फिल्मकर्मीका ‘दादागिरी’: पैसा तिर्दैनन् प्राविधिकलाई

शुक्रबार, ०३ जेठ २०७६, ०७ : ४५ रीना माेक्तान
फिल्मकर्मीका ‘दादागिरी’: पैसा तिर्दैनन् प्राविधिकलाई

निर्माण पक्षको दाबी पत्याउने हो भने ‘ऐ मेरो हजुर ३’ ले लगानीभन्दा बढी कमाइसक्यो । निर्माण पक्षले फिल्म रिलिज हुनुभन्दा अगाडि दाबी गरेको लगानी ३ करोड हो ।

यही फिल्मबाट डेब्यु गरेकी सुहाना थापाको जन्मदिन पारेर निर्माण पक्षले फाइभ स्टार होटल अन्नपूर्णमा फिल्मको भव्य सक्सेस पार्टीसमेत आयोजना गरेकाले फिल्मले ३ करोड त कमाएकै देखियो ।
फिल्मले त कमायो तर त्यही फिल्ममा काम गरेका प्राविधिकले भने अहिलेसम्म काम गरेको न्यून पारिश्रमिकसमेत छैनन् । 

‘ए मेरो हजुर ३’का सबैलाई फिल्म सुटिङ अवधिभर खाना खुवाएका कुक गणेश सापकोटाले फिल्म निर्माताबाट ६० हजार रुपैयाँ पाएका छैनन् । उनले प्रतिदिन ५ सय जनासम्मलाई खाना खुवाएका थिए । 
त्यत्रो मिहिनेत गरे पनि निर्माण पक्षले पैसा दिनुको साटो राम्रो रेस्पोन्ससमेत नगरेपछि अहिले उनी पैसा उठाउन प्राविधिक संघमा उजुरी बोकेर पुगेका छन् ।

समीक्षक र दर्शकबाट राम्रो रेस्पोन्स नपाए पनि फिल्म निर्माताको दाबीअनुसार ‘क्याप्टेन’ले लगानी भने उठायो । निर्माण पक्षको दावी पत्याउने हो भने यसमा करोड बढी लगानी भएको थियो । निर्माताको दाबीअनुसार यसको पनि लगानी उठ्यो । 

तर यसका प्राविधिकले पनि पारिश्रमिक पाएका छैनन् । भिएफएक्सको काम गर्ने प्राविधिक श्रीकृष्ण श्रेष्ठ, समीर मिया, सत्यम राना र मधुकर बलामीले निर्माता भुवन केसीबाट अझै ५ लाख ५० हजार पाउन बाँकी छ ।

फिल्म निर्माताहरुले प्राविधिकलाई काम गरेको पैसासमेत नदिएको देखिएपछि उनीहरुको छाता संगठन प्राविधिक संघसँग जानकारी लिँदा यो समस्या एक वा दुई फिल्मको मात्रै देखिएन । काम लगाएर पैसा नदिने निर्माताविरुद्ध संघमा निवेदनकोे चाङ नै रहेको पाइयो । 

संघका अध्यक्ष पुष्कर लामाका अनुसार ‘ए मेरो हजुर ३’ भन्दा अगाडिको ‘ए मेरो हजुर २’, ‘नालापानी’, ‘काउसो’, ‘भो माया लाउँदिन’, क्याप्टेन, ‘बम काजी’, ‘लाहुरे’ले पनि प्राविधिकहरुलाई पैसा दिएका छैनन् ।
प्राविधिक संघका अध्यक्ष लामासँग निर्माताले दिएको हैरानीको फेहरिस्त लामै रहेछ । शुक्रवारसँग उनले प्राविधिकको पारिश्रमिक उठाउँदाको हैरानी यसरी खोलेः

