अभिनयबारे साेध्दा बिच्किए पल शाह

बिहिबार, ०२ जेठ २०७६, ०६ : ०३ रीना माेक्तान
अभिनयबारे साेध्दा बिच्किए पल शाह

प्रदर्शनको तयारीमा रहेको फिल्म ‘वीर विक्रम २’ को प्रमोसनमा व्यस्त अभिनेता पल शाहसँग अघिल्लो साता काठमाडौं, स्टार मलस्थित एक क्याफेमा अचानक भेट भयो । भेटघाटका क्रममा  उनीसँग शुक्रवारकर्मी रीना मोक्तानले गरेको ‘अन द स्पट’ कुराकानीः 

सञ्चै हुनुहुन्छ ? 
हजुर, म ठीकै छु ।  

१४ महिनाको ग्यापपछि फिल्म गर्नुभयो, कारण के होला ? 
अफर आएको फिल्ममा मैले चाहेको कन्टेन्ट थिएन । राम्रो टिम थिएन । ती फिल्म गरेको भए त्यसको व्यापार खत्तम नै हुन्थ्यो । त्यसैले गरिनँ । जुन पाए त्यही ब्यानरको फिल्म गर्नु पनि त भएन ! बीचमा मलाई फिल्म खेलाउन २० देखि २५ लाखसम्म पारिश्रमिक दिने निर्माताहरु पनि आए । त्यतिखेर पनि मैले पैसा भन्दा कन्टेन्ट नै हेरेँ । 

अहिले इन्डस्ट्री उठिरहेको पारिश्रमिकको चर्चा त ‘हल्ला मात्रै हो’ भन्छन् नि ?  
मैले ‘हृदयभरि’को लागि १९ लाख र एड्भान्सको १ लाख गरेर २० लाख पाएँ । पहिलो फिल्मबाट २ लाख ७५ हजार लिएँ । सम्झौता पत्र पनि छ मसँग । ‘शत्रुगते’मा ८ लाख लिएँ । अरुको देखावटी हो कि के हो मलाई थाहा  भएन । मैले यति नै लिने गरेको छु । 

२० लाख पारिश्रमिक पाउँछु भन्ने कहिल्यै सोच्नुभएको थियो ?  
थिएन । मलाई त म्युजिक भिडियोमा काम गर्नु थियो । काम गर्दै जाँदा पारिश्रमिक बढ्दै गयो । खुशी नै छु । 

म्युजिक भिडियोमा रुचाएका दर्शक फिल्मको अभिनयबाट सन्तुष्ट छन् त ? 
मेरो विचारमा उनीहरु खुशी छन् । फिल्म हेर्न, ७० प्रतिशत भिडियोबाट फ्यान बन्नुभएका मेरै दर्शक आउनुहुन्छ । त्यही भएर म अभिनयमा मिहिनेत गर्दैछु । मैले दर्शकलाई निराश बनाएको छैन । 

अभिनयमा मिहिनेत गर्नुपर्ने समीक्षा पनि आइरहेका छन् नि ? 
(रिसाएको भावमा) तपाईंको प्रश्न त बच्चाको जस्तो भयो किनभने मेरो पहिलो भिडियोमै अभिनय त थियो नि, होइन र ? निखारता ल्याउनुमा प्रश्न गर्नु न बरु । अभिनय नै नगरेको भए, म यहाँसम्म कसरी आउँथे । यो प्रश्न नै गलत छ । (त्यसपछि उनी यो प्रश्नमाथि धेरै बहस गर्न चाहेनन्) 

के अब अभिनयमा निखारता ल्याउनुहुन्छ त ?
तपाईं बोलेको पनि अभिनय नै हो । अभिनयमा पनि निखारता हुन्छ । म अभिनय सिक्दैछु । पहिलो फिल्मदेखि अहिलेसम्म कति निखारेँ, त्यो हेर्नुस् (रिसको भावमा)। अभिनयको रेटिङ हुन्छ । सायद मेरो एक्टिङलाई १–२ रेटिङ दिन मिल्ला कि ! 

संघर्षका दिनलाई अहिले कसरी सम्झनुहुन्छ ? 
स्ट्रगलका दिनमा ५ हजारको कोठाभाडा तिर्न गाह्रो हुन्थ्यो । अहिले २५ हजार तिर्छु । सम्झँदा रमाइलो लाग्छ । तर संघर्ष त अहिले पनि जारी नै छ । 

कसरी बन्नु भयो कलाकार ?
म एक्सिडेन्टली बनेको कलाकार हुँ । यत्तिकै काठमाडौँ आइयो । एक्सिडेन्टली भिडियो एडिटर बनेँ । एक्सिडेन्टली मोडल बनेँ । सबै कुरा एक्कासि भयो । 

अब एक्सिडेन्टली निर्देशक त बन्ने होइन नि ? 
म्युजिक भिडियोको निर्देशक त बनिसकेँ । फिल्मको निर्देशक पनि हुन्छु होला ! यो ठूलो कुरा होइन । 

फिल्म नचल्दा कत्तिको प्रभाव पार्छ ? 
फिल्म चलेन भने मलाई त प्रभाव पार्छ,  अरुलाई थाहा भएन । 
 

Leave A Comment