व्यापारमा सेलिब्रेटी : रहर कि बाध्यता ?

आइतबार, १२ जेठ २०७६, ०६ : ३७ रीना माेक्तान
व्यापारमा सेलिब्रेटी : रहर कि बाध्यता ?

नायिका ऋचा शर्मालाई भेट्न इच्छुकहरुलाई उनी सहभागी हुने सार्वजनिक कार्यक्रम या फिल्मसम्बन्धी कुनै कार्यक्रमतिर धाइरहनुपर्दैन । दरबारमार्गतिर गए उनी सहजै भेटिन्छिन् । भेटिने मात्रै हैन जुर्यो भने उनी चियाको अफर गर्न आउन पनि सक्छिन् किनभने अहिले उनी नायिकासँगै चिया पसलकी साहुनीसमेत भएकी छन् । 

उनको चिया पसलको नाम हो ‘पाङ्ग्रा एक्सप्रेस’ ।

ऋचा मात्रै हैन, श्वेता खड्का, वर्षा राउत, दीपाश्री निरौलालाई भेट्न मन लागे उनीहरुको चिया पसल खोज्दै गए पुग्छ । कोही नयाँ बानेश्वरतिर चिया पसल खोलेर बसेका छन्, कोही दरबारमार्गतिरै छन् ।
पछिल्लो समय फिल्मका कलाकारदेखि मोडल, गायक–गायिकासम्म साइड बिजनेसमा सक्रिय छन् । अधिकांशको रोजाई फुड बिजनेसमा देखिन्छ । कोही कफी सप खोलेर बसेका छन् त कोही रेस्टुराँ ।
यो रहर कि बाध्यता त ?

सबैभन्दा बढी आम्दानी गर्ने फिल्म ‘६क्कापञ्जा’ सिरिजका निर्माता दीपकराज गिरी हाक्काहाक्की भन्छन्, ‘कलाकारिता मात्रै गरेर बाँच्न मुस्किल छ । भविष्य सुनिश्चित गर्न साइड बिजनेस गर्नैपर्छ ।’
ऋचा रहरले व्यापारमा आएको बताउँछिन् । भनिन्, ‘फुड बिजेनसमा मेरो रहर छ, राम्रो टिम पनि छ ।’
संजोग कोइराला फिल्म क्षेत्रमा आउनु अगाडि नै बिजनेसमा रुचि राख्थे । नायिका श्वेता पनि रहरले व्यापारमा आएको बताउँछिन् । कलाकार र गायक–गायिकाको बिजनेस कस्तो छ त ?

ऋचाको  ‘पाङ्ग्रा एक्सप्रेस’ 
अभिनेत्री ऋचाले २०१९ को फेब्रुअरी १४ देखि ‘पाङ्ग्रा’ सञ्चालनमा ल्याएकी हुन् । आफ्ना विद्यालयका दुई साथी (श्रीयान्त, अन्यत) सँग मिलेर यो व्यापार सुरु गरेकी हुन् । पाङ्ग्राको अवतार नयाँ छ, यहाँ ट्रकमै किचन छ । विशेषतः स्ट्रिट फुड पाङ्ग्राको विशेषता रहेको ऋचा बताउँछिन् । यस्तो व्यापारमा दुबईबाट फर्केका उनका एक साथीले अनुभव बटुलिसकेका थिए । त्यसैले ती साथीहरुसँग एकदिन गफगाफ गर्नेक्रममा पाङ्ग्रा खोल्ने योजना बनेको ऋचा बताउँछिन् । 

दरबारमार्गको शेर्पा मलमा ‘पाङ्ग्रा एक्सप्रेस’ छ । ऋचा यसको नयाँ शाखा पनि खोल्ने तयारीमा छिन् । ‘पाङ्ग्रा’को लगानीबारे उनी खुल्न चाहिनन् । उनी हप्ताको एक चोटी पाङ्ग्रा भिजिट गर्न जान्छिन् । 
व्यापारमा आफू रहरले आएको ऋचाको दाबी छ । भनिन्, ‘फुड बिजेनसमा मेरो रहर छ, राम्रो टिम पनि छ । बाध्यता त होइन । नयाँ कन्सेप्ट पनि छ । त्यसैले म यसमा अडिएँ ।’ 

