झुक्याएर बिहे गरे बदर

शुक्रबार, १७ जेठ २०७६, ०३ : ५७ स्वीकृति बराल
झुक्याएर बिहे गरे बदर

प्रश्न : मेरो विवाह भएको तीन महिना भयो तर मेरो श्रीमान्को पहिले नै एउटी श्रीमती र एउटा बच्चा रहेछ । अब मैले उहाँकी श्रीमती भएको नाताले पाउने अधिकार पाउँछु कि पाउँदिन । मेरो गर्भमा रहेको बच्चाको कानुनी अधिकार के–कस्तो हुन्छ ? 
 

उत्तर : कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एक अर्कालाई पति पत्नीको रुपमा स्वीकार गरेमा विवाह भएको मानिन्छ । विवाह जुनसुकै किसिमबाट भएको भए तापनि त्यस्तो विवाह सार्वजनिक गर्नु वा गराउनु पर्छ । 

मुलुकी अपराध (संहिता ) ऐन,२०७४ को परिच्छेद ११ मा विवाहसम्बन्धी कसुरको बारेमा लेखिएको छ । उक्त परिच्छेदको दफा १७५ ले बहुविवाह गर्न नहुने कुरा स्पष्ट रुपमा उल्लेख गरेको छ । विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्नु हुँदैन र महिलाले पनि पुरुष विवाहित हो भन्ने थाहा पाउँदा पाउँदै त्यस्तो पुरुषसँग विवाह गर्नु हुदँैन । यसरी गरिएको विवाह स्वत: बदर हुन्छ र बहुविवाह गर्नेलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र दस हजार रुपैयाँदेखि पचास हजार रुपैँयासम्म जरिवाना हुन्छ । 

यस ऐनले बहुविवाह गर्न निषेध लगाएको छ तर पतिपत्नीले कानुनबमोजिम अंशबण्डा गरी भिन्न भएमा पुरुष वा महिलाले पुनः विवाह गर्न सक्छन् । यो ऐन प्रारम्भ हुनुअघि तत्काल प्रचलित कानुनबमोजिम भएको विवाहको हकमा यस दफामा लेखिएको कुराले असर पार्दैन । यस्तो कसुरमा कसुर भए गरेको थाहा पाएको मितिले तीन महिनाभित्र उजुर गर्नुपर्छ ।

मुलुकी देवानी (संहिता) ऐन,२०७४ को दफा ७१ को उपदफा २ मा कसैले पनि कुनै अवस्थामा पनि पुरुष वा महिलालाई झुक्याई विवाह गर्न वा गराउन नहुने कुरा उल्लेख गरिएको छ । यदि कोही झुक्याइएका कारण बहुविवाहको सिकार हुन पुगेको छ भने मर्का पर्ने व्यक्तिले त्यस्तो विवाह बदर गराउन र झुक्याई विवाह गर्ने गराउनेबाट मनासिव क्षतिपूर्ति दाबी गर्न सक्नेछ ।

त्यसैले थाहै नभई  बहुविवाहमा फसियो भने आफ्नो श्रीमान्सँग क्षतिपूर्ति दाबी गर्न सकिन्छ । यस्तो अन्याय परेको खण्डमा मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको मितिले तीन महिनाभित्र नालिस गर्नुपर्छ । कसैले झुक्याएर बिहे गरे वा गराएमा त्यस्तो विवाह बदर गराउन सकिने कुरा मुलुकी देवानी (संहिता) ७३ मा उल्लेख गरिएको छ । 

विवाह दर्ता नगरी लुकाएर राखेको पत्नीको बच्चाको हकमा हाल प्रचलित मुलुकी देवानी (संहिता ) ऐन, २०७४ को दफा ७५ ले जन्मिसकेको शिशुको कानुनबमोजिमको हकमा कुनै असर नपर्ने कुरा स्पष्ट उल्लेख गरेको भए पनि ऐनको दफा २०८ को उपदफा २ ले प्रकाश नगरी बाहिर राखेको पत्नीले वा निजबाट जन्मेका छोराछोरीले पति वा बाबु मरेपछि अंशमा दाबी गर्न नपाउने कुरा उल्लेख गरेको हुनाले हकका लागि आवश्यक कागजात बनाउनका लागि ढिला गर्नु हुँदैन किनभने कानुन त्यतिबेला मात्र न्याय गर्छ जुन बेला प्रमाण हुन्छ । कानुनले न्याय दिनका लागि प्रमाण खोज्छ । त्यसैले आफ्नो बच्चा र बुवाको नाता कायम गरेर कानुनी रुपमा बलियो भएर बस्दा राम्रो हुन्छ ।

कानुनी रुपमा सुरक्षित रहन सधैँ चनाखो रहनुपर्छ । विवाह जस्तो ठूलो विषयमा मान्छे चिन्दै नचिनी, केही नबुझी कदम चाल्नु अपरिपक्वता हो । त्यसैले बेलैमा होस पुर्याएर कानुनप्रति सजग रह्यौँ भने कुनै अप्ठ्यारोविना नै जिन्दगी कटाउन सकिन्छ ।
 

Leave A Comment