आत्मकथाले डुबायो अफ्रिदीलाई

शुक्रबार, २७ बैशाख २०७६, ०४ : ५४ शुक्रवार
आत्मकथाले डुबायो अफ्रिदीलाई

आत्मकथा सबैलाई फाप्दैन । कहिलेकाहीँ आफ्नो आत्मकथाले आफैँलाई संकटमा पारिदिन्छ । यस्तै भएको छ, पाकिस्तानका लिजेन्ड क्रिकेटर साहिद अफ्रिदीका लागि । उनले आफ्नो खेल जीवनमा आफ्नो जन्ममिति सन् १९८० लेखाउँदै आएका थिए । आत्मकथा ‘गेम चेन्जर’ मा भने उनले आफ्नो उमेर पाँच वर्ष बढी सन् १९७५ लेखे । 

यसले उनलाई विवादमा पार्ने पक्का भएको छ । अन्तर्राष्ट्रिय खेलमा डेब्यु गर्दा अफ्रिदीको उमेर १६ वर्ष मात्र रहेको थियो । उनको नाममा रेकर्डसमेत छ । उनको खुलासापछि उनको रेकर्ड धरापमा परेको छ । 
सन् १९९६ मा उनले जब कम बलमा छिटो शतक प्रहारको रेकर्ड राखेका थिए, सो खेलका क्रममा उनी १६ वर्षको नभई २१ वर्षको रहेको उनी आफैँले खुलासा गरे ।

अफ्रिदीले सन् १९९६ डेब्यु गर्दै एक दिवसीयमा मात्र ३७ बलमा शतक प्रहार गरेका थिए । हाल सो रेकर्ड दक्षिण अफ्रिकाका स्टार खेलाडी एबी डिभिलर्सको नाममा छ । उनले वेस्ट इन्डिजविरुद्ध ३० बलमा शतक प्रहार गर्दै अफ्रिदीको रेकर्ड भंग गरेका थिए ।

विवाद यत्तिमा अड्किने देखिन्न । जब अफ्रिदी यु–१९ राष्ट्रिय टिममा थिए, त्यो बेला उनको उमेर १९ वर्षको रहेको खुल्यो । अफ्रिदीले सन् २०१६ को विश्व टी ट्वान्टी क्रिकेट खेल्दै संन्यास लिएका थिए । संन्यासको समय ३६ वर्ष भनिए पनि अफ्रिदीको उमेर ४१ वर्ष रहेको उनैले खुलाएका छन् । 
उनको आत्मकथा बाहिरिएलगत्तै विवाद शुरु भएको छ । यस विषयमा उनले केही बोलेका छैनन् ।

Leave A Comment