ऋचाको ब्यागमा पुस्तक छुट्दैन

शुक्रबार, १७ जेठ २०७६, ०४ : ०४ भोला अधिकारी
ऋचाको ब्यागमा पुस्तक छुट्दैन

अभिनेत्री ऋचा शर्मा चलचित्र क्षेत्रकी लोकप्रिय अभिनेत्री हुन् । उनी चलचित्रमा अभियनसँगै पढाइमा रुचि राख्ने अभिनेत्री हुन् । उनीसँग भोला अधिकारीले गरेको साहित्यिक संवादः 

अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ? 
किताब नपढी बस्नै सक्दिनँ । साहित्यिक पुस्तकहरु नपढी निदाउने बानी  नै  छैन । अहिले नारायण वाग्ले दाइको ‘कोरियाना कफी गफ’ पुस्तक पढिरहेको छु । आधाआधि पु¥याएको छु । उहाँको शब्द चयन अनि वाक्यले खुब तानिरहेको छ । 

कस्ता पुस्तकहरु पढ्न रुचाउनुहुन्छ ? 
धेरैजसो काल्पनिक कथा, उपन्यास मेरा रुचिका विषय हुन् । यथार्थपरक कथा मन नपर्ने होइन तर मन छुने खाल्का पुस्तकले नै तान्ने गरेको छ । यस अर्थमा म अलि फिक्सन प्रेमी छु । साहित्यिक पुस्तकहरु किनेर घरमै पढ्ने गरेको छु ।

कस्ता विषयले आकर्षित गर्छ ? 
यही विषयले आकर्षित गर्छ भन्ने त हुँदैन । कथाअनुसार भर पर्छ । पात्रलाई कसरी कथामा चलाइएको छ भन्नेमा भर पर्छ । धेरै जसो काल्पनिक विषयवस्तुमा आधार बनाएर लेखिएका कथा मन पर्छ । यथार्थ मन पर्दैन भन्न खोजिएको भने होइन ।

नेपालमा सबैभन्दा ठूलो दरबार हत्याकाण्ड भयो । कसरी दरबार हत्याकाण्ड भयो ? त्यहाँ के–के भएको थियो भन्ने किताबहरु बजारमा आइरहे । दरबार हत्याकाण्डमा के भएको रहेछ भनेर मान्छे त्यसको रहस्य थाहा पाउन खोजिरहेको बेला दरबार हत्याकाण्डको बारेमा पढ्न रुचाउँछ । यस्ता खाले विषयवस्तुले पनि मलाई तानिरहेको हुन्छ । चाख लागेको विषयमा म अलिक बढी पढ्ने गर्छु । 
हरेक उपन्यासमा छापिएका कुनै न कुनै पात्रले म आफैँ पो हिँडिरहेको, बोलिरहेको आभास गराउँछ । चल्तीका लेखकले लेखेका उपन्यास, कथा, आख्यान मलाई मन पर्छन् । गैरआख्यान अलिक कम पढ्छु । 

तपाईंलाई एकदमै मन परेको पुस्तक ? 
मलाई हरेक पुस्तकले छोएको हुन्छ । नारायण बाग्लेको ‘पल्पसा क्याफे’ पनि मलाई मन परेको हो । त्यस्तै अमर न्यौपानेको ‘सेतो धर्ती’,  नयनराज पाण्डेको ‘लू’, र अर्को पुस्तक ‘उलार’ मलाई मन परेका पुस्तक हुन् । मलाई प्रभाव पार्ने धेरै पुस्तकहरु छन् तर अहिले झट्ट दिमागमा आइरहेका छैनन् । काल्पनिक पात्र भए पनि मेरै जीवनमा घटेको घटना पो हो कि जस्तो फिक्सनले फिल गराउँछ ।  ‘लू’मा मान्छेलाई अभावले कर्म गर्न सिकाएको छ । गरिबीले अति सताएपछि मान्छे विद्रोह गर्न पनि पछि पर्दैन भन्ने कुरा त्यसमा मज्जाले देखाइएको छ । त्यसैले पनि मलाई यो मन परेको हो ।

तपाईंलाई मनपर्ने लेखक ?
मलाई धेरै लेखकहरु मन पर्नुहुन्छ । मैले भन्दै पर्दा नयनराज पाण्डे, बुद्धिसागर, नारायण वाग्ले हो । उहाँहरुको लेखाई मन परेको हो । उहाँहरुले लेखेको कृतिमा मन छुने पात्रहरु हुन्छन् ।  

सोच नै परिवर्तन गरेको पुस्तक ? 
सोच नै परिवर्तन भन्दा पनि कुनै कुनै उपन्यास पढ्दा त्यसमा भएका पात्रहरु म आफैँ भएको फिल गर्छु । यसलाई फिल्ममा उतार्न पाए हुन्थ्यो जस्तो लाग्छ । यस्तो सोच्न बाध्य पार्ने उपन्यासहरुमा ‘लू’, ‘उलार’ र ‘पल्पसा क्याफे’ हुन् ।

