण तिमल्सेनाको ‘अदालतभित्र, अदालत बाहिर’ छ ।
पुस्तक लेखाउन कति पैसा तिर्नुपर्छ त ?

घोस्ट राइटिङका संस्थापक ढकालले भने, ‘अँहँ, भन्द मिल्दैन । त्यो त मान्छे हेरेर हुन्छ ।’
‘कस्तो पुस्तक लेख्ने हो, त्यो लेख्न कति समय लाग्छ त्यसले पुस्तक लेखनको शुल्क निर्धारण हुन्छ,’ ढकालले शुक्रवारलाई भने । 

‘मित्थ्या आरोप’
हरिवंशको किताब लेखिदिएर उनैलाई लेखक बनाएको आरोप खेप्दै आएका लेखक न्यौपाने यो नचाहिने र मित्थ्या आरोप भएको दाबी गर्छन् ।

‘करोडौँ कस्तुरी’ उपन्यास ‘चिना हराएको मान्छे’को सिक्वेल भएको दाबीमा समेत उनी सहमत छैनन् । यी दुवै पुस्तक सँगै आउनु गलत भयो कि झैँ लाग्नेरहेछ उनलाई अहिले । 

‘मैले आचार्य दाइको पुस्तक सम्पादन मात्र गरेको हो, सबै आफैँले लेखिदिएको हैन,’ उनले भने, ‘हरि दाइले अमरले जोड, घटाउ, गुणन, भागा गरेको भन्ने कुरा पुस्तकमै लेख्नुभएकै छ ।’

पर्यटन व्यवसायी शाक्यको पूरै पुस्तक लेखिदिएर उनकै नाममा छापेको आरोप लागेका ढकालले पनि ‘सम्पादनमा, त्यो पनि एक पुस्तकमा मात्र सहयोग गरेको’ अनि ‘पुस्तक आफैँले लेखेको’ आरोप अस्वीकार गरे । 

‘मैले शाक्यको ‘म सक्छु’ भन्ने पुस्तकमा सम्पादनमा सहयोग गरेको हुँ,’ ढकालले भने, ‘पूरै लेखेको भन्नु गलत हो ।’

चौधरीको पुस्तक लेखिदिएर लेखक बनाएको आरोप लागेका राजेन्द्र शलभले दुःख मनाउ नै गरे । ‘वसन्तजी आफैँले लेख्नुहुन्न, अरुलाई लेखाएको भन्ने आरोप गलत हो,’ उनले भने । 
किन यो आरोप लाग्यो भन्नेमा उनले एउटा घटना सुनाए । 

‘म उहाँसँग काम गरेको बेलामा भाइ यो कविता हेरिदिनु न भन्नुभयो । म जान्ने भएर रिराइट गरेर दिएँ,’ उनले भने, ‘उहाँले त हेर्नेबित्तिकै भाइ म त यहाँ छैन नि भन्नुभयो । त्यसपछि मलाई ग्लानि महसुस भयो । मैले रिराइट गरेको च्यातेँ ।’ 

शलभले आफूले लेखिदिएको आरोप अस्वीकार गरे पनि यस्तो काम भने हुने गरेको स्वीकारे ।
‘सिर्जना पैसामा बेचिनु दुर्भाग्य हो,’ उनले भने, ‘प्रमाण नभई त म बोल्दिनँ तर नेपालमा यो प्रवृत्ति ज्यादा छ ।’

वसन्त चौधरीका लागि लेखिदिने लेखकको रुपमा पत्रकार तथा लेखक रमण घिमिरेको नामसमेत आयो तर घिमिरे यो आरोप स्वैर कल्पना मात्र भएको तर्क गरे । 
‘म उहाँसँग नजिक भएकाले यस्तो भनेका हुन्, उहाँ आफैँ राम्रो लेख्नुहुन्छ,’ घिमिरेले प्रश्न गरे, ‘उहाँले हिन्दी र उर्दुमा पनि लेख्नुहुन्छ, मलाई त्यो आउँछ र ?’