‘लभ स्टेसन’ र भुवन केसीका फिल्मका प्राविधिकलाई बैठक गराएपछि पारिश्रमिक दिने वातावरण बनेको थियो । ‘कस्मिक लभ’का प्राविधिक र निर्माताबीच बैठक गराएँ । पैसा दिन्छु भनेर निर्माता एक हप्ता गायब भए । पछि श्रम कार्यालयले पत्र काटेपछि मात्र उनी सम्पर्कमा आए ।’ 
उनको अनुभवमा कति निर्माता पैसा दिन्छु भन्छन् तर सम्पर्कमै आउँदैनन् । 

‘समयमा पैसा नपाउँदा प्राविधिकहरु अप्ठेरोमा पर्छन्,’ उनले भने, ‘आवश्यक पर्दा पैसा नपाए, केका लागि काम गर्ने ? हामी प्राविधिक हेपिएका नै हौँ । निर्माताहरु यस विषयमा गम्भीर हुनुपर्यो ।’

निर्माताका गफै ठूला
प्राविधिकहरुको अवस्था यस्तो छ तर फिल्म निर्माता तथा निर्देशकको दाबी हेर्ने हो भने यो भन्दा भिन्न देखिन्छ । सार्वजनिक मञ्चमा उनीहरुले गर्ने भाषणको त के कुरा भयो र ! बोलीमा प्राविधिकको उद्धारकर्ता नै उनीहरुझैँ देखिन्छन् । जबकि उनले ‘ए मेरो हजुर २’ बनाएको दुई वर्षपछि मात्र नयाँ फिल्म बनाएकी हुन् ।

केही समय अगाडि ‘ए मेरो हजुर ३’ की निर्देशक झरना थापाले प्राविधिकको चिन्ता गर्दै भनिन्, ‘मैले फिल्म बनाउन छोडेँ भने कति प्राविधिकले काम पाउँदैनन् । मेरो पछाडि सयौं प्राविधिक, कलाकार छन् । हामीले उनीहरुलाई काम दिएका छौं । फिल्म बन्न छोड्यो भने प्राविधिक पनि विदेश नै जानुपर्ने अवस्थामा छ ।’
अब उनकै ब्यानर सुहाना इन्टरटेन्मेन्टले प्राविधिकहरुलाई दिएको थप पीडाका घटना उल्लेख गरौं ।
दुई वर्षअघि रिलिज भएको झरनाको ‘ए मेरो हजुर २’ मा काम गरेका प्राविधिकले अहिलेसम्म पारिश्रमिक पाएका छैनन् ।

‘ए मेरो हजुर २’मा ड्रोन चलाएका हरि तिवारीले फिल्म निर्माण पक्षसँग अझै १० हजार पाउन बाँकी छ । उनको दाबीअनुसार पाउनुपर्ने रकम त ३० हजार नै थियो तर १० हजार दिने आश्वासन पाएपछि उनले २० हजार माया मारेर त्यसैमा चित्त बुझाउन खोजे । तर त्यो पैसा पनि अझै पाएका छैनन् । 
‘ड्रोन सुटको ३० हजार पाउनुपर्ने हो,’ उनले भने ‘त्यो पनि दिएनन् । १० हजार भए पनि लिउँ भनेको त्यो पैसा पनि कहिले पाइने हो, थाहा छैन ।’

उनले प्रोडक्सन म्यानेजर सुवास काफ्लेसँग पैसा माग्दा पैसाको साटो गाली पो पाएछन् !
‘सुवासले अश्लील शब्द प्रयोग गरेर गाली मात्र गरेनन्, मेरो एक मात्र आम्दानीको स्रोत ड्रोन नै बिगारिदिने धम्की पनि दिए,’ उनले भने, ‘पैसा पाउँला भनेको धम्की पो पाएँ !’ 

