प्लिज मलाई योगेश्वरसँग नभेटाइदेऊ

बिहिबार, ०९ जेठ २०७६, ०८ : ३० केपी ढुंगाना
प्लिज मलाई योगेश्वरसँग नभेटाइदेऊ

वर्ष बिर्सिइयो । माहौल मात्र छ, स्मृतिमा । म्युजिकमा झुम्न तयार विशाल जमातले भरिएको थियो, वसन्तपुर । खुला मैदानको बीचैमा विशाल स्टेज थियो । एफएम रेडियोको क्रेज गजबको थियो । गोजी–गोजीमा हुन्थ्यो पकेट रेडियो । 

स्वर गज्जब लाग्थ्यो तर प्रत्यक्ष देख्ने मौका जुरेको थिएन । अहिले जस्तो प्याट्ट गुगल गरेर या सामाजिक सञ्जाल चहारेर कस्ता रहेछन् त उनी भनेर धित मरुञ्जेल हेर्न सकिने अवस्था पनि थिएन । क्यासेटको कभरमा राखिएको तस्बिरले कस्ता छन् भनेर अनुमानसम्म भने गर्न सकिन्थ्यो । प्रत्यक्ष हेर्ने हुटहुटी मेट्न भिड छिचोल्दै वसन्तपुर पुगेको थिएँ ।

खै क–कसले गीत गाए, त्यो पनि याद भएन । प्रतीक्षा उनकै थियो । कार्यक्रमको अन्त्यतिर कार्यक्रम सञ्चालकले अनाउन्स गरे, ‘तपाईंहरुको व्यग्र प्रतीक्षा अब सकिनै लागेको छ । अब स्टेजमा आउँदै हुनुहुन्छ...योगेश्वर अमात्य ।’

मुटुको धड्कन साँच्चिकै बढ्यो । पहिलो पटक प्रेमिका भेट्न जाँदाझैँको अवस्था भयो । अहिले सम्झदा छक्क पर्छु । त्यो बेला किन त्यसरी नर्भस भएको हुँला !

सञ्चालकले नाम लिएसँगै मञ्चको पछाडिबाट लर्खराउँदै एक व्यक्ति आइपुगे । हाफप्यान्ट र टिसर्टमा थिए कि ? कन्फर्म छैन है ! उनले माइक समाते र भने, ‘अँ अलि झ्याप छु है, माइन्ड नगर्नुहोला ।’

गजब ! झ्याङमा लुकेर चुरोट तान्दा छिमेकी अंकलको कान बटराई ब्यहोरेको मलाई उनको स्वतन्त्रता देखेर डाहा लाग्यो । हजारौंको भिडमा त थिए तर परिचित कोही थिएन । मनमनै भने ‘हैट्, क्या खुल्लमखुल्ला भन्न सकेको यार ! यस्तै फ्रिडम भए त !’ 

हल्का माइक मुख नजिकै ल्याएर उनी मुडमा आए, ‘आकाशैमा चिल उड्यो धर्तीमा छायाँ ।’
वाह ! क्या गजब ! उनका प्रशंसकहरु झुल्न थाले । उनी आफ्नै तालमा रम्न थाले ।
घर फर्कंदा संसार जितेझैँ अनुभव भएको थियो । 
................
त्यो बेला भर्खर एसएलसी दिएर बसेको ठिटो समय क्रमले पत्रकारितामा ल्याइदियो । बेलाबखत सुगम संगीतबारे लेखियो पनि । रंग पत्रकारिता गर्ने सिनियरहरुसँग दोस्ती पनि जमेकै थियो तर कहिल्यै लौ न योगेश्वर अमात्यसँग भेट्नु पर्यो भन्न सकिनँ ।

तर जब उनका नयाँ गीत रिलिज हुन्थे, मेरा लागि दशैँ शुरु हुन्थ्यो । यति सुनिन्थ्यो कि साथीभाइ झ्याउ नै बनायो भन्दै सन्किन्थे । म भने ‘पख न पख अब लास्ट’ भन्दै उनको गीत सुनिरहन्थेँ ।
कहिले ‘जब सन्ध्या हुन्छ’, कहिले ‘लैजा चरी मेरो खबर, जहाँ होला उसको शहर ।’ 

उनी जन्मदै सुनको चम्चा साथमा लिएर जन्मेका हुन् भन्ने धेरैपछि मात्रै थाहा भयो । दरबारमार्ग आधाउधि उनकै हो भन्ने के पत्तो र ! 