नयनराज पाण्डेको उपन्यास ‘उलार’की द्रौपदी मलाई मन परेको क्यारेक्टर हो । म आफू पनि यस्तै बनेर खेल्न पाए हुन्थ्यो जस्तो अनुभूति हुन्थ्यो । मलाई त्यो उपन्यासमा मनपर्ने पात्र, ‘उलार’की द्रौपदी हो । यो बडो संर्घषशील नारी छे । ‘उलार’की द्रौपदी वर्षौंदेखि समाजमा थिचोमिचोमा परेकी छ । उसका आफ्ना रहर र सपना बुनेकी पात्र हो तर पनि ऊ कहिल्यै आफ्ना सपना र रहर पूरा गर्न सक्दिन । प्रेमललवा गरिब नै भए पनि ऊसित जीवन बिताउने सपना देखिरहेकी छे ।

त्यो सपनाका कारण मलाई द्रौपदी मन परेकी हो । नेपाली समाजको एउटा यथार्थ चित्र छ यो उपन्यासमा । त्यसैले मलाई यस्ता पात्रहरुले मन छोएको हो । 
त्यस्तै ‘सेतो धर्ती’ पनि मलाई मन परेको उपन्यासमध्ये एक हो । यसका पात्रहरुले मलाई छोएका छन् । अमर न्यौपानेले सरल तरिकाले पात्रहरुलाई चलाउनु भएको छ । यो कारुणिक उपन्यास हो । सुन्दर भाषा, आकर्षक शैली र कारुणिक अभिव्यक्तिमार्फत्  उपन्यासको रुपमा उतारेका छन् ।  

पढ्नलाई कुन समय छुट्याउनुहुन्छ ?
म धेरैजसो राति पढ्ने गर्छु । म बाटोमा हिँड्दा पनि पढिरहेकी हुन्छु । मेरो झोलामा पुस्तक प्रायः कहिल्यै छुट्दैन । कसैलाई कुर्नु पर्यो भने झोलाबाट किताब निकालेर पढ्न थालिहाल्छु । 
हालै मैले  पढेर सकेको नयनराज पाण्डेको ‘लु’ हो । यो किताव पढ्दा दुईचार दिन कतै कसैलाई पनि भेटिनँ । घरमा बिरामी छु भनेर ढाँट्दै पढेर सकेँ । 

एक पटक म हङकङ जाँदा प्लेनमा नै अमर न्यौपानेको ‘सेतो धर्ती’ पढेकी थिएँ । चार, पाँच घण्टाको अवधिमा मैले यो पुस्तक पढेर सकेँ । म खाली त बस्नै सक्दिनँ । मेरो घरमा म मात्र होइन मेरो हजुरआमा पनि पुस्तक पढ्ने कुरामा रुचि राख्नुहुन्छ । अहिले मैले घरमा सानो लाइबे्ररी नै बनाएकी छु । 

अभिनेता अभिनेत्रीले पुस्तक पढ्न कतिको जरुरी छ ? 
पुस्तक भनेको जसले पढे पनि घाटा लाग्दैन । हामीले अभिनय गर्दा पनि काल्पनिक नै त हो नि ! आफूले जति पढ्यो उति नै आफूले ज्ञान लिने हो । अभिनेता अभिनेत्रीले पढ्नुपर्छ भनेर ठोकुवा त गर्दिनँ तर पढ्यो भने कसैलाई घाटा चाहिँ लाग्दैन, यो पक्का हो । 

कलाकारले कल्पना गरेर अभिनय गर्ने हो । कस्तो खालका पात्रहरु हुन्छन्, त्यस्तै पात्रमा आफूलाई अनुभूत गराउन सकिन्छ । 

‘सेतो धर्ती’ बाल विधवाको कथामा आधारित छ । तारा नाम गरेकी  बालिका विधवा भएपछि उनले बाल्यकालसम्म के–कस्ता दुःखकष्ट भोग्नु पर्यो ? उनका मनभित्र के–कस्ता भावहरु प्रविष्ट भए ? यो उपन्यास पढेपछि मलाई फिल्ममा यस्तै चरित्रमा अभिनय गर्न मन लागेको थियो । त्यसैले जति पढ्यो उति आफूलाई भित्रैबाट सेतो धर्तीकी तारा आफू भएको फिल गरेँ । 

हुन त मलाई जस्तो फिल भयो पढ्दा, त्यस्तै होला–नहोला आफ्नो ठाउँमा छ तर मैले अघि नै भनेँ नि, पढ्दा कसैलाई घाटा हुँदैन । 

अब पढ्ने सूचीमा कुन पुस्तक छन् ?
भूपिनको पहिलो उपन्यास कृति ‘मैदारो’ किनेर ल्याएकी छु । निस्कनेबित्तिकै पढ्ने सोच बनाएकी थिएँ तर अनुकूल मिलेको थिएन । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको ‘न्याय’ पनि पढ्नुपर्ने सूचीमा छ । भूमिका श्रेष्ठको नयाँ पुस्तक आउने हल्ला छ । उहाँको पुस्तक बजारमा आएको खण्डमा पढ्ने छु । अझ पढ्नका लागि उत्सुक भएको पुस्तक ‘दरबारको दुःखान्त’ हो । कतिखेर पढुम् जस्तो भएको छ । 

दरबार हत्याकाण्डपछि नेपालमा साहित्यिक पुस्तकहरु अलिक फस्टाएजस्तो लागेको छ । त्यसअघि नेपाली साहित्यका खुराक स्कुलका किताबमा मात्र सीमित थिए । स्कुले किताबका कविता, कथाले चित्त बुझाइन्थ्यो । अहिले त कुनै किताब मन पर्यो भने किनेर पढिहाल्छु । पहिला बरु मन लाग्यो भने किन्न पनि पाइँदैनथ्यो ।
 

Leave A Comment