अर्का पनि प्राविधिक भेटिए जसले ‘ए मेरो हजुर २’बाट अझै पैसा पाएका रहेनछन् । उनी हुन्, विष्णु कल्पित । 

कल्पितले बेलाबेलामा सामाजिक सञ्जाल फेसबुकमा काम लगाउने तर पैसा नदिने फिल्म निर्मातालाई कटाक्ष गर्दै स्टाटस लेखिरहन्थे । त्यो टिम यही ‘ए मेरो हजुर’ बनाउने सुहाना इन्टरटेन्मेन्ट रहेछ ।
कल्पितका अनुसार ‘ए मेरो हजुर २’को सुटिङमा उनको कम्पनीको जेनेरेटर प्रयोग गरिएको थियो । त्यस बापतको ३५ हजार उनले अहिलेसम्म पाएका छैनन् । 

‘मेरो त सिधै निर्देशक झरनासँग कुरा भएको थियो,’ उनले कुरा खुलाउँदै भने, ‘झरनाले नै विष्णु भाइ जेनेरेटर मिलाई दिनु भन्नु भएको थियो । पछि पैसा माग्दा, ए सुनीलले अझै दिएको छैन भनेर फोन काटिदिनुभयो ।’ 

कल्पितलाई छायाँकनको समयमा झरनाले ड्रोन चलाइदिन अनुरोध गरेपछि उनी ‘वेशी शहर’ पनि पुगेका रहेछन् तर त्यता पुगेपछि उनलाई कसैले सम्पर्क नै गरेनन् । होटलमा बस्दा सात हजार खर्च भयो । उनी रित्तै काठमाडौं फर्कनु पर्यो । 

‘भोलिपल्ट १२ बजेसम्म फोन कुरेँ,’ कल्पितले भने, ‘फोन नउठेपछि म फर्कें । त्यो बेलाको होटल खर्च त अझै जोडेकै छैन ।’

‘ए मेरो हजुर ३’का निर्माता सुनीलकुमार थापा हुन्, झरनाका पति पनि । फिल्ममा काम गरेको पैसा नदिएकोबारे सुनीलसँग जिज्ञासा राख्दा उनले गणेश सापकोटा र हरि तिवारीलाई चिन्दिन भने ।
प्राविधिकको जिम्मा पाएका प्रोडक्सन म्यानेजरले मात्र अन्यलाई चिन्ने भन्दै उनी पन्छिन खोजे । 
‘उनीहरु त हाम्रो फिल्मका प्राविधिक नै होइनन्,’ सुनीलले भने, ‘हाम्रो फिल्ममा गणेश सापकोटा र हरि तिवारी भन्ने कुनै प्राविधिक हुनुहुन्न जस्तो लाग्छ । यो विषय हाम्रो प्रोडक्सनले हेर्ने हो । दुवै जनाले हामीसँग सम्झौता गरेका छैनन् ।’

तर गणेशले भान्छा सम्हाल्छन् भन्नेबारे भने सुनील जानकार रहेछन् । कुराकानीमा भने, ‘खाना पकाउने हैन त ?’

तर, उनले ‘ए मेरो हजुर ३’को भन्छा सम्हाल्ने जिम्मा हरि लामालाई दिएको र उनलाई हरिले काममा लगाएको हुनसक्ने बताउँदै आफूहरुले किचन डिपार्टमेन्टलाई दिनुपर्ने पैसा दिइसकेको दाबी गरे । 
‘ए मेरो हजुर २’ मा ड्रोन चलाएका हरिलाई त उनले चिन्दै चिनेनन् । यसको तेस्रो सिक्वेलमा सुनील आफैंले ड्रोन चलाएका थिए । 

हरिलाई अझै पनि ‘ए मेरो हजुर २’को पारिश्रमिक पाउने आशा छ । यता निर्माण पक्ष भने पारिश्रमिक दिने मुडमा देखिएको छैन । 

निर्माता सुनीलकुमार थापा प्रोडक्सनलाई सबै रकम बुझाइसकेको र अकाउन्ट नै क्लोज भइसकेको दाबी गर्छन् । उनले प्राविधिकले पैसा नपाइकन फिल्म नै सेन्सर नहुने र आफ्नो फिल्म सेन्सर भएर रिलिज समेत भइसकेकाले कसैको पैसा दिन बाँकी नभएको तर्क गरे ।

‘सबै प्राविधिकले पैसा पाइसके,’ उनले दाबी गरे, ‘चेकबाट पैसा दियौं । हामीसँग प्रमाण नै छ ।’ उनले आफ्नो ईष्र्या गर्नेहरुले यस्तो हल्ला चलाएको भन्दै गणेश र हरिले सम्झौता पत्र देखाए क्षतिपूर्तिसमेत दिन तयार रहेको बताए । 

गणेश र हरिलाई पैसा नदिएका प्रोडक्सन म्यानेजरको नम्बर माग्दा सुनीलले आक्रोशित भावमा भने, ‘यस्तो कुरा नलेख्नु न, भोलि फिल्म बनेन भने तपाईंले पनि लेख्न पाउनुहुन्न नि !’ 

