आक्रोशको युग

बिहिबार, ०२ जेठ २०७६, ०४ : ३१ शुक्रवार
आक्रोशको युग

‘पख्नुस्, तपाईं बढ्ता बोल्दै हुनुहुन्छ ।’
अब यसको दोस्रो श्रृखंला
‘तपाई जान सक्नुहुन्छ ।’

फरक–फरक प्रशंगमा भाइरल भएका यी दुबै अभिब्यक्ति रिस र आक्रोशको समिश्रण हुन् । 
सुरुमा रिस र आक्रोशका बारेमा बुझ्नुस् र नबुझी अघि नबढ्नुस् ।

मानव विकास क्रममा आक्रोशको ठूलो महत्व छ । यसले हामीलाई खतरासँग लड्ने, स्रोतका लागि झगडा गर्ने, सामाजिक मूल्यमान्यता स्थापित गर्ने स्वभाव दिएको छ । जब हामीले चाहेको पूरा हुन्छ, आक्रोश शान्त हुन्छ । यसले हामीलाई ‘पुरस्कार’ पाएजत्तिकै महसुस गराउँछ । मनमा सन्तोष उत्पन्न हुन्छ । यो कामका लागि ‘अमिगडला’ भन्ने सानो बदाम आकारको मस्तिष्क क्षेत्र सक्रिय हुन्छ ।

हाम्रो शरीरमा भएको ‘एड्रिनालिन’ र ‘टेस्टोस्टेरोन’जस्ता हार्मोनका कारण हामीलाई रिस उठ्छ र आक्रामक बनाउँछ । मस्तिष्कको ‘प्रि–फ्रन्टल एरिया’ले रिसलाई सामाजिक रुपमा स्वीकार्य तरिकाले प्रस्तुत गर्न लगाउँछ ।

रिसले हामीलाई एकातिर बहादुर बनाउँछ भने अर्कोतर्फ लापरवाही पनि । रिस उठ्दा नकारात्मक सोच बढी आउँछ । यसले अरुलाई मभन्दा फरक वा ‘बाहिरिया’ हो भन्ने पूर्वाग्रह बढाउँछ । यस्तोमा उसको नकारात्मक पक्ष कोट्याउने र दोष देखाउने प्रवृत्ति हलक्क बढ्छ । रिसाहा मानिसले अरुलाई नै बढी दोष देखाउँछ भन्ने अध्ययनले देखाएको छ । यस्तोमा मानिस विवेकहीन पनि बन्न सक्छ ।

रिसका यी विविध आयामबारे लरिसा टाइडेन्सले अध्ययन गरेर निकालेको पुस्तक ‘फिलिङ लो एन्ड फिलिङ हाईः असोसिएसन्स बिटविन सोसल स्टाटस एन्ड इमोसन्स’मा यिनै कुरालाई व्याख्या गरेकी छन् ।

आक्रोशको माध्यम मिडिया
नेपालमा हिजोआज पत्रकारितामा भाइरल मानसिकता गहिरिएको छ । भाइरल हुने लोभमा युट्युबका ट्रेन्डिङ र विद्वत् हुने नाममा हुर्मत लिने गरी लिइने अन्तरवार्ताका कारण पत्रकारिता एउटा गम्भीर ठट्टा बन्न पुगेको छ । यहाँ कसले कसलाई बढी ख्याँस्न सक्छ, अप्ठेरोमा पारेर नीलोकालो बनाउँदै स्टुडियोबाट निकाल्न सक्छ, ऊ नै ठूलो पत्रकार हो भन्ने मानसिकताले घर गर्न थालेको छ ।

एक्कैछिन सोच्नुस् त, राजनीति आफैँमा कत्तिको सम्मानजनक छ ? देशको राजनीति बिल्कुलै ठीक ठाउँमा छैन । अद्भूत बहुमत ल्याएको सरकार यति ‘निम्छरो’ भएको छ कि आलोचना सहनै नसक्ने अवस्थामा पुगेको छ । देखाउन मिल्ने प्रगति देखाउन सकेको छैन । सर्वसाधारणको महŒवाकांक्षा चुल्याएको छ र सो अनुसारको गतिमा काम हुन सकेको छैन । यस्तोमा नेपाली जनता ‘चकित’ छन्, हैन यो सरकार के गरिरहेको छ ? सुविधाजनक बहुमत भए पनि किन सोचेजस्तो काम गर्न सकेको छैन ?