मदनकृष्णले हस्तलिखित दिएको र आफूले सम्पादन गरेको बताउँदै पत्रकार सापकोटाले भने, ‘बजारतिर यो हल्ला रहेछ । मदनकृष्ण श्रेष्ठ आफैँले कति धेरै सिरियलहरु लेख्नुभयो । उहाँ त शब्दशिल्पी र शैली राम्रो भएको मान्छे हो । स्ट्रक्चर मिलाउने काम मात्र दुवै सँगै बसेर गरेका हौँ ।’

अभ्यास सही हो त ?
लेखक खगेन्द्र संग्रौला विकसित मुलुकमा ठूलो पदमा पुगेको व्यक्तिकोे जीवनी लेखाउने प्रचलन भए पनि कसले लेखेको हो, सो उल्लेख गर्ने गरिएको बताए । 

‘व्यक्तिले बताउँछ, लेख्ने मान्छेले रेकर्ड गर्छ,’ उनले भने, ‘त्यसलाई ट्रान्सक्राइब गरिन्छ । सम्बन्धित व्यक्तिले त्यसलाई हेर्छ र पास भएपछि त्यो छापिन्छ । उनीहरुले इमानको साथ फलानोले भनेबमोजिम फलानोले लेखेको भनेर प्रकाशित गरेका हुन्छन्,’ संग्रौलाले भने, ‘ हाम्रोमा पूर्व जर्नेल, आइजिपी, प्रशासक, ठूला पदमा गएकाहरुको जीवनी लेखिन्छ । तिनीहरुले लेखक नामको कुनै कुल्ली भर्ती गर्छन् ।’
तर भट्टराई गोस्ट राइटिङ गर्नु राम्रो भएको दाबी गर्छन् ।

‘व्यस्त मान्छेहरु जो लेख्न भ्याउँदैनन् तर उनीहरुको जीवनी लेखिनुपर्छ, त्यस्तो गोस्ट राइटरमार्फत् लेखिनु राम्रो कुरा हो,’ भट्टराईले भने, ‘अमेरिकामा गोस्ट राइटरले नै बिल क्लिन्टन, हिलारी क्लिन्टन, डोनाल्ड ट्रम्प, मिसेल ओबामा लगायतले लेखेका थुप्रै पुस्तकहरु आएका छन् ।’

विकसित मुलुकमा व्यवसायी, कलाकार, नेताको आत्मकथा व्यावसायिक लेखककले लेखे पनि पुस्तकमा संयुक्त क्रेडिटसहित आएको हुन्छ । नेपालमा त्यो प्रचलनमा छैन । कथा वाचक नै लेखकको रुपमा आउँछन् ।

यसमा ढकालको तर्क छ, ‘गोस्ट राइटरले लेखेको भनेपछि लेखकको नाम लेखिरहनु पर्दैन ।’
लेखक न्यौपाने विशिष्ट व्यक्तिबारे गोस्ट राइटरमार्फत् पुस्तक आउनु जरुरी भएको बताउँछन् । 
‘कतिपय व्यक्तिको कथा आउन जरुरी हुन्छ,’ न्यौपानेले भने, ‘उनीहरुसँग शब्द शिल्प र शैली नहुन सक्छ, त्यो मिलाएर कसैले लेख्छ भने त्यो स्वाभाविक हो ।’

लेखक तथा पत्रकार रमण घिमिरेले पनि गोस्ट राइटिङ सामान्य भएको तर्क गर्दै भने, ‘जो व्यक्तिको कलम चल्दैन तर भावना छ, अथवा जोसँग जीवनको कथा छ, त्यो कसैले लेखिदिन्छ भने राम्रो हो ।’
लेखक शलभले भने यसबारे फरक धारणा राखे, ‘गोस्ट राइटिङमार्फत् पुस्तक आउनु राम्रो भए पनि यसले गर्दा वास्तविक लेखक ओझेल परेका छन् ।’

इतिहास बंग्याउने खेल 
पछिल्लो समय निस्किएको केही पुस्तक अति अविश्वसनीय भएको भन्दै आलोचना हुने गरेको छ । आफ्नाबारे बढी नै बढाइचढाइ गरिएको, तिलस्मी घटना उल्लेख गर्दै देशै मेरो साहसले बचेको जस्ता दाबीले भरिएका पुस्तकसमेत बजारमा आएका छन् र पुस्तक व्यापारमा विश्वास आर्जन गरेकै प्रकाशकले बिना हिच्किचाहट त्यस्ता पुस्तक छापेका छन् ।

अधिकांश यस्ता पुस्तक पात्रको इच्छामा लेखिन्छ । पुस्तक लेखाएबापत लेखकलाई मात्रै हैन, केहीले त प्रकाशकलाई समेत निश्चित रकम तिरेका हुन्छन् । त्यसैले उनीहरुको ध्यान तथ्यपरक पुस्तक भन्दा पनि आफ्नो गाथा गाउनमा बढी केन्द्रित हुन्छ ।