प्राविधिक संघका अध्यक्ष पुस्कर लामाका अनुसार प्राविधिकले पैसा नपाएको जानकारी आएपछि उनले ‘ए मेरो हजुर ३’का निर्माता सुनीललाई फिल्म सेन्सर गर्नुअघि फोन गरेका थिए । उनले जवाफमा ‘टेन्सन नलिऊ ५ दिनमा पैसा पाउँछन्’ भनेको लामाको दाबी छ ।  २०७६  चैत २९ मा फिल्म लागेर हलबाट उत्रिसक्यो तर प्राविधिकले अझै पैसा पाएका छैनन् ।

माग्नै डराउँछन्
केही प्राविधिकहरु संघमा पुगे पनि अधिकांश बोल्न डराउँछन् । अन्यायमा परे पनि संघमा जाँदैनन् । अहिले उजुरी गरे भोलि काम नपाउने भय देखिन्छ उनीहरुमा ।

प्राविधिक श्रीकृष्ण श्रेष्ठ निर्माताले नयाँ प्रोजेक्टमा पनि सँगै गर्ने आश्वासन दिन्छन् । नयाँ प्रोजेक्टमा काम पाउने आशाले प्राविधिकहरु लिन बाँकी पैसा माग्न हच्किन्छन् । 

‘सुस्केरा’का छायाँकार पुरुषोत्तम प्रधानले फिल्मबाट ३ लाख १७ हजार पाउन बाँकी छ । निर्मातासँग कुरा मिलिसकेको बताउँदै उनले भने, ‘हाम्रो कुरा मिलिसक्यो । निर्माताले चाँडै पैसा दिने कुरा गर्नुभएको छ ।’
फिल्मका निर्माता स्वरुपराज ढकालले निर्देशकले पैसा डुबाइदिएका कारण प्राविधिकलाई पारिश्रमिक दिन नसकेको स्वीकारे । 

उनले भने, ‘निर्देशक नै नराम्रो प¥यो । ५० लाखमा फिल्म बनाएर मेरो ८० लाख फँसाइदियो । मेरी आमा बिरामी भएपछि म उपचारका लागि देशबाहिर गएँ । पैसा पनि सकियो । बजेट टाइट भयो ।’ 
उजुरीपछि उनले पुरुषोत्तमलाई भेटे । अब पैसा कमाएर पुरुषोत्तमको पारिश्रमिक दिने उनको योजना छ । 
त्यस्तै, फिल्म ‘रणवीर’मा फोटोग्राफीको जिम्मा सम्हालेका माधव थापाले पनि निर्माताबाट पारिश्रमिक पाएका छैनन् । तर, उनी पारिश्रमिकबारे बोल्न चाहँदैनन् । 

‘म यस विषयमा बोल्दिनँ,’ उनले भने, ‘पैसा पाइनँ भनेर मिडियामा बोल्ने होइन । हाम्रो कुरा सुन्न प्राविधिक संघ छ ।’ 

‘रणवीर’कै अर्का प्राविधिक शान्ति थापाले भने खुलेर आफ्ना कुरा राखे । फिल्ममा प्रयोग गरिएका सामग्री बापतको तीन लाख रुपैयाँ उनले पाउन बाँकी रहेको बताए । 

निर्मात्री गोमा थापा विष्टले फिल्म रिलिजअघि नै पारिश्रमिक दिने कबुलेकी भए पनि फिल्म रिलिजपछि उनी सम्पर्कमै आइनन् । धेरैपछि शान्तिले चेक दिइन् तर खातामा ब्यालेन्स नहुँदा चेक बाउन्स भयो । 