सर्वसाधारणको यही भावना टेलिभिजनमा प्रस्तुत भएको हो । प्रस्तोताले जनताकै प्रश्न उनीहरुले सोधेका हुन् तर नेताले जनताले चाहेजस्तो दुई तुकमा जवाफ दिन सकेका छैनन् । कारण, राजनीतिकर्मी र मन्त्री आफ्नो उत्तरदायित्व वहनमा व्यस्त छैनन् । उनीहरु अरु नै काममा व्यस्त छन् ।

त्यसैले उनीहरु कुरा चपाएर बोलिरहेका छन् । यस्तोमा पत्रकारले पनि कडा शब्दमा उनीहरुबाट कुरा निकाल्नु परिरहेको छ । शान्त मुद्राले सोधिएका प्रश्न, मुस्कान र व्यङ्ग्यले काम गरिरहेको छैन । आलोचना र आक्रोशबिना कुनै पनि काम हुन छाडेका छन् । यस्तो अवस्थामा पत्रकारले पनि त्यही बाटो अँगालेका छन् । उनीहरुले पर्दाबाट आक्रोशको आगो ओकलिरहेका छन् ।

जस्ता गुरु, त्यस्तै चेला
नेपाली पत्रकारितामा विजयकुमार, इन्द्र लोहनी, रवीन्द्र मिश्र, ऋषि धमला र रवि लामिछाने एउटा मानक बनाउने व्यक्तिमध्येमा पर्छन् । यिनको खरो प्रश्नका कारण चाँडै नै सर्वसाधारणमाझ उनीहरु लोकप्रिय मात्र भएनन्, ठूलो संख्यामा प्रशंसक पनि बटुले । यिनीहरु पत्रकारभन्दा बढी न्यायाधीश बन्न थाले । प्रश्न सोध्नुभन्दा उत्तर आफैँ दिने प्रवृत्ति मौलाएर जान थाल्यो । खुल्लामञ्चमा घुमाएर नाँकको डाँडी भाच्नुपर्ने भन्दा पनि वाहवाही भयो ।

जसले बढी चर्का कुरा गर्यो, उही ठूलो पत्रकार भन्ने मानक स्थापित भयो । ‘जनता जान्न चाहन्छन्’ भन्ने आवरणमा नेताको इज्जत, तिनको मान र अहंलाई नै खुइल्याउने यो उपक्रम, त्यसै लोकप्रिय भएको पनि होइन ।

सर्वसाधारणमा ‘ठूला मान्छे’ प्रति यति धेरै क्रोध जन्मिएको छ कि तिनलाई खिस्याएर प्रश्न गर्दा दर्शकले आफ्नो मनको कुरा राखिदिएको ठानेर तिनलाई ‘ठूलो पत्रकार’ बनाइदिए । यही कारण दशैँका बेलामा टीका थाप्न गएका पत्रकारलाई बूढापाकाले उनीहरुजस्तै नाम कमाउनू भन्ने सम्मका आशीष पाउन थाले । ‘जनतासँग’ भन्ने कार्यक्रमको शैली पनि यो भन्दा फरक रहेन ।

पत्रकारितामा शिष्टता, शालिनता, बुद्धिमता र ‘कमनसेन्स’ क्रमशः घाँस चर्न गयो र त्यसको साटो आक्रोश, अशिष्टता र होच्याउने प्रवृत्ति हलक्क बढ्न थाल्यो । अहिलेका नयाँ पुस्ताले पनि त्यही कुराको नक्कल गरेका हुन् । 

राजनीति र पत्रकार दुवैले आफ्नो ठाउँ छोडिसकेको धेरै भइसकेको थियो, त्यो अहिले आएर छर्लङ्ग देखिएको मात्र हो । टेलिभिजनका पर्दामा देखिएका आक्रोश, भनाभन र अभद्रता त्यही विवेकहीनताको प्रदर्शन हो ।