कलाकारको साइड बिजनेस हुनुपर्ने तर्क पनि राख्छिन् ऋचा । ‘बलिउडदेखि हलिउडका कलाकारको साइड बिजिनेस हुन्छ,’ उनले सुनाइन्, ‘नेपालमा त झनै हुनुपर्छ नि, होइन ?’

चार कलाकारको चियाअड्डा 
अभिनेता सञ्जोग कोइराला फिल्ममा आउनुअघि नै व्यापारमा सक्रिय थिए । काठमाडौंको दरबारमार्गमा उनको ‘ह्यासट्याग’ लाउन्ज पनि छ । उनले पत्नी वर्षा राउत, अभिनेता दीपकराज गिरी र दीपाश्री निरौलासँग मिलेर हालै ‘चियाअड्डा’ सञ्चालनमा ल्याएका हुन् ।

‘चियाअड्डा’ सञ्चालनमा आएको डेढ महिना भयो । ह्यासट्याग खोल्नुअघि पनि उनी ‘चियाअड्डा’ खोल्ने योजनामा थिए तर उपयुक्त ठाउँ नपाएपछि ढिला सुरु गरेको सञ्जोग बताउँछन् । नयाँ बानेश्वर चोकमा अवस्थित ‘चियाअड्डा’ विद्यार्थीलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको सञ्जोगले शुक्रवारसँग बताए । 

उनी दिनमा करिब दुई घण्टा चियाअड्डालाई समय निकाल्छन् । त्यहाँ बिहान बेलुकाको समयमा चिया खान ग्राहकको भिड लाग्ने गरेको छ ।

‘चियाअड्डा’को लगानी ८० लाख हो । लगानी उठ्न अझै एक वर्ष बढी लाग्ने उनको अनुमान छ । सञ्जोग धेरै अगाडिदेखि इन्टेरियर र कन्स्ट्रक्सन फर्निसिङको व्यापारमा सक्रिय छन् । 
८ महिनादेखि अमेरिकी फ्रेन्चाइजी ‘माइनस थ्री टु वन’ आइसक्रिम नेपालमा प्रचलित बनाउने उद्देश्यमा लागिपरेका छन् ।

उनले भने, ‘आँखाअगाडि आइसक्रिम बन्ने हो । धुँवावाला आइसक्रिमको कन्सेप्टलाई मैले नै नेपालमा ल्याएको हुँ ।’

यसको अन्य सात वटा शाखा खोल्ने तयारीमा रहेको उनी बताउँछन् । श्रीमती वर्षा भने व्यापारमा त्यत्ति रुचि नराख्ने सञ्जोगको भनाइ छ । 

‘चियाअड्डा’कै अर्का पार्टनर हुन्, दीपकराज गिरी । उनी भारतीय कलाकारको उदाहरण दिँदै आफ्नो नामको ब्रान्ड स्थापना गर्न र सुनिश्चित भविष्यका लागि कलाकार व्यापारमा लाग्ने कारण देखाउँछन् ।  
 ‘सेलिब्रिटीहरु सधैँ यो क्षेत्रमा रहँदैनन् । पछिलाई काम लाग्ने भनेको व्यापार नै हो,’ उनले भने‘कलाकारले पेन्सन भत्ताको सुविधा पाउँदैनन् । हामी आफैँ पनि केही व्यापार गर्ने सोचमा थियौँ । त्यसै क्रममा सञ्जोगसँग मिलेर चियाअड्डा खोल्ने योजना बन्यो ।’  

‘चियावाला’ गणेशदेव पाण्डे

(तस्बिर स्राेत : सेताेपाटीडटकम)