सुटिङ सकिएपछि बाङ्गो कुरा 
‘नालापानी’को भान्सा सम्हालेका रमेश तामाङको दाबीअनुसार उनले फिल्मबाट ६३ हजार पाउन बाँकी छ । तर, निर्माता विराज थपलियाको दाबी छ, ‘दिइसकेँ’ ।
रमेश निर्माता विराजलाई फोन गरिरन्छन् तर फोन उठ्दैन । 
‘२–३ दिन बिराएर फोन गर्थें,’ उनले भने, ‘तर फोन उठ्दैन ।’
फोन नउठे पनि पैसा पाउने आशा भने अझै रहेछ उनमा ।
कतिपय फिल्मका निर्देशक विदेशिएको भेटियो । 

फिल्म ‘लाहुरे’को टिमलाई खाना पकाएर खुवाएका थिए हर्क तामाङले पारिश्रमिक बापत ३ लाख ७५ हजार पाउनुपर्ने थियो । उनले निर्माता सुनील रावलबाट चेक पाए तर बाउन्स भयो । गएको दशैंमा निर्माता सुनीलले ५० हजार दिए । उनले त्यसैमा चित्त बुझाए । 

‘पैसाको माया मारेको छैन,’ उनले आशालु भावमा भने, ‘निर्माता नै बेपत्ता भए । एक दिन त भेटिएला !’ 
निर्माता सुनिल रावल अहिले अमेरिका छन् । उनले उतैबाट फिल्म ‘होस्टेल’को सिक्वेल ‘होस्टेल– ब्याकअगेन’ बनाउने घोषणा गरिसकेका छन् । 

प्राविधिकले पारिश्रमिक नपाएकोबारे सुनीलसँग म्यासेन्जरमा जिज्ञासा राख्दा उनले ‘लाहुरे’का निर्माता ‘गतिला नभएपछि फिल्म छोडेको र त्यसमा आफ्नो १० प्रतिशत मात्र सेयर रहेको’ दाबी गरे ।

‘बम काजी’का छायाँकार सञ्जय लामाले फिल्ममा प्रयोग गरिएका सामग्री बापतको सात लाख पाउन बाँकी रहेको देखियो । 

‘रोजी’मा भिएफएक्सको काम गरेका श्रीकृष्ण श्रेष्ठले एक लाख पाएका छैनन् । निर्देशक निरक पौडेलले उनको पैसा दिने जिम्मा निर्माता मनोज भण्डारीलाई दिएका रहेछन् । मनोजले भने पैसा माग्ला भनेर उनलाई फेसबुकमै ब्लक गरे । 

गम्भीर छैनन् निर्माता
प्राविधिकलाई पैसा नदिएका निर्मातासँग सम्पर्क गर्दा उनीहरु गम्भीर देखिएनन् । कसैले चिन्दिन भन्दै पन्छिने प्रयास गरे । कतिले व्यक्तिगत बाध्यता देखाए । 
प्राविधिकहरु फिल्म निर्माताहरुबाट पीडित रहेको प्रस्टै भए पनि अन्य सरोकारवाला संस्थाका अधिकारीहरु पनि त्यत्ति गम्भीर देखिएनन् ।

निर्माता संघका अध्यक्ष आकाश अधिकारीले प्राविधिकले पारिश्रमिक नपाए निर्माता संघमा निवेदन दिन सक्ने बताउँछन् ।

शुक्रवारसँगको कुराकानीमा ‘फिल्म क्षेत्रमा धेरै जनाले सम्झौतापत्रबिना नै काम गर्ने गरेको’ वास्तविकता आफैंले खुलाए । तापनि निर्मातासँग लिन बाँकी पारिश्रमिक उठाउन उनले सर्त राखे ‘तर, उनीहरुसँग सम्झौता पत्र हुनुपर्यो ।’ 
 

Leave A Comment