उनको मुखबाट सुनेको पनि हैन । कुनै अन्तर्वार्ताबाट सुनेको पनि हैन । उनलाई भेटेर सँगै मस्त मदिरा पिएको दाबी गर्नेहरुले भनेको प्रसंग हो ।

सम्पत्तिबारे कुरा निस्कियो भने उनी भन्छन् रे, ‘कहिले यसो गरौं भनेर आउँछन्, कहिले उसो गरौं भनेर आउँछन् । कहिलेकाहीँ लाग्छ, दरबारमार्गमा डोजर चलाएर खेत बनाएर धान रोपिदिऊँ ।’
हो, हैन उनै जानून् ।

उनी कुन परिवारको सदस्य हुन् भनेर मनमा बसाएको पनि हैन । टक्क ओठ छड्काउँदै, हात बटार्दै हस्की स्वरमा गाउने उनको शैली त हो, उनीसँग परिचय गराउने माध्यम । मेरा लागि यत्ति काफी छ । 
.........
एक वर्ष अगाडि  स्वरुप आचार्यको विवाह पार्टी थियो ललितपुरमा । अलि ढिलाढिलै पुगेको थिएँ । जोईपोई भेटेर बधाइ दिनुपर्यो भनेर खोज्दै हिँडेको ट्याक्क ढोकैनजिक उनै योगेश्वर रहेछन् । उनी टेबलमा बसेर वरिपरिकासँग मस्त गफिइरहेका थिए । 

एक मनमा लाग्यो, गएर नमस्कार गरौं अनि भनौं, ‘म त तपाईंको डाई हार्ट फ्यान हुँ नि !’
तर आँट आएन । दुलाहादुलही भएको कोठातिर लागेँ ।
...................
सामाजिक सञ्जालको विस्तारसँगै अप्रत्यक्ष रुपमा योगेश्वर अमात्यसँग अन्तक्र्रिया गर्न सहज भयो । यौन, रक्सी, राजनीतिबारे उनका खुला विचारहरु सुन्दा जसको फ्यान भएँ, गज्जब गरेँ भन्ने अनुभव भयो । हाम्रोकथा च्यानलमा मदिराबारे वार्तालाप गर्दै उनले भने, ‘ प्लिज ह्विस्कीमा आइस नहाल्नु होला, बरु पानी हाल्नुहोला ।’ उनले मलाई नै भनेझैँ लाग्यो र आइस हाल्न छाडियो ।

पहिलोपोस्टमा दाजु किशोर नेपालले दुई वर्षअघि उनीसँग रोचक संवाद गरेका थिए– कक्टेल संवाद ।
क्या गजब छ भने त्यो संवाद ! शब्द पढ्दै जाँदा योगेश्वरको छवि दृश्यमा आउँछ ।
‘दाइ समुन्द्र मन्थनपछि अमृत निस्कियो भन्छन् नि, निस्किएको चैँ मदिरा हो !’

मदिराका शौखिन उनको मदिराबारे आफ्नै व्याख्या छ, ‘विष्णु चाहिँ केटीको रुप धारण गरेर बाँड्न गए । रक्सी एक मात्रा (पेग) खायो भने अमृत । दुई पेग खायो भने औषधि । तीन पेग खायो भने विष । अब राक्षसहरुलाई ख्वाउनु ख्वाए, देउतालाई चाहिँ चट्ट मिलाएर एक पेग मात्र दिएछन् । अनि राक्षसलाई त ढाल्दिहाले नि देउताले !’

बडो मन पर्छ मलाई उनको यो वाक्य । सायद आफू पनि पिउने भएर हो कि ! तर उनको पेग मात्रा भने फलो गर्न सकिएको छैन ।

राजनीतिमा उनी अहिले अँगालेको गणतन्त्रप्रति सकारात्मक छैनन् । नेताहरुको चालामालबाट जसरी आम नेपाली फ्रस्टु छन्, उनी पनि फ्रस्टु छन् । सञ्चारकर्मीबारेको उनको धारणा आम धारणा भन्दा केही फरक छ । अरु सञ्चारकर्मीले केही गर्दैनन् भन्छन् उनी धेरै गर्न सक्छन् र गर्न सक्ने जति गरेनन् भन्छन् ।
उनको विचार हो । विचारमा उनी स्वतन्त्र छन् । थोडा उनको राजनीतिक विचारको आधारमा फलो गरेको

हो र त्यसमा चिन्ता गर्न ? उनको प्रशंसक भइराख्न मलाई उनको स्वरै काफी छ । 
उनले गाएको गीतको बोल ‘तिम्रो आँखा हेर्दा मेरो मुटु चस्कियो’ भनेझैँ एफएम रेडियोको जमानामा योगेश्वरको स्वर सुन्दा मन चस्किएको हो । जुन चस्काई अझै कायमै छ । हल्का दुःख यत्ति हो, धेरै भयो उनका पुरानै सिर्जनामा रमाइरहेको । खै, किन हो नयाँ गीततिर उनी लागेको देखिएनन् ।
..............
क्लोज ग्रुपका अधिकांश जानकार छन्, म कुन हदसम्म योगेश्वर अमात्यको फ्यान हुँ । कहीँकतै डेडिकेट गर्न मिल्यो भने उनकै गीत आउँछ, ‘लैजा चरी ।’ 
गतिलो स्वर भएको साथीमाझ जमघट भयो भने फुर्माइस गइहाल्छ, ‘प्लिज यार जब सन्ध्या हुन्छ गाइदे न !’
धेरैले भन्छन्, ‘अरे यार तैले चाह्यो भने योगेश्वरसँग भेट्न सक्छन्, किन ट्राइ गर्दैनस् ?’
सबैलाई मेरो उत्तर हुन्छ, ‘प्लिज यार, योगेश्वरसँग नभेटाइदेऊ । मलाई उही एफएम रेडियोकै योगेश्वर प्रिय लाग्छ ।’
 

Leave A Comment