भित्तामा विभिन्न चित्रहरु टाँगिएका छन् । गफगाफको माहोल छ । चियाका पारखीहरु चियाका सुरुप्पमा रमाउँदैछन् । ‘मलाई घनश्याम चिया’ टेबलमा बसेर एक ग्राहकले चिया अर्डर गर्छ । 
यो ‘चियावाला’को दृश्य हो। 

चियावालालाई ‘गाँजाबाजा’का निर्देशक गणेशदेव पाण्डेले सञ्चालनमा ल्याएका हुन् । परिवारका पाँच सदस्य मिलेर व्यापार चलाइरहेका छन् । पाँच महिनायता ‘चियावाला’ सञ्चालनमा आएको भए पनि छोटो अवधिमै लोकप्रिय हुनुमा गणेशको आफ्नै नौ प्रकारका रेसिपी भएको बताउँछन् । 
यहाँको अर्को विशेषता गुराँस, तुल्सी लगायतका हर्बल चिया पनि हो । 

नेपालका कृषकले बनाएका र दार्जिलिङका चिया गरेर करिब एक सय प्रकारका चिया गणेशले ग्राहकलाई पस्किरहेका छन् ।

‘दैनिक करिव ४ सय देखि ५ सय  कप चिया व्यापार हुन्छ,’ गणेश भन्छन्, ‘चियाका अलावा यहाँ झुण्ड्याइएका कला पनि स्वादपूर्वक हेर्नेहरु छन् ।’ 

३० लाख लगानीको ‘चियावाला’ फ्याँकिएका काठ र फलामलाई रिसाइकल गरी विविध उपयोगमा ल्याइएको छ । फ्याँकिएका टिभी र साइकलबाट टेबल बनाइएका छन् ।

चियाका नामहरु सुनेर यहाँ आउने ग्राहक सुरुमा छक्क पर्छन् । हिजोआज भने नियमित ग्राहकलाई बानी परेको छ । दुधको चियालाई ‘घनश्याम चिया’, त्यस्तै ग्राहकको रोजाइअनुसारको चियालाई ‘मेरो खुशी चिया’ नाम दिइएको छ । 

श्वेताको हिमालयन जाभा
काठमाडौंको राइजिङ मलमा रहेको ‘हिमायलन जाभा’ खुलेको तीन वर्ष भइसक्यो । श्वेता खड्काले सञ्चालन गरेको यो कम्पनी चलाउन उनले कफीसम्बन्धी कोर्ससमेत गरिन् । 

एक करोडको लगानीमा सञ्चालनमा आएको ‘हिमालयन जाभा’ अर्गानिक कफी र बेकरीका लागि चर्चित छ । सफलताबाट हौसिएर अहिले उनी थप दुई फ्रेन्चाइजी खोल्ने तयारीमा छिन् । बालुवाटारमा इटालियन रेस्टुराँ पनि खोल्दैछिन् । 

‘मेरो जङ्क्सन क्याफेमै हुन्थ्यो, मिटिङ पनि क्याफेमा, साथीहरुसँग भेट्ने काम पनि क्याफेमा,’ उनले जाभा शुरु गर्नुको कारण सुनाइन्, ‘त्यसैले आफ्नै क्याफे खोलेँ । मलाई हस्पिटालिटी फिल्डमा मनपर्छ ।’ उनी यसअघि होटल इन्द्रेणीको टिममा पनि थिइन् । 

रहर कि बाध्यता ? ‘कसैले बिजनेस पनि बाध्यताले गर्ला त ?’ उनले स्पष्टीकरणको शैलीमा भनिन्, ‘कतिले जीवन धान्न बिजनेस गर्छन् होला तर म भने यो क्षेत्रमा रमाउँछु ।’ 

एटिकमा रमाएकी नम्रता 
अभिनत्री नम्रता श्रेष्ठले २००९ देखि ‘एटिक’ रेस्टुराँ सञ्चालनमा ल्याएकी हुन् । सन् २००८ मा अभिनयमा लागेसँगै उनले व्यापार सुरु गरेकी थिइन् । 

