अंश लिनु नै सम्बन्धविच्छेद हो ?

सोमबार, ३० बैशाख २०७६, ०९ : ०४ स्वीकृति बराल
अंश लिनु नै सम्बन्धविच्छेद हो ?

श्रीमान्ले चार वर्षअगाडि दोस्रो बिहे गरेर बच्चासमेत ३ वर्षको भइसक्यो । अब अंश लिएर छुट्टै बसेकी श्रीमतीले सम्बन्धविच्छेद गर्न पाइन्छ कि पाइँदैन ?

सम्बन्धविच्छेदको अर्थ कुनै पुरुष र महिलाबीच भएको वैवाहिक सम्बन्ध कायम नरहनु वा टुट्नु हो । पतिपत्नीबीच आपसी प्रेम र सद्भाव नभए वा पतिपत्नीले एक अर्कालाई सहयोग र संरक्षण नगरे वा पतिपत्नीले एक अर्कालाई इज्जत र क्षमताअनुसार खान लगाउन तथा स्वास्थ्योपचारको व्यवस्था नगरे सम्बन्धविच्छेद हुनसक्छ ।

साथै अन्य कुनै किसिमको मनमुटाव भए पति÷पत्नीलाई एक अर्काबाट छुट्कारा दिलाउनका लागि सम्बन्धविच्छेदसम्बन्धी व्यवस्था मुलुकी देवानी (संहिता) ऐन २०७४ मा गरिएको छ । 
विवाह र सम्बन्धविच्छेद दुवैबारे कानुनी व्यवस्था छ । के कसो गर्दा विवाह भएको मानिन्छ र के कति कारण पर्यो भने सम्बन्धविच्छेद गर्न पाइन्छ भन्ने कानुनमा स्पष्ट उल्लेख छ ।

विवाह, सम्बन्धविच्छेद अथवा अरु जेसुकै कुरा होस् होस पुर्याएर कानुन संगत तरिकाले गरियो भने राम्रो हुन्छ । प्रश्नमा अंश लिएर छुट्टै बसेको कुरा उल्लेख गरिएको छ तर श्रीमान्ले अंश लिनु अगाडि दोस्रो विवाह गरेका हुन् वा पछि गरेका हुन् सो प्रश्नमा स्पष्ट छैन । 

अंश लिई छुट्टि सकेको अवस्थामा श्रीमान् दोस्रो बिहे गर्नका लागि कानुनी रुपमा स्वतन्त्र हुुन्छन् र श्रीमान्ले पनि अंश लिइसकेको हुनाले दोस्रो बिहे गर्न र सम्बन्धविच्छेद गर्न इच्छुक भएको खण्डमा कानुनी रुपमा स्वतन्त्र हुन्छन् । 

यदि कुनै श्रीमती अर्कोसँग विवाह गरेर गइन् भने यस्तो अवस्थामा त्यस्ती महिलाको पहिलो विवाह स्वतः बदर हुन्छ तर यदि कुनै पुरुषले श्रीमती हुँदाहुँदै दोस्रो बिहे गर्यो भने त्यस्तो विवाह बहुविवाह मानिन्छ र उजुरी परेको खण्डमा कानुनले तोकेबमोजिम सजाय पनि हुन्छ । 

श्रीमती अर्कैसँग विवाह गरेर गएमा श्रीमान्ले श्रीमतीलाई अंश दिनु पर्दैन तर श्रीमान्ले अर्को विवाह गरेको खण्डमा श्रीमतीले माग गरे श्रीमान्ले श्रीमतीलाई अंश दिनुपर्ने व्यवस्था कानुनमा छ ।
सम्बन्धविच्छेद विवाहपछि विभिन्न कारणले गर्दा उब्जने समस्या हो । सम्बन्धविच्छेद समस्या हो भने आफैँमा विभिन्न समस्याहरुको हल पनि हो । त्यसैले कानुनमा यसलाई स्थान दिइएको छ । 

स्वतन्त्र भएर बाँच्नु, इज्जतका साथ बाँच्नु, खुसी भएर बाँच्नु सबैको अधिकार हो । यदि यी अधिकार विवाह भएकै कारण टाढिएका छन् भने सम्बन्धविच्छेद कानुनले दिएको उपचार हो । अझै महिलाको हकमा हेर्ने हो भने पतिबाट  मानाचामल अथवा अंश दिलाएर कानुनले क्षतिपुर्तिको पनि व्यवस्था गरेको पाइन्छ ।

श्रीमान्सँग अंश लिएको तर सम्बन्धविच्छेद नगरेको अवस्थामा श्रीमतीप्रति श्रीमान्को कुनै उत्तरदायित्व रहँदैन । अंश लिनु तर  सम्बन्धविच्छेद नगर्नु श्रीमतीकोे निजी इच्छा हो जुन उनले जहिले चाह्यो तोड्न सक्छिन् । 

मुलुकी देवानी (संहिता) ऐन, २०७४ को परिच्छेद ३ को दफा ९५ ले पतिले अर्को बिहे गरेमा पतिको मन्जुरी नभए पनि सम्बन्धविच्छेद गर्न सकिने व्यवस्था गरेको छ । यस हिसाबले पनि पत्नीले पतिसँग सम्बन्धविच्छेद गर्न पाउने कुरा स्पष्ट भएको छ  । पतिसँग कुरा नमिलेको अवस्थामा अंश लिएर छुट्टै बस्ने हो कि सम्बन्धविच्छेद नै गर्ने हो यो पत्नीको  आफ्नो छनोटको विषय हो । 

त्यसैले श्रीमतीले सजिलैसँग श्रीमान्सँग सम्बन्धविच्छेद गर्न सक्छिन् । यसका लागि श्रीमतीले जिल्ला अदालतमा निवेदन गर्नुपर्ने हुन्छ । 
 

Leave A Comment