समयको दोष
अहिलेको समय ‘इन्स्ट्यान्ट’ ज्ञान, कर्म र कर्ताको छ । हाम्रो औँलामा सम्पूर्ण ज्ञान लुकेको छ, गुगलमा । हामीलाई सबैथोकको जानकारी छ, कसरी र के गर्ने भन्ने त्यो चाहिँ थाहा छैन । समाज यही दुविधाको जञ्जालमा फँसेको छ । र, त्यो रिस मेट्ने माध्यम हातहातैका सामाजिक सञ्जाल बन्न पुगेका छन् ।

आजको अहिल्यै हामीलाई सबैथोक चाहिने समय भएकाले पर्खने हुति, मति र गति कसैको पनि छैन ।
समग्रमा हामी यतिबेला लेखक पंकज मिश्रले भनेजस्तो ‘एज अफ एङ्गर’ अर्थात् आक्रोशको युगमा बाँचिरहेका छौँ । प्रभावशाली जर्मन सोसलजिस्ट कार्ल मेनह्यामले सन् १९२२ मै भनेका थिए, ‘सर्वत्र सर्वसाधारण मसिहालाई खोजिरहेका छन् र हरकोही आफूलाई ईश्वरको दूत प्रमाणित गर्न लागिपरेका छन् ।’
ठीक दुई वर्षअघि पूर्व प्रधानमन्त्री माधव नेपालले सरकारको कार्यशैलीमाथि व्यङ्ग्य गर्दै एउटा गीतको सहारा लिँदै भनेका थिए, ‘... म यो भिडमा मान्छे खोजिरहेको छु ।’

जवाफमा प्रधानमन्त्री केपी ओलीले भनेका थिए, ‘मान्छे भिडमा खोज्नै पर्दैन । म त मेरो अगाडि पनि मान्छे देखिरहेको छुु, पछाडि पनि । दायाँ–बायाँ सबै मान्छे नै मान्छे देखिरहेको छु । तर देखिरहेको मान्छेले नै आफूले गर्ने काम गर्दैन भने हाम्रो के लाग्छ !’

काम अह्राएको मान्छेले काम गर्दैन भने मैले के गर्ने भन्नेजस्तो शब्द जब प्रधानमन्त्रीको मुखारबिन्दुबाट निस्कन्छ, त्यहाँ धेरै आशा गर्ने ठाउँ रहँदैन । सर्वसाधारणको मति जहिले पनि मसिहा खोज्ने हुन्छ, उनीहरुलाई हिरो चाहिन्छ । त्यही हिरोको खोजीका कारण उनीहरुले नेतालाई जिताउने हो, आफ्ना आकांक्षा पूरा गरुन् भनेर ।

अति नकारात्मकताले डुबायो
सर्वसाधारणले हिरो खोजे, तिनलाई जिताएर संसद् र सरकारमा पनि पठाए तर यी हिरो ग्रिसेली ट्र्याजेडीका नायकजस्ता बन्न पुगेका छन् । सबथोक पाएर पनि गुमाएका हिरोजस्तो । 

सोचेजस्तो काम हुन सकेको छैन, यो पक्का हो । यस्तोमा सर्वत्र यिनको आलोचना बढेको छ । यस्तोमा नायकहरुमा संयमता आवश्यक थियो तर हरुवा सेनापतिको हताश मानसिकता प्रकट भइरहेको छ, हरेक ठाउँमा । चाहे त्यो सरकार होस् या सरकारलाई सघाउने कर्मचारीतन्त्र ।

पद ओगट्ने, काम टार्ने तर कुनै परिणाममुखी निर्णय गर्न डराउने सेक्सपेरियन नायक म्याकबेथजस्तो नियति सरकारले बेहोरिरहेको छ । र, यस्तो अनिर्णयको बन्दीले सर्वसाधारणलाई क्रुद्ध बनाइरहेको छ । यसले हाम्रो समाजका नायकलाई पतनोन्मुख बनाएको छ । अझै पनि यिनले नचेत्ने हो भने समयले यिनलाई कुन खाडलमा कोच्ने हो, रमिता मात्र हेर्न सकिन्छ, भविष्यवाणी गर्न सकिँदैन ।
 

Leave A Comment