‘पैसा चलायमान हुनुपर्छ’

आइतबार, १६ साउन २०७३, ११ : १६ दिलीप पौडेल , Kathmandu
‘पैसा चलायमान हुनुपर्छ’

व्यवस्थापनमा स्नातकोत्तर अध्ययन सकेर रोजगारीको खोजीमा छ महिनासम्म काठमाडौँमा भौँतारिएका थिए, विराटनगरका नवीन रिजाल । जागिर नपाएपछि उनले आफ्नै उद्योग सुरु गरे र सफल उद्योगी भए । रिजाल अहिले तीन सयभन्दा बढीका रोजगारदाता हुन् । पोली ट्यांक, ग्यास, फेनोलेक पोलीपार्क उद्योगमा ‘रिजाल’ ब्रान्डलाई स्थापित गरेका रिजाल पोली ट्यांक इन्डस्ट्रिज प्रालि, रिजाल ग्यास उद्योग प्रालि, रिजाल फेनोलेक पोलीपार्क इन्डस्ट्रिज, रिजाल इन्टरप्राइजेजका अध्यक्ष हुन् । रिजालसँग शुक्रवारका लागि दिलीप पौडेलले गरेको कुराकानीः

कति वर्षको उमेरमा व्यवसायमा लाग्नुभयो ?
२२ वर्षमै ।
कसरी यो क्षेत्रमा आउनुभयो ?
एमबीएस सकाएपछि जागिर नपाएर उद्योग सुरु गरेको हुँ ।
जागिर नपाउँदाको क्षणलाई कसरी सम्झिनुहुन्छ ?
ती दिन सम्झिँदा आफँैलाई आश्चार्य लाग्छ । एमबीएसको पढाइ सकेर जागिरको लागि काठमाडौमा छ महिनासम्म धेरै ठाउँमा परीक्षा दिएँ । लिखितमा नाम निस्कियो । अनि, अन्तर्वार्तामा फालिन्थेँ । जागिर नपाएपछि विराटनगर नै फर्किएँ । आमाबुबाले आँट दिएपछि व्यवसाय सुरु गरेँ । यो अवस्थामा आउँछु जस्तो लागेको थिएन । मेहनत गरेपछि हुँदो रहेछ ।
लगानी कसरी जुटाउनुभयो ?
मेरो अंशको जग्गा नेपाल औद्योगिक विकास बैंकमा धितो राखेर ऋण लिएर व्यवसाय सुरु गरेको हुँ ।
कति लगानीबाट व्यवसाय सुरु गर्नुभयो ?
५० लाख रुपैयाँबाट ।
अहिले लगानी कति पुग्यो ?
दुई सय करोड रुपैयाँभन्दा धेरै ।
व्यवसाय के रहेछ ?
व्यवसायमा धेरै पटक लडिने रहेछ । हिम्मत हार्नु हुँदैन । संसारमा असम्भव भन्ने केही छैन जस्तो लाग्छ । अरूको लागि सम्भव भएको चिज सबैको लागि सम्भव हुन्छ भनेर लाग्नुपर्छ ।
यहाँका उत्पादन के—के छन् ?
पानी ट्यांकी, प्लास्टिक डस्टविन, सीपीभीसी पाइप, ग्यासलगायत रहेका छन् । ग्यास गिजर, इन्भटर, वाटर पम्प पनि आयात गरेर बिक्री गर्ने गरेका छौँ ।
सबै उत्पादनको नाम एउटै किन ?
‘रिजाल ब्रान्ड’लाई व्यापकता दिन ।
पैसा के हो ?
यसको ठ्याक्क परिभाषा त मलाई थाहा छैन तर के चाहिँ थाहा छ भने पैसा जहिले पनि चलायमान हुनुपर्छ ।
पैसा कसरी कमाउने ?
अहिले धेरै युवा पैसाको लागि विदेशिएका छन् । त्यहाँ गएर सय तले घर बनाउन सक्नेले यहीँ बनाउन किन नसक्ने ? सरकारले वातावरण सिर्जना गरिदिनुप¥यो । योजना बनाएर काम गरे सफलता सुनिश्चित छ । सानोबाट सुरु गरेर बढाउँदै गएपछि जे व्यवसाय गरे पनि हुन्छ । लगनशीलता, मेहनत र निरन्तरताले मानिसलाई सफल बनाउँछ ।
के कुरामा सन्तुष्टि मिल्छ ?
कुनै व्यक्ति शैक्षिक अवसरबाट वञ्चित छ भने त्यसलाई सहयोग गर्न पाउँदा खुशी लाग्छ ।
भविष्यमा के काम गर्ने इच्छा छ ?
समाज सेवा गर्ने ।
व्यावसायिक कामबाहेक अरू के गर्नुहुन्छ ?
रोटरी क्लब, लायन्स क्लब, मठ, मन्दिरलगायत संस्थामा आबद्ध रहेर सामाजिक काम गर्छु ।
सामाजिक काममा कति खर्च हुन्छ ?
वार्षिक २० लाख रुपैयाँ जति ।
गीत, संगीतमा रुचि ?
छैन ।
फिल्म हेर्नुभएको छ ?
वर्षमा दुईतीन मुभी हेरिन्छ ।
मन पर्ने नायक÷नायिका ?
अमिताभ बच्चन ।
बिदाको दिन के गर्नुहुन्छ ?
परिवारलाई घुमाउन लैजान्छु ।
व्यक्तिगत खर्च कति गर्नुहुन्छ ?
धेरै खर्च गरेर ठूलो भइँदैन भन्ने लाग्छ ।
केमा रुचि छ ?
साथीभाइ बढाउन ।
कसरी सफलता प्राप्त हुन्छ ?
पाएको २४ घण्टामध्ये १६ घण्टालाई भरपुर प्रयोग गर्न सकियोस् । निष्क्रय बस्नु हुँदैन । ज्ञान, सीप सिकेर काममा लगाउनुप¥यो ।
स्कुले जीवनमा तपाईं कुन दर्जाको विद्यार्थी ?
लास्ट बेन्चमा बस्थेँ । कमजोर विद्यार्थी थिएँ ।
फेल हुनुभयो कि भएन ?
एसएलसीमा अंग्रेजी विषय लाएर दोस्रो पटकमा पास गरेँ ।
फरक क्षेत्रमा लगानी गर्ने योजना ?
नयाँ कामको तयारी भइरहेको छ । छिट्टै बजारमा आउँछ ।
व्यावसायिक वातावरण कस्तो छ ?
राम्रो छैन, नराम्रो भन्न मिल्दैन । सुडानलगायत देशमा व्यापार भएको छ भने हाम्रोमा किन नहुने ?

 

Leave A Comment