अस्वाभाविक र शंका लागेका घटना र विवरण क्रसचेक गरेर सच्याउने छूट लेख्नेलाई हुन्न । यस्तो अवस्थामा कतिपय लेखकले पुस्तक लेखनमा आफू संलग्न भएको उल्लेख गर्नसमेत हिच्किचाउँछन् । 
पात्र पनि आफैं लेखकको रुपमा आउने भएपछि मख्ख पर्छन् । यसले पुस्तकमार्फत् इतिहास दर्ज गराउने भन्दा पनि बंग्याउने काम धेरै भइरहेको देखिन्छ । 

गोस्ट राइटरमार्फत् पुस्तक आउनु सही भए पनि नेपालमा यसको अभ्यास भने गलत रुपमा भइरहेको घिमिरेको अनुभव रहेछ ।

‘गोस्ट राइटिङको हिसाबले जस्ता बायोग्राफी आइरहेको छन् ती वाहियात लाग्यो मलाई,’ घिमिरेले भने, ‘आत्मरतिमा रम्नको लागि लेखिएका छन् । मैले नै आकाश थामेको छु भन्ने विवरणले भरिएका छन् ती ।’
पत्रकार सापकोटाको अनुभवमा पनि पछिल्लो समय जबर्जस्ती कथा बनाएर र भए–नभएको कुरा लेख्ने प्रवृत्ति बढेको बताए । 

‘यहाँ भए–नभएको तथ्य बङ्ग्याउने काम भएको छ,’ सापकोटाले भने, ‘त्यो कालखण्डमा आफैँ प्रमुख भूमिकामा भए जसरी उल्लेख गर्ने चलन छ ।  मैले गर्दा नै व्यवस्था टिकेको भन्ने दाबीले भरिएका पुस्तक आइरहेका छन् । यो ट्रेन्ड गलत हो । यसले इतिहास नै बाङ्गिन्छ । भोलिको पुस्ता अलमलमा पर्छन् ।’


‘कुल्ली लेखकले दुषित बनाए’
खगेन्द्र सङ्ग्रौला
लेखक
गोस्ट राइटिङ प्रवृत्ति संसारभरि चलेको चलन हो । विकसित पुँजीवादी मुलुकमा ठूलो पदमा पुगेको व्यक्तिको जीवनी लेखाउने प्रचलन छ ।  व्यक्तिले बताउँछ । लेख्ने मान्छेले रेकर्ड गर्छ । त्यसलाई ट्रान्सक्राइब गरिन्छ । सम्बन्धित व्यक्तिले त्यसलाई हेर्छ र पास भएपछि त्यो छापिन्छ । उनीहरुले इमानको साथ फलानोले भनेबमोजिम फलानोले लेखेको भनेर प्रकाशित गरेका हुन्छन् । 

हाम्रोमा पूर्व जर्नेल, आइजिपी, प्रशासक, ठूला पदमा गएका, निरकुंश व्यवस्थाको संरक्षणमा लागेका पुराना जर्साब–कर्साबहरुको जीवनी लेखिन्छ । तिनीहरुले लेखक नामको कुनै कुल्ली भर्ती गर्छन् । कुल्ली किन भनेको भने सच्चा लेखक हो भने कसैको सबै अपराधको छोप लगाउँदैन । उसको सद्गुणहरुको ह्रास लगाउँदैन । उसको जीवनी बनाइदिन्छ । यो ठगी प्रवृत्ति हो । त्यो गर्ने लेखकको नामको कुल्ली लेखनदास हो । थोरै मात्र इमान, विवेक, बुद्धि भएकाले त्यसो गर्दैनन् ।

सबैमा लेख्ने कला हुँदैन । कुनै व्यक्तिले समाजका लागि असल काम गरेको छ भने उसको कथा सुनाउँदा भावि पुस्ता प्रेरित हुन्छन् भने लेख्नु राम्रो हो तर नेपालमा यस प्रकारको ढङ्ग पु¥याएको देखिँदैन ।
जसले लेख्न जान्दैनन् तर भावना छ भने लेखाइदिनु ठूलो कुरा भएन तर यहाँ त यसरी लेखाइन्छ कि मानौं यो भन्दा ठूलो कोही छैन । यो स्वस्थ प्रवृत्ति हैन । दलाली प्रवृत्ति हो । यो प्रकारको लेखाई कीर्ते हो । 
 

Leave A Comment