दुई जना साथी वीर र विक्रमको मित्रताको कथा कहने ‘वीर विक्रम–२’ एउटा औसतभन्दा कम दर्जाको फिल्म बन्न पुगेको छ । ‘वीर विक्रम’को ‘सफलता’बाट हौसिएर बनाएको दाबी गरिएको भए पनि अघिल्लो फिल्मले पनि खासै चमत्कार गरेको थिएन ।
यो फिल्म पनि पहिलोभन्दा अझ कमजोर बन्न पुगेको छ ।
दुई जना मिल्ने साथी, वीर (पल शाह) र विक्रम (नाजिर हुसेन) सुन्दर भविष्यको खोजीमा सानैमा गाउँ छोडेर सहर पस्छन् । १४ वर्षपछि फर्कंदा दुवैको नजर गाउँकी सुन्दरी बादल (वर्षा सिवाकोटी)माथि पुग्छ । दुवैले बादललाई मन पराउन थाल्छन् । बादललाई मन पराउने अर्को पात्र पनि सँगैमा थपिन्छन्, बाघबहादुर (बुद्धि तामाङ) । अब कथामा बादललाई आफ्नो बनाउन वीर, विक्रम र बाघबहादुरले गर्ने संघर्षको कथा हो ‘वीरविक्रम २’को । एउटी युवतीका कारण वीर र विक्रमले आफ्नो मित्रता त्याग्छन् या मित्रताका लागि युवतीलाई त्याग्छन्, फिल्म यही रहस्यका लागि दौडन्छ ।
फिल्मले मित्रता र प्रेमको कथासँगै बोक्सी प्रथा र याक व्यापारको सिन्डिकेटका बारेमा कथा भनेको छ ।
एउटी युवती वीर र विक्रमको दोस्तीमा कसरी पहाड बनेर उभिन्छे र सम्बन्ध छोडाउन सक्छे, त्यसका लागि कुनै लम्बेतान कथाको आवश्यकता पर्दैन । सौन्दर्यका लागि मरिहत्ते गर्ने पुरुष स्वार्थको यो कथालाई विश्वसनीय तरिकाले देखाइदिँदा जसलाई पनि चित्त बुझ्छ तर फिल्ममा भने यही चुक भइदिँदा दर्शकलाई अढाइ घण्टा फिल्म झेल्न गाह्रो हुन्छ ।
निर्देशकले वीर र विक्रमको बादल प्रतिको आशक्ति र प्रेम दृश्यमा स्थापित गर्न नसक्दा र संवादकै भरमा मात्र दर्शकलाई बुझाउने प्रयास गर्दा एउटा गतिलो प्रयास नौटङ्कीमा परिणत भएको छ ।
झन् एउटा दृश्यमा बादलका लागि वीर र विक्रम झगडा गर्दै रहँदा बादलले वीरलाई ‘के म खेलौना हो’ भन्ने संवाद साह्रै ‘क्लिसे’ सुनिन्छ । खासमा यो संवाद बादलले वीरलाई होइन, निर्देशक चाम्सलाई सोध्नुपर्ने हो, ‘हिरोइनलाई खेलौना मात्र बनाउने हो ?’
यो फिल्मको सबैभन्दा कमजोर पक्ष नै पटकथा हो । कथा भन्ने शैली नयाँ छैन । निर्देशकले परम्परागत कथ्यशैली नै अपनाएका छन् । दुई जना साथीको मित्रताको कथामाथि कयौँ फिल्म बनिसकेका छन् । अनि, यसमा त्यस्तो के नौलो छ त ? निर्देशकले कतै प्रस्ट्याउन सकेका छैनन् ।
फिल्ममा राम्रो पक्ष केही छैन ? तपाईंले सोध्नु होला । छ, मुस्ताङको वरिपरिको जुन दृश्य, जसरी देखाइएको छ, त्यो तारिफयोग्य छ । मुस्ताङमा पुगेर खिच्दैमा फिल्म मौलिक हुँदैन भन्ने चाहिँ निर्देशकले बुझ्नै पर्छ । फिल्मलाई मौलिक बनाउन त मौलिक कथ्य र फरक प्रस्तुति चाहिन्छ । पर्दामा देखिने पात्र, परिवेश र वरिपरिका संस्कृतिलाई स्थानीय महसुस गराउन सके पुग्छ ।
फिल्ममा प्रयोग ध्वनि पनि एकदमै चर्को छ । जताततै चर्को म्युजिक राख्नु यसकै परिणाम हो । ‘पिरतीको मीठो तिर्सना’ गीतको रिमेक फिल्ममा मीठो सुनिन्छ ।
यो फिल्ममार्फत् निर्देशकले भाग्यवादी समाज देखाउन खोजेका छन् । दुई पात्र वीर र विक्रम त्यही समाजका उदाहरण हुन्, जो आफ्नो भविष्य एउटा सिक्काको भरमा छाडिदिन्छन् । तर उनीहरुले प्रेम गर्ने बादल ठीक उल्टोपथमा छिन्, जो भाग्य होइन कर्ममा विश्वास गर्छिन् । उनी घर समाल्छिन्, आमाको स्याहार गर्छिन्, समाजसँग लड्छिन् । यस्ता साहसी पात्र हाम्रा समाजका उदाहरणजस्ता लाग्छन् तर त्यही पात्रको चरित्रचित्रण कमजोर भइदिँदा दर्शकले अपनत्व महसुस गर्दैनन् ।
फिल्ममा बाघबहादुरको पात्र निभाएका बुद्धि तामाङको अभिनय लाउड देखिन्छ । फिल्म हेर्दा उनको चरित्र कथाको मर्मभन्दा पनि दर्शक हँसाउने ध्येयले राखिएको प्रस्टै हुन्छ । उनले दर्शक हँसाउन भने सकेका छैनन् ।
पल शाहको अभिनयमा निखारको आवश्यकता दर्शकले टड्कारो महसुस गर्छन् भने अभिनयमा पोख्त भनिएका नाजिर हुसेनबाट पनि निर्देशकले राम्रो काम लिन सकेका छैनन् । उनी पनि फिल्ममा लाउड देखिएका छन् । वर्षा शिवाकोटीले पनि आफ्नो अभिनयमा सुधार गर्नुपर्ने देखिन्छ ।
Leave A Comment