कस्तो यौनालय ठीक ?

शुक्रबार, ०३ जेठ २०७६, ०८ : ३३ शुक्रवार
कस्तो यौनालय ठीक ?

युरोप पुग्ने अधिकांश नेपालीहरु नेदरल्यान्डको सबैभन्दा चर्चित गल्ली घुम्न पुगेकै हुन्छन् । एम्स्टर्डमको बदनाम त्यो रेड लाइट क्षेत्रका घुम्तीयुक्त गल्ली र ती गल्लीका घरमा उभिएर ग्राहकहरुलाई लोभ्याइरहेका युवतीको के कुरा !

विगत ५० वर्षयता यो नेदरल्यान्डको पर्यटन र सांस्कृतिक पहिचानको केन्द्र बन्न पुगेको छ । दशकौँदेखि सुरक्षित र कानुनी रुपमा वैध सेक्सका लागि स्वीकृति दिइएको यहाँका यौनालय चाँडै बन्द हुने हुन् कि भन्ने आशङ्का यतिबेला बढेर गएको छ । 

कारण यहाँका केही अधिकारकर्मी हुन् । तिनले नेदरल्यान्डको संसद्मा सेक्स वर्कलाई अब समयसापेक्ष परिमार्जन गर्दै कानुनी वैधता अन्त्य गर्नुपर्नेमा जोड दिइरहेको छन् ।

यस्तो जोड दिनेमा दक्षिणपन्थी क्रिस्चियन समूह र बामपन्थी महिलावादी दुवै छन् । तिनले यहाँको ‘विश्वस्तरीय’ यौनालय, त्यहाँ काम गर्ने महिला तथा पुरुष अनि सम्पूर्णतामा ‘सेक्स वर्क’मै प्रतिबन्ध लगाउनुपर्ने कुरा उठाइरहेका छन् ।

जति तीव्र आलोचनाका साथ त्यो समूह संसद्मै हल्ला गर्न तयार छ भने रेड लाइट क्षेत्रमा खटिएका यौनकर्मीको अधिकारका लागि काम गर्ने गैरसरकारी संस्थाले भने तिनको ‘कुत्सित’ विचारको विरोध गरिरहेका छन् । 

त्यसैले अहिले संसारको ध्यान नेदरल्यान्डको संसद्तर्फ सोझिएको छ । के साँच्चिकै यौन कार्यमाथि संसद्मा बहस होला ? बहस भयो भने त्यहाँको सेक्ससम्बन्धी कानुनमा परिवर्तन ल्याउन सक्ला ? कानुन परिवर्तन हुने नै भयो भने यससँग जोडिएका लाखौँ मानिसको रोजगारी र तिनको जीवनमा कस्तो असर पार्ला ?

‘म अनमोल हुँ’
‘ऊ तपाईंकी बहिनी भएकी भए के हुन्थ्यो ?’ नेदरल्यान्डको सोसल मिडियामा यतिबेला यस्तै पन्चिङ लाइन खुब चर्चामा आइरहेको छ । यो त्यहाँ चलिरहेको यौनालयविरोधी अभियानको एउटा अंश हो ।
यो अभियानको नाम हो, ‘म अनमोल हुँ’ । अभियान सञ्चालकहरु यौनलाई अपराधको तहमा राख्न माग गरिरहेका छन् ।

सारा लुस यो अभियानमा काम गर्नेमध्येकी एक हुन् । यौनालय बन्द हुनुपर्छ, पैसा तिरेर गरिने यौन कर्मलाई नियन्त्रित गरिनुपर्छ भन्दै गएका सात वर्षमा ४६ हजार मानिसको हस्ताक्षर सारा लुस र उनको समूहले जुटाएको छ । यही हस्ताक्षरका कारण संसद्मा बहस हुने भयो । 
यो अभियानको उद्देश्य नै कानुन परिवर्तन गर्नु हो ताकि नेदरल्यान्डमा ‘नर्डिक मोडल’ अपनाउन सकियोस् ।
के हो नर्डिक मोडल
अहिले नेदरल्यान्डमा दुई जना वयस्क स्त्री–पुरुषले सहमतिमा यौन सम्बन्ध राख्नुलाई वैध मानिन्छ । यो कानुन १९७१ देखि लागू भएको थियो । त्यसयता यौन किन्ने र बेच्नेमाथि कानुनी संरक्षण छ र यसले यौन व्यवसायीलाई व्यवसाय चलाउन सजिलो भएको छ ।