नम्रताका साथिहरुको जक्सन हुने रेस्टुरेन्ट बन्द भएपछि उनीहरु आफै मिलेर रेस्टुरेन्ट खोल्ने निर्णयमा पुगेका थिए । उनका एक साथिले नै अहिले ’एटिक’ रहेको ठाउँ  देखाइदिएका थिए । त्यो पहिला स्टोर हाउस थियो । नम्रतालाई त्यस ठाउँ रुचाइन् । उनको दिदी इन्टेरियर डिजाइनर हुन् । उनले दिदीलाई बोलाइन् । दिदीले रेस्टुरेन्टका लागि ठाउँ राम्रो भएको बताइन् । सुरुमा एटिक खोल्दा चारजना पार्टनर थिए । अहिले २ जना थपिएका छन् । अभिनेता रेमन दास पनि एटिकका एक पार्टनर हुन् । 
नम्रताले व्यापार र अभिनयलाई सँगसँगै लिएर हिडिरहेकी छिन् । ‘

‘ब्यापार बाध्यता होइन तर, रहर भनौं । त्यतिखेर हामी साथिहरु रमाइलो गर्ने, जमघट हुने जक्सन बानोस् भने सुरुवात गर्यौं,’ उनले भनिन्‘ सुरुमा यसलाई लिएर खासै सिरियस थिइन, अहिले म यसलाई पनि प्रोफेसन  जसरी नै लगिरहेछु ।’

सुदर्शन र राजको ‘चिट मिल’
अभिनेता एवं निर्देशक सुदर्शन थापाले अर्का अभिनेता राज कटवालसँग मिलेर ‘चिट मिल’ रेस्टुराँ सुरु गरेका छन् । ६० लाखको लगानीमा रेस्टुराँ सञ्चालनमा ल्याएको बताउने सुदर्शनले भने, ‘सानो तिनो बिजनेस पनि हुने साथीभाइसँग भेटघाट गर्ने ठाउँ पनि हुने । त्यसैले चिट मिल सुरु ग¥यौँ ।’ 
दरबारमार्गमा अवस्थित यो रेस्टुराँ सञ्चालनसँगै उनले ‘समालिन्छ कहिले मन’को निर्देशन पनि भ्याए । यसपछि त उनलाई आत्मविश्वास चुलिएर आएको छ । सुटिङ नहुँदा उनी अधिकांश समय रेस्टुराँलाई दिन्छन् ।

मंगल डेकोरमा भेटिन्छन् अनिल 
गायक अनिल सिंह युट्युबमा नयाँ गीत सार्वजनिक गरिहरन्छन्, यद्यपि ती गीतले उनको पुरानो चर्चा फर्काउन सकेको छैन । छोटो सांगीतिक सफलताका कारण उनले व्यापारको महŒव अझ थाहा पाए । हालै उनले मध्य बानेश्वरको सेन्ट्रल क्याफे रेस्टुराँमा आफ्नो संलग्नता बढाएका छन् । उनको अर्को पनि व्यापार छ, ‘मंगल डेकोर’ । डिल्लीबजारमा रहेको यो कम्पनीले फर्निसिङका काम गर्छ ।

सत्यकलाको ‘ग्रीन टी’ 
गायिका सत्यकला राई ‘ग्रीन टी’को व्यापारमा लागेको तीन वर्ष भयो । उनी गायनसँगै यो व्यापारमा पनि सक्रिए देखिन्छिन् । इलाममा उत्पादन भएका ‘ग्रीन टी’लाई सिधै विश्व बजारमा पु¥याउन भूमिका खेलिरहेकी उनले काठमाडौँमा शाखा खोलेकी छैनन् । गायक–गायिका उदय सोताङ र मनिला सोताङले दरबारमार्गमा ‘गजलबार’ शुरु गरेको लामै समय भइसक्यो । 
 

Leave A Comment