तर पछिल्लो समय भने यसमा थोरै परिवर्तन हुँदै आएको छ । तीन वर्षअघि फ्रान्सले ‘नर्डिक मोडल’मा आधारित यौन व्यवसाय अघि बढाउने सन्धिमा सम्झौता ग¥यो । यो सम्झौता सन् २०१६ मा भएको थियो र यसमा अमेरिका पनि मिसियो ।

यो मोडलमा कसैले पैसा दिएर सेक्स किन्यो भने त्यो पुरुष कार्बाहीको हकदार बन्छ । भनाइको मतलब पैसा तिरेर पनि ऊ कुनै स्त्रीसँग सहवास गर्न सक्तैन । गरेको पाइए उसमाथि कार्बाही हुन्छ । 

सामान्यतः यस्ता पुरुष कार्बाहीको दायरामा आउँदैनन् तर आइहाले पनि दह्रो कार्बाहीमा पर्दैनन् किनभने यसका लागि कसैले प्रहरीमा उजुरी गर्नुपर्ने हुन्छ । त्यस्तो उजुरी निकै कम र दुर्लभ नै हुने गर्छ । यसैलाई ‘नर्डिक मोडल’ भनिएको हो तर कुनै स्त्रीले यही कानुनको आडमा कुनै पुरुषलाई कार्बाही गराउन भने सक्छे । यस्तो भयो भने पुरुषमाथि भारी रकम जरिवाना हुन्छ । 

मीटूको युगमा नेदरल्यान्डमा भएको यौन व्यवसायसम्बन्धी छूट र यसका लागि बनेको कानुन निकै पुरानो भइसकेको यौनालयविरोधी समूहको धारणा छ । सारा लुस भन्छिन्, ‘रेड लाइट क्षेत्रमा जतिसुकै यौन स्वतन्त्रता भए पनि अहिलेको जमानामा ४८ वर्षअघि बनाइएको त्यो कानुन पुरानो भइसकेको छ । समयअनुसार यसमा परिवर्तन ल्याउन जरुरी छ । 

यौनकर्मी के ठान्छन् ?
रोमानियाबाट यौन बेच्न नेदरल्यान्ड आइपुगेकी सेक्स वर्कर चेरी (छद्म नाम) भाडा तिर्न र आफ्नो फुर्मासी पैसा कमाउन यौनालय आइपुगेको बताउँछिन् ।

गएको एक दसकयता उनी नेदरल्यान्डको सबैभन्दा बदनाम गल्लीमा आफ्नो देह बेचिरहेकी छन् ।
संसद्मा ‘नर्डिक मोडल’ या अरु नै कुनै नामले यौनसम्बन्धी क्रियाकलापमा नियन्त्रण गर्ने नियम बने यहाँबाट निस्कने सबैभन्दा उत्तम समय हुने उनको धारणा छ । ‘आपूलाई चाहिने पैसा मैले कमाइसकेँ र त्यस्तो कानुन बन्यो भने यहाँबाट निस्केर एउटा आरामको जीवन व्यतित गर्न सक्छु,’ उनको योजना छ ।
अर्की यौनकर्मी फक्सीलाई भने संसद्मा यस विषयमा छलफल भयो, विधेयक बन्यो र पास भयो भने यौन पेशा थप वर्जित हुने लाग्छ । उनीमाथि अझ निगरानी बढ्नेछ भने मानिसले उनीमाथि देहव्यापारीको ठप्पाका कारण बाहिरतिर कम स्वीकार्ने सम्भावना बढ्नेमा शङ्का छ ।

उनी भन्छिन्, ‘त्यसपछि हामी भूमिगत हुनुपर्नेछ ताकि प्रहरी र स्वास्थ्य सेवाका मानिसले हामीलाई सहजै फेला पार्न नसकून् । त्यसपछि प्रहरी र यौन व्यवसायीको मुसा÷बिरालोको खेल सुरु हुनेछ । यौन व्यवसायीहरु प्रताडित हुने सम्भावना अझ बढ्नेछ ।’
देह व्यापारविरोधी कानुन कति प्रभावी ?

देह व्यापार रोक्ने कानुनले महिलालाई कत्तिको सुरक्षा दिन्छ ? स्वास्थ्य सेवाजस्ता कुरामा तिनको पहुँच कत्तिको हुन्छ ? नेदरल्यान्डभन्दा बाहिर हे¥यो भने सबै देशमा सुरक्षा र स्वास्थ्य पहुँचको तथ्याङ्क उत्तिकै देखिँदैन ।

गरिब देशमा वेश्यावृत्तिविरोधी कानुनलाई आधार बनाएर प्रायः महिलालाई नै प्रताडित गरिन्छ । यति मात्र होइन, जुन र जसरी कानुन बनाइएको छ, त्यसले रोग फैलनबाट रोक्न, मानव तस्करी र महिलाविरुद्ध हुने हिंसा रोक्न यसले रामवाणको काम गर्न सकेको छैन ।

किङ्स कलेज लन्डनमा कानुन र सामाजिक न्यायकी प्राध्यापक प्रभाव कोटिश्वरन भन्छिन्, ‘यौन व्यवसाय रोक्ने कानुनले सेक्स वर्करको अधिकारको हनन् हुन पुग्छ ।’

उनी भन्छिन्, ‘कानुनबाट बच्नका लागि उनीहरुले प्रहरीलाई घुस दिनुपर्छ या त यौन या आर्थिक घुस । यसको अर्थ हो, घुसमा दिइएको पैसाको भर्पाईका लागि उनीहरुले अझ बढी सेक्स धन्दा चलाउनुपर्ने हुन्छ ।’
अभियान चलाउनेहरु आफूलाई उन्मूलनवादी भन्न रुचाउँछन् । उनीहरु पुरुष ग्राहकहरुलाई जरिवाना तिराउनुपर्नेमा जोड दिन्छन् । केही अन्यको भनाइमा भने सबैभन्दा पहिले महिलालाई नै सशक्त बनाउनुपर्ने, अन्य पेशामा सशक्त रुपमा उभिन सक्ने बनाउनु पर्छ ।

तर केही भने सय प्रतिशत नै यौन व्यापारलाई कानुनी मान्यता दिने विषयमा धारणा राख्छन् । जस्तो अहिले धन्दा चलाउनेहरुले निश्चित ठाउँमा मात्र चलाइरहेका छन् भने यौनको किनबेच जहाँ पनि जतिबेला पनि हुने र यसमा किन्ने र बेच्नेलाई छाडिदिने धारणा राख्छन् ।

वैध बनाउँदाका फाइदा
अमेरिकाको नेभाडाकी सेक्स वर्कर क्रिस्टिना परेरा कसैले सेक्सका लागि पैसा तिर्छ भने त्यसलाई खराब रुपमा हेर्न नहुने बताउँछिन् । उनी भन्छिन्, ‘यो एउटा यस्तो सीमित पेशा हो, जहाँ महिलाहरु पुरुषभन्दा बढी कमाउँछन् । महिलावादीहरुले त्यो भाग पनि खोस्न खोज्नु चाहिँ मूर्खता हो ।’

परेरा कहिलेकाहीँ मात्र सेक्स वर्कका लागि आफूलाई तयार पार्छिन् । उनी यौन पेशालाई चलाउने मात्र होइन, यही पेशामा आधारित शोध पनि गर्ने गर्छिन् र हालै पिएचडी पनि गरेकी छन् ।
उनी सेक्स वर्कलाई अपराध बनाउने कुराको विरोधी हुन् । 

 ‘मैले पर्याप्त पैसा कमाएँ, त्यही पैसाले पढ्न चाहेको विषय पढेँ र पिएचडी पनि गरेँ,’ उनले भनिन्, ‘तपाईं आफैँ सोच्नुस्, म जस्ता कयौँ महिलाहरु होलान्, तिनीहरु त पेशालाई अवैध बनाइनेबित्तिकै हजारौँ महिला एकै पटक सडकमा आउनेछन् ।’

नेवाडाका केही ठाउँमा मात्र सेक्स वर्क वैध छ । परेरा भन्छिन्, ‘यौनालयको सबैभन्दा राम्रो के हुन्छ भने त्यहाँ तपाईं वैध भएकाले सुरक्षित हुनुहुन्छ । कोही ग्राहक नियन्त्रणबाहिर भयो भने पनि त्यहाँ तपाईंको सामूहिकताका कारण उसलाई नियन्त्रण गर्न सक्नुहुन्छ । त्यहाँ एकता हुन्छ । त्यहाँ सेक्स वर्करकै बहुमत हुन्छ ।’

वैध पेशामा बढी हिंसा

पत्रकार तथा अभियान सदस्य जुली बिन्दलको तर्क छ, ‘जुन देशमा सेक्स वर्क वैध हुन्छ, त्यहाँ दलाल र ग्राहकको भन्दा सेक्स वर्कसको हात माथि हुन्छ ।’

बिन्दल ‘नर्डिक मोडल’को पक्षमा छिन् । यो मोडल नर्डिक देशभन्दा बाहिर पनि फैलिसकेको छ ।
यो मोडलले सेक्स वर्कलाई अपराध मान्दैन तर पैसा दिएर सेक्स गर्ने ग्राहकलाई अपराधी सम्झन्छ ।
बिन्दललाई लाग्छ, सेक्स वर्क अझै पनि महिलाका लागि सुरक्षित भइसकेको छैन । यसलाई कुनै अन्य नियमित करियरसँग जोड्न पनि सकिँदैन न त यसबारे अन्य पेशाजस्तै कुरा गर्न सकिन्छ ।
यो समस्या त्यतिञ्जेलसम्म रहिरहन्छ, जबसम्म सेक्स वर्करहरुलाई उपभोग्य वस्तुजस्तो ठानिने क्रम जारी रहन्छ ।

बिन्दल जर्मनीको मेगा ब्रोथलको उदाहरण दिन्छिन् ।
उनी भन्छिन्, ‘त्यहाँ पुरुषहरुका लागि विज्ञापन हुन्छ र पुरुषहरुले जति महिलाका साथ पनि उनीहरुले यौन कार्य गर्न सक्छन् र साथमा बर्गर र बियर पनि । यो एउटा उपभोक्ता संस्कृतिको अंश हो । अनि, सेक्स वर्कर बर्गरको मासुको टुक्राझैँ हुन् ।’

लैंगिक समानता
बिन्दल भन्छिन्, ‘वेश्यावृत्तिको जड भनेको लैंगिक असमानता नै हो । त्यसैले यस्तो मोडल चाहिन्छ, जसमा खतराको आशंका हुनेबित्तिकै सेक्स वर्करले फोन उठाएर प्रहरीलाई बोलाउन सकून् ।’
तर परेरा भन्छिन्, ‘कहिल्यै पनि सेक्स वर्करले प्रहरीलाई फोन गरेर आफूमाथि भएको अन्याय बताउन सक्तैनन् । त्यसको अन्त्य भने हुनुपर्छ ।’

एमनेस्टी इन्टरनेसनल र मेडिकल जर्नल द लेन्सेन्टको आँकडाले यौन व्यवसायमा आपराधीकरणबाट मुक्त हुनुपर्ने लेखेका छन् । यसको अर्थ हो, त्यहाँ जतिसुकै शुद्धता र वैधताका कुरा गरिए पनि यौनकर्मीले आफ्नो अधिकारका लागि सुरक्षित आफ्ना कुरा राख्ने वातावरण पाइसकेका छैनन् ।

उदाहरणका लागि, सन् २००३ देखि २००८ का बीचमा अमेरिकाको रोडे आइल्यान्ड प्रान्तमा सेक्स वर्कलाई वैधता दिइसकेपछि महिला सेक्स वर्करहरुका विरुद्ध हुने हिंसामा जम्मा ३० प्रतिशत घटेको छ । तर यसलाई सकारात्मक हेर्नेहरुको पनि कुनै कमी छैन ।

परेरा भन्छिन्, ‘सेक्सलाई खुला गर्नेबित्तिकै ह्वारह्वारी सेक्स वर्कर बढेका छैनन् । वैध गर्नेबित्तिकै यौनकर्मीको संख्या ह्वात्त बढ्छ भन्ने मिथ मात्र रहेछ ।’

कम्तीमा सेक्सलाई अवैध घोषित गरिँदाभन्दा वैध घोषित गरिँदा सुरक्षित सेक्सको वातावरण बन्छ । देहालयमा पनि राम्रो वातावरण बनाउन सकिन्छ । त्यहाँ अधिकार हनन् भए वा कसैले हिंसा गरे मुद्दा चलाउन सकिन्छ ।

‘जबसम्म यो संसारमा पुरुष रहन्छन्, सेक्सको माग रहिरहन्छ,’ परेरा भन्छिन्, ‘वयस्क महिलाले आफ्नै मर्जीले देह बेच्न चाहन्छे भने यसलाई उचित ठहर्याउनु नै ठीक हुन्छ ।’
(एजेन्सीमा आधारित)


 

Leave A Comment